एपेक्स प्रकरणका थप चारजना पक्राउ
काठमाडौं । एपेक्स डेभलपमेन्ट बैंकको रकम दुरुपयोग गरेको आरोपमा थप चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न मितिमा एपेक्सका ती उच्च अधिकारीलाई पक्राउ गरेको हो । कमसल धितो राखी बैंकको रकम दुरुपयोग गरेको भन्दै गत शुक्रबार ब्यूरोले तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको थियो । पछिल्लो पटक पक्राउ पर्नेहरुमा एपेक्सका सञ्चालक तथा नागरिक लगानी कोषका नौ तहका कर्मचारी छविरमण अधिकारीलाई बानेश्वरबाट पक्राउ गरेको छ । त्यसैगरी कर्जामा काम गर्ने कर्जा प्रबन्धक प्रमोद भट्टराईसहित सजल बज्राचार्य र त्रिवेन्द्र श्रेष्ठलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिएका छन् । उनीहरुलाई कमसल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको आरोप लगाइएको छ । उनीहरूले एक अर्ब ५० करोड ९६ लाख ३३ हजार रुपैयाँ निक्षेप दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको हो । ऋणीको नक्कली आयस्रोतसम्बन्धी विवरणलाई स्वीकृत गरेको, मोटरबाटो नभएको, भिरालो पाखो बारी खेत वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको, धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पक्राउ परेकामाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । रासस
नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा, नाम भने अझै गोप्य
वीरगञ्ज । मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भन्दै प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले भने, “नक्कली स्टिकर छाप्ने सो भारतीय कम्पनीको नाउँ सार्वजनिक गर्दा सतर्क हुने भएकाले नाम गोप्य राखिएको बताए । उनले पक्राउ परेका व्यक्तिसँग बयान लिने क्रम जारी रहेको र नक्कली स्टिकर छाप्ने भारतीय कम्पनीको नामसमेत खुलेकाले भारत सरकारको सहयोगमा ती कम्पनीलाई कारवाहीको दायरामा ल्याउन आन्तरिक राजश्व विभागसँग छलफल भइरहेको स्पष्ट पारेका छन् । विसं २०७४ भदौ १९ गते राजधानीको हरिओम ट्रेडिङ प्रालिले भारतको कलकताबाट करिब रु तीन करोड ५० लाख मूल्य बराबरको ८६ हजार ४७० थान नक्कली स्टिकर वीरगञ्ज भन्सारको वैधानिक च्यानलबाट नेपाल भित्र्याइरहेका बेलामा पक्राउ परेको थियो । हिमालय रोडबेज नामक ढुवानी कम्पनीका कर्मचारी छिमेकी भारत रक्सौलका वीरेन्द्रकुमार महतो नक्कली स्टिकरसहित पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धानका क्रममा स्टिकर आयातकर्ता कम्पनीका सहयोगी विराटनगरका प्रकाश घिमिरे, धादिङ धुनीबेँसीका राजकुमार भण्डारी, हरिओम ट्रेडिङ कम्पनीका सञ्चालक कुलप्रसाद राजभण्डारी, हिमालयन कार्गोका सञ्चालक विनोदकुमार गुप्तालाई पक्राउ गरेको थियो । आन्तरिक राजश्व विभागले प्रायः गरी ग्लोबल टेण्डरमार्फत इन्डोनेसियाबाट मदिराको स्टिकर छपाउने गरे पनि यस प्रकारको स्टिकर पहिलो पटक भारतको कलकतामा छपाएको फेला परेको हो । आन्तरिक राजश्व विभागले हालसम्म भारतबाट यस प्रकारको कुनै स्टिकर नछपाएकाले पक्राउ परेका उक्त स्टिकर नक्कली भएको बताइएको छ । पक्राउ परेकाहरुसँग बयानपश्चात् जनही रु सात करोडको धरौटी माग गर्दा धरौटी बुझाउन नसकेपछि विनोदकुमार गुप्ताबाहेक सबैलाई पुर्पक्षका लागि वीरगञ्ज कारागारमा राखिएको जनाएको छ । गुप्ता भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासको आदेशबाट रिहा भए पनि पक्राउ परेकासँग पटक पटक बयान लिने क्रममा थप तीनजनाको नाम आएकाले उनीहरुको खोजी भइरहेको बताइएको छ । अनुसन्धानकै क्रममा नक्कली स्टिकर उत्पादन गर्ने गिरोहमा संलग्न रहेको आरोपमा सिआइबीले पुष्कर दवाडीलाई पक्राउ गरेको छ । कार्यालयले नक्कली स्टिकर प्रकरणमा सरकारी छाप किर्ते गरेको मुद्दा जिल्ला अदालत पर्सामा चलिरहेको छ । पक्राउ परेकाहरु दोषी ठहर भए एक वर्ष कैद बिगो र बिगो बमोजिमको जरिवाना हुनसक्ने सो कार्यालयले जनाएको छ । सो नक्कली स्टिकर बजारमा गएको भए सरकारलाई करीब रु चार करोड राजश्व घाटा हुने थियो । यसैबीच आन्तरिक राजश्व कार्यालय पर्साले आर्थिक वर्ष २०७४÷ ७५ को लक्ष्य रु पाँच अर्ब ५९ करोड राजश्व उठाउने लक्ष्य राखेकामा आवको फागुन मसान्तसम्म ११५ प्रतिशत राजश्व संकलन गरी तीन अर्ब ६४ करोड रुपैयाँ उठाउन सफल भएको छ । साना ठूला गरी करिब चार हजार करदाता रहेको पर्सा जिल्लामा लुकेर बसेका करदाताको खोजी गर्न बजार अनुगमन गर्ने नीति लिएको प्रमुख कर अधिकृत कोइरालाले करको दायरामा आउन नसकेका करदाताको खोजी कार्य भइरहेको बताए । रासस
मंगलबारको बजारमा दोहोरो अंकको गिरावट, ३२ करोड ८९ लाख रूपैयाँको सेयर कारोबार
काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । सोमबार एकल अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । सो दिनको नेप्से परिसूचक १५.०५ अंकले घटेर १२५५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा मंगलबारको परिसूचकमा गिरावट आएता पनि कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको दिनभरको बजारमा कुल १५९ कम्पनीका ३२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(सोमबार) २८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । बजारमा विभिन्न ९ समूहहरु कारोबारमा आएका थिए । सो मध्ये होटल समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् ।
सनराइज बैंकद्धारा विभिन्न ६ वटा विद्यालयका विद्यार्थीलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान
काठमाडौं । सनराइज बैंक लिमिटेडले विभिन्न ६ वटा विद्यालयमा अध्ययनरत १० जना बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा अवस्थित छ वटा विद्यालयका विद्यार्थीलाई १० वर्षको लागि छात्रवृत्ति प्रदान गरेको हो । बैंक सञ्चालनको दश वर्ष पुगेको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरको हो । कार्यक्रममा बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई.बच्छराज तातेड, ज्योतिकुमार बेगानी, दिपक नेपाल, ओमकृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारी, नायब महाप्रबन्धकद्घय अपछकुमार यादव, रविनकुमार नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।
जनता बैंकको थप ७ शाखा कार्यालय सञ्चालनमा
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले थप २ शाखा र ५ शाखा रहित बैकिङ्ग गरि ७ वटा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले कारोबार विस्तारको क्रममा थप २ शाखा बाराको सिमरौनगढ र पोखराको बुढीबजारबाट कारोवार शुरु गरेको छ । साथै, बैंकले कैलालीको बनवेहडा, दुर्गौली र स्याउले बजार तथा दाङको मौरीघाट र फलकापुर गरी ५ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको हो । यससगै, हाल बैंकले ९८ शाखा, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
पूर्व प्रधानमन्त्रीदेखि सासंद र व्यापारीका सन्तानले महालेखालाई अर्बौं वक्यौता तिर्न गरे अटेर
काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले बक्यौता रकम उठाउन ताकेता गर्दा व्यवसायीले अटेर गरेका छन् । महालेखाले ताकेता गर्दा ११९ मध्ये १ जनाले मात्रै वक्यौता तिरेका छन् । महालेखाले दिएको म्याद सकिन अब ९ दिन मात्रै बाँकी छ । बक्यौता रकम तिर्नेमा भोजपुर जिल्लाका डिकप्रसाद बान्तावा ररहेका छन् । बान्तावाले १० हजार ३९५ रुपैंया तिरेको कुमारीचोक तथा केन्द्रिय तहसिल कार्यलयका प्रमुख जीवनप्रकाश महोत्राले जानकारी दिए । महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अरबौं रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यावसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको छ । घरमै चिठी लेखेर पठाउँदा पनि प्रतिक्रिया नआएपछि, महालेखाले वक्यौता नतिर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिन भित्र बाँकी रकम तिर्न अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिन लाग्दा १ जनाले मात्र वक्यौता तिरेका छन् । महालेखाले सार्वजनिक गरेको ११९ जनाको विवरणामा राणा प्रधानमन्त्री भीमशम्शेर र पद्मशम्शेरका परिवार पनि रहेका छन् । होटल मल्लका प्रवन्ध निर्देशक महाराज कुमारी रानी मल्लले ८ करोड १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको महालेखाले जनाएको छ । बक्यौता रकम तिर्न बाँकी रहेका ठुला तारे होटलले भुक्तानी गर्नुभन्दा पनि अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा दायर गर्नेमा सोल्टी होटल्स लिमिटेड, एभरेष्ट होटल प्राइभेट लिमिटेड, एभरेष्ट क्यासिनो, फुलबारी रिर्सोट पोखरा र होटल याक एण्ड यति छन् । उनीहरुको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको छ । पहिले लगानी गर्ने र अहिले लगानी गर्ने सञ्चालक फरक पर्दा होटलको केसमा समस्या पर्न गएको महोत्राले भनाई छ । ‘उनीहरुको माग भनेको जुन संचालकले बक्यौता नतिरेको हो, सोहि संचालकले रकम तिर्नुपर्ने रहेको छ, हाम्रो संस्थाले पनि सोही अनुरुप पुरानै संचालकलाई ताकेता गर्ने हो’, महोत्राले विकासन्युजसँग भने । यसैगरी पर्यटन विभागले भने वर्तमान संचालक पनि जिम्मेवार रहने जनाएको छ । स्वामित्व हस्तान्तरणको बेलामा उनीहरुले बक्यौताको विषयमा बुझ्नु पर्ने विभागको धारणा छ ।महालेखाले प्रक्रिया सुरु गरेको कुनैपनि व्यक्ति वा संस्था कर तिर्नबाट मुक्त हुन सक्दैनन । की सरकारले मिनाह घोषणा गर्नुपर्यो । व्यक्ति पत्ता लगाउनमा कार्यलयलाई समय लगिरहेको छ । व्यक्ति पत्ता लागेपछि व्यक्तिको नाममा रहेको जग्गा वा जिन्सी सामाग्री लिलामी गरेरै भएपनि बक्यौता असुली हुन्छ । विदेशी कम्पनीसँग कसरी बक्यौता उठाउने कानून छैन विदेशी कम्पनीसँग बक्यौता उठाउने कानून नभएपछि महालेखालाई समस्या परेको छ । विदेशीसंग वक्यौता रकम उठाउनका लागि आवश्यक कानून तयार पार्न महालेखाले अर्थ मन्त्रालयसंग छलफल थालेको छ । नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अर्बौ रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यावसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको थियो । विसं २०४० सालभन्दा अघि घरेलु उद्योग लगायत विभिन्न शिर्षकमा रकम लिएर अहिलेसम्म बुझाउन नआउनेमा निजामति कर्मचारी, ठेकेदार र क्यासिनो र होटल व्यवसायी छन् । सबैभन्दा बढी सरकारी वक्यौता तिर्न बाँकी नेपाल रिक्रेशन सेन्टर प्रालि रहेको छ । वाधवाको कम्पनी नेपाल रिक्रेशनले ५७ करोड ३४ लाख रुपैयाँ वक्यौता तिर्न बाँकी छ । नतिर्नेहरुमा होटल मल्ल देखि अन्नपुर्ण इन्टरनेश्नल प्राली समेत रहेका छन् । होटल मल्लले ८ करोड रुपैंया तिर्न बाँकी रहेको छ । अन्नपुर्ण प्रालीले करिब १३ करोड ऋण रकम तिर्न बाँकी रहेको छ । टेक्सना रिसोर्स कम्पनीले ११ करोड ७३ लाख, नेपाल रिक्रेसन सेन्टर आरडी टटलले १ करोड ८४ लाख, खुम्बु कन्ट्रक्सन कम्पनीको ४ करोड ३० लाख, ह्यापी हावर प्रालिका सञ्चालक गोकर्ण लामिछानेले ६ करोड १६ लाख रुपैयाँ तिर्न बाँकी छ । महालेखाको अनुसार ऋण नर्तिनेहरुमा २० ठेकेदार, ८७ जना कर्मचारी, सैनिक र १२ वटा होटल तथा क्यासिनो रहेका छन् । यिनीहरुबाट सरकारले अबौं रकम उठाउँन बाँकी रहेको छ । ११९ जनाबाट १ अर्ब १७ करा रूपैंया भन्दा बढी असुल गर्नुपर्ने देखिएको महालेखाले जनाएको छ ।
माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न, चार अर्ब रुपैयाँको लगानी
चौतारा । निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर कम्पनी प्रालिद्धारा निर्माण भइरहेको २२.१ मेगावाट क्षमताको सो आयोजना आगामी २०७५ सालको वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक उमेश कसजूले बताएका छन् । चाकु बजारबाट २० किमी माथि रहेको सो आयोजनाको कुल लागत तीन अर्ब रुपैयाँ रहेकोमा लागत वृद्धि भई अब प्रति मेगावाट रु १८ करोडले झण्डै चार अर्ब रुपैयाँ पुगेको छ । विसं २०६८ मा शुरु भई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेपनि २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प तथा भारतीय नाकाबन्दी र २०७३ को भोटेकोशी नदीमा आएको बाढीले असर पुर्याएपछि आयोजना सम्पन्न हुने समयसीमा लम्बिएको आयोजनाले जनाएको छ । साविक फुल्पिङकट्टी गाविसको हाल भोटेकोशी गाउँपालिका अन्तर्गत चन्द्रापुमा बाँधबाँधी ३.३ किमी सुरुङमार्गद्धारा मार्मिङको याङ्लेफाँटमा निर्मित विद्युत्गृहमा पानी खसालिनेछ । आयोजनास्थलदेखि लामोसाँघुस्थित सव स्टेशनसम्मको २२ किमी प्रशारण लाइनद्धारा केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ । हालसम्म विद्युत् गृहमा मेसिन तथा प्रशारण लाइनको तार जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । उक्त कम्पनीले जिल्लाको अपर बलेफी आयोजनाको निर्माण कार्यलाईसमेत तीव्रता दिएको छ । ६ अर्ब रुपैयाँको लगानीमा ३६ मेगावाटको विद्युत् आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको कार्यकारी निर्देशक कसजूले बताए । रासस
सेन्ट्रल फाइनान्सले ६ करोड ९८ लाख रुपैयाँ लाभांश दिने
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई ६ करोड ९८ लाख रुपैयाँ लाभांश दिने भएको छ । संस्थाले हकप्रद सेयरपछिको चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद गरी सो मात्राको लाभांश वितरण गर्न लागेको हो । हकप्रद पश्चात संस्थाको चुक्ता पुँजी ७८ करोड ९ लाख रुपैयाँ पुगेको छ । ८.५ प्रतिशत बोनसपछि फाइनान्सको पुँजी ८४ करोड ७२ लाख रुपैयाँ नाघ्ने छ । सोमबार सम्पन्न संस्थाको २४८औं सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिकाे प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।