विकासन्युज

मंगलबारको बजारमा दोहोरो अंकको गिरावट, ३२ करोड ८९ लाख रूपैयाँको सेयर कारोबार

काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । सोमबार एकल अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । सो दिनको नेप्से परिसूचक १५.०५ अंकले घटेर १२५५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा मंगलबारको परिसूचकमा गिरावट आएता पनि कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको दिनभरको बजारमा कुल १५९ कम्पनीका ३२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(सोमबार) २८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । बजारमा विभिन्न ९ समूहहरु कारोबारमा आएका थिए । सो मध्ये होटल समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् ।

सनराइज बैंकद्धारा विभिन्न ६ वटा विद्यालयका विद्यार्थीलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान

काठमाडौं । सनराइज बैंक लिमिटेडले विभिन्न ६ वटा विद्यालयमा अध्ययनरत १० जना बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा अवस्थित छ वटा विद्यालयका विद्यार्थीलाई १० वर्षको लागि छात्रवृत्ति प्रदान गरेको हो । बैंक सञ्चालनको दश वर्ष पुगेको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरको हो । कार्यक्रममा बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई.बच्छराज तातेड, ज्योतिकुमार बेगानी, दिपक नेपाल, ओमकृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारी, नायब महाप्रबन्धकद्घय अपछकुमार यादव, रविनकुमार नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।

जनता बैंकको थप ७ शाखा कार्यालय सञ्चालनमा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले थप २ शाखा र ५ शाखा रहित बैकिङ्ग गरि ७ वटा कार्यालय सञ्चालनमा ल्याएको छ ।  बैंकले कारोबार विस्तारको क्रममा थप २ शाखा बाराको सिमरौनगढ र पोखराको बुढीबजारबाट कारोवार शुरु गरेको छ । साथै, बैंकले कैलालीको बनवेहडा, दुर्गौली र स्याउले बजार तथा दाङको मौरीघाट र फलकापुर गरी ५ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको हो । यससगै, हाल बैंकले ९८ शाखा, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

पूर्व प्रधानमन्त्रीदेखि सासंद र व्यापारीका सन्तानले महालेखालाई अर्बौं वक्यौता तिर्न गरे अटेर

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले बक्यौता रकम उठाउन ताकेता गर्दा व्यवसायीले अटेर गरेका छन् । महालेखाले ताकेता गर्दा ११९ मध्ये १ जनाले मात्रै वक्यौता तिरेका छन् । महालेखाले दिएको म्याद सकिन अब ९ दिन मात्रै बाँकी छ । बक्यौता रकम तिर्नेमा भोजपुर जिल्लाका डिकप्रसाद बान्तावा ररहेका छन् । बान्तावाले १० हजार ३९५ रुपैंया तिरेको कुमारीचोक तथा केन्द्रिय तहसिल कार्यलयका प्रमुख जीवनप्रकाश महोत्राले जानकारी दिए । महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अरबौं रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यावसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको छ । घरमै चिठी लेखेर पठाउँदा पनि प्रतिक्रिया नआएपछि, महालेखाले वक्यौता नतिर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिन भित्र बाँकी रकम तिर्न अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिन लाग्दा १ जनाले मात्र वक्यौता तिरेका छन् । महालेखाले सार्वजनिक गरेको ११९ जनाको विवरणामा राणा प्रधानमन्त्री भीमशम्शेर र पद्मशम्शेरका परिवार पनि रहेका छन् । होटल मल्लका प्रवन्ध निर्देशक महाराज कुमारी रानी मल्लले ८ करोड १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको महालेखाले जनाएको छ । बक्यौता रकम तिर्न बाँकी रहेका ठुला तारे होटलले भुक्तानी गर्नुभन्दा पनि अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा दायर गर्नेमा सोल्टी होटल्स लिमिटेड, एभरेष्ट होटल प्राइभेट लिमिटेड, एभरेष्ट क्यासिनो, फुलबारी रिर्सोट पोखरा र होटल याक एण्ड यति छन् । उनीहरुको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको छ । पहिले लगानी गर्ने र अहिले लगानी गर्ने सञ्चालक फरक पर्दा होटलको केसमा समस्या पर्न गएको महोत्राले भनाई छ । ‘उनीहरुको माग भनेको जुन संचालकले बक्यौता नतिरेको हो, सोहि संचालकले रकम तिर्नुपर्ने रहेको छ, हाम्रो संस्थाले पनि सोही अनुरुप पुरानै संचालकलाई ताकेता गर्ने हो’, महोत्राले विकासन्युजसँग भने । यसैगरी पर्यटन विभागले भने वर्तमान संचालक पनि जिम्मेवार रहने जनाएको छ । स्वामित्व हस्तान्तरणको बेलामा उनीहरुले बक्यौताको विषयमा बुझ्नु पर्ने विभागको धारणा छ ।महालेखाले प्रक्रिया सुरु गरेको कुनैपनि व्यक्ति वा संस्था कर तिर्नबाट मुक्त हुन सक्दैनन । की सरकारले मिनाह घोषणा गर्नुपर्यो । व्यक्ति पत्ता लगाउनमा कार्यलयलाई समय लगिरहेको छ । व्यक्ति पत्ता लागेपछि व्यक्तिको नाममा रहेको जग्गा वा जिन्सी सामाग्री लिलामी गरेरै भएपनि बक्यौता असुली हुन्छ । विदेशी कम्पनीसँग कसरी बक्यौता उठाउने कानून छैन विदेशी कम्पनीसँग बक्यौता उठाउने कानून नभएपछि महालेखालाई समस्या परेको छ । विदेशीसंग वक्यौता रकम उठाउनका लागि आवश्यक कानून तयार पार्न महालेखाले अर्थ मन्त्रालयसंग छलफल थालेको छ । नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अर्बौ रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यावसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको थियो । विसं २०४० सालभन्दा अघि घरेलु उद्योग लगायत विभिन्न शिर्षकमा रकम लिएर अहिलेसम्म बुझाउन नआउनेमा निजामति कर्मचारी, ठेकेदार र क्यासिनो र होटल व्यवसायी छन् । सबैभन्दा बढी सरकारी वक्यौता तिर्न बाँकी नेपाल रिक्रेशन सेन्टर प्रालि रहेको छ । वाधवाको कम्पनी नेपाल रिक्रेशनले ५७ करोड ३४ लाख रुपैयाँ वक्यौता तिर्न बाँकी छ । नतिर्नेहरुमा होटल मल्ल देखि अन्नपुर्ण इन्टरनेश्नल प्राली समेत रहेका छन् । होटल मल्लले ८ करोड रुपैंया तिर्न बाँकी रहेको छ । अन्नपुर्ण प्रालीले करिब १३ करोड ऋण रकम तिर्न बाँकी रहेको छ । टेक्सना रिसोर्स कम्पनीले ११ करोड ७३ लाख, नेपाल रिक्रेसन सेन्टर आरडी टटलले १ करोड ८४ लाख, खुम्बु कन्ट्रक्सन कम्पनीको ४ करोड ३० लाख, ह्यापी हावर प्रालिका सञ्चालक गोकर्ण लामिछानेले ६ करोड १६ लाख रुपैयाँ तिर्न बाँकी छ । महालेखाको अनुसार ऋण नर्तिनेहरुमा २० ठेकेदार, ८७ जना कर्मचारी, सैनिक र १२ वटा होटल तथा क्यासिनो रहेका छन् । यिनीहरुबाट सरकारले अबौं रकम उठाउँन बाँकी रहेको छ । ११९ जनाबाट १ अर्ब १७ करा रूपैंया भन्दा बढी असुल गर्नुपर्ने देखिएको महालेखाले जनाएको छ ।

माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न, चार अर्ब रुपैयाँको लगानी

चौतारा । निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर कम्पनी प्रालिद्धारा निर्माण भइरहेको २२.१ मेगावाट क्षमताको सो आयोजना आगामी २०७५ सालको वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक उमेश कसजूले बताएका छन् । चाकु बजारबाट २० किमी माथि रहेको सो आयोजनाको कुल लागत तीन अर्ब रुपैयाँ रहेकोमा लागत वृद्धि भई अब प्रति मेगावाट रु १८ करोडले झण्डै चार अर्ब रुपैयाँ पुगेको छ । विसं २०६८ मा शुरु भई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेपनि २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प तथा भारतीय नाकाबन्दी र २०७३ को भोटेकोशी नदीमा आएको बाढीले असर पुर्याएपछि आयोजना सम्पन्न हुने समयसीमा लम्बिएको आयोजनाले जनाएको छ । साविक फुल्पिङकट्टी गाविसको हाल भोटेकोशी गाउँपालिका अन्तर्गत चन्द्रापुमा बाँधबाँधी ३.३ किमी सुरुङमार्गद्धारा मार्मिङको याङ्लेफाँटमा निर्मित विद्युत्गृहमा पानी खसालिनेछ । आयोजनास्थलदेखि लामोसाँघुस्थित सव स्टेशनसम्मको २२ किमी प्रशारण लाइनद्धारा केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ । हालसम्म विद्युत् गृहमा मेसिन तथा प्रशारण लाइनको तार जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । उक्त कम्पनीले जिल्लाको अपर बलेफी आयोजनाको निर्माण कार्यलाईसमेत तीव्रता दिएको छ । ६ अर्ब रुपैयाँको लगानीमा ३६ मेगावाटको विद्युत् आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको कार्यकारी निर्देशक कसजूले बताए । रासस

सेन्ट्रल फाइनान्सले ६ करोड ९८ लाख रुपैयाँ लाभांश दिने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई ६ करोड ९८ लाख रुपैयाँ लाभांश दिने भएको छ । संस्थाले हकप्रद सेयरपछिको चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद गरी सो मात्राको लाभांश वितरण गर्न लागेको हो । हकप्रद पश्चात संस्थाको चुक्ता पुँजी ७८ करोड ९ लाख रुपैयाँ पुगेको छ । ८.५ प्रतिशत बोनसपछि फाइनान्सको पुँजी ८४ करोड ७२ लाख रुपैयाँ नाघ्ने छ । सोमबार सम्पन्न संस्थाको २४८औं सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिकाे प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

नारायणगढ–मुग्लिन सडक २४ किलोमिटर कालोपत्रे

काठमाडौं । राजधानी काठमाडौँसँग तराई जोड्ने लाइफलाइनका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ । कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार कालोपत्रेको पहिलो तह २४.५ किलोमिटर सम्पन्न भएको छ । दोस्रो तह २०.५ किलोमिटर र तेस्रो तहको कालोपत्रे शुरुवात् गरिएको छ । खनालका अनुसार सो सडक ३३।२ किलोमिटर लामो छ । आगामी वैशाख १५ सम्ममा पहिलो तह र जेठ १५ सम्ममा पहाड काट्न बाँकी रहेको चेपाङ डाँडाको फेदको ५०० मिटरबाहेक अन्य क्षेत्रमा कालोपत्रे सम्पन्न हुने बताए । शुरुमा ५.५ मिटरमात्रै फराकिलो रहेको सडक आठ मिटरसम्म फराकिलो भए पनि नौ मिटर पु¥याउन धेरै भित्तो काट्नु पर्ने भएकाले समयमा सम्पन्न हुन कठिन देखिएको छ । आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले तेस्रो खण्डलाई ९९ दिन, दोस्रो खण्डलाई ८९ दिन र पहिलो खण्डलाई ८५ दिन मिति थप्न उपयुक्त भएको भन्दै प्रस्ताव गरिएको बताए । पहिलो खण्डका लागि १० मे २०१८, दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय थप गर्न सिफारिस गरिएको हो । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षात्को समय, चाडपर्वको समय र थपिएको कामका कारण काम गर्ने समय थप्न सिफारिस गरिएको हो । मिति थप गर्न सिफरिस भए पनि हालसम्म मिति भने थपिएको छैन ।

भारतलाई कृषिजन्य सामाग्रीको निर्यातमा सहज गर्न आपुर्तिमन्त्री यादवको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराजलाई नेपालबाट भारतमा निर्यात हुने वस्तुहरुमा सहजीकरण गर्न आग्रह गरेका छन् । विश्व व्यापार संगठनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको मन्त्रिस्तरीय बैठकमा भाग लिन पुगेका यादवले स्वराजसँगको भेटमा नेपालबाट निर्यात हुने कृषिजन्य सामाग्रीको निर्यातमा सहज बनाउन आग्रह गरेका हुन् । विशेषगरी नेपालबाट निर्यात हुने अदुवामा भारतीय पक्षबाट अवरोध आएपछि यादवले सो कुरा उठाएका हुन् । यादवले नेपाल भारत सीमाका मुख्य भंसार नाकाहरुमा क्वारान्टाइन लगायतका व्यापारजन्य पूर्वाधार निर्माण गर्ने, भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्ने लगायत विषयमा छलफल गरेका छन् । छलफलमा भारतीय मन्त्री सुरेस प्रभुले नेपाल-भारत बीचको व्यापार र पारवहनमा देखा परेका समस्याहरु बारेमा आफु जानकार रहेको र ती समस्याहरु समाधान गर्न, नेपालमा उत्पादनको उच्च संभावना भएका वस्तुहरुमा लगानी बृद्धि गर्न इच्छुक रहेको विचार व्यक्त गरे । त्यसैगरी, परराष्ट्रमन्त्री स्वराजले नेपाल भारत बीचको व्यापार तथा पारवहनका क्षेत्रमा भएका समस्यालाई नतिजामूलक किसिमले संवोधन गर्न आफ्नो तर्फबाट गृहकार्य भईरहेको र मूलरुपमा नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न भारत तयार रहेकाे बताइन् ।