विकासन्युज

अनलाईनबाट सेयर भर्न, सेयर एकाउन्ट चलाउन आउँदैन ? यो भिडियो हेर्नुहोस–धेरै कुरा सिक्नुहुनेछ

काठमाडौं । अनलाईनबाट सेयर कसरी आवेदन गर्ने ? घरमा वा कार्यालयमा बसेर कसरी हकप्रद सेयर, साधारण सेयर, एफपीओको सेयरका लागि आवेदन गर्ने, सि–आस्वा कसरी लिने ? अनलाईनबाट कसरी आफ्नो सेयरबारे जानकारी लिने ? आफ्नो सेयर एकाउन्ट कसरी चलाउने ? यी विषयमा जानकारी नभएर तपाईलाई धेरै झन्झट भइराखेको हुन सक्छ । सबै कुरा जानेको साथीभाई पनि नहुन सक्छ । नजानेको कुरा अरुलाई सोध्न अप्ठ्यारो भएको पनि हुन सक्छ । नो टेन्सन । तनाव नलिनुहोस् । तपाईलाई इन्टरनेट चलाउन आउछ, फेसबुक चलाउन आउछ वा बेवसाइट चलाउने सामान्य ज्ञान छ तलको भिडियो हेर्नुहोस् । सिद्धार्थ क्यापिटले आफ्ना ग्राहकका सिकाउन बनाएको यो भिडियोबाट तपाईले पनि धेरै कुरा सिक्न सक्नुहुनेछ ।

एसइई परीक्षाको तयारी पुरा, अनिवार्यमा गणित बाहेक सबैमा प्रयोगात्मक

काठमाडौँ । आउदो बिहीबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ८५ हजार ५८६ जना परीक्षार्थी सहभागी हुने भएका छन् । नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक सञ्चालन हुन लागेको परीक्षाका लागि १ हजार ९५६ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्रमा त्यति नै संख्यामा केन्द्राध्यक्ष, २ हजार ४५० जना सहायक केन्द्राध्यक्ष, २० हजार ३४० जना निरीक्षक, १० हजार ६७६ जना सहयोगी र २९ हजार ३४० जना सुरक्षाकर्मी गरी ६४ हजार ७ ६२ जना जनशक्ति परिचालित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । साधारणतर्फको १७ गतेसम्म र प्राविधिकतर्फको २० गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा सबैभन्दा बढी परीक्षार्थी प्रदेश नं ३ बाट र कम कर्णाली प्रदेशबाट हुने भएका छन् । बोर्डका अनुसार प्रदेश नं ३ बाट १ लाख ८३ हजार २२, कर्णालीबाट ३८ हजार ५९२, प्रदेश नं १ बाट ८४ हजार २९०, प्रदेश नं २ बाट ७० हजार ४०२, प्रदेश नं ४ बाट ४८ हजार ९५४, प्रदेश नं ५ बाट ७९ हजार २५१ र प्रदेश नं ७ बाट ५५ हजार ७७५जना परीक्षार्थी यस वर्ष एसइईमा सहभागी हुदैछन् । जसमध्ये परीक्षामा नियमिततर्फ छात्रमा २ लाख २७ हजार २०४ जना र छात्रामा १ लाख २३ हजार ३११ जना एक्जाम्टेड तर्फ छात्रमा ९ हजार २४७ जना र छात्रामा १४ हजार ८२४ जना रहेको बोर्डले जानकारी दिएको छ । अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्धतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार नयाँ पाठ्यक्रमअनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिँदैछ । यसअनुसार अनिवार्य विषयतर्फ गणितबाहेक बाँकी सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था छ । यस्तो प्रयोगात्मक परीक्षाको व्यवस्थापन सम्बन्धित विद्यालय र विषय शिक्षकबाटै नै हुनेछ । परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीको अनुगमन टोली गठन गरिएको छ । ती टोलीले परीक्षा सञ्चालन अवधिमा परीक्षालाई मर्या्दित, अनुशासित र व्यवस्थित गर्ने र अमर्या्दित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्न सक्ने गरी अनुगमन निरीक्षणको व्यवस्था मिलाइएको छ । २०७३ सालको एसइईमा २ जना केन्द्रध्यक्ष, १ जना सहायक केन्द्राध्यक्ष र ३८ जना निरीक्षकलाई कार्वाही र ३०५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको समेत रेग्मीले बताए ।

अर्थमन्त्रीसँग व्यवसायीको आग्रह-ब्याजदर नियमनमा हस्तक्षेप गर्नुस्

काठमाडौं । लगानीयोग्य पुँजीको अभाव देखाउदै बैंकले ब्याजदर दोब्बर बढाएको व्यवसायीले गुनासो गरेका छन् ।बैंकको चर्को ब्याजदरले व्यवसाय सञ्चालन गर्न समस्या पारेको भन्दै यसलाई घटाउन व्यवसायीले सरकारको ध्यानकर्षण गराएका हुन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकको ब्याजदर दोब्बर बढेर १४ प्रतिशत पुगेको जाकारी दिएका छन् ।अर्थमन्त्री डा. युवराज खतिवडासंग मंगलबार भएको भेटमा अध्यक्ष श्रेष्ठले ७ प्रतिशत हारहारीमा रहेको ब्याजदर अहिले दोब्बर बढेर १४ प्रतिशत कटेको जानकारी गराएका थिए । उनले १४ प्रतिशत ब्याजमा पनि कर्जा नपाएको गुनासो गरे । हालको ब्याजदरले व्यवसाय गर्न नसक्ने अवस्था आएको भन्दै उनले घटाउन अर्थमन्त्री खतिवडाको ध्यानकर्षण गराएका छन् । चर्को ब्याजको मारमा उद्योगी व्यवसायी परेको श्रेष्ठले गुनासो गरेका थिए । अर्थमन्त्री खतिवडाले बैंकमा अहिले देखिएको तरलता समस्याको दीर्घकालिन समाधानका लागि स्वदेशी तथा विदेशी पुँंजीको परिचालन आवश्यक भएको बताएका थिए । ब्याजदर घटाउने र लगानीयोग्य पुँजीकालागि आवश्यक नीति नियम तर्जुमा गरिने उनले जानकारी गराएका थिए । बैंकमा लगानीयोग्य पुँजी नभएपछि निक्षेप तान्न बैंकले मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति गरेका छन् । यस्तै साधारण वचतको ब्याजदर पनि बढेर ८ प्रतिशत पुगेको छ । निक्षेपको ब्याजदर बढाउदा पनि बढाउन सकेका छैनन् । पुँजी,कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत पुगेपछि अधिकाँश बैंकले कर्जा लगानी गर्न छाडेका छन् । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप संकलन भन्दा १०८ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा निक्षेप ११.८ र कर्जा लगानी १६.७ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

उपसचिवसहित ३ जनाविरद्ध विशेष अदालतमा आरोपपत्र दायार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका कार्यालय प्रमुख उपसचिव सुन्दर भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव पौडेलविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । विदेशवाट जारी भएका सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा कार्यालय प्रमुख भट्टराई, शाखा अधिकृत ढकाल र नासु पौडेलले सम्बन्धित राजदूतावास, कन्सुलर सेवा विभाग, भिषा, सवारी चालक अनुमतिपत्रसमेत कीर्ते सिर्जना गरी ८५५ जनाको विदेशी सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गरेको अभियोगमा अख्तियारले पक्राउ गरेको थियो । आयोगले उनीहरूविरद्ध रु पाँच लाख चार हजार ८५० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ ङ बमोजिम जरिवाना र कैद सजाय हुन तथा दफा ९ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आरोपपत्र दायर गरेको जनाएको छ । आयोगका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेका लेखापढी व्यवसायी राजु सेढाईले विदेशबाट जारी भएका सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने क्रममा आवश्यक कागजात मिलाइदिने शर्तमा नासु पौडेलसँग मिलेमतो गरी नेपालीकरण गराउने बहानामा सेवाग्राहीसँग रु ८० हजार घुस रकम लिई घुस लेनदेन कार्यमा मतियारको भूमिका निभाएकाले उनीविरुद्ध रु ८० हजार बिगो कायम गरी र सोहीअनुसार कैद जरिवाना मागदाबी लिई आरोपपत्र दायर गरिएको छ ।

नेपाल बङ्गलादेश बैंकको नयाँ एटीएम सेवा वसन्तपुरको झोँछेमा

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय केन्द्र वसन्तपुरको झोछेँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो ५१औं एटीएम सेवा हो । बैंकका महाप्रवन्धक सुरेन्द्रभुषण श्रेष्ठले एक कार्यक्रमबीच यस एटीएम सेवाको शुभारम्भ गरेका छन् । यस सेवाले वसन्तपुर क्षेत्रका व्यवसायी र बैंकका अन्य सेवाग्राहीलाई राहत पुग्ने बैंकको विश्वास छ । बैंकले यही गत पुससम्म ४३ करोड ८० लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सो अवधिसम्म बैंकले ४१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन र ४१ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अर्थमन्त्री खतिवडाले व्यापारीलाई भने– विलविजकका आधारमा सामान बेच्नुस

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विलविजकको आधारमा सामान बिक्री गरी सरकारलाई राजश्व परिचालनमा सहयोगका लागि आग्रह गरेका छन् । व्यापारीले विल विजकका आधारमा कारोबार गरे भन्सारमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने भन्दै उनले इमान्दारिता देखाउन व्यापारीलाई आग्रह गरे । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको व्यापारी प्रधिनिधिमण्डलले मंगलबारको भेटमा उनले बजार अनुगमनका क्रममा फरकफरक निकायहरुले अनुगमन गर्दा समस्या उत्पन्न हुने गरेको भन्दै अब अख्तियारी प्राप्त निकायले मात्रै एकद्धार प्रणाली अन्तर्गत अनुगमन हुने व्यवस्था मिलाउने जानकारी दिए । बैंकमा अहिले देखिएको तरलता समस्याको दीर्घकालिन समाधानका लागि स्वदेशी तथा विदेशी पुँंजीको परिचालन आवश्यक भएको उनले बताए । यसका लागि आवश्यक नीति नियम तर्जुमा गरिने उनले जानकारी दिए । आयातित मालसामानहरु सन्दर्भ मूल्यअनुसार जाँंचपास गर्न लागेकोले व्यवसायीहरुलाई मर्कामा परेको अध्यक्ष श्रेष्ठले जानकारी गराएका थिए । अध्यक्ष श्रेष्ठले कारोबार मूल्यको आधारमा भन्सारमा भन्सार जाँंचपास हुनुपर्नेमा जोड दिएका थिए । बजार अनुगमनको क्रममा व्यापारीको कुरै नसुनी पहिला थुन्ने गरेको भन्दै यसतर्फ सरकारको विशेष ध्यान जानुपर्ने सुझाएका थिए ।

प्रभु बैंकले कृषि भण्डारण कर्जा शुरु गर्ने, कृषकले साहुको चर्को व्याजबाट सुरक्षा पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडको कोहलपुर शाखाले भेरी शीत भण्डार सहकारी संस्था लिमिटेड र युकेएड सक्षमको सहकार्यमा कृषि भण्डारण कर्जा(वेरहाउस रिसिप्ट लोन) शुरु गर्न लागेको छ । सोमबार एक कार्यक्रमबीच उक्त कृषि भण्डारण कर्जाको उद्घाटन भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी यस कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले यो कृषि भण्डारण कर्जा यस क्षेत्रकै नविनतम् सेवा भएको बताएका छन् । साथै, यसले यस क्षेत्रका कृषकहरुलाई साहु महाजनको चर्को व्याजबाट सुरक्षा प्रदान गरी आर्थिक आवश्यकता परिपुर्ती गर्ने कुरामा आफु विश्वस्त रहेको जनाएका छन् । बाँके तथा बर्दिया क्षेत्र खासगरी कृषिमा आधारित ग्रामिण क्षेत्र भएको र यस क्षेत्र आलु जस्ता तरकारीको पकेट क्षेत्र मानिएको छ । त्यसैले यस क्षेत्रमा संचालनमा रहेको भेरी शीत भण्डार सहकारी संस्थामा आबद्ध कृषकलाई मध्यनजर राख्दै कृषि उपज भण्डारण गरेको रसिद धितोमा राखी प्रदान गरिने बैंकका शाखा प्रबन्धक बिकेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रभु बैंकले देशका विभिन्न भागहरुमा छरिएर रहेका आफ्ना विभिन्न शाखाहरु मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । साथै देशका भौगोलिक अवस्थितिका आधारमा उक्त क्षेत्रका जनताका जीवनस्तर उकास्न विभिन्न खालका कर्जा सेवा स्वंय तथा यु.के.एड सक्षमको सहकार्यमा निरन्तर संचालन गर्दै आईरहेको छ । कार्यक्रममा ९५ जना भन्दा बढी विभिन्न कृषक र कृषि पेशामा आबद्ध व्यापारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

९० मोटरसाइकल सहित १३८ सवारी चोरी, ८ मोटरसाइकल भेटीए

काठमाडौं । उपत्यकामा एक महिनामा १३८ वटा सवारीसाधन चोरी भएका छन् । उपत्यकाको विभिन्न स्थानबाट ९० मोटरसाइकल सहित १३८ मोटरसाइकल चोरी भएको हो । महानगरीय ट्राफिक कार्यलयका अनुसार गत फागुन महिना भरिमा ४० वटा स्कुटी, ट्रक, टीपर, स्करपियो, कार १–१ र ५ वटा साइकल चोरी भएको छ । चोरी भएका सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले ८ वटा सवारी साधन फेला पारेको छ । फेला परेको मध्ये ५ वटा मोटरसाइकल र ३ वटा स्कुटी रहेको छ । प्रहरीले यी सवारी साधन वेवारिसे अवस्थामा फेला पारेकाे हुाे । सवारी लिन सवारी लिनलाई आवश्यक कागजात सहित प्रहरी कार्यलयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।