९ हजार घुसले शाखा अधिकृत इन्दिरा गौतमको जागिर गयो
काठमाडौं । ९ हजार घुस लिदा घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत इन्दिरा गौतमले जागिर गुमाउनु परेको छ । ‘काठमाडौं हिडन टेलर’ नामक सिलाई बुनाई गार्मेन्ट सञ्चालन गर्न घरेलु घरेलु उद्योग दर्ताको लागि अंग्रेजी अक्षर नभई नेपाली हुनु हुनुपर्ने भन्दै घुस मागिरहेको अवस्थामा गौतम पक्राउ परकी हुन् । गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिइ गएको टोलीले ९ हजार घुससहित पक्राउ गरेको हो । उनीमाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
बिहीबारको बजारमा तीव्र उतारचढाव, परिसूचकमा दोहोरो अंकको गिरावट
काठमाडौं । बिहीबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार खुलेको करिब २ घण्टामै ओरालो लागेर १२०७ अंकमा पुगेको थियो । त्यसपछि एक्कासी उकालो लागेर १२३८ अंकमा पुगेको नेप्से अन्तत बजार बन्द हुँदा दोहोरो अंकले घटेको छ । समग्रमा नेप्से १० दशमलब ६३ अंकले घटेर १२२० अंकमा झरेको छ । बजारमा सेयर कारोबारमा भने केही सुधार भएको छ । सो दिन ४३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ बढी हो । बिहीबार कारोबारमा आएका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह १२० अंकले घटेको छ ।
नाकाबन्दीले तोडेको कर्णाली-काठमाडौं सिधा उडान रबिन्द्रले जोडे
काठमाडौं । भारतीय नाकाबन्दीले तोडिएको काठमाण्डौ देखि सुर्खेत सिधा उडान पुन; सञ्चालनमा आउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कर्णाली प्रदेसको राजधानी सुर्खेतमा चैत २१ देखि सिधा हवाई उडान गर्न निर्देशन दिएका हुन् । बिहिबार पर्यटन मन्त्रालयमा भएको छलफलमा सिधा उडान गर्ने निर्णय भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्री र प्रदेस मन्त्रीहरु बीच कर्णालीको पर्यटन बिकास सम्बन्धिको छलफल भएको थियो । सिधा उडान गर्ने निर्णय गर्दै अधिकारीले अब सुर्खेतमा नियमित उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गरिन्छ- मुख्यमन्त्री शाही
भक्तपुर । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताएका छन् । रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ६ नं प्रदेश गरिबी र आर्थिक अभावका बीच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रपमा विकास गरि भ्रष्टाचार मुक्त प्रदेशका रुपमा परिचित गराउने बताएका छन् । देशको कुल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउन सके यसले देशको आर्थिक विकासमा टेवा पुुर्याउने भन्दै शाहिले कर्णाली प्रदेशलाई स्वायत प्रदेशका रुपमा केन्द्र सरकारले कानुनमै सम्बोधन गर्नु पर्ने बताए । प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको र यसले अवको केही महिनामै पूर्णता पाउने छ । साथै, उनले प्रदेश सरकारले आफ्ना विभिन्न गतिबिधिलाई तिब्रताका साथ कार्यान्वयनमा ल्याउने बताएका छन् । उनले ठालू भएर अरुलाई काम लगाउने प्रवृतिको अन्त्य गर्दै युवा दस्तालाई श्रम तर्फ अकार्षण गर्ने गरी रोजगारीको श्रृजना गर्दै विकासका लागि युवा दस्ता निमार्ण गर्न थालेको बताए । प्रदेश सरकार सञ्चालन नयाँ बिषय भएको र सञ्चालनमा प्रभावकारीता ल्याउन दक्ष कर्मचारी नहुँदा समेत बिभिन्न खालका समस्या देखिएको उनले बताएका छन् । कर्णाली प्रदशेलाई अर्गानिका प्रदेशका रुपमा विकास गर्न र पूर्ण रुपमा बिषादी मुक्त बनाउने अभियानमा एक मात्र रहेको नाकालाई कडाई गरिन थालेको उनले जानकारी दिए । शाहीले सामाजिक सञ्जालले विकासका गतिबिधि भन्दा पनि विकृति निम्ताएको बताउँदै आफ्नो प्रदेशमा समयको मापदण्ड तोकी सामाजिक सञ्जालको अनावश्यक प्रयोगलाई नियन्त्रण गर्ने बताएका छन् । कर्णाली प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि आगामी वर्षलाई पर्यटन बर्षका रुपमा अगाडी बढाउने र यस क्षेत्रमा रहेका अथाहा सम्भावना बोकेका क्षेत्रको पहिचान गराउने गुरुयोजनामा लागेको शाहीले बताए ।
पर्यटन मन्त्रीका छ प्राथमिकता, पूर्वाधार निमार्णदेिखि कालाेसूचिकाे दाग मेटाउनेसम्म
काठमाडौं । युवा जोशले भरिएका एमाले केन्द्रिय सदस्य रविन्द्र अधिकारी पर्यटन मन्त्री बनेका छन् । उनले सन २०२० सालमा बर्सेनी १५ लाख पर्यटक नेपाल आउने वातावरण बनाउने घोषणा गरेका छन् । बार्षिक १० लाख मात्रै होईन ५० औं लाख पर्यटक नेपाल आउन सक्छन तर त्यसका लागि सरकारले केहि कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउनु पर्नेछ । यस्ता हुन सक्छन् पर्यटन मन्त्रीका छ प्राथमिकता १) हवाई पुर्वाधारहरुको निर्माणमा तिब्रता हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिसँगै भैरहवा विमानस्थल र पोखरा विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ । दोश्रो अन्तराष्ट्रिय विमानस्थलका रुपमा निजगढ विमानस्थल बनाउने भन्ने सरकारी घोषणाले अझै ठोस रुप लिएको छैन् । निजगढ विमानस्थल निर्माणको मोडालिटीबारे अन्यौल कायमै छ । त्रिभुवन विमानस्थलको ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढेको छ भने भैरहवामा एमाले बरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक खनालले अवरोध गरेको आरोप लागेको छ । पोखरा विमानस्थलमा पर्यटनमन्त्री अधिकारी आफै जोडिएका छन र उनले सहजताका लागि पहल कदमी पनि गरिरहेकै छन् । निजगढ विमानस्थलमा एमाले उपाध्यक्ष भिम रावलका छोरा जोडिएका छन् । रावलका छोराले कोरियन कम्पनी ल्याण्ड मार्क वल्र्डवाइड मार्फत निजगढ विमानस्थलको प्रारम्भिक सम्भाव्यता अध्ययन गराएका थिए । अहिले ३५ लाख अमेरिकी डलरको क्षतिपुर्तिले काम हलो अड्काएको छ । ल्याण्डमार्कले ३५ लाख डलरको ब्याज समेत जोडेर क्षतिपुर्ति माग गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, पोखरा विमानस्थल र निजगढ विमानस्थलको निर्माणलाई गति दिनु पर्यटन मन्त्रीको पहिलो प्राथमिकता बन्नु आवश्यक छ । यी पुर्वाधारहरु निर्माण सम्पन्न हुने वित्तिकै नेपाल आउने पर्यटकहरुको आगमन ह्वात्तै बढ्नेछ । त्यसका अलवा आन्तरिक विमानस्थलहरुको स्तरोन्नति पनि प्राथमिकतामा पर्नु पर्छ । २) नेपाल बायुसेवा निगमको प्रभावकारीता राष्ट्रिय ध्वजा बाहक नेपाल बायुसेवा निगम लथालिंग अवस्थाबाट गुज्र्रिरहेको छ । निगमसँग भएका जहाजहरुको नियमित उडान र नयाँ ल्याउने भनिएका जहाजहरुको उपयुक्त व्यापार योजना नबनाउने हो भने निगम अझै ओरालो लाग्ने त निश्चित नै छ साथमा पर्यटन उद्योग थप धारासायी बन्न सक्छ । त्यसकारण पर्यटन मन्त्रीले बायुसेवा निगमको सशक्तिकरण र युरोप तथा अमेरिकासम्म उड्न सक्ने बनाउन आवश्यक योजना ल्याउनु पर्छ । निगमले आफ्नै आम्दानीबाट सेवा विस्तार गर्ने वातावरण बनाउनका लागि पर्यटनमन्त्रीले हस्तक्षेपकारी भूमिका मन्त्रीले खेल्नु पर्ने देखिन्छ । ३) नागरिक उड्डयन प्राधिकरणको क्षमता अभिवृद्धि नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षमता माथी सधै प्रश्न उठ्दै आएको छ । अन्तराष्ट्रिय विमानस्थल भित्रै युएस बंगला जहाज दुर्घटना हुँदा ४९ जनाको जलेरै मृत्यु भयो । यसले हाम्रो अन्तराष्ट्रिय विमानस्थल भित्रकै उद्धार क्षमतामा पनि गम्भिर प्रश्न खडा गरेको छ । यो राष्ट्रिय लज्जाको बिषय पनि बन्न पुगेको छ । नागरिक उड्डयन प्राधिकरणको नियामकिय क्षमता अभिवृद्धिका साथै त्यसको संस्थागत सुदृढीकरण पनि आजको महत्वपुर्ण आवश्यकता बनिसकेको छ । प्राधिकरणलाई हवाई क्षेत्रका विचौलियाहरुले घेराबन्दीमा पारेका छन् । नियामक निकायलाई विचौलियाहरुको चंगुलबाट मुक्त गराउनु पनि अर्काे प्राथमिकता बन्नु पर्छ । ५) कालोसूचिको दाग नेपाली बायु सेवा कम्पनीहरुलाई युरोपियन युनियनले कालो सूचिमा राखेका छ । त्यसको कारण पनि नागरिक उड्डयन प्राधिकरणकै दक्षतासँग जोडिएको छ । युरोप जहाँबाट बर्षेनी लाखौं पर्यटक नेपाल आउँछन्, त्यसैले नेपाली बायु सेवा कम्पनीहरुलाई कालो सूचिमा राखेपछि नेपालको पर्यटन उद्योग उभोँ लाग्ने सम्भावनै छैन् । नेपाली बायु सेवा कम्पनीहरुलाई इयुको कालो सूचिबाट हटाउन सके मात्रै अन्तराष्ट्रिय बजारमा नेपालको छवि सुध्रने छ र युरोपियन पर्यटकहरु नेपाली विमानबाटै नेपाल आउने वातावरण बन्नेछ । ६) पर्यटन बोर्डको सशक्तिकरण पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्ड गतिहिन जस्तै बनेको छ । ठुलो भ्रष्टाचार काण्ड बाहिरिएसँगै भर्खरै तँग्रिँदै गरेको बोर्डले संसारभर नेपाली पर्यटन क्षेत्रहरुको प्रवद्धन गर्ने प्रयास गरेपनि त्यो प्रभावकारी बन्न सकिरहेको छैन् । बोर्डले आफ्नै वेभसाइटको समेत राम्रोसँग व्यवस्थापन गरेको देखिन्न । नेपाली पर्यटन गन्तव्यहरुको प्रचार सामग्री निर्माण गरेर विश्व बजारमा दर्बिलो उपस्थिती जनाउनका लागि पनि पर्यटन मन्त्रीले आफ्नो भूमिका देखाउनै पर्नेछ । यस अघिकै कार्य शैली र गतिले अघि बढ्ने छुट नयाँ पर्यटन मन्त्री अधिकारीलाई छैन् ।
सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त
काठमाडौं । सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा उत्तमकुमार भट्टराई नियुक्त भएका छन् । बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैंठकले भट्टराईलाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो । भट्टराईले आगामी ४ वर्षसम्म यस कम्पनीको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हाल्नेछन् ।
काठमाडौं स्टीलले विकास गरेको प्रविधि विश्वभरका स्टील उद्योगका लागि धेरै उपयोगि छ
मेकानिकल इन्जिनियरीङ र मेटिरियल्स् साइन्समा अमेरिकाबाट मास्टर डिग्री गर्नु भएका केशव राज पोखरेल हाल मेटिरियल्स् साइन्समा विद्यावारिधि गर्दै हुनुहुन्छ । उहाँ विगत १७ वर्षदेखि स्टील उद्योगमा सक्रिय हुनुहुन्छ । अमेरिकी डिफेन्स इन्डस्ट्रिजमा डिजाईनरको रुपमा समेत काम गरीसक्नु भएका पोखरेल पञ्चकन्या, अम्बे र हामा स्टील हुँदै हाल काठमाडौं स्टीलको प्रमुख कार्यकारी पदमा कार्यरत हुनुहुन्छ । पोखरेल सहितको टिमले पञ्चकन्यामा काम गर्दा नेपालमा पहिलो पटक २००२ मा टीएमटी बार उत्पादन थालेको थियो । अहिले टीएमटी बारको उत्पादन र बजार ठूलो भएको छ । हाल काठमाडौं स्टीलले फेरी नयाँ प्रविधिको प्रयोग गरी ‘रिडवार विथ कपलर सिस्टम’ उत्पादन गर्दै आएको छ । प्रस्तुत छ काठमाडौं स्टीलले प्रयोग गरेको नयाँ प्रविधि, स्टील बजार र उपभोग्य शैलीमा आएको परिवर्तन बारे पोखरेलसँग गरिएको विकास वहस । केशवराज पोखरेल, प्रमुख कार्यकारी अधिकृत-काठमाडौं स्टील प्रा.लि. काठमाडौं स्टीलले ‘रिडवार विथ कपलर सिस्टम’ मा आधारित स्टील उत्पादन गर्दै आएको छ, यसको विशेषता के हुन् ? २०६८ सालमा स्थापना भएको काठमाडौं स्टील कम्पनीले २०७० सालदेखि उत्पादन गर्दै आएको छ । अरु कम्पनीको उत्पादन भन्दा हाम्रो उत्पादन फरक छ । ‘रिडवार विथ कपलर सिस्टम’ को स्टील उत्पादन गर्ने साउथ एशियामा काठमाडौं स्टील एक मात्र कम्पनी हो । यसका उत्पादनलाई जहाँ काटेर पनि त्यसमा जोड्न सकिन्छ । जीआई पाइपमा सकेट राखेझै काठमाडौं स्टीलका रडहरु जोड्नको लागि सजिलो छ । यसरी जोडिएको भागको स्ट्रेन्थ तथा बेन्डिङ मोमेन्ट रडको परम्परागत डिजाइनको तुलनामा धेरै राम्रो हुन्छ । अन्य भागको जतिकै बलियो हुन्छ । परम्परागत स्टीलहरु जोर्तीमा ओभरल्याप (एक रडमाथि अर्को रड) गरिन्छ । निर्माणलाई बलियो बनाउन रडहरु जोर्तीमा नखप्टी हुँदैन । त्यसो गर्दा धेरै रड खपत हुन्छ । निर्माताको खर्च बढी हुन जान्छ । कति फरक पर्न सक्छ ? मानौं, एउटा पुल बनाउन १०० टन रड लाग्छ भने १० टन रड ज्वाइन्टमा मात्र खपत हुन्छ । तर काठमाडौं स्टीलको उत्पादन प्रयोग गर्ने हो भने त्यहि पुल बनाउन ९० टन मात्र भए पुग्छ । त्यस्तै, कुनै पनि प्रोजेक्टमा काठमाडौं स्टील प्रयोग गर्ने हो भने एक टुक्रा पनि खेर जाँदैन । मानौ ४० फिटको रड छ, ३५ फिट मात्र रड लाग्ने हो भने ५ फिट रड खेर जाने भयो । तर काठमाडौं स्टील प्रयोग गर्ने हो भने त्यो ५ फिटको रड खेर फाल्नु पर्दैन, अर्को ठाउँमा जोडेर प्रयोग गर्न सकिन्छ । कपलर ज्वाइन्ट र ओभरल्याप ज्वाइन्टमा कुन बलियो हुन्छ ? ओभरल्याप ज्वाइन्टमा दुई डण्डीलाई मसिनो तारले बाधेको हुन्छ । बँधाई खुकुलो भएको अवस्थामा, कङ्क्रिट राखेर भाईबेटरले चलाउँदाको अवस्थामा डण्डीको ज्वाइन्ट फाटेर जाने जोखिम हुन्छ । कपलर ज्वाइन्टमा त्यस्तो कुनै जोखिम हुँदैन । अर्को महत्वपूर्ण कुरा के छ भने ओभरल्याप ज्वाइन्टमा बढी स्टील प्रयोग हुन्छ, त्यसले घरलाई बढी बोझिलो बनाउँछ । अग्ला घर बनाउँदा ३२ एमएमको रड प्रयोग हुन्छ । एउटा रड ओभरल्याप गर्दा १२ किलोग्राम अतिरिक्त भार पर्छ । ४ वटा रड प्रयोग भएको एउटा विन्दुमा ओभरल्याप खर्च ४८ किलोग्राम हुन्छ । कपलर प्रयोग गर्यो भने त्यसको तौल १० किलो मात्र हुन्छ । एउटा रडको जोइन्टमा साढे नौ किलो कम हुन्छ भने एउटा विन्दुमा ३८ किलो कम तौल हुन जान्छ । माथिल्लो भागमा कम लोड भएको अग्ला घरहरुमा डाइनामिक लोड पनि कम हुन्छ । भूकम्पीय दृष्टिकोणले यस्तो घर कम जोखिमपूर्ण हुन्छ । काठमाडौं स्टीलको बजारमा माग कस्तो छ ? आवास तथा परियोजना मध्ये कहाँ बढी प्रयोग हुन्छ ? काठमाडौं स्टीलको मूल्य अन्य स्टीलको भन्दा केही महँगो छ । गुणस्तर र मूल्य तुलना गरेर किन्ने ग्राहक कम हुन्छन् । धेरै जसो ग्राहक जुन ब्राण्डको प्रतिकिलो मूल्य सस्तो छ, त्यहि किन्छन् । तर कुल लागतको हिसावले काठमाडौं स्टिल महँगो पर्दैन । किनकी पराम्परागत स्टीलको तुलनामा जोर्तीको ओभरल्यापमा बढी स्टीलको खपत हुँदैन । बजारमा हाल काठमाण्डौ स्टिलको माग तिव्र रुपले बढ्दै गएको अवस्था छ । प्रोफेसनल डिजाइनरहरुले तयार गरेका डिजाइनहरुमा तथा रास्ट्रिय गौरवका आयोजनाहरुको पहिलो रोजाईमा प्रयोग भएको पाईन्छ । विस्तारै सर्वसाधारणका संरचनामा पनि प्रयोग हुने क्रम बडिरहेको छ । ग्राहकले गुणस्तर तथा त्यसबाट हुने बचतका बारेमा राम्रो सँग बुझिनसकेको अवश्थाका कारण पनि सर्वसाधारणको रोजाईमा रिडबारले स्थान बनाउन नसकेको हो । बजारमा प्रतिस्पर्धी बनाउन मूल्य घटाउने प्रयास भएको होला नि ? मूल्य घटाउनको लागि हामीले रिसर्च तथा डेभलपमेन्टको काम गरिरहेका छौं । र, यो अन्तिम चरणमा पुगेको छ । यसले जोर्तीको ओभरल्यापमा हुने खपतमा ७८ प्रतिशत कम गराउने देखिएको छ भने लागत मूल्यमा २० प्रतिशत बचत हुने देखिएको छ । हामीले ज्वाइन्ट कपलर न्यूजिल्याण्डबाट ल्याउनु पर्दा यो महँगो भएको हो । अब यस्तो सकेट हामी आफैले बनाउने तयारीमा छौं । यस्तो सकेट बनाउने उद्योगको लागि नेपाली बजार सानो हुन्छ । त्यसैले हामीले नेपाल, भारत र चीनको बजारलाई लक्षित गरी नयाँ उद्योग खोल्ने तयारीमा छौं । हामीले बनाउने वित्तिकै यस्तो सकेटको मूल्य कम हुन जान्छ । त्यसपछि यसले बजारमा यति व्यापकता पाउँछ कि जुनसुकै कन्स्ट्रक्सन साईटमा यसको प्रयोग हुनेछ । काठमाडौं स्टीलको उत्पादन गर्ने प्रविधि पनि फरक छ । उत्पादनपछि ह्याण्डलिङ एण्ड डिस्प्याचको काम मेसिनले गर्ने प्रविधि हामीले पहिलो पटक नेपालमा विकास गरेको छौं र त्यसको पेटेन्ट राईट लिने प्रक्रिया अगाडि सारेका छौं । नेपाल र भारतमा पेटेन्ट राईट दर्ता भईसकेको छ । ह्याण्डलिङ एण्ड डिस्प्याच मेसिनको विकास भनेको कस्तो हो ? त्यसले उत्पादनमा कसरी सहयोग गर्छ ? ५/६ सय डिग्री तापक्रममा बनेको डण्डी गन्ने, मुठा बनाउने, बङ्ग्याउने, ट्याग लगाउने, लोड गर्ने सबै काम विश्वभर नै मान्छेले हातैले गर्ने अभ्यास छ । यो काम निकै जोखिमयुक्त काम हो । यो काम मेसिनको प्रयोगबाट गर्ने प्रविधिको हामीले विकास गरेका छौं । नयाँ मेसिनको प्रयोगसँगै दैनिक १३० जनाले गर्ने काम ४ जनाले गर्न सक्छन् । हाम्रो कम्पनीमा पुरै अटोमेशन भईसक्यो । फ्याक्ट्रीबाट उत्पादन हुँदा हुँदै गाडीमा लोड भईसक्छ । म्यानुअली हुने उद्योगमा आज उत्पादन भएको डण्डी डिस्प्याच र ह्याण्डलिङको काम ४÷५ दिन पछि मात्र हुन्छ । यो मेसिनको प्रयोगले रोजगारी कटौतिमा कस्तो असर पर्छ ? हामीले बनाएको मेसिन नेपालका सबै उद्योगले प्रयोग गरे भने ५ हजार भन्दा बढी रोजगारी कटौति हुन्छ । हरेक स्टील उद्योगमा कम्तिमा १०० र बढीमा ३०० जना भारतीय नागरिकले काम गर्छन । प्रोडक्सन ह्याण्डिलिङ र डिस्प्याच गर्ने कामदारले ८ घण्टा काम गर्दा प्रतिदिन १५०० रुपैयाँ कमाउँछन् । उनीहरुले वार्षिक ४० देखि ४५ करोड रुपैयाँ भारत लैजान्छन् । त्यो पुरै कट हुन्छ । हामीले बनाएको मेसिन लिने स्टील उद्योगहरुले गर्ने लगानी एक वर्षमा नै उठ्छ । त्यसपछि अहिले डिस्प्याच एण्ड ह्याण्डलिङमा हुँदै आएको सबै खर्च बचत हुन जान्छ । मानविय दृष्टिकोणले पनि यो मेसिन निकै उपयुक्त छ । डिस्प्याच एण्ड ह्याण्डलिङको काम गर्दा कामदार जल्ने, पोलिने वा अङ्गभङ्ग हुने जोखिम धेरै हुन्छ । धेरै गरिब र दुःख पाएका मान्छेले मात्र यो जोखिम लिएर काम गरेका हुन्छन् । उनीहरु केही समय जोखिम लिएर काम गर्छन, अलिअलि पैसा कमाएपछि यो काम गर्न छोड्छन् । त्यसैले हरेक स्टील उद्योगको लागि सबैभन्दा ठूलो समस्या भनेको डिस्प्याच एण्ड ह्याण्डलिङ गर्ने मान्छे नपाउनु हो । ‘भारतमा १५०० भन्दा बढी स्टील उद्योग छन् । सबै उद्योगमा जनशक्तिको कमी छ । यो मेसिन भारतका सबै उद्योगले लगाउँदा वार्षिक १६०० करोड बचत हुन्छ ।’ यो समस्या नेपालमा मात्र होइन, भारतमा झन् ठूलो समस्याको रुपमा रहेको छ । विश्वका अरु देशहरुमा पनि यो समस्या छ । हालसालै म भारतमा पेटेन्ट राईट दर्ता गर्न जाँदा त्यहाँको अफिसर निकै खुशी भए । उनले भने–‘भारतमा १५०० भन्दा बढी स्टील उद्योग छन् । सबै उद्योगमा जनशक्तिको कमी छ । यो मेसिन भारतका सबै उद्योगले लगाउँदा वार्षिक १६०० करोड बचत हुन्छ ।’ यो मेसिन राख्न कति लगानी गर्नु पर्छ र कस्ता स्टील उद्योगहरुले प्रयोग गर्न सक्छन् ? यो मेसिन किन्न सवा दुई करोड रुपैयाँ लाग्ने छ । घण्टाको ५ देखि ६० टन उत्पादन क्षमता भएका कम्पनीहरुको लागि उपयोगि हुनेछ । यो मेसिनको प्रयोगले वार्षिक ६०/७० हजार टन स्टील उत्पादन गर्ने कम्पनीको वार्षिक करिव २ करोड रुपैयाँ बचत गर्छ । हामीले यो मेसिन अरु देशलाई बनाउन अधिकार दिने छैनौ । नेपालमा नै बनाएर विदेशमा निर्यात गर्ने र नेपालको लागि डलर भित्र्याउने काम गर्ने छौं । कुनै पनि देशले एलसी खोलेर अर्डर गरी लैजान सक्छन् । नेपाल, भारत, बंगलादेश, पाकिस्तान, इन्डोनेसिया, केन्या, चाइना लगायत धेरै देशमा यो मेसिन निर्यात गर्ने हामीले योजना बनाएका छौं । स्टील उद्योगमा नविन कार्यशैलीहरु कस्तो आएको छ ? पहिला धेरै काम मान्छेले म्यानुअली गरिन्थ्यो भने अहिले प्रविधिको प्रयोग हुन्छ, मेसिन औजारहरुको प्रयोग हुन्छ । जतिबेलामा म स्टील इन्डस्ट्रीमा प्रवेश गरे त्यतिबेला यो उद्योगमा नेपालीले काम गर्न सक्दैन भनिन्थ्यो । त्यतिबेला हेल्परदेखि सुपरभाइजरसम्मका मान्छेहरु भारतबाट ल्याउनु पर्दथ्यो । अहिले धेरै प्रकारका जनशक्ति नेपालमा नै पाइन्छ । मैले काम गरेका पञ्चकन्या, अम्बे, हामा, र काठमाडौं स्टीलमा अधिकांश नेपालीले काम गर्छन । मैले काम सिकाएका १५० जना भन्दा बढी दक्ष जनशक्ति अहिले नेपालको स्टील उद्योगमा क्रियाशिल छन । कडा परिश्रम गर्नु पर्ने काम भएकाले पनि मानिसहरु अझै पनि भारतबाट आउने क्रम रोकिएको छैन ।
प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । बिहीबार प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १३.५२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ८०६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८१६ रुपैयाँ रहेको थियो ।