भाटभटेनी सुपरमार्केटको आगलागी चार घण्टापछि नियन्त्रणमा, करोडौको क्षति
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए । सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु र तानसेन नगरपालिकाका दमकल र स्थानीय व्यावसायिक पानी बोक्ने ट्यांकर आगो निभाउन प्रयोग गरिएको थियो । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । आगलागी भएको केहीबेरमा नै बुटवल उपमहानगरको दमकल घटनास्थल आए पनि भाटभटेनीका व्यवस्थापनका कर्मचारी नभेटिएपछि निकैबेर दमकलका कर्मचारी अलमलमा परेका थिए । बिहान मर्निङवाकमा निस्केका स्थानीयले भाटभटेनीमा आगोको मुस्लोदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागी बढ्दै गएपछि वरिपरिका स्थानीय बासिन्दासमेत त्रसित बनेका थिए । आगलागीबाट के–कति क्षति भयो भन्ने अहिलेसम्म कुनै तथ्यांक आएको छैन तर आगलागीबाट पाँचौ तला र चौथो तलामा रहेको इलोट्रोनिक्स सामान जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट भएको क्षतिकाबारेमा आफू बुटवल बाहिर भएकाले अहिले नै कुनै अनुमान गर्न नसकिने र आगलागीको घटना कसरी भयो भन्नेमा समेत अहिले नै भन्न नसकिने सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बताए। सुपरमार्केट गत वर्षमात्र ९५ करोडको लागतमा सञ्चालनमा आएको हो । सञ्चालनको छोटो समयमै दैनिकरुपमै राम्रो व्यावसायिक कारोबार गर्न सफल भएको थियो । आगलागी भएपछि घटनास्थलको अवलोकन र जानकारी लिन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्यलगायत त्यहाँ पुगेका थिए । मुख्यमन्त्री पोखरेललाई आगलागीको घटना र यसको नियन्त्रणका लागि भएका प्रयासका बारेमा सुरक्षा अधिकारीले जानकारी गराएका थिए । रासस
बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी, करोडौंको क्षति
काठमाडौं ।बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार बिहान भीषण आगलागी हुदा करोडौं रुपैयाँको क्षति भएको छ । बुटवल उपमहानगरपालिका ८ नम्बर वडामा पर्ने सुपरमार्केटको ५ औ तल्लाबाट सुरु भएको आगलागी अन्य तलामा पनि लागेको थियो । आगलागीबाट करोडौ रुपैयाँको क्षति भएको सुपर मार्केटका प्रमुख कार्यकारी अधिकृत पानुप्रसाद पौडेलले बताए । उनकाअनुसार आज बिहान ४ बजेदेखि आगो लागेको उनले जानकारी दिए । आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित दमकल परिचालन गरिएको छ । धुवाँको मुस्लोले बुटवलको आकास ढाकेको छ । बुटवल र भैरहवाको दमकलले आगो निभाउने प्रयास जारी राखेका हुन् । कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल मगाइएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ । सुपरमार्केट गत बैशाख महिनाबाट सन्चालनमा आएको हो । सुपरमार्केट ९५ करोडको लागतमा सम्पन्न गरिएको थियो ।
एकीकृत जाँच चौकीको उद्घाटन, व्यापारीलाई प्रत्यक्ष फाइदा
नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी) को आज उद्घाटन गरेका छन् । हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा उक्त एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात समितिको संयोजनमा निर्माण भएको उक्त एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो । प्रधानमन्त्री ओलीको भारतको राजकीय भ्रमणको अवसर पारेर एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो । नेपाल र भारत बीचको सम्झौताअनुसार सन् २०११ को जुलाईमा शिलान्यास भई उक्त एकीकृत जाँच चौकीको निर्माण कार्य थालिएको थियो । मुआब्जा विवाद, ठेकेदारको लापरबाही, ढुङ्गा, बालुवा जस्ता निर्माण सामग्रीको अभावका कारणले एकीकृत चौकी निर्माणमा ढिलाइ भएको थियो । भारतीय सहयोगमा विराटनगर भैरहवा र नेपालगगञ्जमा पनि त्यस्ता चौकी निर्माण भइरहेका छन् । मुलुकको व्यापार सहजीकरणका लागि सरकारले भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै र सुख्खा बन्दरगाहमा पूर्वाधार मजबुत बनाउँदै लैजाने योजनाअन्तर्गत उक्त चौकी निर्माण गरिएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार आइसिपी आजैदेखि सञ्चालनमा आउनेछ । आइसिपी सञ्चालनमा आएपछि सामान आयात र निर्यात गर्दा सीमा नाकामा उद्योगी तथा व्यवसायीले भोग्नुपरेको समस्या समाधान हुने विश्वास लिइएको छ । नेपाल र भारत बीचको व्यापारलाई सहजीकरण गर्न उक्त चौकीले सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुई देशबीचको व्यापारलाई औपचारिक दायराभित्र ल्याउन महत्वपूर्ण एकीकृत जाँच चौकीको महत्वपूर्ण योगदान रहनेछ । सरकारले वीरगञ्ज महानगरपालिकाको सिर्सिया र अलौमा गरी ३१५ जना जग्गाधनीको ११५ बिगाहा क्षेत्रफल जग्गा अधिग्रहण गरी उपलब्ध गराएको थियो । भारत सरकारको १ अर्ब ३९ करोड रुपैयाँ लागतमा एकीकृत जाँच चौकी निर्माण भएको हो । अलौंमा निर्माण भएको उक्त चौकीमा ७३० वर्ग मिटर क्षेत्रफलका पाँच वटा ठूला गोदाम, दुईटा ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारीको आवास भवन, उपचार केन्द्र भवन, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाललगायत रहेका छन् । चौकी सञ्चालनमा आएपछि वीरगञ्जको मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालय त्यही स्थानान्तरण हुनेछ । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यातकर्ताले कम समयमै सहज रुपमा वस्तु आयात–निर्यात गर्न सक्नेछन् । सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजश्व चुहावट पनि रोकिने सरकारको अपेक्षा रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले व्यापार प्रवद्र्धनका लागि एकीकृत जाँच चौकी महत्वपूर्ण कोशेढुंगा भएको संक्षिप्त प्रतिक्रिया दिनुभयो । शुक्रबार भारतीय व्यापारीसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीले वीरगञ्जमा एकीकृत जाँच चौकी सञ्चालन आउन लागेको र त्यसले उद्योगी–व्यवसायीलाई फाइदा पुग्ने बताए । रासस
दिल्लीबाटै रक्सौल–वीरगञ्ज पेट्रोलियम पाइपलाइन शिलान्यास, ३ वर्षमा सकिने
नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । हैदराबाद हाउसमा आयोजित विशेष समारोहमा उक्त पाइपलाइनको शिलान्यास गरिएको होे । अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा गत फागुनको अन्तिम सातादेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु भइसकेको छ । हालसम्म करीब तीन किलोमिटर पाइपलाइन बिच्छ्याइसकिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार फागुन २५ गतेदेखि पाइपलाइन जडानको काम शुरु हो । पाइपलाइन बिछ्याउन र वेल्डिङ गर्ने कामको ठेक्का भारत, महाराष्ट्रको लिखित इन्फ्रास्ट्रक्चरले पाएको छ । यस्तै अमलेखगञ्जस्थित नेपाल आयल निगम डिपोको चार वटा ट्यांकीको स्तरोन्नतिको काम पनि भइरहेको छ । भारत फरिदावादको मोतिप्रभा इन्फ्राटेक प्रालिले ट्यांकी स्तरोन्नतिको काम गरिरहेको छ । कूल ६९ किलोमिटर लामो उक्त पाइपलाइनलाई रणनीतिक महत्वको परियोजनाका रुपमा लिइएको छ । इण्डियन आयल कर्पोरेशनको लगानीमा सञ्चालित पाइपलाइन परियोजनाका लागि नेपालले पाइपलाइन ओछ्याउने स्थान र वीरगञ्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक सबै लगानी भारत सरकारकै रहेको छ । मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलब सात किलोमिटर र रक्सौलदेखि अमलेखगञ्जसम्म २६ किलोमिटर लामो पाइपलाइन परियोजनाको लागत प्रतिकिलोमिटर करीब भारु ५ करोड लागत रहेको छ । परियोजनामा नेपालतर्फ राखिने ३१ किमीभन्दा बढी पाइप नेपाल भित्रिसकेको छ । पाइपलाइनमा कालो रङको स्टिलको पाइप प्रयोग गरिएको छ । उक्त पाइप भारत महाराष्ट्रको सिमलेस लिमिटेडले उत्पादन गरेको हो । पाइपलाइन निर्माण भएपछि वीरगञ्ज नाकामा भन्सार क्षेत्रमा हुने लामो जाम र भीडभाडसमेत अन्त्य हुने र वीरगञ्ज–पथलैया–अमलेखगञ्ज सडकखण्डमा ट्यांकरको चापसमेत घट्ने विश्वास लिइएको छ । तत्कालीन आपूर्तिमन्त्री सुनिल थापा र भारतको पेटोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धमेन्द्र प्रधानले दुई वर्षपहिले उक्त पाइपलाइन निर्माण गर्ने सम्झौता गरेका थिए । नेपालमा आयात हुने कूल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगञ्ज नाका भएर भित्रने भएकाले पनि सो पाइपलाइनको निर्माणपछि सहज अवस्था आउने विश्वास लिइएको छ । शिलान्यास समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतीय समकक्षी धमेन्द्र प्रधानको समेत उपस्थिति थियो । यस्तै नेपाली प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यसमेत सो अवसरमा उपस्थित थिए । सन् २०१७ भित्र नै सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइन आयोजना निर्माणको काम, नेपाल आयल निगम र आइओसी दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइले गर्दा निर्माणसमेत ढिलो हुन पुगेको थियो । पाइपलाइन आयोजना निर्माण शुरु भएको ३६ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । पाइपलाइन आयोजना निर्माणका लागि भारतबाट ल्याइने पाइप लगायतका निर्माण सामग्री राख्नका लागि आयल निगमले वीरगञ्जमा बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखानाको जग्गा भाडामा लिएको छ । निगमले हाल भारतको बैरगनिया र रक्सौलमा रहेको आइओसीको डिप्पोबाट पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल, मट्टीतेल, हाई स्पिड डिजेल र हवाई इन्धन ट्यांकरमार्फत अमलेखगञ्जमा रहेको आयल निगमको डिपोमा आयात गर्दै आएको छ । पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात गर्दा ढुवानी भाडा कम लाग्नाका साथै चुहावटमा पनि नियन्त्रण आउने आयल निगमको दाबी छ । पाइपलाइन आयोजना निर्माणपछि भारतको डिपोबाट प्रतिघण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा ल्याउने आयल निगमले लक्ष्य छ । पाइपलाइन भविष्यमा विस्तार गरेर चितवनसम्म लैजाने लक्ष्य राखिएको छ । रासस
बंगालबाट सिधै पानी जाहाज आउने, नेपाल अब भुपरिवेष्ठित मुलुक रहेन : प्रधानमन्त्री नरेन्द्र मोदी
काठमाडौं । बंगालको खाडीबाट नेपालमा सिधै पानी जाहाज सञ्चालन हुने भएको छ । बंगालबाट नेपालसम्म पानी जाहाज सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच शनिबार नयाँदिल्ली सम्झौता भएको छ । दुई देशबीच भएको सम्झौताअनुसार नेपाल अब सिधै समुद्रसंग जोडिनेछ । नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समुन्द्रसंग सिधै जोडिने भएकाले नेपाल अब भुपरिवेष्ठित राष्ट्र नरहेको जानकारी दिए । नेपालको सम्पर्क सिधै समुन्द्रसंग हुने उनले बताए । सम्बोधनका क्रममा मोदीले भने “सगरमाथाको देश अब सागरसँग प्रत्यक्ष जोडिन्छ, जाहाज सञ्चालन हुन्छ । संयुक्त पत्रकारसम्मेलनमा बोल्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब जाहाज चलाउने जानकारी दिए । नेपालको सम्पर्क सिधै समुन्द्रसंग हुने उनको भनाई छ । यसविषयमा दुई देशबीच सम्झौता भएको उनले जानकारी दिए । नेपालको कोशीनदीसम्म जाहाज चल्ने भएको छ । बंगालको खाडीबाट सिधै जलमार्ग हुदै नेपालमा जाहाज आउने भएको छ । यसले गर्दा कलकत्ताबाट सडकमार्ग हुदै विराटनगर र वीरगञ्जसम्म भइरहेको आयात–निर्यात व्यापार जाहाज सञ्चालनपछि सिधै समुद्रबाट हुनेछ ।
वीरगञ्जदेखि काठमाडौसम्म रेल आउने, भारतले बनाइदिने सम्झौता
काठमाडौं । भारतको सहयोगमा वीरगञ्जदेखि काठमाडौंसम्म रेल आउने भएको छ । वीरगञ्जदेखि राजधानीसम्म रेलमार्ग निर्माण दुबै मुलुकबीच सम्झौता भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए । संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले वीरगञ्जदेखि काठमाडौंसम्म सञ्चालन गर्ने विषयमा दुई देशबीच सम्झौता भएको जानकारी गराएका हुन् । नेपालमा लोकतन्त्रमा लोकतन्त्रको अवस्था निकै बलियो रहेको बताउँदै ओलीले नेपालको विकास साथसाथै नेपाली जनतालाई खुशि राक्ने बताए । नेपालको सहयोगको लागि भारत सधै तत्पर रहेको छ । काठमाडौंदेखि नयाँ दिल्ली जोड्ने रेलमार्ग निर्माण अब भारतले गर्नेछ । नेपाल र भारत दुबै कृषि प्रदान देश भएको र दुबै देशको सांकृतिक आदान प्रदान हुनुपर्ने हो मा जोड दिए । दुबै देशबिचको रक्षा र सुरक्षा नजिक रहेकोले खुल्ला सिमानाबाट दुबै देशले फाइदा लिन सक्ने बताए । नेपालले सम्भाव्यता अध्ययन गर्नका लागि रेल विभागले प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनीले पेश गरेको आर्थिक र प्राबिधिक प्रस्तावका छान्ने क्रममा रहेको छ । रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा १५ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर आर्थिक तथा प्राबिधिक प्रस्ताव मागिएको थियो । ती प्राबिधिक प्रस्तावहरुको अध्ययन गरेर उच्चतम प्रबिधी र न्युनतम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिन लागिएको हो ।त्यसरी तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइनेछ । विभागले २०७३ मंसिर १९ गते काठमाडौं–वीरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनी खोज्न ग्लोबल टेण्डर आव्हान गरेको थियो । विभागले सम्भाव्यता अध्ययनका लागि ७ करोड बजेट विनियोजन गरेको थियो । करिब २ सय किलोमिटर लामो हुने पुर्वानुमान गरिएको काठमाडौं –वीरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनपछि डीपीआर निर्माण गरिने योजना विभागले बनाएको छ ।
इतिहास विषयमा विद्यार्थी शुन्य, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हाजिर गरेर घर फर्किन्छन्
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयको पढाइ हुन छाडेको छ । विद्यार्थी नभएपछि इतिहास विषयको पढाइ हुन छाडेको हो । विद्यार्थी नआएपछि प्राध्यापक हाजिर गरेर घर फर्कने गरेका छन् । इतिहासका बारेमा अध्ययन हुने विषय नै आफै इतिहास हुने अवस्थामा पुगेको छ । पछिल्लो वर्षहरुमा इतिहास विषय अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै घट्दै गएर यस वर्ष शुन्यमा पुगेको छ विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालय, इतिहास केन्द्रीय विभागको तथ्यांकअनुसार २०७० मा ७ जनामात्र विद्यार्थी भर्ना भएका थिए ।विश्वविद्यालयबाट इतिहास विषयनै हट्ने अवस्था आएको छ । सेमेस्टर प्रणाली सुरु भएपछि ०७१/०७२ मा ६ जनामात्र विद्यार्थी भर्ना भएका थिए । ०७२/०७३ मा २ जनामात्र विद्यार्थीले इतिहास विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका थिए । यो वर्ष इतिहास पढ्ने एकजना पनि विद्यार्थी छैनन् । इतिहास पढ्ने विद्यार्थीको संख्या कम हुँदै शून्यमा झरेकोमा इतिहासकै प्राध्यापकलाई समेत आश्चर्यमा पारेको छ । इतिहास विषय प्रमुख प्रा.डा शंकर थापाले इतिहास पढेर रोजगारी नभएकोे र लोक सेवामा समेत कुनै प्रश्नपत्र समावेश नभएपछि यसको महत्व घटेको बताए । “इतिहासको अध्ययनबिना उच्च शिक्षा पूर्ण हुँदैन तर नेपालमा यो विषयको अवस्था खस्किएर शुन्य भएको छ” उनले भने । इतिहास पढ्ने विद्यार्थीलाई मात्र नभई पढाउने शिक्षकहरुलाई समेत उत्प्रेरणाको अभाव रहेको उनी बताउँछन् । विश्वद्यालयका डिन शिव भुसाल त्रुटिपूर्ण शिक्षा नीति तथा इतिहासको महत्वलाई केन्द्रविन्दुमा राखेर पाठ्यक्रम नबन्दा, अस्पस्ट र अन्योलपूर्ण नीतिका कारण इतिहासप्रति विद्यार्थीको रुचि घट्दै गएका तर्क गर्छन । विद्यार्थी आकषर्णको लागि कार्यक्रमहरु ल्याउन र तल्लो तहबाटै यस विषयको पाठ्यक्रम सञ्चालन गर्ने बारेमा छलफल भैरहेको छ । भविष्य सुनिश्चित नहुँदा पनि विद्यार्थीको आकर्षण घटेको हो । अन्य मुलुकमा इतिहास विषय अध्ययनका लागि पर्याप्त पूर्वाधार हुने र इतिहासलाई अनुसन्धानसँग जोड्ने चलन भए पनि नेपालमा त्यस्तो नरहेको उनको भनाइ छ । ‘हाम्रोमा अवसरमात्र होइन, अध्ययन गर्ने वातावरण समेत छैन । त्यसैले इतिहासप्रति विद्यार्थीको रुचि कम हुँदै गइरहेको छ” भुसालले भने । इतिहास विषयका अर्का प्राध्यापक डा. घनश्याम भट्टराई राज्यलाई इतिहास पढेका मान्छेको महत्व थाहा नहुँदा समस्या भएको बताउँछन् । अन्य मुलुकमा इतिहासको अध्ययन गर्नहरुलाई राज्यले नै प्राथमिकतामा राख्ने गरेकोमा नेपालमा राज्यकै वेवास्ताले इतिहास कमजोर हुँदै गएको भट्टराईको तर्क छ । इतिहास पढ्ने विद्यार्थीको अभावमा उक्त विषयका शिक्षकहरु समेत जिम्मेवारविहिन जस्तै भएका छन् । “विद्यार्थी संख्या नभएपनि राज्यले हामीलाई अध्ययन अनुसन्धानमा खटाउनु पथ्र्याे तर त्यस्तो हुन सकिरहेको छैन,’ भट्टराइले भने । इतहास विषयका प्राध्यापकको विज्ञतालाई राज्यले सदुपयोग गर्न नसकेको उनको आरोप छ । राज्यले इतिहाससम्बन्धी अध्ययन अनुसन्धानहरु गैरसरकारी संस्थाहरुलाई जिम्मा लगाउने गरेका कारण आफैसँग रहेको विज्ञहरुको प्रयोग हुन नसकेको उनको आरोप छ ।
कुस्मा नगरपालिकाद्धारा वृद्धवृद्धालाई घरमै गएर वृद्धभत्ता वितरण
काठमाडौं । पर्वतको कुस्मा नगरपालिका– ७ ले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता वडामा नै वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न वृद्धहरुलाई असहज भएपछि बैंकका कर्मचारीलाई गाउँमै बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । कुस्मा नगरपालिका–७ ले शुक्रबार तीन सय ७६ वृद्धवृद्धा, एकल महिलालाई वडा कार्यालयमा नै रु २० लाख भन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सदरमुकाम कुस्मामा रहेको बैंकमा पुगेर रकम लिन बुढाबुढीलाई कठिन हुने भएकाले गाउँमा नै बोलाएर रकम वितरण गरिएको वडा अध्यक्ष तेजप्रसाद उपाध्याले जानकारी दिए । कुस्मामा रहेको गण्डकी विकास बैंकको शाखा कार्यालयमा वृद्धवृद्धा र एकल महिलाको बैंक खाता खोलिएको छ । सबैको रकम बैंकमा जम्मा भएपछि गाउँमा चेक संकलन गरेर भुक्तानी दिइँदै आएको छ, भने कुस्मा र पोखरालगायतका शहरमा बस्नेले भने बैंकबाट नै रकम लिँदै आएका छन् । जनप्रतिनिधि आएपछि गाउँमा नै सेवा दिने उद्देश्यले अनुरोध गरेपछि गाउँमै पुगेर भत्ता वितरण गरिएको बैंकका शाखा प्रबन्धक केशव आचार्यले बताए । कुस्मा नगरपालिका–७ मा मात्रै चार सय ५० जना भन्दा बढी बैंक खातामा जम्मा भएको सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम झर्नुपर्ने भएपछि पर्वतमा जनप्रतिनिधिले घरघरमै वितरण गर्न थालेका छन् । सामाजिक सुरक्षाभत्ता लिन वृद्ध सदरमुमकाम झर्नुपर्ने बाध्यता हटाउन र जनप्रतिनिधि आएपछि जन उत्तरदायी बन्न पनि बैंकलाई गाउँमै बोलाएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने अभियान नै चल्न थालेको छ । कुस्मा नगरपालिकाका–ं १४ ले पनि यसअघि सामाजिक सुरक्षाभत्ता गाउँमै वितरण गरेको थियो, भने पर्वतको फलेवास नगरपालिका, महाशिला गाउँपालिकाका सबै वडामा नै घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण हुँदैआएको छ । यसैबीच कुस्मा नगरपालिका–३ ले ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई सम्मान गरेको छ । वडा कार्यालयले ८० वर्ष काटेका ८० जना वृद्धवद्धालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सो कार्यक्रममा गाउँमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेकामा गण्डकी विकास बैंकका कर्मचारीलाई पनि सम्मान गरिएको थियो । रासस