विकासन्युज

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई ५ हजार जरिवाना

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । “पहिले दैनिक १५/२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,” – उनले भने । ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत उनले आग्रह गरे । मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले तीन हजारदेखि पाँच हजारसम्म जरिवानासमेत गर्ने गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको स्पष्ट पारे । महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ ।

गोकर्ण बिष्ट भन्छन्- अब खाडीमा भेडा चराउन धाउनु पर्दैन

गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले अब युवाहरुले खाडी मुलुकमा भेडा चराउन धाउनु नपर्ने बताएका छन् । गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, “अब युवा खाडीमा भेडा चराउन जानु पर्दैन ।” उनले देशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्न दावी गर्दै भने,“गाउँमै हजारौं रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ, खाडीमा भेडा चराउन जानु पर्दैन ।” मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने धारणा पनि राखे । “हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उनले भने, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।”

जेठदेखि नेपालमा चिनियाँ गुणस्तरको सिमेन्ट उत्पादन हुदै, बजारमा वार्षिक २६ लाख टन थप

काठमाडौं । नेपालमा उत्पादित चिनियाँ गुणस्तरको होङसी शिवम् सिमेन्ट बेच्ने हो ? अब धेरै दिन छैन, चिनियाँ र नेपाली संयुक्त लगानीमा स्थापना भएको होङसी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडले आउदो जेठको दोस्रो सातादेखि चिनियाँ गुणस्तर पीओ ४२.५ र पीओ ५२.५ ग्रेडको “लो अल्काली” ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दैछ । कम्पनीले चिनियाँ र नेपाल गुणस्तर मापदण्ड अनुसार सिमेन्ट उत्पादन गर्ने जानकारी दिएको छ । उद्योगले देशभर ४६ सिमेन्ट वितरक नियुक्तिको तयारी थालेको छ । सिमेन्टसंगै होङसीले १२ मेगावाट क्षमताको तापीय प्लाण्टबाट ऊर्जा पनि उत्पादन गर्ने भएको छ । उद्योगले दैनिक ६ हजार र वार्षिक २६ लाख टन उत्पादन गर्ने जानकारी दिएको छ । १३ करोड टन उच्चगुणस्तरको आफनो चुनढुङा खानी छ । उद्योगले ६ सेट हवल स्वचालित प्याकेजिङ मेशिन र १२ सेट बोरा सिमेन्ट लोडिङ मेशिन जडान गरिएको छ । जसको प्याकेजिङ र ढुवानी क्षमता १० हजार टन भएको उद्योगले जनाएको छ । उद्योगले हेटौडादेखि नवलपरासीसम्म १५२ किलोमिटर टाढाबाट सिमेन्ट उत्पादन गर्न आवश्यक दैनिक ३ हजार टन चुनढुङा आपूर्ति अप्रिल १४ तारिखदेखि गर्ने भनेको छ । उसले चुनढुङा आपूर्तिका लागि काम शुरु गरिसकेको जानकारी दिएको छ । होङसीले उत्पादन थालेपछि नेपालमा दैनिक ६ हजार टन सिमेन्ट थप हुनेछ । होङसी नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । उद्योगले गत वर्षको मार्चदेखि कारखाना निर्माण शुरु गरेको हो । पहिलो चरणमा दैनिक ६ हजार टन र केही वर्षभित्र उत्पादन दोब्बर बढाएर १२ हजार टन पुर्याउने योजना उद्योगको छ । गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गर्नेछ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ ।

खाद्य संस्थानमा नयाँ महाप्रवन्धकको खोजी, १५ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल खाद्य संस्थानमा महाप्रवन्धक नियुक्तिको प्रक्रिया अघि बढेको छ । दुई पटक पदपूर्तिको सुचना प्रकाशित गर्दा पनि पर्याप्त दरखास्त नपरेपछि महाप्रवन्धक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समितिले पुनः तेस्रो पटक आवेदन मागेको छ । यसअघि भदौ ९ र माघ ६ गते गरी दुई पटक आवेदन माग गर्दा पर्याप्त दरखास्त नपरेपछि तेस्रो पटक सुचना प्रकाशित गरेको समितिले जनाएको छ । स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा न्युनतम ५ वर्ष काम गरेको अनुभव भएको र ३० वर्ष पुरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले महाप्रवन्धकका लागि दरखास्त दिन पाउने भएका छन् । दरखास्त दिदा ५ हजार शब्द नबढ्ने गरी व्यवसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने समितिले जनाएको छ ।

कालिका पावर कम्पनीले १२ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित कालिका पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा बुधबार निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि कालिकाले आईपीओ निष्कासन गर्नेछ । कालिकाले आईपीओ निष्कासन गर्न काठमाडौं क्यापिटल मार्केटस लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित स्थानीयबासिन्दालाई छुट्टाएको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ । निजी क्षेत्रको कालिका ग्रुपबाट प्रवद्र्धित आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १२ लाख रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत अन्य आयोजनाको तुलनामा बढेको छ । कम्पनीले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । कम्पनीमा संस्थापकको ४२ करोड, ६ करोड आयोजना प्रभावित र १२ करोड रुपैयाँ सर्वसाधारणका लागि हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार सर्वसाधारणको १८ करोड स्वामित्व हुने छ ।

खानेपानीमन्त्रीले भनिनः ६ महिनापछि मेलम्चीको पानी वितरण हुन्छ

काठमाडौ । खानेपानीमन्त्री विना मगरले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताएकी छिन् ।  काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दे उनले राजधानी लगायत देशका प्रमुख शहरमा रहेको खानेपानी समस्या समाधान गर्न सरकार लागेको जानकारी दिइन्। “छ महिनापछि मेलम्चीको पानी वितरण शुरु भएपछि राजधानीको खानेपानी समस्या समाधान हुन्छ, चार घण्टासम्म भएपनि पानी दिन सकिने अहिलेको अनुमान छ, मेलम्चीको १७ करोड लिटर पानी उपत्यकाका धेरै स्थानमा पु¥याउने मन्त्रालयको लक्ष्य छ”–उनले भनिन्। मन्त्रालयका सचिव कृष्णराज बिसीले मेलम्चीको पानी व्यवस्थित रुपमा राजधानीको धेरै भन्दा धेरै घरमा वितरण गर्ने तयारी गरेको सुनाए। कार्यक्रममा बोर्डका अध्यक्ष एवम् खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधानका लागि याङ्री र लार्केलाई पनि सफल रुपमा उपत्यका ल्याउनुपर्ने धारणा राखेका थिए। मेलम्ची, याङ्री र लार्केको समेत पानी राजधानी ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा वितरण गरिन्छ । उपत्यकामा खानेपानीको व्यवस्थापनका लागि विसं २०६२ वैशाख ५ गते बोर्डको स्थापना भएको थियो । रासस

यो वर्षदेखि प्राथमिक तहका सबै पुस्तक रंगिन हुने, सिकाइमा सुधार हुने अपेक्षा

काठमाडौं । सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइमा सुधार ल्याउन सरकारले यस वर्षदेखि प्राथमिक तहसम्मका विद्यार्थीलाई रंगिन पाठ्यपुस्तक वितरण गरेको छ । शैक्षिक सत्र ०७५ देखि सरकारी स्कुलमा कक्षा १ देखि ५ कक्षासम्मका सबै विद्यार्थीले चार रंगका पुस्तक अध्ययन गर्न पाउने भएका छन् । कालो र सेतो रंगमा मात्र छापिएको पुस्तक वितरण हुदै आएकोमा विद्यार्थीको सिकाइमा अझ बढी प्रभावकारी बढाउन सबै पुस्तक रंगिन बनाइएको हो । सादा पुस्तक प्रतिपेज ३३ पैसामा छपाइ गरेकोमा रंगिन प्रतिपेज छपाई गर्दा ५० पैसा सरकारले तोकेको छ । रंगिन पुस्तक छपाइ गर्दा प्रतिपेज १७ पैसा मंहगो भएको छ । २०५७ सालदेखि २०७३ सम्म प्रतिपेज २६ पैसामा सरकारले निधारण गरेको थियो । २०७४ सालबाट बृद्धि भएर ३३ पैसा प्रतिपेज भएको छ । यस अघि कक्षा १–५ सम्म नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिका विषयहरु गरी पाँचवटै पुस्तक कालो र सेतो रंगमा मात्र छपाइ भएकाले विद्यार्थीहरू वास्तविकता भन्दा निकै टाढा हेर बुझिरहेका थिए ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्र आर्चायलले विगत झै यो वर्ष पनि कक्षा १–५ सम्मका पाठ्यपुस्तक निजी र कक्षा ६–१०सम्म जनक शिक्षाले छाप्ने सरकारी निर्णय भएकोे बताए । उनले कक्षा १–५ सम्म ३४ लाख ५० हजार २३ विद्यार्थीकोलागि गत वर्ष १ करोड ७२ लाख ५० हजार ११५ थान किताब निजी प्रकाशकले छापेको थियो । “गतसाल हामीले ६० करोड रुपैयाँको किताब छापेकोमा १ करोड ४ लाख रुपिया बराबरको किताब थन्कियो” आर्चायलले भने “अब रंगिन किताब झनै महँगो हुन्छ र घाटमा जान्छ ।” ९९ प्रतिशत किताब छपाइको काम सकिएको र पहाडी र हिमाली जिल्लाहरुमा ९० प्रतिशत र तराईका जिल्लाहरुमा ५० प्रतिशतमात्र पुस्तकहरु पुगिसकेको छ । बिक्रेतालाई पुस्तक लिन आउन सुचना दिइरहेको उनले बताए । सातै वटा प्रदेशका कार्यलयमा पनि पुस्तकहरु पुगेको उनले दावी गरे । अब विद्यार्थीहरूलाई रंगित किताबले अकर्षित गर्ने र शिक्षकलाई पनि रंगिन किताब पाठ्य सामग्रीमा बुझाउन सजिलो हुने समेत उनको भनाई छ ।

केपी ओलीले यसरी गर्दैछन् बाहिरी चक्रपथको शिलान्यास, कालोपत्रे गर्ने जिम्मा चीनलाई

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जेठको दोश्रो साता बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्ट शिलान्यास गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गा प्राप्ति गर्ने निर्णय गरेसँगै बाहिरी चक्रपथ आयोजना अघि बढ्ने सुनिश्चितता भएको हो । हाल शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका ओलीकै हातबाट बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट शिलान्यास गराउने तयारी अघि बढेको हो । ‘एक हप्ता भित्र जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित हुन्छ, ३५ दिने सूचनाको म्याद सकिएको एक हप्ता भित्रै प्रधानमन्त्रीद्धारा शिलान्यास गराउँछौं’, बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुव प्रसाद सापकोटाले भने । बाहिरी चक्रपथको पाइलट प्रोजेक्ट अन्तर्गत चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डमा कार्यारम्भ गर्न लागिएको हो । शिलान्यास भएको २ बर्षभित्र जग्गा एकिकरण र ग्राभेलस्तरको सडक तयार पार्ने कार्ययोजना निर्माण गरिर काम अघि बढाइएको छ । चोभार–सतुंगल खण्डको लागत ६ अर्ब ५० करोड अनुमान गरिएको छ । सो खण्डमा ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गरिनेछ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो । २०७४ गत बैशाख १३ गते सो खण्डको डिपिआर स्विकृत भएको थियो । बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण हुनेछ । चक्रपथमा ५० मिटरको सुबिधा सम्पन्न सडक र बाँकी जमिनको व्यवस्थित शहरीकरणको योजना अनुसार बस्ती विकास गरिनेछ । सो खण्डमा ८० वटा घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ । ती घरहरुको उचित मुआब्जा दिने पनि आयोजनाले अधिकृत सापकोटाले बताए । आयोजनाले ग्राभेलस्तरको सडक तयार पारेपछि चीनले कालोपत्रे गरिदिनेछ । बाहिरी चक्रपथ सडक कालोपत्रे गर्नेबारे नेपाल र चीनबिच यस अघि नै सम्झौता भैसकेको छ । ७१ किलोमिटर लम्बाईको बाहिरी चक्रपथले उपत्यकामा नयाँ सभ्यताको विकास गर्ने अपेक्षा गरिएको छ । उपत्काको तीन वटै जिल्लाको काँठ क्षेत्रलाई समेट्ने बाहिरी चक्रपथले सो क्षेत्रको जमिन मूल्यांकन अधिक मात्रामा बढाउनेछ ।