विकासन्युज

राजधानीमा ठुला माछा खोज्न उद्याेगमन्त्री मातृका यादव बजार अनुगमनमा निस्कदै,

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनले माछा–माछा भ्यागुता मात्रै हात पारेको भन्दै उद्याेग, वाणिज्य तथा अापूर्तिमन्त्री मातृकाप्रसाद यादव आफैं बजार अनुगमनमा निष्कने भएका छन् । अबको अनुगमनमा माछा मात्रै नभएर ठुलै माछा हात पार्ने मन्त्रालयले बताएको छ । अहिलेसम्म अनुगमनका लागि मात्रै अनुगमन भएको माछा खोज्दा भ्यागुता मात्र हात लागे जस्तो भएकोे, अब माछा मात्रै होइन ठुलै माछा समाउँने उनको दावी छ । दोषिलाई कानूनको कठघरामा ल्याएरै छाड्ने मन्त्री यादको प्रतिबद्धता छ । यसै हप्तभित्र राजधानीमा व्यवस्थित संयुक्त अनुगमन गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । त्यसको लागि तयारी भइरहेको उनको भनाइ छ । ‘यसअघि पनि अनुगमन नभएको होइन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरिरहेको थियो,’ उनले भने ‘केही दिनअघि मात्रै पेट्रोलियम पदार्थको मुल्य सम्बन्धि अध्ययन गरिएका छन् ।’ अहिले वाणिज्य विभाग र उपभोक्ता हित संरक्षण विभाग मर्च भइसकेको उनले बताए । उनको अनुसार सातै प्रदेशमा अनुगमन भइरहेको छ । तर अबको केही दिन भित्रै राजधानीमा व्यवस्थित संयुक्त अनुगमन हुनेछ । अनुगमनको तयारीको लागि मन्त्री स्तरिय, निजी क्षेत्रसँग, उपभोक्तावादी संघ संस्थाहरु लगायतसँग छलफल भइसकेको उनको भनाइ छ । अनुगमनमा दोषि भेटिएको कसैलाई नछोड्ने भन्दै आवश्यकताअनुसार अबको अनुगमनमा आफै फिल्डमा उत्रने मन्त्री यादवले बताएका छन् । सरकारले हालको कानूनलाई व्यवस्थित बनाउन समयसापेक्ष संशोधन गर्न लागिरहेको मन्त्रालयले जानकारी दिएको छ ।

सामसङ ग्यालेक्सी एसनाइन प्लसको प्रि बुकिङ ९ गतेसम्म खुला, उपभोक्तालाई छुटै छुट

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा ल्याउन लागेको सामसङ ग्यालेक्सी एसनाइन प्लसको प्रि बुकिङ आगामी ९ गतेसम्म खुला गर्ने भएको छ । कम्पनीले उक्त मोबाइलको प्रि बुकिङ गत ४ गतेदेखि खुला गरेको थियो । इच्छुक उपभोक्ताहरुले www.S9prebooking.com मा गई प्रि बुकिङ गर्न सक्नेछन् । उपभोक्ताले बुकिङ गरे बापत ७ हजार २ सय रुपैयाँ बराबरको बोटलस्पिकर सहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । साथै, रुट्स फेशनमा खरिद बापत १० प्रतिशत छुट र केजिएच होटेलमा ५ हजार रुपैयाँमा कोठा बुक गर्ने सुविधा पाउने कम्पनीले जनाएको छ । नेपालको सबैभन्दा विश्वसनीय तथा सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले १२८ जिबी भएको उक्त मोबाइल बजारमा ल्याउन लागेको हो । उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि हरेक हप्ता एक हजार एमबी र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् । कम्पनीले १ लाख ९ हजार ९ सय रुपैयाँ मूल्य भएको उक्त फोनमा ५ हजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउँनेछ । त्यसपछि उक्त फोनको प्रभावकारी मूल्य १ लाख ४ हजार ९ सय रुपैयाँ हुनेछ । साथै, यस फोन आगामी वैशाख १० गतेदेखि नेपालका सम्पूर्ण सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा मिडनाइट ब्याल्क रङमा उपलब्ध हुनेछ ।

सगरमाथा इन्स्योरेन्सले महिला आरोही टोलीलाई ३२ लाखको बीमा सुरक्षा दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई कुल ३२ लाख ४२ हजार रुपैयाँ बराबरको बीमा सुरक्षा दिने भएको छ । कम्पनीले आरोहण दलका सदस्यहरुको प्रतिव्यक्तिगत दुर्घटना बीमा बापत १५ लाख, औषधीउपाचर बीमाका लागि चार लाख, हाई अल्टिच्युटका लागि तीन लाख र खोज तथा उद्धार कार्यका लागी १० लाख ४२ हजार (दश हजार अमेरीकी डलर) सम्म गरी सो मात्राको बीमा कभरेज प्रदान गर्न लागेको हो । यस वर्ष सगरमाथा आरोहणका लागि महिला पत्रकार रोजिता बुद्धाचार्यको नेतृत्वमा ६ जना महिला आरोहीहरु यस सिजनको सगरमाथा आरोहण गर्न जाने भएका छन् । पत्रकार बुद्धाचार्यको नेतृत्वमा लक्ष्मी कार्की, देउराली चाम्लिङ्ग, कल्पना महर्जन, रोशा बस्नेत र दावा डिक्की शेर्पा यस सिजनको सगरमाथा आरोहण गर्न जान लागेका हुन् । प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को बीमा सहयात्रीमा सगरमाथा इन्स्योरेन्स रहेको छ । ड्रिमर्स डेष्टिनेशन ट्रेक्स एण्ड एक्पेडिसन मार्फत सगरमाथा आरोहणमा जाने उक्त आरोहण दलको प्रमुख पथप्रदर्शकमा फुर्वा तेन्जिङ्ग शेर्पा रहेका छन् । शेर्पाले हालसम्म १२ पटक सगरमाथाकोे आरोहण गरिसकेका छन् । उक्त आरोहण दलका सदस्यहरुको बीमा सहयात्री सगरमाथा ईन्स्योरेन्सले नक्सालमा बिहीबार सफल आरोहणका लागि शुभकामना कार्यक्रम सम्पन्न गरेका छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आरोहण टोलीका सदस्यहरुलाई कम्पनीको झण्डा हस्तान्तरण गरेका छन् । त्यस्तै, उनले सगरमाथा आरोहणमा नेपाली महिला पत्रकारहरुको ईच्छाशक्तिको प्रशंसा गरेका छन् । साथै, सगरमाथा आरोहणको सफलतामा आरोहीको व्यक्तीगत सफलता मात्र नभई सम्पुर्ण पत्रकारिता क्षेत्रको सफलता जोडिने र यसमा सम्पुर्ण सञ्चार जगतले नै गौरव गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

सेयर बजार उकालो लाग्ने क्रम जारी, परिसूचक २५ अंकले बढ्दा अबौँको कारोबार

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागिरहेको छ । साताको अन्तिम कारोबारमा पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । दिनभर सामान्य उतारचढाव आएता पनि बिहीबारको परिसूचक २५ अंकले बढेर १३८८ अंकमा पुगेको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि राम्रै सुधार भएको छ । पछिल्लो ३/४ दिन पछिको बजारमा अर्बौँ रुपैयाँ बराबरको सेयर किनबेच भइरहेको छ । त्यस्तै, बिहीबार पनि एक अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कमाउने १० कम्पनी: बजारमा १६८ कम्पनीको २६ लाख ६३ हजार कित्ता सेयर किनबेच भएका छन् । सोमध्ये सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सवा ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंक, सानिमा माई हाइड्रोपावर, सानिमा बैंक र कुमारी बैंकको ३ करोड माथिको सेयर किनबेच भएका छन् । बजारमा ट्रेडिङ समूह बाहेक कारोबारमा आएका सबैसमूह हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह ५१अंकले उकालो लागेको छ । सो दिन प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशत कमाएका छन् भने सहयोगी विकास बैंकको सेयर मूल्य ७.२० प्रतिशतले घटेको छ ।

विवादमा परेपछि डेपुटी गभर्नर शिवराज श्रेष्ठको अधिकार कटौती

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको अधिकार कटौती गरिएको छ । विभिन्न बैकका विषयमा उनले गरेका निर्णय विवादस्पद भएपछि गभर्नर डा. चिरन्जीवि नेपालले श्रेष्ठको अधिकार कटौती गरेका हुन् । श्रेष्ठको मातहतमा रहेका सामान्य सेवा र वित्तीय व्यवस्थापन विभागको जिम्मा अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी लिएका छन् । दुई विभागको जिम्मेबारी हेरफेर भएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । अब सामान्य सेवा र वित्तीय व्यवस्थापन विभाग डेपुटी गभर्नर सिवाकोटीले हेर्ने उनले जानकारी दिए । श्रेष्ठले नेपाल बंगलादेश बैंकको सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तेस्रो कार्यकाल थप्नका लागि लविङ गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । यस्तै कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलार्इ कारवाहीबाट जाेगाउन भूमिका खेलेकाे उनीमाथि अाराेप लागेकाे छ ।  पछिल्लो समयमा राष्ट्र बैंकमा उनले गरेको कामको विरुद्धमा अख्तियारमा उजुरीको चाङ परेको छ ।

हुन्डाई फेस्टिभ डिलाइटको पुरस्कार वितरण, अधिकारी र आयल सपलायर्सले पाए हुन्डाईको गाडी (फोटो फिचरसहित)

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्त्रण गरिएको छ । बिहीबार काठमाडौंको थापाथलीस्थित हुन्डाई शोरुममा एक कार्यक्रमको आयोजना गरी लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कनज्युमर आई नेपालको अध्यक्ष बिमला खनाल, २०१८ का मिस नेपाल श्रृंखला खतिवडा तथा हुन्डाई मिस फेण्डसिप सायरा लामाले संयुक्त रुपममा पुरस्कार हस्तान्तरण गरेका हुन् । सो आफरअन्तर्गतको बम्पपर लक्कीड्रमा शुसनप्रसाद अधिकारीले हुन्डाई इलाईट आई २० गाडी प्राप्त गरेका छन् । अर्का कन्काई आयल सपलायर्सलले हुन्डाईकै एक्सेन्ट गाडी जितेको छ । अफर अन्तर्गत कम्पनीले हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट, लक्किड्रमार्फत सय जना भाग्यमानी विजेताहरुलाई १०/१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर लक्किड्रमार्फत दुई जनाले गाडी जित्ने अवसर प्रदान गरेको थियो । सो अफरमा महेस राजकर्णिकार, कृष्णराज पोखरेल, अनिलकुमार श्रेष्ठ, नीरज क्षेत्री लगायत १० जना भाग्यशाली विजेताहरुलाई दुबई भ्रमणकाे लागि पुरस्कार प्रदान गरिएको थियो । सय जना भाग्शाली विजेताहरुको लक्किड्र कनज्युमर आई नेपालका अध्यक्ष खनालद्वारा अनामनगरस्थित कार्यालयमा गरिएको कम्पनीको भनाइ छ । योजना २०७४ भदौ ८ देखि कात्तिक १० गतेसम्म लागु भएको थियो ।

नारायणगढ-मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ, सडक फराकिलो हुने

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँकिदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो । नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट १.५ किलोमिटर नारायणगढतर्फ २ नम्बर र ३ नम्बर पुलको बीचमा नौ ठाउँमा गरी १२३ मिटर सडक साँघुरो रहेको छ । ती ठाउँमा सातदेखि आठ मिटरमात्रै सडक चौडा छ । साँघुरो सडक भएको ठाउँमा सेफ्टी बेल्ट बाँधेर सडकमुनि भिरको चट्टानमा ड्रिल गरेर रड घुसाउन थालिएकोे छ । २५ एमएम र ३२ एमएम मोटाइका रड ड्रिल गरेर एकदेखि दुई मिटर भित्र छिराएपछि सोही रडमा थप रड बाँधेर वाल उठाइँदैछ । यसरी उठाउँदा एकदेखि १.५ मिटरसम्म सडक फराकिलो बनाउन सकिने उनले बताए । फराकिलोको आधारमा पाँचदेखि आठ मिटर तलबाट वाल उठाइँदैछ । तीन सय मिटर लामो सडकका ठाउँठाउँमा गरी १२३ मिटर सडक साँघुरोे छ । बीस मिटर सडकमा ड्रिल गर्ने काम सम्पन्न भइसकेको छ भने अन्य ठाउँमा ड्रिल हुँदैछ । सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यसपछि मुग्लिनसम्म नौ मिटर चौडा सडक बनाइँदैछ । ३३.२ किलोमिटर लामो उक्त सडकखण्डको हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको र अन्य क्षेत्रको भित्तो काट्ने काम पनि सम्पन्न भएको छ । हालसम्म समग्रमा सडकको ९० प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर खनालले बताए । उनका अनुसार ड्रिल गरेर फराकिलो बनाइँदै गरेको क्षेत्रबाहेक अन्यत्र वैशाख १५ सम्ममा कालोपत्रे गरी सक्ने लक्ष्य राखिएको छ । सो सडकको नारायणगढबाट मुग्लिनतर्फको पहिलो खण्ड १० मे २०१८, दोस्रो खण्ड २० मे २०१८ र तेस्रो खण्ड ३० मे २०१८ सम्म काम सक्नु पर्ने छ । हालसम्म पहिलो खण्डको ८८ प्रतिशत, दोस्रो खण्डको ९६ प्रतिशत र तेस्रो खण्डको ८१ प्रतिशत सम्पन्न भइसकेको छ । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस

यसरी असफल हुदैँछ सिन्डिकेटधारीकाे आन्दोलन, बन्दको बेला २१० कम्पनीका ५५ हजार सवारी देशैभरी चल्ने

काठमाडौं । सिन्डिकेट पक्षधर व्यवसायीहरुको आन्दोलन असफल हुने देखिएको छ । सरकार, नागरीक समाज, नेपाल उद्योग वाणिज्य महासंघ, २१० कम्पनीका यातायात व्यवसायी महासंघ र यातायात मजदुर संघ बन्दको विरोधमा उभिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले सिण्डीकेट अन्त्य गर्ने सरकारको निर्णयको स्वागत गरिसकेको छ । महासंघले आन्दोलन रोक्न व्यवसायीलाई आग्रह गरेको छ । सरकारले आन्दोलनकारी व्यवसायीको सवारी सधान नियन्त्रणमा लिएर सेना प्रहरी लगाएर गुडाउने तयारीमा छ । त्यति मात्रै नभएर आन्दोलनकारीहरुको बैंक खाता रोक्का गर्ने तयारीमा सरकार जुटिसकेको छ । उता, बैंकहरुले पनि ऋणको ब्याज नतिरे सवारी साधन लिलामी गर्ने संकेत दिईसकेका छन् । सवारी चालक तथा सह चालकहरुले समेत सिण्डीकेट पक्षधर व्यवसायीहरुको आन्दोलनमा साथ नदिने स्पष्ट पारिसकेका छन् । चालक तथा सह चालकहरुले सिण्डीकेटको पक्षमा लाग्न नसकिने बताउँदै सरकारको अभियान सफल पार्न सहयोग गर्ने स्पष्ट पारेका हुन् । सिण्डीकेट खारेजीको सरकारी अभियानमा सञ्चार माध्यमदेखि नागरिक समाज हुँदै उद्योग व्यवसायीले समेत राम्रो समर्थन गरिरहेका छन् । नागरिकहरुको सहयोग पनि सरकारलाई सिण्डीकेट खारेज गर्न थप बल पुग्ने देखिन्छ । सरकारले मन्त्रिपरिषद बैठकबाटै सिण्डीकेट खारेजीको निर्णय गरेकाले पनि यसलाई प्रतिष्ठाको बिषय बनाएको छ । बामपन्थी झुकाव राख्ने आन्दोलनकारी व्यवसायीलाई सरकारले आफ्नो सोही अस्त्र प्रयोग गरेर आन्दोलनको मोर्चाबाट अलग राख्ने प्रयास समेत अघि बढाईसकेको छ । त्यसो त करिब २ तिहाई बहुमत रहेको वर्तमान सरकार आगामी पाँच बर्षका लागि गठन भएको हो । स्थिर सरकारसँग सम्बन्ध बिगारेर आन्दोलनकारी व्यवसायीले पनि आफ्नो हित नहुने तथ्य बुझेकै हुनुपर्छ । सिण्डीकेटको विपक्षमा रहेको  नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बन्दको बेलामा सञ्चालन गर्ने सवारी सुरक्षाको माग गरेको छ । सुरक्षाको माग गर्दै आज व्यवसायीहरु भौतिक तथा यातायात मन्त्री रघुविर महासेठलाई भेट्ने तयारी गरेका छन् । “बन्दको बेला २१० कम्पनीको करिब ५५ हजार बस तथा माइक्रोबसबाट देशैभरी यातायात सेवा दिने महासंघका उपाध्यक्ष लेखनाथ सुवेदी बताए । हाम्रो सवारी साधनको सुरक्षा सरकारले गर्नुपर्छ, निर्वाध रुपमा हामी यातायात सञ्चालन गर्छौ सुवेदीले विकासन्युजसँग भने ।” महासंघका अध्यक्ष विष्णु शिवाकोटीले सर्वोच्च अदालतको २०६७ माघ १९ गतेकाे फैसलाले नै सिन्डिकेटको अन्त्य भैसकेकोले हामीलाई सोहि अनुसार सरकारले सुरक्षा प्रदान गर्नुपर्ने बताए । नयाँ सञ्चालनमा आएका व्यवसायीहरुले पनि सवारी सञ्चालन गर्ने बताइसकेका छन् । साझाको ३९ र मयुर यतायातको २४ ठुला बस सहित बन्दको बेलामा पनि सेवा दिने बताइसकेका छन् । यसअघि सिण्डीकोटको पक्षमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघ नेपाल महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।