प्रतिकित्ता ५२३ मा निर्धन उत्थान बैंकको संस्थापक सेयर लिलामीमा, बंगलादेशको ग्रामीण ट्रष्ट बाहिरिदै
काठमाडौं । बंगलादेशको ग्रामीण ट्रष्टले निर्धन उत्थान बैंकमा रहेको संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेको छ । ग्रामीण ट्रष्टले निर्धन उत्थान बैंकमा रहेको ३ लाख ५७ हजार ८३ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम मूल्य ५२३ रुपैयाँ राखेर बिक्री गर्न लागेको हो । संस्थापक सेयर खरिद गर्नका लागि जेठ २० गतेभित्र बोलपत्र पेश गर्न बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेले जनाएको छ । बोलकबोलमा भाग लिनेले न्युनतम् १०० कित्ताका लागि र बढीमा जति पनि लिन पाइनले एनआईबीएलले जनाएको छ । सेयरको न्युनतम् मूल्य १८ करोड ६७ लाख रुपैयाँ हुने छ ।
९ महिनामा सानिमा बैंकले गर्यो १२० करोड नाफा
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको ९ महिनामा खुदनाफा २७ करोड रुपैयाँ बढाएको छ । गत चैतसम्म बैंकले १ अर्ब २० करोड ५६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ९४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालनको अवस्था राम्रो रहेको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा ०.१७, निक्षेप लागत ७.३२, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.१८, आधार ब्याजदर १०.६३ र कर्जा निक्षेप ब्याजदर अन्तर (स्प्रेड) ४ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी २० रुपैयाँ २२ पैसा रहेको बैंकले जानकारी दिएको छ । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेर २ अर्ब ७ करोड रुपैयाँ रहेको छ । गत पुसमा १ अर्ब ३३ करोड २० लाख रुपैयाँ थियो । बैंकको निक्षेप बढेर ७१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत पुसमा बैंकको निक्षेप ६८ अर्ब ३९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानीमा पनि विस्तार आएको छ । गत चैतसम्म ६४ अर्ब ३२ करोड रुपैयाँ छ । गत पुसमा ६० अर्ब ५२ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
वन्यजन्तुको चोरीसिकार र अबैद व्यपार नियन्त्रण आवश्यक
काठमाडौं । प्रतिनिधि सभाका सांसद मोहन आचार्यले बिश्वका करिब ७० प्रतिशत प्रजाति लोप भइसकेको जनाउदै वन्यजन्तुको चोरीसिकार एवंम् अबैद व्यापार नियन्त्रण गर्न सबैको सहयोग आबश्यक रहेको बताए । रसुवाको धुन्चेमा आयोजित २३औ बन्यजन्तु सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै सांसद आचार्यले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाईने रेडपाण्डा विश्वमा नै दुर्लभ अबस्थामा रहेकाले रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा समुदायको भुमिका महत्वपूर्ण रहने प्रष्ट्याए । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न लाङटाङ राष्ट्रिय निकुञ्जले गाउँस्तरमा समिति गठन गरि संरक्षणको काम गरिरहेको जनाएको छ । उनको अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जकोे पोलाङपाटी र घ्याङफेदीको लेकमा बिश्वमै दुर्लभ रहेको रेडपाण्डाको बासस्थान रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपाण्डा रहेको निकुञ्जले जनाएको छ । केही वर्षअघि गरिएको गणनामा ८० भन्दा बढी रेडपाण्डा रहेको तथ्याङ्क आएको थियो । निकुञ्जको चोलाङपाटी, घ्याङ्फेदी र टिम्बु क्षेत्रमा रेडपाण्डा रहेको बताइएको छ । वैज्ञानिक तरिकाले गणना गरेर रेडपाण्डाको एकिन तथ्याङ्क राख्नुपर्ने देखिएको सरोकारवालाहहरुले जनाएका छन् । सोही अवसरमा बैशाख १ देखि सुरु भएको २३ औं वन्यजन्तु सप्ताहको अवसरमा आठौँ जिल्लास्तरीय रेडपाण्डा ट्रफ्रि भलिबल प्रतियोगिता तथा छैटौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव पनि सञ्चालन गरिएको जानकारी दिएको छ ।
आन्दोलन फिर्ता लिन व्यवसायीलाई चेम्बरको अनुरोध
काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि नेपाल सरकारले गरेको कदमको स्वागत गरेको छ । चेम्वरले नेपाल सरकारबाट यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि भएको कार्यको सराहना गरेको हो । सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनु पर्ने माग चेम्वरको माग छ । ‘आर्थिक उदारीकरण प्रारम्भ भएको दुई दशक भन्दा वढी सयम व्यतित भइसकेको खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सादर्भिक छैन,’ चेम्बरले भनेको छ ‘सरकारको सिन्डिकेट अन्त्यको प्रयासमा सहयोग गर्न चेम्वरले सवैसँंग विशेष आग्रह गरेको छ ।’ सरकारको निर्णयको बिरोधमा यातायात व्यवसायीले गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन समेत चेम्वरले सरोकारवाला यातायात व्यवसायीहरुलाई अनुरोध गरेको छ ।
कोसी करिडोरको निर्माण सुरु
पाँचथर । पूर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोसी करिडोरको काम अघि बढेको छ ।पुष्पलाल मध्यपहाडी लोकमार्ग छोट्याउने गरी अघि सारिएको यो योजनाको सातवटा प्याकेजकै ठेक्का स्वीकृत भएको छ । सुनसरीको चतरादेखि पाँचथरको गणेश चोकसम्म दुई लेनको सडक बनाउने ‘कोसी करिडोर सडक विस्तार योजना–२’को पाँच प्याकेजको काम शुरु हुन लागेको छ भने दुई प्याकेज ठेक्का सम्झौता हुने चरणमा छन् । पाँच प्याकेजको ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको आयोजनाका इञ्जिनियर नारायण पौडेलले बताए । उनकाअनुसार दुई प्याकेजको ठेक्का स्वीकृत भइसकेकाले सम्झौता मात्र हुनबाँकी छ । ६ अर्ब १३ करोड रुपैयाँको ठेक्का स्वीकृत भएको उनले जानकारी दिए । ४ अर्ब ९२ करोडमा ठेक्का लागेको पाँच प्याकेजमा काम शुरु हुन थालेको इञ्जिनियर पौडेलले बताए । हालै दुई प्याकेजका लागि १ अर्ब ४४ करोडको ठेक्का स्वीकृत भएको छ । बोलपत्र स्वीकृत गर्ने आशयको सूचना निस्किएकाले केही दिनमै सम्झौता हुनेछ । एकैपटक सातवटा प्याकेजको बोलपत्र आह्वान गरिएको थियो । दुई प्याकेजको ठेकेदार छनोटमा ढिलाइ भएको थियो । शुरुमा ७ अर्ब रुपैयाँको अनुमानित लागत तय गरिएको थियो । सम्झौता भएको ३० महिनाभित्र ठेकेदार कम्पनीले काम सक्नुपर्नेछ । १४५ किलोमिटर सडकमा ट्र्याक खोल्न र ग्राभेल गर्न ठेक्का लागेको हो । यसअघिको तमोर करिडोरको सडक र नयाँ ट्र्याक खोल्ने काम हुनेछ । ६० प्रतिशत नयाँ र बाँकी ४० प्रतिशत पुरानो ट्यांकीलाई प्रयोग गरिने इञ्जिनियर पौडेलले बताए । पुरानो ट्यांकीको पनि चौडाइ बढाउनुपर्नेछ । प्रस्तावित तमोर जलाशययुक्त आयोजना बन्ने भयो भने पनि नडुब्ने गरी उचाइमा सडक बनाइने छ । पाँचथरको गणेश चोकमा मध्यपहाडी लोकमार्गलाई यो सडकले भेट्ने छ । यसलाई पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका विभिन्न गाउँबाट तराई तथा राजधानी जान छिटो बाटोको रुपमा लिइन्छ । यो सडकलाई काठमाडौंँसम्म जोड्ने वैकल्पिक राजमार्गका रुपमा विकास गर्न खोजिएको छ । मध्यपहाडी लोकमार्गको कार्यालयमार्फत आयोजनाको काम अघि बढाइएको इञ्जिनियर पौड्लले बताए । कोशी तथा तमोरको किनारै किनार सडक विस्तार गर्ने गरी काम अघि बढाइएको हो । चतरादेखि मूलघाट आएपछि तमोर करिडोरको बाटो हुँदै पाँचथरको सुभाङ खोला हुँदै मेची राजमार्ग छोएर गणेशचोक पुग्नेछ । यसअघि बनेको मध्यपहाडी लोकमार्ग घुमाउरो भएकाले छिटो बाटो रोजिएको छ । ठूलो बजेट भएकाले राम्रो काम हुने जनस्तरमा अपेक्षा रहेको पाइन्छ । यो सडक बनेपछि पूर्वी पहडाका बासिन्दालाई तराई तथा काठमाडौंँसम्म पुग्न सहज हुने उत्तर–दक्षिण लोकमार्गका डिभिजनल इञ्जिनियर कुबेर नेपाली बताउछन् । पूर्वका जनतालाई तराईका धरान, विराटनगर, इटहरी तथा काठमाडौँं जान छोटो बाटोको रुपमा यसलाई लिइएको उनको भनाइ छ । प्रदेशको राजधानी तथा ठूला अस्पताल जान पनि यो सडक सहज हुनेछ । धनकुटाको मूलघाटदेखि सुभाङ खोलासम्म तमोर करिडोरको बाटो कोसी करिडोरमा समायोजन गरिएको छ । तमोर नदीको किनारै–किनार यो सडक मूलघाटदेखि चीनको सीमा क्षेत्रमा ओलाङ्चुङगोलातर्फ अघि बढाइएको थियो । करिडोरमार्फत निक्कै ठूलो बजेटका साथ अघि बढेकाले राम्रो सडक बन्ने नेपाली बताउँछन् । चतरादेखि मूलघाटसम्म ३५ र बाँकी मूलघाटदेखि गणेशचोकसम्म रहेको छ । यो ठेक्का अुनसारको काम सकिँदा सडक कालोपत्रे हुने चरणमा पुग्नेछ । चौडाइ विस्तार, घुम्ती, नाला निर्माण तथा ग्राभेलको काम हुनेछ । यो सडकलाई आधार बनाएर विभिन्न शाखा सडकमार्फत विभिन्न बस्तीका बासिन्दाले राहत पाउने देखिन्छ । मोटोको बजेट भएकाले यो सडक चाँडो बन्नेमा स्थानीयवासी उत्साहित छन् । यो सडकबाट काठमाडौंँ जान ४४० किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ । ‘पूर्वी पहाडलाई तराई तथा राजधानी जोड्ने यो छोटो बाटो हो । रासस
हिरो मोटरसाइकलले छान्यो नयाँ बर्ष योजनाका भाग्यशाली
काठमाडौं । काठमाडौं । नेपालका लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले नयाँ बर्ष २०१८ का विजेताहरुको नामावली सार्वजनिक गरेको छ । कम्पनीले न्यु इयर मा पर्छ पर्छ योजनामा शत प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत क्यास ब्याक पाउने विजेताहरुको नामावली सार्वजनिक गरेको हो । शतप्रतिशत रकम फिर्ता पाउनेहरुमा मुस्तकिम बैढा, राम राजाशाह, हरिनारायण प्रसादशाह र पुनमकुमारी चौधरी रहेका छन् । त्यस्तै, दोस्रो पुरस्कार वापतद ७५ प्रतिशत रकम फिर्ता पाउनेहरुमा बसु थापा, मधु चौधरी, सिंह बहादुर राई र ज्योती मैनाली रहेका छन् । त्यसै गरि तेस्रो पुरस्कार वापत ५० प्रतिशत रकम फिर्ता पाउनेहरुमा अजोधया प्रसाद चौधरी, ढुण्डि राज गौतम, रमेशकुमार मेहता र सहिल मुसलमान रहेका छन् । हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकहरुले स्क्य्राच कार्ड बाट ५ हजार देखि १ लाख सम्म जित्न सक्ने लगायतका योजना ल्याएको थियो ।
नेपालले चीनलाई भन्यो: केरुङ्-काठमाडौं-पोखरा-लुम्बिनी विद्युतिय रेलमार्ग अनुदानमा बनाइदिनुस्
काठमाडौँ । नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको छ । चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘एकक्षेत्र एकमार्ग’ (बिआरआई)अन्तर्गत सहयोगका लागि नेपालले निर्धारण गरेका प्राथमिकताका ती पाँच क्षेत्रबारे विस्तृत रुपमा चिनियाँ पक्षलाई अवगत गराएको बताए । चिनियाँ अधिकारीहरूले नेपालमा केही लगानी भइरहेको, थप लगानीका लागि प्रक्रियागत झन्झट अत्य गरी सहज वातावरण बनाउन आग्रह गरेका जानकारी दिँदै उनले थप पुँजी र उत्कृष्ट प्रविधि नेपाल भित्र्याउन तथा थालेका परियोजना समयमै सम्पन्न गर्न अनुरोध गरेको बताए । सिचुवान प्रान्तका गभर्नरसँगको भेटमा चीनसँगको नेपालको बढ्दो व्यापार घाटा कम गर्न सिचुवान प्रान्तमा नेपाली निर्यातयोग्य वस्तुहरुको सहज प्रवेशको लागि आग्रह गर्नुका साथै नेपाल र सिचुवान प्रान्तबीच राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध बढ्दै गएको तथा सिचुवान प्रान्तको आर्थिक सामथ्र्यबाट नेपालले पर्याप्त लाभ लिनसक्ने सम्भावनालाई दृष्टिगत गरी उक्त प्रान्तको राजधानी छन्दुमा नेपाल सरकारले वाणिज्यदूतावास स्थापना गर्न चाहेको बताउंदै त्यसमा सहयोग गर्न अनुरोध गरेको जानकारी मन्त्री ज्ञवालीले दिए । चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रभावकारी कार्यान्वयनलाई सहजीकरण गर्न एउटा द्विपक्षीय समन्वय तथा कार्यान्वयन संयन्त्र स्थापना केरुङ्बाट काठमाडौँ, काठमाडौँबाट पोखरा हुँदै लुम्बिनी जोड्ने सीमा व्यापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन तयारीबारेमा पनि छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए । आफ्ना चिनियाँ समकक्षीसँग भएका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सीमा नाकाको सञ्चालन तथा स्तरोन्नति, द्विपक्षीय रसुवागढी‒केरुङ र तातोपानी‒झाङमु नाकाहरुको स्तरोन्नति गर्ने र आगामी दिनमा थप नाका खोल्नुपर्ने आवश्यकतामा जोड दिँदै तातोपानी नाकालाई शीघ्र सञ्चालनका लागि आग्रह गरेको जानकारी पनि उनले दिए । द्विपक्षीय व्यापार नेपालको चीनसँगको बढ्दो व्यापार घाटा कम गर्न चीनमा नेपालको निर्यात बढाउनुपर्ने आवश्यकतामा जोड दिइयो । चीनका विदेशमन्त्री वाङले नेपाली उत्पादनलाई चीनमा राम्रो बजार पहुँचको सुविधा प्रदान गर्ने आश्वासन दिँदै चीनको खुलापन र सुधारबाट सिर्जित अवसरको फाइदा लिन आग्रह गरे । सम्म्भाव्यता अध्ययन तत्काल यसैबीच, सञ्चारकर्मीका केही जिज्ञासाका जवाफमा मन्त्री ज्ञवालीले केरुङ्बाट काठमाडौं, काठमाडौँबाट पोखरा हुँदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययन तत्काल प्रारम्भ गर्न चिनियाँ पक्षसँग अनुरोध गरिएको र त्यसमा सकारात्मक जवाफ प्राप्त भएको बताए । उक्त रेलमार्ग अनुदानस्वरुप निर्माण होस् भन्ने नेपालको चाहना रहेको पनि उन जानकारी दिए । रासस
विद्युत प्राधिकरणले किन्यो विद्युतिय गाडी, के कुलमान घिसिङले चढ्लान् ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महिन्द्राको ई२० प्लस विद्युतिय गाडी खरिद गरेको छ । प्राधिकरणले अग्नि इनर्जी मार्फत विद्युतिय गाडी खरिद गरेको हो । प्राधिकरणका उप प्रबन्धक राजिव शर्माले हरियाली तथा स्वच्छ भविष्यको लागि डिजेल र पेट्रोलबाट चल्ने गाडिहरुलाई निरुत्साहित गर्ने योजना अनुसार विद्युतिय सवारी खरिद गरेको बताए । नेपालमा हालसम्म ४० भन्दा बढी ई२० गाडी गैर सरकारी संस्थाहरुले प्रयोग गर्दै आएका छन् । यसलाई एक पटक पूरा चार्ज गरेपछि १४० किलोमिटरसम्म ८५ किलोमिटर प्रति घण्टाको दरमा कुद्न सक्छ । अब प्रश्न उठ्छ, लोडसेडिङ घटाएर चर्चाको शिखरमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ई२० प्लस विद्युतिय कार चढ्लान् त ? प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार ई२० कारको मूल्य २८ लाख रुपैंयाँ परेको छ । १३ युनिट विद्युतले सो कार फुल चार्ज हुनेछ । सो कार प्राधिकरणको इञ्जिनियरिङ निर्देशनालयको आयोजना विकास विभागका अधिकारीले चढ्नेछन् । प्राधिकरणले हालसम्म रत्नपार्कमा चार्जिङ स्टेशन निर्माण गरिसकेको छ । पहिलो विद्युतिय सवारी सधान खरिद गरेको प्राधिकरणले अब त्यस्ता सवारी साधनहरुको खरिदलाई बढाउँदै लैजाने पनि प्रवक्ता अधिकारीले जानकारी दिए ।