विकासन्युज

राजनको ‘मनको थैली’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । नेपाली र नेपालको छुट्टै पहिचान बोकेको मौलिक बाजा हो पञ्चेबाजा । जुन बाजामा आधारित रहेर गायक तथा सर्जक राजन ठकुरीले ‘मनको थैली’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् । दर्शन डिजिटलको प्रस्तुतीमा रहेको ‘मनको थैली’ गीतमा गायक ठकुरी, बमबहादुर बयक र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरी स्वयंमले लयबद्ध गरेका छन्, भने शब्द पनि उनी आफैले लेखेका हुन् । गीतलाई निकै सरल र मिठास तरिकाबाट म्युजिक भिडियो निर्माण गरिएको छ । जसलाई हमाल म्युजिक प्रालिका संचालक तथा निर्देशक सज्जन हमालको निर्देशन गरेका छन् । गीतमा पछिल्लो समय निकै व्यस्त रहेका मोडल तथा व्यवशाही विवस ठकुरी र विनु खड्काको अभिनय रहेको छ । गीतमा शम्भु चालिसेको छायांकन रहेको छ भने, सुजन शाहीका सम्पादन रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान काभ्रेमा सर्ने पक्का, ठुलीचौर की नागीडाडा ?

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न संस्कृती, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी काभ्रे पुगेका छन् ।  काभ्रेको ठुलीचौर, चिसापानी ठुलीचौर वा नागीडाडा मध्यका एक स्थानमा विमानस्थल बनाउदाँ उपयुक्त हुन्छ भन्ने सुझाव लिन मन्त्री अधिकारी त्यहाँ पुगेका हुन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको मन्त्री अधिकारीले बताएका छन् । मन्त्री अधिकारीका प्रेस सल्लाहाकार धुब्र पोखरेलका अनुसार केही दिनमै प्रस्तावित विमानस्थलको टुङो लगाउन ४ जनाको विज्ञ टोली ले सुझाव दिने र त्यसको १५ दिन भित्रैमा काम अघि बढ्ने बताए । काभ्रे जिल्लाको ठुली चौर चिसापानी ठुलीचौरमा विमानस्थल निर्माणको सम्भावना रहे पनि स्थानीयवासी नगरपालिकाले सहयोग नगरेको नागरिक उड्डयन प्रधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । बनेपाको नागीडाडामा प्रारम्भिक अध्यानको प्रतिवेदन आइसकेको एरिड्रोम इन्जिनियरिङ विभागका इन्जिनियर नलविक्रम थापाले बताए । “नागीडाँडामा विमानस्थलको सम्भावना रहेको छ अहिले प्रारम्भिक चरणको अध्ययन सकिएको छ, सो स्थानमा विमानस्थल निर्माणको लागि स्थानीय वासिन्दा लगायत सबै पक्षले सहयोग गर्नु पर्छ, “थापालेविकासन्युजसँग भने । इन्जिनियरिङको रिपोर्टमा नागरिक उड्डयन तथा मन्त्रालयले छलफल गर्नेछ । छलफलबाट पारित भएपछि विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्नेछ । नागिडाडामा १२ मिटरकाे धावनमार्ग र ३ सय मिटरकाे चाैडार्इमा फैलाउन सकिनेछ भने २५ देखि ३० वटा विमान पार्किङ गर्न सिकनेछ । याे विमानस्थल साना विमानका लागि मात्र उपुत्त हुनेछ । विमानस्थल निर्माणमा सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेको छ । नागीडाडा ठुलीचौर भन्दा उत्तम स्थल हो तर यसलाई काठमाडौंसँगको यातायात सञ्जालमा जोडिनुपर्ने अधिकृत पौडेलले बताए । विमानस्थल अहिले त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टासम्म सञ्चालनमा रहेको छ । आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् । एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न १ देखि २ घण्टासम्म आकासमै होल्डिङ गर्नुपर्ने समस्या रहेको छ ।  

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

जाकार्ता । फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ ।विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी भएका छन् । उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए । “उनलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ । हामीले यस फैसलाको पुनरावलोकन गराउने छौँ, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।” बहारीका वकील अन्डी कोमाराले भने । कारबाहीमा परेकाका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन् । रासस/एएफपी

फोर्स सिमेन्ट अब नँया प्याकमा, दैनिक १ लाख १० हजार बोरा बिक्री गर्दै

काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले आफ्नो फोर्स ब्राण्डलाई अझ नविन तथा परिष्कृत गर्दै आकर्षक प्याकेजिङ्गमा बजारमा ल्याएको छ । कम्पनीले समयको माग र ग्राहकको चाहना बमोजिम फोर्स प्याकेजिङ्ग आकर्षक र उपभोक्तामैत्री बनाएको हो । हालै मात्र विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले शुभ जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएलस्मिथ(डेनमार्क र भारत)को अत्याधुनिक प्रविधि भर्टिकल रोलेर मिल्स(भीआरएम) जडान गरी उत्पादन सूचारु गरेको हो । यसरी जगदम्बा ग्रुपले नेपालमा पाईने सबै प्रकारको (ओपीसी, पीपीसी र पीएससी) सिमेन्ट उत्पादन गर्दै आफ्ना दुवै उद्योगबाट दैनिक १ लाख १० हजार बोरा बिक्री वितरण गर्दै आइरहेको छ । उद्योगलाई प्रविधि मैत्री बनाउने र उत्पादित सम्पूर्ण ब्राण्डहरुको गुणस्तरमा एकरुपता कायम गर्नेे कम्पनीको प्रतिवद्धता छ ।  

स्वदेशी वाइनको खपत बढ्दो, बजार हिस्सा ६० प्रतिशत पुग्यो

काठमाडौं । पछिल्लो समय आन्तरिक बजारमा स्वदेशी वाइनको खपत बढ्दै गएको छ । अहिले स्वदेशी वाइनको बजार फैलदो क्रममा छ । आयातित वाइनलाई विस्तापन गर्दै निर्यात समेत हुन थालेको वाइन व्यवसायीहरु बताउछन् । विग मास्टर वाइन उत्पादन गर्दै आएको रोयल काठमाडौं हिमालय वेभरेजका प्रवन्धक निर्देशक गणेश चापागाईले पछिल्लो समय नेपालमा वाइनको बजार आक्रमक रुपमा अघि बढेको बताए । केही वर्ष अघिसम्म नेपालमा स्वदेशी वाइनको बजार हिस्सा ३० प्रतिशत मात्र थियो । बाँकी विभिन्न मुलुकदेखि आयात गरिन्थ्यो अहिले आयात घटेर स्वदेशमै उत्पादन भएको वाइनको हिस्सा ६० प्रतिशत पुगिसकेको जानकारी गराए । ‘२/४ वर्षअघिसम्म वाइनको बारेमा धेरैलाई थाहा थिएन । थाहा भएकाहरुले पनि लेडिजहरुले पिउने मदिराको रुपमा मात्र चिन्थे । पसलमा वाइन पाइन्न थियो,’ उनले भने ‘अहिले हरेक पसलमा वाइन अनिवार्य राखिएको हुन्छ । ब्राण्ड र यसको फाइदाको बारेमा उपभोक्ताहरुलाई थाहा भइसकेको छ ।’ उनको अनुसार नेपालमा विग मास्टर, हिन्वा, रिवान्ड, डिभाइन लगायतका करिब ५० बढी वाइन उद्योग खुलिसकेको छ । माग सँगै उत्पादन बढिरहेको छ । ‘गएको वर्ष हाम्रो उद्योगले ६० हजार कार्टुन वाइन उत्पादन गरेको थियो,’ उनले थप्दै भने ‘यो वर्ष २५ प्रतिशत वृद्धि हुने अनुमान छ ।’ अघिल्लो वर्षको भन्दा गएको वर्ष ४० प्रतिशत वाइनको खपत बढेको उनको भनाइ छ । उनको अनुसार बिगमास्टर वाइन अंगुरबाट उत्पादित रेड वाइन हो । त्यस्तै सुनौलो हिमाली जुम्ला अग्र्यानिक अर्डर सप्लायर्सका कार्यकारी निर्देशक शिव न्यौपानेले पनि अहिले वाइनको बजार ह्वात्तै बढेको बताए । सप्लायर्स अन्तर्गतको आरके एप्पल हर्टीकल्चर डीस्टीलरीले गोल्ड स्पो वाइन उत्पादन गर्दै आएको जनाउदै उनले भने, ‘अहिले वाइनको बजार उत्साहजन बढको छ ।’ उद्योगले हार्ड ड्रीङ्स समेत उत्पादन गर्दै आएकोमा अत्यधिक मात्रामा वाइननै बिक्री भएको उनकाे भनाइ छ । ‘हार्ड ड्रीङ्स १ कार्टुन बिक्री हुदा वाइन ४/५ कार्टुन बिक्छ,’ उनले थपे ‘गएको वर्ष ९ सय काटुन वाइन बिmत्री भएकोमा यो वर्ष बढेर १२ सय काटुन पुग्ने देखिन्छ ।’ आगमी वर्ष अझ बढेर १३/१४ सय काटुन पुग्ने हाम्रो अनुमान छ ।’ आरके एप्पल डीस्टीलरीले उत्पादन गरेको २० प्रतिशत वाइन जापान निर्यात हुने गरेको कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिए । साथै अस्ट्रेलिया समेत निर्यात गर्ने तयारी भइरहेको उनको भनाइ छ । जुम्लामै उत्पादन हुने स्याउबाट बन्ने गरेको वाइनलाई ७ वर्षअघि उद्योग स्थापनाताका शुरुवात अवस्थामा सय काटुन बिक्री गर्न हम्मेहम्मे पर्ने गरेको उनले सुनाए । अर्को तागेरा ब्राण्ड वाइनका सप्लायर्स कमानसिंह गुरुङले वाइन खरिदकर्ता बढिरहेको बताए । गएका वर्षहरुभन्दा अहिले स्वदेशी वाइनप्रति ग्राहकहरुको चासो देखिएको उनको भनाइ छ । ‘स्वाद उस्तै भएपनि विदेशी वाइन महङ्गो हुने भएकोले स्वदेशी उत्पादनले नेपालीहरुको ध्यान तानिएको हो,’ उनले भने ‘त्यसैले पनि स्वदेशी वाइनको खपत बढीरहेको छ ।’ उनले सप्लाई गरिरहेको तागेरा वाइनमा ४० प्रतिशत एलेवेरा, ७० प्रतिशत ग्राउण्ड एप्पल साथै सिजनेबल फुड मिक्स गरिएको जानकारी दिए । उक्त वाइन सेमी स्वीटमा उपलब्ध छ । वाइन व्यवसायीहरुका अनुसार मुलुकमा वाइन अंगुर, भुइ स्याउ (ग्राउण्ड एप्पल), एलोवेरा लागयतका फलफुलबाट निर्माण गर्ने गरिएको छ । त्यस्तै रेड र ह्वाईट वाइन बजारमा उपलब्ध छ । ती वाइनहरु स्वीट, सेमी स्वीट र ड्राई क्याटोगोरीमा पाइन्छ । वाईनको बजार फैलिएसँगै बियर र हार्ड ड्रिङ्स गर्नेहरु डाइभर्ट भएर वाइन पारखी बनेको व्यवसायीहरुले बताउदै आएका छन् । सामान्यतया स्वदेशी वाइनको शुरुवाती मुल्य ४ सय रुपैयाँ रहेको छ । विश्वमा अत्यधिक मात्रामा अंगुरबाट बनेको वाइनलाई रुचाइन्छ । त्यस्तो वाइनको हिस्सा विश्व बजारमा ८५ प्रतिशत रहेको व्यवसायीहरु बताउछन् ।  

फ्यान्टाको नयाँ लोगो सार्वजनिक, युवा केन्द्रित मार्केटिङ प्लान शुरु

काठमाडौं । फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरुपमा नेपाली बजारमा सार्वजनिक भएकाे छ । फ्यान्टाको नयाँ लोगो हेर्दा निकै बोल्ड र रमाइलो देखिन्छ । नयाँ लोगो निकै उज्यालो कलरको साथ हरेक क्षेत्र र भेषभुसाका युवालाई सम्मान गर्ने र सकारात्म सोचको तरङ प्रबाह गर्ने किसिमले डिजाइन गरिएको छ । नयाँ लोगो सार्वजनिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने ‘फ्यान्टाले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ, जसले युवाहरुसँग आफुलाई जोडेर ब्राण्ड बिल्डमा गर्नमा सहयोग पुर्याउँछ । अहिलेको नयाँ पुस्ताको दृष्टिकोणलाई लिएर हामीले फ्यान्टाको क्याम्पेन शुरु गरेका हौं ।’ उनले भने, ‘हामीले अहिले टीन मार्केटिङ अफिसर्सको टिम तयार गरेका छौँ जसले takeover.fanta.com जस्ता प्याटफर्महरुका मार्फत टीनएजर्सलाई यस क्याम्पेनमा भाग लिन र केहि नयाँ सृजना गर्न उत्सुक बनाउनेछन् ।’

पाइलटले पत्याएनन् वायुसेवा निगमलाई, ४३ जना माग्दा १० जनाको मात्रै आवेदन

काठमाडौं । नेपाल वायुसेवा निगमले पाइलट अभावको समस्या झेल्नु परेको छ । निगमले खुलाएको ४३ जनाको विज्ञापनमा १० जनाको मात्र आवेदन परेको हो । दुई महिना अघि निगमले खुलाएको विज्ञापनमा १० जना को पाइलटको मात्र नियुक्ति भएको छ । निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठका अनुसारका ४३ जनाको विज्ञापनमा १० जना नेपाली को पाइलटले मात्र आवेदन दिएका थिए । ‘हामीले साना ठुला दुबै विमान उडाउन सक्ने क्याप्टेन पाइलट र को पाइलट दुबै पाइटलटको माग गरेका थियौं, तर १० जनाको मात्र आवेदन परेकोले अहिले १० सै जनालाई निगममा स्थाई जागिरका लागि नियुक्त गरेका छौं’, प्रवक्ता श्रेष्ठले विकासन्युजसँग भने । निगमले १० जना को पाइलटलाई ट्रेनिङमा राख्ने तयारी गरेको छ । उनीहरु तयार भएपछि मात्र विमान चीनबाट आएका १७ सिट क्षमताको दुई विमान उडाउनेछन् । निगमले चीनबाट एके भी र एके यू नामको १७ सिट क्षमताको जहाज ल्याएको छ । तर उडान गर्ने पाइटल नहुँदा सञ्चालनमा आउन सकेको छैन । निगमले गरेको विज्ञापनमा एयरबस ३३० का लागि क्याप्टेन पाइलट ६ जना, एयरबस ३२० का लागि क्याप्टेन ४ जना, बोइङ ७५७ को लागि ६ जना, एमए ६० को लागि ६ जना डीएचसी ६ र वाई १२ को लागि ११ जना, एयरबसका लागि को पाइलट ६ जना र बोइङको लागि ६ जना को पाइलट गरी ४३ जना पाइलटका लागि विज्ञापन खुलाएको थियो । यसैगरी निगमको दुई ठुला जहाज असारसम्ममा आइपुग्ने भएको छ । २५० जना सिट क्षमताको वाइड बडीका २ विमान असारसम्ममा काठमाडौं आइपुग्ने निगमले जनाएको छ । निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई एयरबस ३३० र २०० सिरिजको विमान ल्याउन जिम्मा दिएको छ । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा उडान भर्ने निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । अहिले नियुक्ती दिएका सबै नेपाली को पाइलट हुन् । अन्तराष्ट्रिय पाइलट ल्याउनका लागि सम्बन्धित देशमा इमेल तथा सञ्चार माध्याममा विज्ञापन गर्ने निगमले तयारी थालेको छ । निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् । भने ४५ जना अन्तराष्ट्रिय उडान भर्ने पाइलट रहेको छन् । अहिले निगमसँग ६ वटा साना र ३ वटा ठुला विमान रहेका छन् । ६ साना विमानले देशभित्र विभिन्न २२ स्थानमा उडान भरिरहेका छन् । हप्तामा सेक्टर हेरी १ देखि ३ उडान गरिहेको छ । दैनिक उडान भर्न निगमसगँ भएका जहाजहरु ४० वर्ष भन्दा पुराना र आवश्यक संख्यामा पाइलटको संख्या नहुँदा उडानको संख्या बढाउन नसकेको श्रेष्ठले बताए । नयाँ आएका साना विमानले अहिले उडिरहेकै रुटमा सञ्चालन हुनेछन् ।  

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा थाइल्याण्डको रोयल थाई आर्म्ड फोर्सका प्रमुख तन्चाइयान सिसुवान बुधबार नेपाल भ्रमणमा आउँदै छन् । नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले प्रधानसेनापति क्षत्रीसँग जङ्गीअड्डामा भेटवार्ता र पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रम समेत छ । भ्रमणका दौरानमा उनले पोखरा, लुम्बिनीलगायत अन्य केही पर्यटकीय स्थानको भ्रमण गरी यही वैशाख २२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्र राष्ट्र थाइल्याण्डको राष्ट्रिय सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाको विश्वास छ । रासस