गभर्नरलाई सचेत गराउँदै अर्थमन्त्रीले भने : राष्ट्र बैंकलाई पनि कार्वाही गर्ने निकाय छ
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो काम नगरे नेपाल राष्ट्र बैंकलाई कार्वाही गर्ने निकाय पनि रहेको भन्दै गभर्नर डा. चिरन्जीवि नेपाललाई सचेत गराएका छन् । उनले बैंक तथा वित्तीय संस्थाको अनुगमनको फाइल लुकाउने, यथार्थ विवरण नदिने कर्मचारीमाथि कार्वाही गर्न गभर्नर डा. नेपालको ध्यानकर्षण गराएका छन् । ‘केन्द्रिय बैंकलाई पनि कारवाही गर्ने निकाय छ, नराम्रो काम गरे मलाई पनि कारवाही गर्ने निकाय छन् । स्थलगत नीरिक्षण बढाउनुस, फाइल लुकाउने कर्मचारीलाई कारवाही गर्नुस’, अर्थमन्त्री डा. खतिवडाले भने । उनले वित्तिय प्रणालीमा आघात पुर्याउने जो कोहीलाई कारवाही हुने स्पष्ट पनि पारेका थिए । राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकिकृत बैंकिङ कारोबारको बुधबार राजधानीमा शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले वित्तिय प्रणाली चक्रिय जोखिममा रहेको बताउँदै भने-‘ अर्थतन्त्रमा चक्रिय जोखिमहरु आउँनेछन्, त्यसको समाधानका लागि केन्द्रिय बैंक चनाखो होस ।’ उनले बैंक तथा वित्तिय संस्थाको लाइसेन्स केन्द्रिय बैंकको गेटबाटै वितरण हुन्छ भन्ने अवस्थामा आफुले व्यापक सुधार ल्याएको दावी पनि गरे । ‘बैंक तथा वित्तिय संस्थाको लाइसेन्स लिन राष्ट्र बैंक भित्र जानै पर्दैन, गेटबाटै पाइन्छ भन्ने समयमा म गभर्नर भएर गएको थिएँ, त्यसपछि के के सुधार भयो सबैले देख्नु भएकै छ’, डा. खतिवडाले भने ।
राष्ट्र बैंकद्धारा ४ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको नोट निष्कासन, कागजी नोट कारोबार कम गराउदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब ७४ अर्ब ९४ करोड रुपैयाँ बराबरको नोट निष्कासन गरेको छ । जसमध्ये ४ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ चलनचल्तिमा रहेका छन् । १० अर्ब २७ करोड रुपैयाँ केन्द्रीय बैंकको बैंकिङ कार्यालयमा मौज्दात छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणमा सो जानकारी गराएको हो । राष्ट्र बैंकले सुनचाँदी, विदेशी मुद्रा र ऋणपत्र धितो राखेर नोट निष्कासन गर्छ । केन्द्रीय बैंकले हालसम्म सुनचाँदी मात्र धितो राखेर नोट निष्कासन गर्दै आएको छ । विदेशी मुद्रा र ऋणपत्र धितो राख्नु परेको छैन् । सरकारले कागजी नोटको प्रयोग क्रमशः कटौती गर्दै लैजाने भएको । नोटको कारोबार कम गराउन सरकारले गत साउनदेखि १० लाख रुपैयाँ भन्दा बढिको वित्तिय कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै गाडी किन्दा २० लाख रुपैयाँ र जग्गा किन्दा २० लाख रुपैयाँदेखि भुक्तानी चेकमार्फत हुने अनिवार्य व्यवस्था गरिएको छ । सरकारले नोट कारोबारमा कडाई गर्दै त्यसको प्रयोगलाई निरुत्साहित पार्दै जाने योजना अघि सारेको छ । केन्द्रीय बैंकले नोटको कारोबारको सट्टा अब विद्युतीय ट्रान्सफर, एटीएम र डेविट कार्डमार्फत कारोबार बढाउन थालेको छ । विद्युतीय वित्तीय कारोबार बढेपछि राष्ट्र बैंकले धेरै नोट निष्कासन गर्नुपर्दैन । गत चैतसम्म केन्द्रीय बैंकमा सरकारको २ खर्ब ८८ अर्ब ४१ करोड रुपैयाँ बचतमा छ । यस्तै वाणिज्य बैंकहरुको १ खर्ब २९ अर्ब ९७ करोड रुपैयाँ निक्षेप रहेको छ । केन्द्रीय बैंकमा ३२ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ विदेशी मुद्रा रहेको छ । बैंकको कुल सम्पत्ति बढेर ६ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ रहेको छ । मुलुकभर नेपाली नोटको व्यवस्था गर्न कम्तीमा ३.२५ वर्षका लागि धान्ने नोटको स्टक राख्ने नीतिगत व्यवस्था अनुसार २०७४ वैशाखदेखि २०७४ चैत मसान्तसम्ममा विभिन्न दरका १ खर्ब ३१ अर्ब ५६ करोड बराबरको ७८ करोड ७६ लाख थान नयाँ नोट बैंकमा भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
साहरा विकास बैंकको १८ करोड २४ लाख ८७ हजारकाे हकप्रद सेयर जेठ ६ गतेदेखि बिक्री खुला
काठमाडौं । सहारा विकास बैंकले जेठ ६ गतेदखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द असार ९ गते हुने बैंकले जनाएको छ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बैशाख ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले हकप्रदका लागि आवेदन दिन सक्ने एनआईबीएल क्यापिटलले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्ने छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन किन ?
काठमाडौं । ‘‘नाकाबन्दी, सीमाअतिक्रमण, व्यापार अवरोध, विकासे आयोजनाहरु ओगट्ने मात्रै, आन्तरिक राजनीतिक मामिलामा निरन्तरको हस्तक्षेप ।’ यी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र नेपालीलाई लगाएका गुण । त्यति मात्रै होइन, मोदीले नेपालीलाई अरु पनि थुप्रै गुण लगाएका छन् । तीमध्येको अर्को एउटा गुण हो, वुद्धको जन्म सम्बन्धी । मोदीले पटक पटक वुद्ध भारतमा जन्मिएका हुन भनेर हाम्रो स्वाभिमानमाथी धावा बोलेका छन् । भूकम्पले थला परेको मुलुकलाई नयाँ संबिधान जारी गर्ने बिषयले एक जुट बनाएको थियो । संबिधान बनाउने मामलामा मधेश केन्द्रित दलहरुले असमति राख्दै आन्दोलन घोषणा गरेका थिए तर मोदीले आन्तरिक मामलालाई उछालेर नेपालमा नाकाबन्दी गरिदिए । नाकाबन्दी मोदीले लगाए तर त्यसको दोष मधेशवादी दलहरुमा थोपर्ने प्रयास पनि गरे । मधेशवादीहरुले सीमा अवरोध गरेर नाका बन्दी गरेको सन्देश दिएर नेपाली नेपालीलाई जुधाउने प्रयास पनि गरे । कञ्चनपुरको पुनर्वासमा गोविन्द गौतमलाई गोली हानेर हत्या गरेको भारतले अझै माफी मागेको छैन् । पुनर्वास नगरपालिका–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर नेपाली र भारतीयबीच विवाद हुँदा एसएसबीले गोली चलाएर गौतमको हत्या गरेको थियो । पुनर्वास नगरपालिका वार्ड न ९ बीच फाँटामा १९४ नम्बरको जंगेपिलर नजिक नेपाली भूमिमा लगाएको खेती संरक्षणका गरिएको तारबार एसएसबीले उखेलेर फालेका छन् । सिमा क्षेत्रमा एक तर्फीरुपमा बाँध र सडक निर्माण गरेर हजारौं नेपाली भूमि डुबानमा पर्ने श्रृंखला अझै रोकिएको छैन् । महाकाली सन्धिको कार्यान्वयन, हुलाकी राजमार्गको निर्माणमा ढिला सुस्ति, पश्चेश्वरमा अनिच्छा, माथिल्लो कर्णाली जलविद्युत आयोजना ओगट्ने, भूकम्प पीडितका लागि ५० हजार घर बनाइदिने सम्झौता कार्यान्वयन नगर्नु, अदुवाको निकासीमा अवरोध, बंगलादेश पुग्ने बाटो नदिने, भुटानी शरर्णाथी फिर्ता गराउन असहयोग जस्ता काम भारतबाट हुँदै आएका छन् । तीन पुस्तासम्म नेपाली नागरिकहरुले बिर्सनौ नसक्ने गरि लगाइएको नाकाबन्दी, सीमा अतिक्रमण, विकासमा अवरोध, आन्तरिक राजनीतिक हस्तक्षेप जस्ता अनेकौं घट्नाक्रमहरुलाई बिर्सेर हामी कसरी मोदीलाई नागरिक अभिनन्दन गर्न सक्छौं ? जंगे पिलरहरु हटाउने क्रम नरोकिँदै, नाकाबन्दीको हिसाब किताब नहुँदै, तराई डुबान नरोकिँदै, विकासका अवरोध नहट्दै, आन्तरिक राजनीतिमा हस्तक्षेप नरोकिँदै हामी कसरी मोदीलाई अभिनन्दन गर्न तयार भयौं ? एउटा देशको सरकार प्रमुखलाई अर्को देशका नागरिकले अभिनन्दन गर्ने भनेको त्यो देशको हितमा मनग्गै काम गरेपछि मात्रै हो । अर्थात अभिनन्दनका लागि योग्य कर्म गरेपछि बल्ल अभिनन्दन गरिने हो । तर सधैँ नेपाली स्वाभिमानमा आँच पुर्याउने, नेपाली जमिन मिच्ने, नेपालीको राष्ट्रियतामाथी प्रहार गर्ने, हामीलाई अविकासको भूमरीमा धकेल्ने मोदी नागरिक अभिनन्दनका लागि योग्य पात्र होइनन् । उनले नेपाल र नेपालीका पक्षमा अहिलेसम्म एउटा पनि काम गरेका छैनन् । भूकम्प पीडितका लागि ५० हजार घर बनाईदिने प्रतिवद्धता व्यक्त गरेको भारतले भर्खर तेश्रो पक्ष खटाएर निर्माण सम्पन्न भएका घरहरुको अवलोकन थालेको छ । हुलाकी राजमार्गको निर्माणलाई बर्षौसम्म रोकेर भित्रि मधेशलाई अधिवकासमा भूमिबाट माथि उठ्नै नदिने भारत नै हो । नेपाल र नेपालीको सानका रुपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनीमाथि धावा बोल्ने मोदी कसरी अभिनन्दनका पात्र हुन सक्छन् ? मोदी नेपाल भ्रमणमा आउनु राम्रो पक्ष हो, दुई छिमेकी मुलुक सँधै तित्तताको सम्बन्धमा रहनुहुन्न । तर सम्बन्ध सुधार गर्न हुने भ्रमणमा विना कुनै उपलब्धि नागरिक अभिनन्दन गरिनु सर्वथा गलत हुनेछ । मोदीले आफ्ना तमाम कुकर्महरु प्रति आत्माग्लानी महसुश गर्नुपर्छ । विगताम दुःख दिएकोमा आत्मालोचना गर्नुपर्छ र भविष्यमा दुःख नदिने प्रण गर्नुपर्छ । अनि मात्रै उनी अभिनन्दनका लागि योग्य हुनेछन् । अहिलेकै अवस्थामा गरिने नागरिक अभिनन्दन भनेको मोदीको शक्तिको पुजा मात्रै हुनेछ ।
फाेर्डकाे सीयुभी फ्रीस्टाइल सार्वजनिक, सुरुवाती मुल्य २६ लाख ९९ हजार (फोटो फिचरसहित)
काठमाडौं । नेपालका लागि फाेर्ड गाडीकाे अाधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले फोर्डकाे सीयुभी(कम्प्याक्ट युटिलीटी भेहिकल) फ्रीस्टाइल सार्वजनिक गरेको छ । मंगलबार भव्य संगितिक कार्यक्रमबीच राजधानीमा कम्पनीले भारतमा पहिलो पटक बनेको सीयुभी फोर्ड फ्रीस्टाइल सार्वजनिक गरेको कम्पनीकाे भनाइ छ । कम्पनीले सार्वजनिक गरेकाे कारमा एसयुभीकाे डीजाइन,पफमेन्स, वेन्चमार्रक लगायतलार्इ समेटेकाे बताएकाे छ । उक्त सीयुभीमा १.२ लीटर ३ सीलीन्डर पेट्रोल इञ्जिन छ । जसले ९६ पीएस पीक पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । कारले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार गाडीमा कनेक्टीभीटी र सेफ्टी फीचर्स समावेश गरिएको छ । जसमा हाई रिसोलुशन ६.५ इन्च टक स्क्रीन र ६ वटासम्म एयरब्याग्स उपलब्ध छ । ग्राउण्ड क्लियरेन्स १९० रहेको कारका टायर १५ इन्चको राखिएकाे छ । त्यस्तै कारमा एन्टी लक ब्रेकिङ, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, रियरभ्यू क्यामेर, इमरजेन्सी असिस्टेन्स, पुस बटम स्टार्ट, कि–लेस इन्ट्री, अटो हेडल्याम्पस्, रेन–सेन्सिङ वाईपर लगायत फिचर्सहरू राखिएकाे छ । ह्वाइट गोल्ड, मुनडस्ट स्लीभर, अक्सफोर्ड ह्वाइट, स्मोक ग्रे लगायत कम्पनीले विभिन्न ६ कलरमा कार बजारमा उपलब्ध गराएको छ । शुरुवाती मुल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको उक्त फोर्ड फ्रीस्टाइल सीयूभी मोडलअनुसार ३२ लाख ४९ हजार रुपैयाँ सम्म मुल्यमा बजारमा कम्पनीले प्रस्तु गरेकाे छ ।
जुट मिल सञ्चालन गर्न विराटनगर महानगरपालिकाले सहयोग गर्ने
विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विराटनगर रानीमा रहेको विराटनगर जुट मिल सञ्चालनका लागि माग गरिएको छ । जुटमिल बचाउ अभियान समितिका अध्यक्ष धर्मानन्द सन्जेलसहितको टोलीले मंगलबार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाउँदै मिल सञ्चालन गर्न माग गरेको हो । प्रमुख पराजुलीले ज्ञापनपत्र बुझदै स्व राजनेताहरु गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजनीतिक यात्रा शुभारम्भ भएको ऐतिहासिक विराटनगर जुट मिल सञ्चालनका लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए । विसं २००३ साल र २००७ सालमा जुट मिलमा भएको आन्दोलनका कारण नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएको थियो । नेपालको मजदुर आन्दोलनसँगै प्रजातान्त्रिक आन्दोलनको शुुरुवात भएको जेठो उद्योग विराटनगर जुट मिल सञ्चालनका लागि सरकारले सञ्चालक समितिसमेत नियुक्ति गरेको छ । समिति निर्माण भए पनि जुुटमिल पाँचदेखि छ महिनामात्र चल्ने र त्यसपछि बन्द हुने गरेको छ । जुट मिलको करिब रु पाँच अर्बभन्दा बढीको चल अचल सम्पत्ति रहेको छ । रासस
हातिलको एक महिने अफर सार्वजनिक, फर्निचर खरिदमा २० प्रतिशतसम्म छुट
काठमाडौं । बंगलादेशको विख्यात फर्निचर ब्राण्ड हातिलले नेपाल प्रवेशको पहिलो वार्षिकोत्सवको अवसर पारेर प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । उक्त अफर एक महिना चल्ने छ । सन् २०१७ को अप्रिल ३० मा अखिल ट्रेडिङ कन्सर्न प्रा. लि.सँगको साझेदारीमा नेपालमा हातिल ब्रान्ड फर्निचरको बिक्री शुरु भएको थियो । अखिल ट्रेडिङ नेपालका लागि हातिलको अधिकृत बिक्रेता हो । आधुनिक डिजाइन र अत्याधुनिक उत्पादन युनिटका कारण ख्याति कमाएको हातिलले नेपालमा पनि स्लिम र स्मार्ट फर्निचरमा छोटो अवधिमै नाम कमाइसकेको छ । वार्षिकोत्सव अफरको एक हिस्साको रुपमा हातिलले सबै प्रकारका फर्निचरमा २० प्रतिशतसम्म छुट घोषणा गरेको छ । यसबाहेक ग्राहकले बेडरुम सेट खरिदमा एउटा फेब्रिक स्ट्यान्ड सित्तैमा पाउने कम्पनीले जनाएको छ । तीन लाखभन्दा माथिको खरिदमा ग्राहकले एउटा गिफ्ट भौचर पाउने छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा हातिलको सोरुम छ । यो अफर १८ वैशाखदेखि १७ जेठसम्म लागू हुनेछ ।
एनआईसी एशियाको एग्रेसिभ मुभः १ वर्षमा ५५ अर्ब निक्षेप बढायो, निजी बैंकमा सबै भन्दा अगाडी
काठमाडौं । एक वर्षको अवधिमा एनआईसी एशिया बैंकले निक्षेप ६८ प्रतिशत बढाएर निजी क्षेत्रको पहिलो बैंक भएको छ । गत चैतसम्म बैंकले निक्षेप बढाएर १ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको चैतमा बैंकले ७९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । आक्रमक रुपमा व्यवसाय विस्तार गर्दा १ वर्षमै ५५ अर्ब रुपैयाँ निक्षेप थपेको हो । निक्षेप संकलनको हिसावले एनआईसी एसिया निजी क्षेत्रको पहिलो र २८ वाणिज्य बैंक मध्ये दोस्रो स्थानमा उक्लिएको छ । एक वर्षयता एनआईसीले आक्रमक रुपमा व्यवसाय विस्तारमा लागेपछि निक्षेप र कर्जा लगानी दुबै बढेको छ । गत चैतसम्म एनआईसीले १ खर्ब ८ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा ६६ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अन्य प्रतिस्पर्धीलाई उछिन्दै एनआईसी एसियाले सबैभन्दा बढी निक्षेप परिचालन गरेको हो । आक्रमक बजार विस्तारका कारण एनआईसीले निक्षेप परिचालनमा पुराना नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकलाई पछि पारेको छ । सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भएको छ । राष्ट्रिय वाणिज्यको चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा निक्षेप बढेर १ खर्ब ५३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा राष्ट्रिय वाणिज्यले १ खर्ब ३५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले १ खर्ब १२ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा राष्ट्रिय वाणिज्यको कर्जा लगानी १ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ थियो । सरकारी कोष परिचालन गर्ने भएकाले राष्ट्रिय वाणिज्यको निक्षेप सबैभन्दा बढी भएको हो । एनआईसी एसियापछि नेपाल इन्भेष्टमेन्ट बैंकले निक्षेप संकलन गरेको छ । चैतसम्म नेपाल इन्भेष्टमेन्टको निक्षेप बढेर १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । यस्तै नविल बैंकको पनि बढेर १ अर्ब २३ अर्ब रुपैयाँ पुगेको हालै सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । एभरेष्ट बैंकको १ खर्ब ६ अर्ब र ग्लोबल बैंकको १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप परिचालन भएको छ । २१ बैंकको निक्षेप १ खर्ब रुपैयाँ भन्दा कम रहेको छ । एक खर्ब नजिकमा सरका स्वामित्वको कृषि विकास बैंक भएको छ । उसको निक्षेप परिचालन ९८ अर्ब रुपैयाँ नजिक छ ।