एनसीसी बैंकको थप शाखा नयाँबजारमा
काठमाडौं । नेपाल कमर्श एण्ड क्रेडिट(एनसीसी) बैंकले थप शाखा नयाँबजारमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य रामजी रेग्मीले गरेका हुन् । कार्यक्रममा रेग्मीले एनसीसी बैंकले यस क्षेत्रमा शाखा खोलेर यस क्षेत्रको उद्योगी, व्यवसायी एवं बचतकर्ताहरुलाई समेत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्ने कुरामा आफु विश्वस्त रहेको बताएका छन् । साथै बैंकको समग्र अवस्था बारे जानकारी गराउँदै नेपाल राष्ट्र बैंकको नीति निर्देशन पालना गरी अगाडि बढ्न सुझाव दिएका छन् । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले अन्य स्थानमा जस्तै यस क्षेत्रमा पनि बैंकले गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा आश्वस्त हुन सबैलाई आग्रह गरेका छन् ।
सिन्डिकेटको अन्त्य: कम्पनीबीच प्रतिस्पर्धा फ्रि वाइफार्इ, युरो ४ मापदण्ड सहितको अत्याधुनिक बस भित्रिदैं
काठमाण्डौं । सरकारले यातायात निर्देशिका र कार्यविधि संसोधन गरी कार्यान्वयनमा ल्याएपछि यातायात क्षेत्रमा कम्पनीहरुबिच प्रतिस्पर्धा सुरु भएको छ । पुराना व्यवसायीहरुको एकाधिकार जमाउँदै आएको यातायात क्षेत्र अब नयाँ व्यवसायीहरुको प्रतिस्पर्धात्मक आकर्षण बढेको छ । कम्पनीको रुपमा दर्ता भएका व्यवसायीहरुले नयाँ सञ्चालनमा ल्याउन लागेका बसहरुमा अत्याधुनिक सेवा सुविधा थप्न लागेका हुन् । दिगो शहरी यातायातले जेठ महिनाबाट सञ्चालनमा ल्याउनेगरी १७ ठुला बस काठमाडौंमा ल्याउने तयारी गरेको छ । यातायात प्रमुख लालप्रसाद गुरागाँईका अनुसार बस युरो ४ मापदण्डको हुनेछ । बस सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ । बस पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ । उपत्यकामा यातायात सेवा प्रदान गर्दै आएको साझा यातायातले आफ्नो सेवाको विस्तारलाई तिब्र बनाएको छ । हाल ३९ वटा बस सञ्चालन गर्दै आएको साझाले थप २४ वटा बस थप्ने तयारी गरेको छ । नयाँ थपिने बसहरुमा अपाङग, बालबालिका, गर्भवती महिला, जेष्ठ नागरिक लगायतलाई छुट्टै व्यवस्था हुनेछ । यातायातका प्रमुख महेन्द्र पाण्डेका अनुुसार साझाले महिनादिन भित्र ४ ठुला बस थप्नेछ भने ५ महिनाभित्र २० सिटीबस थप्ने तयारी गरेको छ । थपिएको नयाँ बसहरु सञ्चालन गर्ने रुटहरु भने बस काठमाडौं आइपुगेपछि मात्र टुङगो लाग्ने प्रमुख पान्डेले बताए । बजारमा आएको छोटो समयमै लोकप्रिय बन्न सफल मयुर यातायातले सेवा विस्तारलई आक्रामक बनाएको छ । हाल २३ वटा बस सञ्चालमा ल्याएको मयुरले केहि महिनाभित्रै बसको संख्या ४५ पुर्याउने सञ्चालक मोहन श्रेष्ठले बताए । मयुर यातायात अन्य बसहरुभन्दा फरक रहेको संचालक श्रेष्ठले बताए । यातायातले फ्रि वाइफाई, बस चढ्न अपाङग तथा जेष्ठ नागरिकलाई सहज लगायतका सेवा सुविधा रहेको छ । सूर्योदय यातायतले अशोक लेलैण्डका १५ थान नयाँ मोडेलका यात्रुवहाक बस पूर्वाञ्चलमा सञ्चालनमा ल्याएको छ । बसमा डिजिटल डिस्पले , टिभी, वाईफाई , जिपिएस, सीसी क्यामेरा लगायत अत्याधुनिक उपकरणहरु जडान गरिएको छ । कम्पनीको अनुसार गाडीमा विभिन्न किसिमका लाईफटाईम इन्जिन जडान गरिएको छ । कम्पनीले पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने बताएको छ । संस्थाका अध्यक्ष देवेन्द्रकुमार न्यौपानेले गाडीहरुमा फिल्टर र मोबिल खर्चबाहेक अन्य खर्च नआउने दाबी गरे । संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी गाडी विस्तार गर्दै यात्रुहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित गराउने जानकारी दिए । सरकारले यातायात सिण्डिकेट खारेजको घोषणा गरेपछि निजी क्षेत्रबाट संगठित रुपमा ठुला बस सञ्चालनमा आउन थालेका हुन् । सिद्धबाबा यातायात प्राइभेट लिमिटेडले केहि दिनभित्रै २० वटा बसञ्चालनमा ल्याउने जनाएको छ । यसैगरी नयाँ बस सञ्चालनमा ल्याउनेहरुमा सिला सालिग्राम यातायात, सप्तरंगी प्राली, टेकु सवारी परिक्षकले ११ वटा बस थपेका छन् । यस्तै इन्द्रेणी यातायातले २ वटा र अन्य कम्पनीहरुले पनि नयाँ बस सञ्चालन ल्याउने तायारी गरेको यातायात विभागका सूचना अधिकृत तुलसीराम अर्यालले जानकारी दिए । अहिले पञ्जिकरणमा १२१ भन्दा बढी कम्पनी आइसकेका छन् । सरकारले अब कम्पनीहरुबिच प्रतिस्पर्धा गराएर यातायात क्षेत्रलाई सेवामुखी बनाउने अर्यालले बताए । अन्नपूर्ण यातायात प्रालि, ओरेन्ज यातायात प्रालि र सिटी मेट्रो यातायात प्रालिले समेत कम्पनी दर्ता गराई बस सञ्चालनमा ल्याएको छ ।
गरिमा विकास बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायणबाबु लोहनीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट रिलायवल नेपाल लाईफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकान्स्योरेन्स पनि एक महत्वपूर्ण कार्य रहेको यस बैंकका सीईओ ढकालले बताए ।
मेगा बैंकले एक महिनामै थप ११ वटा शाखा खोल्दै, हेरौँ कहाँ कहाँ ?
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो । यसैक्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबार नयाँ शाखा खुलिसकेको छ । शाखा विस्तार हुन लागेकोमा बर्दियाको गेरुवा गाउँपालिका, इलामको रोङ, उयदपुरको रौतमाई गाउँपालिका, धनुषाको लक्ष्मीनिया गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र गोरखाको भीमसेन गाउँपालिका रहेका छन् । यस्तै, तनहुँको भानु नगरपालिका र स्याङ्जाको भीरकोट नगरपालिकामा पनि मेगा बैंकको शाखा विस्तार हुँदैछ । ‘हामीले पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबारमा शाखा खोल्यौं, यही साता अन्य ९ ठाउँमा पनि शाखा खोल्न लागेका छौँ,’ मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले भनिन्– ‘मेगाले शाखा विस्तार गर्न लागेको ठाउँमा अहिलेसम्म ‘क’ बर्गको बाणिज्य बैंक पुगेका छैनन् । घरदैलोमै राष्ट्रियस्तरको बैंकको सुविधा पाउने आशमा सर्वसाधारणहरु उत्साहित देखिएका छन् ।’ यो सँगै मेगा बैंकका ३ वटा एक्टेनशन काउन्टरसहित ४९ वटा शाखा पुगेको छ । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।
आन्दोलन फिर्ता लिदैं व्यवसायी गरे सिन्डिकेट अन्त्यको स्वागत
काडमाडौं । नेपााल यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलन फिर्ता लिदैं यातायात व्यवस्था विभागको संशोधित निर्देशिका कार्यविधिको स्वागत गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायीले सिन्डिकेट अन्त्यको स्वागत गरेका हुन् । व्यवसायीहरुले मन्त्रालयसँग वार्ता गर्दै एउटा मात्र सवारीले पनि यातायत सञ्चालनको अधिकार पाउने, यातायात क्षेत्र सुधारको लागि सरकारलाई राय सुझाव दिने लगायतका सहमति गरेका छन् । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रक यातायात व्यवसायी महासंघ लगायतले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
८८२ मेगावाटका दुई आयोजनाको स्वामित्व किनेपछि बीपीसीको सेयर मूल्य र कारोबार दुबै बढ्यो
काठमाडौं । सोमबार बुटवल पावर कम्पनी(बीपीसी) को सेयर कारोबार लगायत सेयर मूल्य दुबै बढेकाे छ ।कम्पनीले ८८२ मेगावाट क्षमताका २ जलविद्युत आयोजनाको सम्पूर्ण स्वामित्व खरिद गरेपछि लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका हुन् । बजारमा बीपीसीकाे सबैभन्दा बढी सेयर कारोबार भएको छ । सोमबार मात्रै यस कम्पनीको ६ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा २.४४ प्रतिशतले बढेर प्रतिकित्ता ५०४ रुपैयाँ पुगेको छ । बीपीसी र चिनियाँ कम्पनीको बहुमत स्वामित्व रहेको एसीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले आइतबार उक्त आयोजना किन्ने सम्झौता गरेका हुन् । सम्झौता अनुसार कम्पनीले ६०० मेगावाटको माथिल्लो मस्र्याङदी २ र २८२ मेगावाटको मनाङ-मस्र्याङदी जलविद्युत आयोजनाको सबै स्वामित्व गरि सो मात्राको विद्युत खरिद गर्ने भएको छ । बीपीसीले चिनीया कम्पनीको साझेदारीमा १००० मेगावाट आयोजना बनाउन लागेको हो । जसको लागि कम्पनीले चीनबाट २ खर्ब लगानी भित्र्याउँदै छ । समग्रमा सोमबारको सेयर बजारमा ८.२७ अंकले घटेर १३४५ अंकमा झरेको छ । सो दिन कुल १५९ कम्पनीको ४३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । त्यस्तै, अन्य बाहेक कारोबारमा आएका बाँकी समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ३९ अंकले ओरालो लागेको छ । अन्य समूह भने सामान्य ०.३४ अंकले बढेको छ ।
कमोडिटीज मार्केट्समा मारवाडीदेखि एनआरएनको मोह, ५ कम्पनीले दिए निवेदन
काठमाडौं । पाँच वटा कमोडिटिज एक्सचेञ्ज कम्पनीहरुले सैद्धान्तिक स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कमोडिटिज एक्सचेञ्ज कम्पनी सञ्चालनका लागि आवेदन दिन बोर्डले उपलब्ध गराएको समय अवधीभित्र ५ वटा कम्पनीले निवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार नेपाल कमोडिटिज एक्सचेञ्ज लिमिटेड, मर्कन्टाइल एक्सचेञ्ज लिमिटेड, कमोडिटिज फ्युचर्स एक्सचेञ्ज लिमिटेड, मल्टी डेरिभेटिभ एक्सचेञ्ज नेपाल लिमिटेड र राइजल कमोडिटी एण्ड एक्सचेञ्ज लिमिटेडले आवेदन दिएका हुन् । ती कम्पनीहरुले न्युनतम ५० करोडको पुँजी संरचना तयार पारेर सैद्धान्तिक सहमतिका लागि धितोपत्र बोर्डमा बुझाएका हुन् । बोर्डले सैद्धान्तिक सहमति दिएपछि मात्रै ती कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ताको प्रक्रिया आरम्भ गर्नेछन् । ‘पाँच वटा कम्पनीहरुले आवेदन दिएका छन्, हामी अध्ययन गरिरहेका छौं, त्यसपछि कम्पनी स्थापनाका लागि सैद्धान्तिक सहमति दिन्छौं’, बोर्डका सहायक प्रवक्ता घिमिरेले भने । कमोडिटिज एक्सचेञ्ज कम्पनीमा मारवाडी समुदायदेखि एनआरएनहरुले सम्म रुचि देखाएका छन् । नेपालको ठुला व्यवसायीक घराना दुगड, अग्रवाल, जैन, हुलासचन्द र मुरारका अर्गनाइजेशनले मर्कन्टाइल एक्सचेञ्जमा लगानी गरेका छन् । नेपाल कमोडिटिज एक्सचेञ्जमा एनआरएनहरुको लगानी रहनेछ । त्यस्तै, कमोडिटिज कम्पनीमा बिभिन्न बाणिज्य बैंक तथा इन्स्योरेन्स कम्पनीहरुले समेत लगानी गरेका छन् । धितोपत्र बोर्डले २०७४ मंसिर ९ गतेदेखि कमोडिटिज् मार्केट्स सम्बन्धी नियमावली कार्यान्वयनमा ल्याएको थियो । सो नियमावली अनुसार कमोडिटिज सम्बन्धी कारोबार गर्ने कम्पनीले ५० करोड पुँजी पुर्याएर २५ हजार दस्तुरसहित कम्पनी दर्ताका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने थियो । त्यस्ता कम्पनीले प्रबन्ध पत्र, सम्भाव्यता अध्ययन रिपोर्ट, तीन बर्षको व्यवसाय सञ्चालन योजना, लगानीको श्रोतसहितको विवरण खोलेर निवेदन दिनुपर्ने व्यवस्था थियो । बोर्डले पुर्व स्वीकृति दिएपछि मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न पाइन्छ । बोर्डले वस्तु विनिमयबजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापुँजी ५० करोड रुपैयाँ, वेयर हाउसको १५ करोड, राफसाफ तथा फस्र्यौट व्यवसायको सात करोड, लगानी व्यवस्थापकको पाँच करोड, लगानी परामर्शदाताको एक करोड तथा वस्तु कारोबार दलालको ५० लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यी सामानको कारोबार गर्न पाइन्छ वस्तु विनिमय बजारमा कृषिजन्य उत्पादनमा कपास, अलैँची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ती, जुट, बेसार, फलफूल, तथा सोबाट निर्मत जुस, धातुजन्य वस्तुमा आल्मुनियम, तामा, शिशा, निकल, पित्तल, फलाम, स्टिल, जिंक रहेको छ । त्यस्तै सुन, चाँदी, प्लाटिनम र खनिज तेलमा कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल, तेलतर्फ नरिवल, पाम, तोरी, भटमास, सूर्यमुखी, आलस तथा चिनी, सख्खर, चिया, अण्डा र जडीबुटीजस्ता वस्तुसमेत कारोबार गर्न सकिनेछ । यस्तै बजारको कुल सेयर पूँजीको ५ प्रतशितभन्दा बढी स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्थासमेत गरिएको छ । वस्तु विनिमय बजारको अनुमति लिएको ३ वर्षसम्म शेयर बिक्री गर्न नपाइने र त्यसपछि स्वामित्व लिएको व्यक्तिले हस्तान्तरण गर्न चाहेमा बोर्डको स्वीकृति लिनुपर्ने तथा विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म मात्रै स्वामित्व ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
उपसचिव लीला अधिकारी र ईन्जिनियर बीजेन्द्र श्रेष्ठ जेल जाने पक्का, १० लाख बिगो सहित मुद्दा दायर
काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका उपसचिव लीला अधिकारी र ईन्जिनियर बीजेन्द्र श्रेष्ठ दुबै विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । खानेपानीको ट्याङ्कीको अन्तिम विल भुक्तानी र कार्य अनुभवपत्र दिलाइदिने भन्दै ५ लाख घुस रकम लिदालिदैं पक्राउ उनीहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अनुसन्धानको क्रममा उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले उनीहरुलाई जनही ५ लाख बिगो कायम गरिएको छ । अख्तियारका सहप्रवक्ता दीर्घराज मैनालकिा अनुसार अब उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को देहाय घ बमोजिम ६ महिना देखी १ वर्ष महिना सम्म कैद सजाय हुन सक्नेछ । “हामीले अहिलेसम्म यो २७० जना भन्दा बढी भ्रष्ट्रचारको आरोपमा पक्राउ गरिसकेका छौं, उनीहरुबाट १० अर्ब भन्दा बढी बिगो दाबी समेत गरेका छौं यसरी मुद्दा दायार भएका कुनैपनि व्यक्तिले यन्मुक्ति पाउदैनन्,” सहप्रवक्ता मैनालीले विकासन्युसँग भने । यसअघि उपसचिव अधिकारी बुढानिलकण्ठ नगरपालिकाका प्रशासकिय अधिकृत रहेका थिए भने इन्जिनियर श्रेष्ठ सोहि नगरपालिकाका इन्जिनियर रहेका थिए । उनीहरुलाई अख्तियारले चैत २६ गते पक्राउ गरेको थियो । यो पनि हेर्नुहोस् ५ लाख घुससहित उप-सचिव लिला अधिकारी र इन्जिनियर वीरेन्द्र श्रेष्ठ पक्राउ, दुई वटा कार पनि बरामद आक्रामक बन्दै अख्तियार, भ्रष्ट्राचार गरेको आरोपमा २६० जना पक्राउ, १० अर्ब ४६ करोड भ्रष्ट्राचार गरेको ठहर