विकासन्युज

सुहाङले गरे खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा इलामका सुहाङ नेम्वाङले खुला केन्द्रीय सदस्यतर्फ उम्मेदवारी दर्ता गरेका छन् ।  एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका छोरा समेत रहेका सुहाङलाई एमाले पंक्तिले आशालाग्दा अनुहारका पमा हेरेको पाइन्छ । सुहाङ इलामका निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत हुन् ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यसैगरी, सदस्यमा प्रा.डा. सुनीति श्रेष्ठ नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । यसअघि श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य थिए । उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन् । 

लेखा आयोगमा ४१ जनाको उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा पार्टीको लेखा सम्हाल्ने लेखा आयोगमा ४१ जनाको उम्मेदवारी परेको छ । आयोगको अध्यक्षमा डाक्टर पुष्प कँडेल र सचिवमा ईश्वरीप्रसाद खरेलसहितको उम्मेदवारी परेको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए ।  ‘कुन पदमा कसले उम्मेदवारी दिनुभएको छ, हामी रुजु गर्दैछौं । अझै उम्मेदवारी मनोनयनको समय बाँकी रहेकोले संख्या बढ्न सक्छ,’ उनले भने ।

अग्नी र लालबावुले दिए ओलीलाई धक्का, सचिवमा स्वतन्त्र उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली प्यानलमा केन्द्रीय सदस्य पारिएका दुई नेताले उक्त प्यानलबाट बिद्रोह गर्दै सचिव पदमा उम्मेदवारी दिएका छन् । झापाका अग्नी खरेल र मोरङका लालबावु पण्डीतले फिर्ता नहुनेगरी उम्मेदवारी दिएको दाबी गरेका छन् । यसअघि पार्टीको स्थायी समिति सदस्य रहेका खरेल ओलीका विश्वास पात्र हुन् । ओली प्रधानमन्त्री हुँदा महान्याधिवक्ता र कानुन मन्त्री समेत रहेका खरेलको स्वतन्त्र उम्मेदवारीले ओलीलाई चुनौती दिन सक्ने देखिन्छ । पूर्व मन्त्री तथा स्थायी समिति सदस्य पण्डित पनि ओली निकट नेता हुन् ।

ज्ञवालीले गराए केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता, ओली प्यानललाई झड्का

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन नगर्ने निर्णय गरेका छन् ।   ज्ञवालीको यो निर्णयले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र उम्मेदवारी प्रक्रियामा असर पर्ने अनुमान गरिएको छ । ज्ञवालीले यसअघि अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने चर्चा चलेको थियो । तर उनले आफ्नो निर्णय बदल्दै उपाध्यक्षमा उम्मेदवारी नदिइकन केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गरेका हुन् ।

प्याब्सन अन्तर्राष्ट्रिय नेतृत्व र विकास सम्मेलन जेठ १० देखि १९ गतेसम्म क्यानाडामा हुँदै

काठमाडौं । ग्लोबल हेल्प फाउन्डेसनको आयोजना तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल  (प्याब्सन)को संयोजनमा क्यानाडामा अन्तर्राष्ट्रिय नेतृत्व र विकास सम्मेलन आगामी वर्ष २०८३ जेठ १० गतेदेखि १९ गतेसम्म आयोजना हुँदैछ । सम्मेलनमा प्रधानाध्यापक, सदस्य र व्यवस्थापन तहका शिक्षकहरूले सहभागी भई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर पाउने प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिए । कार्यक्रममा सहभागीहरूले क्यानाडाका विद्यालयहरू भ्रमण गर्दै आधुनिक शिक्षण प्रणाली, प्रविधिको प्रयोग र प्रभावकारी कक्षाको सञ्चालन प्रत्यक्ष अवलोकन गर्नेछन् । यसले नेपाली शिक्षकहरूको पेशागत क्षमता बढाउने र शिक्षाको गुणस्तर सुधार्न योगदान पुग्ने प्याब्सनको विश्वास छ । सम्मेलनमा मुख्य सत्र, कार्यशाला र प्यानल छलफल आयोजना हुनेछन् । सहभागीहरूले आधुनिक पाठशिक्षा पद्धति, प्रविधिको समावेशीकरण र कक्षाको सञ्चालनबारे विस्तृत प्रशिक्षण पाउनेछन् । साथै, क्यानाडेली शिक्षकहरूसँग विचार साटासाट गर्ने अवसरले अन्तर्राष्ट्रिय समझदारी र नेटवर्किङमा पनि सहयोग पुग्ने प्याब्सनका महासचिव कटवालले बताए । प्याब्सनका अनुसार अधिकांश सहभागीताका सिट भरिसकेको र केही सिमित सिटहरू अझै उपलब्ध रहेका छन् ।  प्याब्सनले यस सम्मेलनलाई नेपाली शिक्षकहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने अवसरको रूपमा प्रस्तुत गरेको छ । सहभागीहरूले व्यावहारिक शिक्षण रणनीति सिक्ने, नेतृत्व क्षमता विकास गर्ने र अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्ने अवसर पाउने अपेक्षा राखिएको छ ।  

आइसिएफसि फाइनान्सको १५.७८ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाइसौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक लेखापरीक्षकमा श्री 'एसएआरएसोसिएट्स' चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ । फाइनान्सका अनुसार चुक्तापूँजी एक अर्ब अठार करोड चौतीस लाख रुपैयाँ रहेको छ । हालसम्म संस्थाले २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधि मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन र १७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

केन्द्रीय सदस्य पदका लागि उम्मेदवार दिँदै झाँक्रीले गरिन् यस्तो अनुरोध

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व चयन प्रक्रियाअन्तर्गत रामकुमारी झाँक्रीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन गरेकी छन् ।  उनले आफ्नो उम्मेदवारीमार्फत व्यक्तिगत उपलब्धीभन्दा बढी देश, पार्टी र पार्टी नेतृत्वका लागि योगदान दिन इच्छुक भएको स्पष्ट पारेकी छन् । उम्मेदवार झाँक्रीले आफ्नो सम्बोधनमा भनिन्, ‘मैले उम्मेदवारी दिएको कारण आफूले के पाउने भन्नेभन्दा पनि म देश र पार्टीका लागि के योगदान गर्न सक्छु भन्ने सोच हो । यही भावना बोकेर मआफ्नो पार्टीमा फर्केकी हुँ । पार्टीले जुनसुकै मोर्चा वा जोखिमपूर्ण जिम्मेवारी दिए पनि त्यसलाई बहन गर्न म सधैं तयार छु ।’ उनले आफना पछिल्ला दिनहरूलाई अत्यन्तै रोमाञ्चक र अविस्मरणीय भएको अनुभव सुनाउँदै सबै नयाँ र पुराना कमरेडहरूसँगको भेटघाटलाई विशेष रूपमा स्मरण गरेकी छन् ।  ‘नयाँ–पुराना सबै कमरेडहरूसँगको पुनर्मिलनले एक प्रकारको आत्मीयता र ऊर्जा थपेको छ । यहाँहरूको माया, स्नेह र भरोसा देख्दा लाग्छ, मैले साँच्चिकै धेरै कुरा मिस गरेको रहेछु। अब त्यो भरोसा मतमार्फत् विश्वासमा रूपान्तरण हुने आशा लिएको छु,’ उनले भनिन् । झाक्रीले सबै प्रतिनिधि कमरेडहरूलाई पार्टी र देशको हितलाई प्राथमिकतामा राखेर मतदान गर्न आग्रह गर्दै भनिन्, ‘मेरो विनम्र अनुरोध छ, पहिले पार्टी जोगाऔं, देशको भरोसा बचाऔँ। मेरो उम्मेदवारी यही मूल्य र उद्देश्यको प्रतिबिम्ब हो । मलाई दिने तपाईंहरूको अमूल्य मत नै त्यो विश्वासको प्रतिक हुनेछ ।