गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छः मन्त्री अधिकारी
लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन् । निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् उनले निजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए प्रतिस्पर्धी बनाउन नसकिने बताएका छन् । मन्त्री अधिकारीले आउँदो वर्ष विमानस्थल सञ्चालनमा आउने गरी काम अगाडि बढाउन आफूले निर्देशन दिइसकेको र १५/१५ दिनमा निर्माणाधिन विमानस्थलको अनुगमन गरिरहेको जानकारी दिएका छन् । “हवाई रुटको बारेमा छलफल भइरहेको छ, विमानस्थलको निर्माण कार्य सम्पन्न हुनु अगावै रुटको कुरा टुंगिन्छ, उनले भने, “शुरुमा पुरानो टर्मिनलबाट काम शुरु गर्छौ, काठमाडौँको विकल्पका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहनेछ ।” मन्त्री अधिकारीले विमानस्थल निर्माण कार्यलाई तीव्रताकासाथ अगाडि बढाउन आवश्यक उपकरण थप्नुपर्ने अवस्था आए सरकारले उपकरणको व्यस्थापन गर्ने बताउँदै विमानस्थलको काम सन्तोषजनक रुपमा अगाडि बढिरहेको धारणा व्यक्त गरेका छन् । यसअघि चैत २४ गते पनि उहाँले विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए । सो अवसरमा आयोजना प्रमुख इञ्जिनियर ओम शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिँदै रनवेको सव वेसको काम सकिएर बेस लेयरको काम भइरहेको अवगत गराएका छन् । वर्षातपछि रनवेको पिचको काम शुरु हुने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय टर्मिनल भवनकोे अन्तिम तल्लाको ढलाइ यसै हप्ताभित्र पूरा हुनेछ भने कन्ट्रोल टावर र प्रशासनिक भवनको काम आधा भन्दा बढिसकिएको छ भने । प्रमुख इञ्जिनियर शर्माका अनुसार, विमानस्थलमा दैनिक दुई सयजना मजदुरले काम गरिरहेका छन् । विमानस्थलको ७० प्रतिशत भौतिक संरचनामध्ये ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र ३० प्रतिशत बाँकी रहेको छ । विद्युतीय र मेसिनरीको कामको भौतिक संरचना पूरा हुने वित्तिकै बाँकी ३० प्रतिशत काम पनि पुरा हुनेछ । सन् २०१९ लाई अपरेशन वर्षको रुपमा लिएर काम भइरहेको आयोजनाले जनाएको छ । रासस
नेपाल इन्भेष्टमेण्ट बैंक र आइएफसीबीच कर्जा सम्झौता, तरलता कम हुने अपेक्षा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र विश्व बैंक समूहअन्तर्गतको ईन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच कर्जा सम्झौता भएको छ । बुधबार(आज) सम्पन्न सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र आइएफसीकातर्फबाट आवाशीय प्रतिनिधी एमरेहान रशिदले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि नेपाल इन्भेष्टमेण्ट बैंकले आइएफसीसँग कर्जा लिन पाउने छ । अन्तराष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्रावधान छ । सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । आइएफसीबाट प्राप्तकर्जालाई राष्ट्र बैंकले तोके अनुसारको क्षेत्रमा उपलव्ध गराउने छ । यस अघि नेपाल इन्भेष्टमेण्ट बैंक र आइएफसीबीच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ । व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका थिए । प्राप्त रकम नेपालीे साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीको कृषि विकास बैंकको खातामा मात्रै २ हजार
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको कृषि विकास बैंक लिमिटेडमा २ हजार रुपैयाँ मात्रै बचत रहेको देखिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री ज्ञवालीको कृषि विकास बैंक लिमिटेडको खातामा २ हजार रुपैयाँ मात्रै बचत रहेको देखिएको हाे । यद्यपि एभरेष्ट बैंक लिमिटेडमा स्तम्भ लेख, रोयल्टी लगायतको पारिश्रमिकबाट आएको २ लाख ५७ हजार रुपैयाँ बचत रहेको प्रधानमन्त्री कार्यलयले जनाएको छ । कार्यालयको अनुसार सरस्वती ज्ञवाली अर्यालको नाममा २१ लाख रुपैयाँ बराबरको एक तले घर, अनुमानित २ तोला सुन सम्पत्तिको नाममा रहेको देखिन्छ ।
ट्रम्पको कर्पोरेट कर कटौती नीतिले अन्तराष्ट्रिय बजारमा डलर महंगिदै, नेपालमा पनि ११० नजिक
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्पोरेट करमा भारी कटौती गर्ने भएपछि अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढ्दै गएको छ । राष्ट्रपति ट्रम्पले आगामी सन् २०१९ देखि लागु हुने गरी कर्पोरेट कर ३५ प्रतिशतबाट २० प्रतिशतमा झार्ने प्रस्तावमा हस्ताक्षर गरेपछि अन्तराष्ट्रिय बजारमा डलर महंगिदै गएको हो । कर्पोरेट कर घट्ने भएपछि भारतलगायत अन्य मुलुकबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । करको दर सस्तो भएपछि लगानीकर्ता अमेरिकातर्फ आकर्षित हुँदा त्यहाँको अर्थतन्त्र मजवुत भएको छ ।ट्रम्पको कर्पोरेट कर कटौती नीतिले भारतलगायत मुलुकमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ । भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा पनि परेको हो । नेपाल राष्ट्र बैंकले बुुधबारका लागि १ डलर बराबर बिक्री मूल्य १०९ रुपैयाँ १७ पैसा तोकेको छ । यस्तै भारु निरन्तर कमजोर हुँदै गएपछि नेपाली रुपैयाँ अमेरिकी डलरसंग अवमूल्यन भएको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको असर बजार मूल्यमा पर्ने गर्छ । डलर मजवुत भएपछि बजार भाउ बढ्छ । वैशाख शुरु भएयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ । भारतीय रिजर्व बैंक (आरबीआई) ले बुधबार १ डलर बराबर ६८ रुपैयाँ २१ पैसा भारु तोकेको छ ।गत मार्चमा १ डलर बराबर १०३ रुपैयाँ ९५ पैसा थियो । २ गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो । अघिल्लो वर्ष मंसिरमा डलर मजवुत भएर १११ रुपैयाँ नजिक पुगेको थियो ।डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ । डलर बलियो हुँदाका बेफाइदा डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।
महत्वकांक्षी प्रधानमन्त्री र विज्ञ अर्थमन्त्रीको पहिलो बजेटः ठूला आयोजनालाई यथेष्ठ पैसा
काठमाडौं । सरकारले राष्ट्रिय गौरवका ठुला आयोजनालाई यथेष्ठ बजेट उपलब्ध गराउने रणनीति अख्तियार गर्ने भएको छ । यस अघिका १८ वटा राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त रकम उपलब्ध गराउने र केहि नयाँ आयोजनालाई पनि राष्ट्रिय गौरवमा समावेश गर्ने तयारी गरेको हो । सरकारले आगामी आर्थिक बर्षको बजेटमा बुढिगण्डकी जलविद्युत आयोजनालाई १८ अर्ब रुपैंयाँ उपलब्ध गराउँदैछ । त्यस्तै काठमाडौं र तराईलाई जोड्ने फास्ट ट्रयाकलाई १० अर्ब रुपैंयाँ उपलब्ध गराउँदैछ । त्यस बाहेक रेलमार्गका लागि ३ अर्ब रुपैंयाँ विनियोजन गर्दैछ । ‘बुढीगण्डकी जलविद्युत आयोजनालाई १८ अर्बको बजेट सिलिङ प्राप्त भएको छ’, उर्जा मन्त्रालयको बजेट महाशाखाका उप सचिव गोकर्ण पन्थले भने । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले फास्ट ट्रयाकका लागि १० अर्ब बजेट सिलिङ प्राप्त भएको बताए । उनले रेलमार्ग निर्माणका लागि ३ अर्बको सिलिङ तय गरिएको पनि जानकारी दिए ।‘ठुला आयोजनाका लागि यथेष्ठ बजेट विनियोजन हुने गरि सिलिङ प्राप्त भएको छ’, शर्माले भने । निजगढ र पोखरा विमानस्थलका लागि पनि सरकारले उच्च प्राथमिकताका साथ बजेट विनियोजन गर्ने तयारी गरेको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए । ‘ठ्याक्कै सिलिङ याद भएन तर पर्याप्त रकम आउँछ भन्ने आश्वासन पाएका छौं’, उपाध्यायले भने । चालु आर्थिक बर्षका लागि सरकारले १२ खर्ब ७९ अर्बको बजेट बनाएको थियो । सो बजेटको २६.१९ प्रतिशत अर्थात ३ खर्ब ३५ अर्ब रुपैंयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको थियो । पुँजीगत खर्चका लागि विनियोजन गरिएको बजेटमध्ये १८.८० प्रतिशत अर्थात ६३ अर्ब रुपैंयाँ राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन गरिएको थियो । हाल उर्जा, सिंचाई, सडक, खानेपानी, रेल र पर्यटन लगायतका क्षेत्रलाई समेटिएका १८ वटा राष्ट्रिय गौरवका आयोजना छन् । सरकारले नीति तथा कार्यक्रममै फास्ट ट्रयाक, मध्यपहाडी, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग, केरुङ काठमाडौं पोखरा लुम्बिनी र काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्ग, निजगढ, पोखरा र भैरहवा विमानस्थलको निर्माणलाई बिशेष महत्वका साथ उल्लेख गरेको छ ।
लक्ष्मी बैंकको थप शाखा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणीमा
काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउपालीकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । यी शाखा सहित बैंकको शाखा संजाल ८४, ४२ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग, ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने छ । साथै, शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने बैंकको विश्वास छ ।
एशियन लाईफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंक्यासुरेन्स सम्झौता
काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच बैंक्यासुरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकका शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अब एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग कैलाश विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग ६० तोला सुन, ३० केजी चाँदी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसँग ठुलो परिमाणमा सुन र चाँदी रहेको छ । मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा उनीसँग ६० तोला सुन र ३० केजी चाँदी रहेको देखिएको छ । त्यस्तै उनीसँग विभिन्न बैंकमा रहेको रकम, बैंक र हाइड्रो पावरको सेयर, कार, ल्यापटप लगायत गरी ७६ लाख ७८ हजार रुपैयाँ बराबरकाे नगद तथा भाैतिक सम्पत्ति रहेको देखिएको हाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको जानकारी अनुसार उनीसँग करिब सय रोपनी पैत्रिक जग्गा रहेको देखिन्छ । ती जग्गाहरु पोखरास्थित कास्कीको लेखनाथ नगरपालिकामा पर्दछ ।