धितोपत्र बोर्डबाट नागबेली लघुवित्तले पायो हकप्रद सेयर निष्कासन गर्न अनुमति
काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले बिहीबार संस्थालाई ७ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । नागवेलीले चुक्तापूँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
पनौती विद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने
काठमाडौं । काभ्रेको खोपासीमा रहेको २.४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रको रुपमा प्रयोग तथा विकास गर्ने गरी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । धुलिखेलमा बिहीबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा.डा रामकण्ठ मकाजू श्रेष्ठले एमओयूमा हस्ताक्षर गरेका हुन् । एमओयूको म्याद १० वर्षसम्म रहने छ । दुवैको सहमतिमा एमओयूको म्याद थप्न सकिने व्यवस्था गरिएको छ । तीन महिनाको सूचना दिएर एमओयू खारेज गर्न सकिने छ । एमओयू बिहीबारबाटै कार्यान्वयनमा आएको छ । प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी विद्युत गृहको सदृढीकरण, नयाँ संरचना निर्माण लगायतका सम्पूर्ण काम विश्वविद्यालयले गर्ने छ । विद्युत गृहबाट अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्वविद्यालयले त्यस्ता संरचनाको प्रयोग गर्ने छ । विद्युत गृहबाट गत वर्ष २६ लाख ३० हजार युनिट विद्युत उत्पादन भएको थियो । विद्युत गृहको सञ्चालन भने प्राधिकरणले नै गर्ने छ । विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल जलविद्युत लगायतका इन्जिनियरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि जस्ता शैक्षिक कार्यक्रम तथा तालिम सञ्चालनका लागि विद्युत गृहको स्वामित्वमा रहेका संरचना र जग्गाको प्रयोग गर्ने छ । विद्युत गृहका टर्बाइन, जेनेरेटर, नहर लगायतका संरचनाको सुदृढीकरण विश्वविद्यालयले आफ्नै खर्चमा गर्ने व्यवस्था एमओयूमा गरिएको छ । प्राधिकरण र विश्वविद्यालयले ज्ञान तथा सीप साटासाट गर्न संयुक्तरुमा तालिम, सम्मेलन, कार्यशाला, शैक्षिक लगायतका कार्यक्रम सञ्चालनबाट नाफा प्राप्त भएमा त्यसको १० प्रतिशत प्राधिकरणले पाउने व्यवस्था गरिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वविद्यालयले आफ्नै खर्चमा विद्युत गृहको क्षमता स्तरोन्नती गर्ने, अहिले त्यहाँ रहेका संरचनाको सुदृढीकरण तथा नयाँ बनाउने लगायतका काम गर्ने जानकारी दिए । यसबाट प्राधिकरणको सम्पत्तिको संरक्षण र सदुपयोग हुने उनले बताए । सरकार र तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा पनौती विद्युत गृहको निर्माण भएको थियो । विद्युत गृह ३१ असार २०२२बाट सञ्चालनमा आएको थियो । विद्युत गृह अहिले जीर्ण अवस्थामा सञ्चालन भइरहेको छ ।
सानिमा बैंक र आइएफसीबीच कर्जा सम्झौता
काठमाडौं । सानिमा बैंक र विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बीच कर्जा सम्बन्धि प्रारम्भिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात अन्तराष्ट्रिय बजारमा पहुँच भई भित्रिने बाहृय पूँजी, स्वदेशमा परिचालन गरी देशको उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने बैंकको विश्वास छ । हाल बैंकको ५८ शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटिएम रहेको छ ।
सांग्रिला विकास बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । सांग्रिला विकास बैंक लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच बैंक्यास्योरेन्स सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा इन्स्योरेन्सका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् । यस सम्झौताले बैंकका ग्राहकलाई उत्कृष्ट निर्जिवन बीमा सेवा पुग्ने छ ।
कुमारी बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र सिद्धार्थ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरेका छन् । बैंकले ग्राहकलाई उत्कृष्ट निर्जिवन बीमा सेवा दिने उद्देश्यले उक्त सम्झौता गरेको हो ।
सेञ्चुरी बैंककोे शाखा बुढानिलकण्ठको मण्डिखटारमा, एक्सटेन्सन् काउन्टर पनि सञ्चालनमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नयाँ शाखा बुढानिलकण्ठको मण्डिखटारमा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन बिहीबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । साथै, बैंकले सोही स्थानको कपन क्षेत्रमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा बसोवास गर्ने ग्राहकवर्गहरुमा सेवा पुर्याउने उद्देश्य राखेको छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर बाट सेवा दिँदै आएको छ । साथै, १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
बिहीबारकाे नेप्से दोहोरो अंकले घट्यो, ३७ करोडको सेयर कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । लगातार ओरालो लागेको परिसूचक बिहीबार पनि १०.०५ अंकले घटेर १३१८ अंकमा अडेको छ । सो दिनको बजारमा कुल १६१ कम्पनीको ७ लाख ९१ हजार कित्ता सेयर किनबेच भएका छन् । दिनभरको बजारमा कूल ३७ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकको २ करोड ३३ लाख रुपैयाँ सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार ५६० रुपैयाँ रहेको छ । बिहीबार कारोबारमा आएका उत्पादनमूलक र ट्रेडिङ समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ६२ अंकले ओरालो लागेको छ ।
भारतमा फेरी पेट्रोलियमको भाउ बढ्यो, नेपालमा जेठ १८ गते कति पुग्ला ?
काठमाडौं । भारत सरकारले पेट्रोलियम पदार्थको भाउ बिहीबार फेरी बढाएको छ । अन्तराष्ट्रिय बजारमा बढेको भन्दै भारतमा पनि पेट्रोलियमको मूल्य समायोजन भएको हो । भारतमा बिहीबार पेट्रोलियमको भाउ बढेर प्रतिलिटर ८५ रुपैयाँ २९ पैसासम्म पुगेको छ । यो मुम्बइको भाउ हो । यस्तै राजधानी दिल्लीमा प्रतिलिटर ७७ रुपैयाँ ४७ पैसा भारु पुगेको छ । यो मूल्य हालसम्मकै उच्च भएको दी इण्डियन एक्सप्रेसले आफनो अनलाईन संसकरणमा उल्लेख गरेको छ । यस्तै डिजेलको भाउ पनि बढेर मुम्बइमा प्रतिलिटर ७२ रुपैयाँ ९६ पैसा र दिल्लीमा ६८ रुपैयाँ ५३ पैसा पुगेको इण्डियन एक्सप्रेसले जनाएको छ । केन्द्रीयमन्त्री नितिन गडकरीले भारत विश्व अर्थतन्त्रसंग जोडिएकाले भाउ वृद्धि रोक्न नसक्ने स्पष्टपारेका छन् । उनले पेट्रोलको भाउ वृद्धि नगरी सुखै नभएको उनको तर्क थियो । अन्तराष्ट्रिय बजारमा पेट्रोलियको भाउ प्रतिव्यारेल ८० नजिक पुगेपछि भारतमा मूल्य समायोजन भएको हो । पछिल्लो समयमा पेट्रोलियमको भाउ उकालो लाग्दै आएको हो । अन्तराष्ट्रिय बजार विशेष गरी भारतमा पेट्रोलियमको भाउ वृद्धि भएपछि यसको असर नेपालमा पर्ने भएको छ । आउदो जुन १ गते इण्डियन आयल कर्पोरेशन लिमिटेडले नयाँ मूल्य पठाएपछि नेपालमा पनि पेट्रोलियमको भाउ बढ्ने संभावना छ । नेपालमा पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ पुगेको छ । नयाँ सरकारले ४ पटक पेट्रोलियमको भाउ बढाइसकेको छ । यस्तै डिजेलको भाउ पनि ९२ रुपैयाँ पुगेको छ ।