बजार बढ्दा ग्लोबल आईएमई र सिटिजन्स बैंकको संस्थापक सेयर धेरै कारोबार
काठमाडौं । सेयर बजार बढेको दिन दुई वाणिज्य बैंकको संस्थापक सेयर (प्रमोटर सेयर) बढी कारोबार भएको छ । सिटिजन्स बैंक र ग्लोबल आईएमई बैंकको संस्थापक सेयर बढी कारोबार भएको हो । सोमबार दुई बैंकको ७ करोड ३१ लाख २६ हजार २४० रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । सोमबार कुल ४७ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सिटिजन्सको प्रतिकित्ता १५० रुपैयाँमा ५ करोड ६ लाख २२ हजार र ग्लोबलको १७६ रुपैयाँमा २ करोड २५ लाख ४ हजार २४० रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । दुई बैंकको संस्थापक सेयरले सोमबार कारोबार रकम बढाएको हो ।
दुई कम्पनीको २४ लाख ७४ हजार कित्ता बोनस सेयर सूचिकृत, क-कसकाे ?
काठमाडौं । नागरिक लगानी कोष र पूर्णिमा विकास बैंकको गरि कुल २४ लाख ७४ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोमबार मात्रै यी दुई कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सूचिकृत मध्ये नागरिक लगानी कोषको १६ लाख २८ हजार कित्ता रहेको छ भने पूर्णिमा विकास बैंकको ८ लाख ४५ हजार ५०० कित्ता बोनस सेयर रहेको छ ।
बजेटमा नयाँ कार्यक्रम अाउने आशामा लगानीकर्ता हौसिए, सेयर बजार ३५ अंक बढ्यो
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सेयर बजार विकासमा नयाँ कार्यक्रम आउने अनुमानका आधारमा लगानीकर्ता हौसिएका छन् । अभिवृद्धि कर(भ्याट) नलाग्ने र बजार सुधार हुने सम्भावना देखिएपछि सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार दिनको ४ वजे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । बजेटमा नयाँ कार्यक्रम आउने अनुमानका आधारमा निरन्तर ओरालो लागिरहेको सेयर बजार सोमबार एकाएक उकालो लागेको छ । सोमबार मात्रै बजार ३५ अंकले बढेर नेप्से परिसुचक १ हजार ३३६ अंकमा पुगेको छ । मंगलबार आउने नयाँ बजेटले बजारको विकासका लागि महत्वपुर्ण व्यवस्था अघि सार्ने आसमा सोमबारको नेप्से एक्कासी उकालो लागेको लगानीकर्ताको भनाई छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नयाँ बजेटले सेयर बजारको विकासका लागि महत्वपुर्ण व्यवस्थाहरु अघि सार्ने बताएका छन् । साथै, प्रधानमन्त्री केपी ओलीले सेयर बजारमा भ्याट लगाउनु नहुने बताएका थिए । प्रधानमन्त्रीले प्रतिवद्धता जनाएपछि लगानीकर्ता भ्याट नलाग्नेमा ढुक्क छन् । तर उनीहरु ३० प्रतिशत आयकर तिर्न तयार रहेका छन् । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले सेयरमा भ्याट नलगाउन अर्थमन्त्रीलाई आग्रह गरिएको बताए । ब्रोकरहरुले वित्तिय सेवामा सहभागी भएर ३० प्रतिशत आयकर तिर्न तयार रहेको तर सेयरमा भ्याट लगाउन नहुने सुझाव अर्थमन्त्रीलाई दिएका थिए । नेपाल इन्भेष्टर्स फोरमले पनि सेयरमा भ्याट नलगाउन अर्थमन्त्रीलाई सुझाव दिएको थियो । फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सेयर बजारको विस्तार र विकासका लागि भ्याट लगाउनै नहुने स्पष्ट पारे । सेयरमा भ्याट लगाउन नहुने चौतर्फी दबावकाबीच सरकारले बजेट ल्याउँदैछ । सेयर बजारका लगानीकर्ता सोही बजेट कुरेर बसिरहरको छन् । साेमबारकाे बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । कुल १६८ कम्पनीको ४७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सिटिजन बैंकको ५ करोड रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको पनि २ करोड रुपैयाँको प्रमोटर सेयर कारोबार भएको छ । कारोबारमा आएका १० वटै समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह २७२ अंकले उकालो लागेको छ । त्यस्तै, होटल १०१, माइक्रोफाइनान्स ५९, विकास बैंक ४८, हाइड्रोपावर र उत्पादनमूलक ४७ र बैंकिङ समूह २५ अंकले उकालो लागेका छन् । सेयरमा भ्याट नलगाउन चौतर्फी दबाव, के होला नयाँ बजेटमा ?
सरकारी ढुकुटीबाट तलव खाने निजामति कर्मचारीको संख्या ८७७५३, हेर्नुस, कुन तहमा कति ?
काठमाडौं । सरकारी ढुकुटीबाट तलव खाने निजामती कर्मचारीको संख्या ८७ हजार ७५३ रहेको छ । यो संख्या सेना, प्रहरी, शिक्षक बाहेकको हो । सेना प्रहरी शिक्षकको संख्या ५ लाख भन्दा बढी छ । निजामति सेवामा पुरुषको संख्या ६७ हजार ४१९ र महिला २० हजार ३३४ रहेको अर्थ मन्त्रालयले जनाएको छ । जसअनुसार निजामति सेवामा पुरुषको हिस्सा ७६.८३ र महिलाको २३.१७ प्रतिशत छ । राजपत्रांकित विशिष्ठ श्रेणीमा अर्थात सचिवको संख्या ६४ जना रहेको छ । जसमध्ये ६२ जना पुरुष र २ जना मात्र महिला सचिव छन् । प्रथम श्रेणी अर्थात सहसचिव ६१० जना छन् । जसमध्ये पुरुष ५७२ पुरुष र महिलाको संख्या ३८ जना महिला रहेका छन् । यस्तै उपसचिवमा ३ हजार ६२५ जना कार्यरत छन् । जसमध्ये पुरुषको संख्या ३ हजार ३९३ र महिला २३२ जना छ । यस्तै शाखा अधिकृतको संख्या ११ हजार २३८ रहेको छ । जसमध्ये ९ हजार ७७१ पुरुष र १ हजार ४६७ महिला रहेको अर्थले जानकारी दिएको छ ।
प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ४६ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७२५ रुपैयाँ रहेको थियो ।
लगानी बोर्डले शिक्षा, स्वास्थ्य र कृषिमा ठूलो लगानी ल्याउँदै, परामर्शदाता नियुक्तिको तयारी
काठमाडौं । लगानी बोर्डले व्यवसायीक कृषि, शिक्षा र स्वास्थ्यमा ठूलो लगानी भित्र्याउने तयारी थालेको छ । बोर्डले यसको संभाव्यता अध्ययन गर्न स्वदेशी परामर्शदातासंग आशयपत्र (ईओआई) मागेको छ । बोर्डले शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रलाई अझ बढी व्यवसायीक रुपमा अघि बढाउने भएको छ । यस्तै व्यवसायिक कृषि प्रणालीबाट उत्पादन बढाउने, पशुपालनलाई व्यवसायीकरण गर्ने र मासु प्रशोधन केन्द्र स्थापना गरेर स्वस्थकर मासुको निकासी गर्नका लागि प्रक्रिया अघि बढाएको हो । बोर्डले सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रबाट मात्र लगानीमा यी आयोजनाको काम अघि बढाउने जानकारी दिएको छ । एक महिनाभित्र आशयपत्र पेश गर्न भनेको छ । बोर्डले कृषिलाई व्यवसायीकरण गरेर उत्पादन बढाउन, व्यवसायीक पशुपालन र मासु प्रशोधन केन्द्रको निर्माण गर्ने तयारी थालेको हो । यस्तै शिक्षा र स्वास्थ्यमा ठुलो लगानी भित्र्याउने बोर्डको तयारी छ । परामर्शदाता नियुक्तिपछि संभाव्यता अध्ययन सम्पन्न हुने छ । संभाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक निजी साझेदारीमा आयोजनाको काम अघि बढाउने भएको हो । हाल बोर्डले जलविद्युत, सिमेन्ट, फोहाेर व्यवस्थापन, मेट्रो र मनोरेललगायत वृहत लगानीका आयोजनाको काम अघि बढाएको छ ।
विश्वकप फुटबलको उचित गन्तव्य दरबारमार्गमा, के के छन् विशेषता ?
काठमाडौं । संगीतमा अधिक रुची छ, अनि भित्ता भरीको एचडी स्क्रीनमा मस्त भएर खेल हेर्दै विभिन्न परिकारका खानाको स्वाद चाख्ने चाहना छ भने दरबारमार्गको एक मात्र गन्तव्यमा तपाईको त्यो चाहना पुरा हुने भएको छ । खेलप्रेमी, संगीतप्रेमी तथा खानाका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा सञ्चालनमा आएको आधुनिक शैलीको पारिवारिक रेष्टुरेण्ट ‘किंङस लाउञ्ज’ले तपाईको यस्तो चाहना पुरा गराउने भएको हो । अनौपचारिक रुपमा सेवा शुरु गरेको छोटो समयमा नै लाउञ्जको लोकप्रियता बढेको छ । अहिले लाउञ्जमा के दिन, के साँझ, कलाकार, व्यवसायी तथा आम मानिसको बाक्लो भिड लाग्न थालेको छ । संगीत सुन्दै आईपीएल हेर्ने तथा अरु खेल हेर्नेहरु अहिले लाउञ्ज धाउन थालेका छन् । नजिकिँदै गरेको फिफा विश्वकप फुटबललाई विशेष बनाउने तयारी पुरा गर्दै लाउञ्जले अनौपचारिक सेवा शुरु गरेको हो । स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर सञ्चालनमा आएको पूर्ण पारिवारिक रेष्टुरेन्ट सबै वर्गका मानिसका लागि उचित गन्तव्य हुने लाउञ्जका सञ्चालकहरुको भनाई छ । लाउञ्ज सञ्चालक समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ भन्छन्, ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्टको सुरुवात गरेका हौं । २० बाइ ११ फिटको भव्य एचडी स्क्रीनमा हरेक किसिमका खेल हेर्दै लाइभ म्युजिकमा रमाउने गन्तव्य नेपालमा अरु काँही पनि छैन ।’ विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ कन्सर्ट लाउञ्जको विशेष आकर्षण हो । बिहान ११ बजेदेखि राति १२ बजेसम्म संचालनमा आउने रेष्टुरेन्टमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । टेरेस कर्नरका साथै पर्सनल बार सहतिको भिआईपी हल लाउञ्जको विशेषता हो । फेमिलि कर्नर पनि लाउञ्जमा लोकप्रिय बन्दै गएको छ ।साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्जका सञ्चालक संगम राईले बताए । रेष्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । ‘दरबारमार्गमा खेल, संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए । अहिले रेष्टुरेन्ट अनौपचारिक रुपमा संचालनमा आए पनि भव्य औपचारिक उद्घाटन विश्वकप फुटबलको पुर्वसन्ध्यामा गरिने बताइएको छ । नेपालको नमूना रेष्टुरेण्टका रुपमा तयार गरिएको किंङस् लाउञ्जमा झण्डै एक सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।३ सय सिटिंग क्यापासिटी रहेको लाउञ्जसँग इभेण्टहरुमा एक पटकमा १ हजार जनालाई सेवा दिन सक्ने क्षमता छ । त्यसैगरी, लाउञ्जले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधियुक्त सुरक्षा प्रणाली पनि जडान गरेको छ ।
एकान्तकुना र सातदाेबाटाेकाे दुर्इ पेट्रोल पम्प सिल
काठमाडौं । मापदण्ड विपरित काम गरिएकाे भेटिएपछि दुई पेट्रोल पम्पलाई सिलबन्दी गरिएको छ । मापदण्ड विपरित काम गरेका प्रशान्ति आयल डिस्टिब्युटर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्षमी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पमा सिल लगाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमन मध्ये दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको हो । सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्नेक्रममा मापदण्ड विपरित काम गरेको भेटिएको हाे । विभागले दिएको जानकारी अनुसार १० लिटर पेट्रोल हाल्दा बढीमा २५ एमएल कम हुँदा सम्म छुट पाइने निगमको प्रावधान छ । तर, प्रशान्ति आयल स्टोरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा ४० एमएल पेट्रोल कम भएको पाइएपछि सिल गरिएको जानकारी गराइएको छ । उक्त कैफियत देखिएको दुई पम्पलाई तत्काल सिल गरिएको जनाइएकाे छ ।