१७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण शुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल पुनःनिर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए । ४२ कोठा सहितको दुई तलको अस्पताल निर्माण भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको नगर प्रमुख अधिकारीले बताए । नवनिर्मित अस्पताल भवनमा बहिरङ्ग सेवा, ल्याब, अपरेशन थियटर, फार्मेसी, अन्तरग विभाग, प्रशासनिक सेवा र चिकित्सक आवास कक्ष छन् । सुविधा सम्पन्न पूर्वाधारको अस्पताल निर्माण भएको र अब गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सेवाहरू थप गर्नेक्रममा रहेको नगर प्रमुख अधिकारीले बताए । मध्यविन्दु नगर अस्पतालबाट मध्यविन्दु नगरपालिकाभित्रका बासिन्दासहित विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दालाईसमेत स्वास्थ्य सेवा लिन पाएकपर्ने नगर प्रमुख अधिकारीले बताए । पन्ध्र शय्याको अस्पताल निर्माण भएसँगै स्वास्थ्य उपचार सेवासमेत विस्तार गरिँदै लैजाने उनले बताए । यसै महिनादेखि एमडिजिपीसहित, दैनिक रुपमा हरेक दिन एउटा विशेषज्ञ सेवा प्रदान गर्ने गरी काम अगाडि बढाएको नगरप्रमुख अधिकारीले बताए । बालरोग विशेषज्ञ, फिजियोथेरापी, हाडजोर्नी लगायतका सेवा प्रदान गर्ने बताए । अस्पतालमा आँखा अस्पताल पनि सञ्चालनमा ल्याइएको छ । शल्यक्रिया सहितको आँखा उपचार सेवा सुरु गरिएकाले यस क्षेत्रका आँखाका बिरामीले थप लाभ लिन सक्ने उनले बताए । ग्रामीण क्षेत्रका बासिन्दालाई सहजरुपमा आफ्नै घर नजिक स्वास्थ्य सेवा लिनका लागि नगर अस्पतालले सहयोग पुग्ने नगर प्रमुख अधिकारीले बताए । ‘सुविधा सम्पन्न नगर अस्पताल निर्माण हुँदा यस क्षेत्रका बासिन्दालाई नजिकै सहज रुपमा स्वास्थ्य उपचार सेवा लिन सहज हुने छ,’ नगर प्रमुख अधिकारीले भने । मध्यविन्दु नगर अस्पतालमा अहिले दैनिक रुपमा करिब तीन सय बिरामीले उपचार सेवा लिइरहेको अस्पतालका प्रमुख अमरेशचन्द्र साहले जानकारी दिए । अस्पतालले आकस्मिक उपचार सेवासमेत सञ्चालन गरेको प्रमुख शाहले बताए । पूर्व–पश्चिम राजमार्गसँगै रहेकाले मध्यविन्दु आसपास राजमार्ग क्षेत्रमा सम्भावित दुर्घटनाका घाइतेलाई समयमै उपचार सेवा उपलब्ध गराउनका लागि नगर अस्पतालले सहयोग पुग्ने उनले बताए । रासस
जीवन बीमा अभिकर्ताको परीक्षामा अनियमिता गर्ने ११ परीक्षार्थीलाई प्राधिकरणले गर्यो कारबाही
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी भएका ११ जना परीक्षार्थीलाई कारबाही गरेको छ । परीक्षामा अनियमिता गरेको भन्दै प्राधिरकणले कारबाही गरी परीक्षा रद्द गरेको हो । कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य, तनहुँ व्यासका अमृत नेपाली छन् । शाह हिमालयन लाइफ, आचार्य नेपाल लाइफ र नेपाली सूर्यज्योति लाइफका तर्फबाट परीक्षामा सहभागी भएका थिए । यसैगरी, संखुवासभा पाथीभराका छिरिङ डोमा शेर्पा, सर्लाही लालबन्दीकी कान्तिकुमारी शर्मा र पर्वत जलजलाकी सिर्जना कारबाहीमा परेका छन् । तीनै जना सन नेपाल लाइफबाट परीक्षामा सहभागी भएका थिए । त्यस्तै, कपिलवस्तु भृकुटीका सन्दीप थारु, लमजुङ दूधपोखरीका रमेशचन्द्र दवाडी र लमजुङ दोर्दीकी आश्का मिश्र पौडेल छन् । थारु सन नेपाल लाइफ, दवाडी नेपाल लाइफ र पौडेल सूर्यज्योति लाइफबाट परीक्षामा सहभागी भएका थिए । त्यस्तै, भक्तपुर सूर्यविनायकका विवेक विष्ट र कास्की रूपाका मन्दीप सुवेदीलाई कारबाही गरेको छ । दुवैजना एसियन लाइफबाट परीक्षामा सहभागी भएका थिए ।
रेयर अर्थमा विश्व राजनीति : चीनको प्रभुत्व, अमेरिकाको चिन्ता र भारतको रणनीति
काठमाडौं । नोभेम्बरमा चीनबाट अमेरिकातर्फ हुने दुर्लभ पृथ्वी चुम्बक (रेयर अर्थ म्याग्नेट) को निर्यात अक्टोबरको तुलनामा ११ प्रतिशतले घटेको छ । यस्तो गिरावट त्यतिबेला आएको हो, जब विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्ध केही नरम बन्दै गएको बताइएको थियो । चिनियाँ भन्सार तथ्यांकअनुसार अमेरिकातर्फ पठाइने रेयर अर्थ चुम्बकको ढुवानी अक्टोबरमा ६५६ टनबाट घटेर करिब ५८२ टनमा सीमित भयो । यद्यपि अर्को एउटा रिपोर्टअनुसार सबै दुर्लभ–पृथ्वी उत्पादनहरूको बिक्री अघिल्लो महिनाको तुलनामा वृद्धि भएको छ । जसमा चुम्बक प्रमुख छन् । रेयर अर्थ चुम्बकहरू सैन्य उपकरणदेखि लिएर विद्युतीय कारसम्ममा प्रयोग हुन्छन् । यस वर्ष अमेरिका–चीन व्यापार युद्धका क्रममा यी चुम्बक चीनको शक्तिशाली हतियार बनेका थिए । अप्रिलमा बेइजिङले निर्यात नियम कडा पारेपछि अमेरिकातर्फ पठाइने चुम्बकको ढुवानी ५० टनभन्दा पनि कममा झरेको थियो । यसले विश्वभर तीव्र अभावको आशंका पैदा गरेको थियो । वर्षभरि तनाव पटक–पटक बढ्यो र केही समय शान्त पनि रह्यो । तर अहिले निर्यात फेरि सामान्य स्तरमा फर्किएको छ । यसैबीच अन्य देशहरूले पनि रेयर अर्थ क्षेत्रमा आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका छन् । कजाकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तानले हालै एउटा बैठक सम्पन्न गरेका छन् । मध्य एसियाका यी पाँच देशसँग सुन, दुर्लभ–पृथ्वी तत्व र युरेनियमजस्ता विशाल खनिज स्रोत छन् । रूस, चीन, दक्षिण एसिया र मध्यपूर्वबीचको भौगोलिक अवस्थाले यी देशहरूलाई पूर्वाधार र व्यापारका लागि रणनीतिक बाटो बनाएको छ । दुर्लभ पृथ्वी तत्व १७ वटा तत्वहरूको समूह हो । यी वस्तुलाई ‘दुर्लभ’ भनिनुको कारण पृथ्वीमा कम पाइने भएकाले होइन (वास्तवमा यी प्रशस्त मात्रामा उपलब्ध छन्) । बरु, यी तत्वहरूलाई शुद्ध रूपमा निकाल्न र प्रशोधन गर्न अत्यन्तै कठिन, महँगो र वातावरणीय रूपमा जटिल हुने भएकाले यस्तो नाम दिइएको हो । यी तत्वहरू प्रायः मिसिएको अवस्थामा पाइन्छन् र छुट्याउनु ठूलो चुनौती हुन्छ । यस क्षेत्रमा चीनको प्रभुत्व छ । आधुनिक प्रविधिका लागि यी तत्व अत्यन्त महत्त्वपूर्ण छन् । स्मार्टफोन, कम्प्युटर, विद्युतीय सवारी, पवन टर्बाइन र रक्षा उपकरणलगायत धेरै उत्पादनमा यसको प्रयोग हुन्छ । चीन विश्वकै सबैभन्दा ठूलो दुर्लभ पृथ्वी उत्पादक हो । अमेरिकासहित धेरै देश आपूर्तिका लागि चीनमा अत्यधिक निर्भर छन् । व्यापार युद्धका क्रममा चीनले निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिएपछि अमेरिका र अन्य देशहरूलाई रेयर अर्थका वैकल्पिक स्रोत खोज्न प्रेरित गरेको छ । मध्य एसियाली देशहरूको पहल यस दिशामा महत्त्वपूर्ण विकास हुन सक्छ । ती देशहरूसँग रहेका खनिज भण्डार र रणनीतिक अवस्थाले उनीहरूलाई रेयर अर्थ आपूर्ति शृंखलामा महत्त्वपूर्ण खेलाडी बनाउन सक्छ । भारतले पनि ‘रेयर अर्थ’ क्षेत्रमा चीनको वर्चस्वलाई चुनौती दिन र आत्मनिर्भर बन्न हालै आफ्नो रणनीति तीव्र बनाएको छ । राष्ट्रिय महत्त्वपूर्ण खनिज मिसनअन्तर्गत खनिज विदेश इन्डिया लिमिटेड स्थापना गरिएको छ । यसको मुख्य उद्देश्य विदेश—विशेषगरी अष्ट्रेलिया र दक्षिण अमेरिका (जस्तै अर्जेन्टिना र चिली)– मा रेयर अर्थ र लिथियमजस्ता महत्वपूर्ण खनिज स्रोत पहिचान गर्नु र त्यहाँ खनन अधिकार हासिल गर्नु हो । भण्डारका हिसाबले भारत विश्वमा पाँचौं स्थानमा पर्छ । तर प्रशोधन प्रविधिको अभावका कारण आवश्यकताका लागि अझै पनि चीनमा धेरै हदसम्म निर्भर छ । भारतसँग विश्वको करिब ६ प्रतिशत रेयर अर्थ भण्डार छ, जुन मुख्यतः तटीय राज्यहरू (ओडिशा, केरल, तमिलनाडु) का बालुवामा पाइन्छ । अदालतको एक फैसलाले मस्क मालामाल, नेटवर्थ ७०० अर्ब डलर पार गर्ने पहिलो व्यक्ति
सुन-चाँदी दुवैको ऐतिहासिक छलाङ, नेपाली बजारमा नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले सोमबार ऐतिहासिक उचाइ छोएको छ । लगातार बढ्दो क्रममा रहेको सुनको भाउ आज एकैदिन ३ हजार ४ सय रुपैयाँले उकालो लाग्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत मंसिर २९ गते सुनको मूल्य २ लाख ६० हजार ७ सय रुपैयाँ पुग्दै उच्चतम स्तरमा पुगेको थियो । सोमबारको मूल्यले त्यो रेकर्डसमेत तोडेको छ । सुनसँगै चाँदीको मूल्यले पनि नयाँ इतिहास रचेको छ । आज चाँदी प्रतितोला १३० रुपैयाँले बढ्दै ४ हजार २३५ रुपैयाँमा पुगेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, भू-राजनीतिक तनाव र लगानीकर्ताको सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले नेपाली बजारमा सुन-चाँदीको मूल्यलाई नयाँ उचाइमा पुर्याएको विश्लेषण गरिएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ । पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै, सोहीअनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि बैठकले गरेको बैंकले जनाएको छ ।
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ६ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कोषले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिने कोषले जनाएको छ ।
प्रधानमन्त्रीले निर्वाचन कानुनबारे राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले सोमबार प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन तथा त्यसको व्यवस्थापनसम्बन्धी विषयमा राजनीतिक दलका प्रतिनिधि र नागरिक प्रतिनिधिसँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार सिंहदरबारमा दिउँसो १ बजे हुने छलफल कार्यक्रममा गृह मन्त्रालय र निर्वाचन आयोगको तर्फबाट प्रस्तुतीकरण हुनेछ । छलफलमा विद्यमान निर्वाचन कानुन, आवश्यक सुधार, कार्यान्वयनका चुनौती तथा आगामी निर्वाचन व्यवस्थापनका विषयमा विचार–विमर्श हुने अपेक्षा गरिएको छ । सरकारले निर्वाचन प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले सरोकारवालासँग सुझाव संकलन गर्न छलफल आयोजना गरिएको जनाएको छ ।
गगन थापाले गरे १५औँ महाधिवेशनमा कांग्रेस सभापतिको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । काठमाडौं–४ बाट निर्वाचित नेताकार्यकर्तासँगको छलफलका क्रममा महामन्त्री थापाले आफू सभापतिमा लड्ने मात्र नभई सभापति बन्ने स्पष्ट दाबीसमेत गरेका हुन् । काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै थापाले पार्टीलाई नयाँ दिशामा लैजान नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने, 'म अहिले पार्टीको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ। म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु ।' उनको यो अभिव्यक्तिलाई कांग्रेसभित्र नेतृत्वको दौड औपचारिक रूपमा सुरु भएको संकेतका रूपमा हेरिएको छ । महामन्त्री थापाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्दै संगठनलाई जनमुखी र समयअनुकूल बनाउने आफ्नो लक्ष्य रहेको बताए । कांग्रेसलाई पुराना अभ्यासबाट मुक्त गर्दै नयाँ पुस्ताको अपेक्षाअनुसार अघि बढाउन आफू तयार रहेको उनको भनाइ छ । उनले पार्टीभित्र देखिएका गुटबन्दी, असन्तुष्टि र कार्यकर्ताको मनोबल घट्ने अवस्थालाई अन्त्य गर्न नेतृत्वले स्पष्ट दिशा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी नेताकार्यकर्ताहरूले थापाको घोषणालाई सकारात्मक रूपमा लिँदै नेतृत्वका लागि उनको सक्रियताले पार्टीमा नयाँ ऊर्जा थप्ने प्रतिक्रिया दिएका छन् । पछिल्लो समय कांग्रेसभित्र आगामी महाधिवेशनलाई केन्द्रमा राखेर नेतृत्वको आकांक्षा राख्न थालिएका बेला महामन्त्री थापाको यो घोषणाले राजनीतिक तरङ्ग पैदा गरेको छ । अर्को प्रसङ्गमा थापाले पार्टी सभापति देउवाले कांग्रेसको राम्रो बाटोमा पानी खनाएको आरोपसमेत लगाएका छन् । उनले भने, 'असोजमै महाधिवेशनको निर्णय गरेको भए हामीले यतिबेलासम्म महाधिवेशन गरिसकेका हुन्थ्यौँ ।' तर सग्लो बाटोमा पानी खनाएर हिलो बनाउँदै गाडी कुदाउन नसकेको आरोप लगाउनु गलत भएको बताए ।