विकासन्युज

डेढघण्टादेखि अवरुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्याे

काठमाडौं । लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुबैतर्फका उडान भने रोकिएको थिएन । डेढघण्टापछि अवरुद्ध अवतरण शुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले राससलाई जानकारी दिएका छन् । अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए । कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए । उक्त विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करिब ३०० आन्तरिक उडान–अवतरण हुँदै आएको छ । यसैबीच मौसमको खराबीका कारण लुक्लाबाट काठमाडौँका लागि उडेका सात हेलिकोप्टर विभिन्न स्थानमा आकस्मिक अवतरण भएका छन् । काभ्रेको पाँचखालमा चार र सिन्धुलीको नेपालथोकमा तीन हेलिकोप्टर अवतरण भएका काभे्रपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेलिकोप्टरमा सवार यात्रु सकुशल छन् । ती यात्रु अधिकांश विदेशी हुन् । रासस

उद्योग महासंघको आयोजनामा ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक गोष्ठी सम्पन्न

काठमाडौं । सातौं विज्ञान दिवसको पूर्वसन्ध्यामा नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक एक दिने विचार गोष्ठीका सहभागीहरुले विज्ञान र प्रविधिको माध्यमबाट पुराना उद्योगहरुलाई सुदृढ र विकास गर्नुपर्नेमा जोड दिएका छन् । महासंघका अध्यक्ष श्याम गिरीले सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित विज्ञान र प्रविधिको माध्यमबाट हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिएका छन् । बेलैमा यस्ता उद्योगहरुको विकास र प्रवद्र्घन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने उनको भनाई थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्यलाई पुरा गर्नका लागि त्यसको मुख्य आधारको रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट सुदृढ र विकास गर्नुपर्नेमा जोड दिएका थिए । आफैसँग रहेको स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको प्रवद्र्घनबाट मात्रै बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न सकिने भन्दै उनले यसका लागि सम्पूर्ण लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव राजेन्द्र प्रसाद खनालले विज्ञान र प्रविधिलाई कसरी लघु, घरेलु तथा साना उद्योगसँग जोड्न सकिन्छ भन्नेतर्फ सरकारले योजना बनाउन लागेका जानकारी दिए । अहिले भएका लघु, घरेलु तथा साना उद्योगबाट पाउन सकिने प्रतिफल पनि पाउन नसकिएको भन्दै उनले परम्परागत उद्योगधन्दालाई विज्ञान र प्रविधिसँग जोडेर मात्रै उत्पादकत्व र उत्पादन क्षमता बृद्घि हुने बताएका हुन् । व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. रामेश्वर अधिकारीले समृद्घिको लागि उद्यमी हुनैपर्ने भन्दै उद्यम र उद्यमशीलता परम्परागत नभएर आधुनिक हुनुपर्नेमा जोड दिएका छन् । यसरी, मुलुकमा आर्थिक समृद्घि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता सरोकारवालाहरुले औंल्याएका छन् । स्थानीय उत्पादनमा आधारित नेपालमा सदियौंदेखि चलिरहेका परम्परागत लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट उत्पादकत्व र क्षमता बढाउनुपर्ने उनीहरुको सुझाव थियो ।

नलगाड जलविद्युत् आयोजनाले बढाउने भयो उत्पादन क्षमता

जाजरकोट । जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ । आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो । चारसय दश मेघावाटबाट बढेर ४१७ मेघावाट पुग्ने आयोजनाले जनाएको छ । आयोजनाको विद्युत् उत्पादन क्षमता बढेसँगै स्थानीयवासी खुशी भएका छन् । शुरुमा गरिएको अध्ययनले ४१० मेघावाट विद्युत् उत्पादन हुने सर्वेक्षण गरिएकामा अहिले डिपिआरको प्राराभिक प्रतिवेदनबाट सात मेघावाट विद्युत् उत्पादन क्षमता बढने आयोजनाका इञ्जिनीयर पदम थापाले बताएका हुन् । बारेकोट गाउँपालिकाको अँधेरीखोलामा निर्माण हुने बाँधको उचाइ शुरुमा २०० मिटर रहेकामा अहिले २१० मिटर बनाइएकाले विद्युत् उत्पादन क्षमता बढने उनको भनाइ थियो ।सो विषयमा वातावरण प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार भई वन मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ । त्यसैगरी आयोजनाको जग्गा अधिग्रहणको काम समेत शुरु गरिएको छ । जलविद्युत् निर्माणस्थलका लागि अधिग्रहण गरिएको चार हजार ४६२ रोपनी ९३ हजार ८६१ कित्ता जग्गाको मुआब्जा उपलव्ध गराउनका लागि सूचनासमेत प्रकाशन गरिएको छ । सरकारले सबै मुआब्जा दिने गरी रु दुई अर्ब ७२ करोड उपलब्ध गराएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । मुआब्जा यसै वर्षमा वितरण गरिने उनको भनाइ थियो । चार वर्ष अघिदेखि मुआब्जा वितरण शुरु गरिए पनि रकम अभावमा अहिलेसम्म बाँधस्थल अँधेरीखोलामा १५० रोपनी र विद्युत्गृह निर्माणस्थलको २५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको थियो । मन्त्री बस्नेतले भने, “आयोजना निर्माणका लागि विभिन्न देशसँग छलफल जारी छ र कर्णाली प्रदेशको मुहार फेर्ने यो आयोजना तोकिएकै समयमा निर्माण गर्न हामी निरन्तर लागि परेका छौँ ।” मुआब्जा वितरण गरिएको ठाउँमा यसअघि प्रतिरोपनीे रु चार लाख ७५ हजारका दरले वितरण गरिएको थियो । अब तीन हप्ताभित्र जग्गाको मूल्याङ्कन तथा गुनासा सुनेर जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाइ नयाँ दरभाउ तोकेर मापदण्ड बनाई मुआब्जा वितरण गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन् । दक्षिण एशियाको नमूना बाँध बन्न लागेकोले पर्यटकीय हिसाबले समेत यो स्थान महत्वपूर्ण हुने उनले बताए । निर्धारित मिति सकिएको कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम चार महिनाभित्र सकिने कम्पनीका इञ्जिनीयर पदम थापाले जानकारी दिएका छन् । बत्तीस महिनाभित्र निर्माण गरिने भनी सम्झौता गरिएकामा काम नसकिएकाले छ महिना थपिएको थियो । सामग्री ढुवानी, सुरक्षा व्यवस्था र विस्फोटक पदार्थ समयमै आपूर्ति नहुँदा निर्धारित समयमा काम पूरा गर्न नसकिएको उक्त कन्सलटेन्टले बताएको छ । बारेकोट गाउँपालिकाको अँधेरीखोलामा सो परियोजनाको बाँध निर्माण र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युतगृह निर्माण गरिने भएको छ । विद्युतगृह निर्माणका लागि ३४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउने काम शुरु गरिए पनि थपिएको मिति सकिँदासम्म २५० मिटर मात्र निर्माण गरिएको आयोजनाका इञ्जिनीयर थापाले बताएका छन् । रासस

अर्थमन्त्रीको भद्र अभिव्यक्ति सोल्टी होटेलमा पनि दोहोरियो, बैंकहरूसँग भने-मैले त हेर्नमात्रै सक्छु

काठमाडौं । कर्मचारी सञ्चयकोषको ५८ औं वार्षिकोत्सव समारोहमा सबेरै सहभागी हुन ’आएका अर्थमन्त्री युवराज खतिवडाबाट सदाझैं अपेक्षा गरिएको भन्दा फरक अभिव्यक्ति आम सहभागीहरूले सुन्न पाए । जुन कार्यक्रममा गयो, त्यहीँ कार्यक्रमका आयोजकहररूको आलोचना गर्दै हिँड्ने डा. खतिवडाको बानी कर्मचारी सञ्चयकोषको हकमा समेत दोहोरिने अपेक्षा गरिएको थियो । तर मंगलबार त्यस्तो भएन, अभिव्यक्तिको सुरुदेखिनै कर्मचारी सञ्चयकोषले गरेका काम कारबाहीप्रति प्रशंसा गर्दै खतिवडाले अब कर्मचारी सञ्चय कोषलाई शेयर बजारमा समेत लगानी गर्न आग्रह गरे । उनले सञ्चय कोषलाई मात्रै नभएर नागरिक लगानी कोष, सैनिक कल्याणकारिणी कोष लगायतका देशका ठूला संस्थाहरुलाई समेत शेयर बजारमा सकारात्मक भूमिका खेल्न आह्वान मात्रै गरेनन् लगानीकर्ताहरुलाई शेयर किन्ने उपयुक्त अवसर यही भएको भन्दै बजारमा लगानी गर्न आग्रह समेत गरे । उनको नरम अभिव्यक्तिका कारण लगानीकर्ताहरु उत्साहित हुँदा निरन्तर घट्दै आएको बजारमा सकारात्मक प्रभाव पर्यो र बजार एकैदिन २६.९१ अंकको सुधार आयो । राष्ट्रिय सभा गृहको कार्यक्रमपछि उनको कार्यक्रमको सूची थियो, होटल सोल्टीमा । नेपाल बैंकर्स संघ र विजिनेश टेलिभिजनको संयुक्त आयोजनामा भएको ‘बैंकिङ समिट’ नामक कार्यक्रममा पनि अर्थमन्त्री खतिवडाले नरम भाषण गरे । उनले बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण लगानीकर्ता भन्दै आफूले बैंकिङ क्षेत्रमा केही नगर्ने बरु बैंकिङ क्षेत्रका गतिविधिहरुका बारेमा अब्जरभेसन मात्रै गर्नसक्ने भन्दै राष्ट्र बैंक स्वायत्त ढंगले अघि बढ्नसक्ने आशयको अभिव्यक्ति दिए । उनले बैंकहरुलाई सहायक कम्पनीहरुको नियन्त्रण राम्रोसँग गर्दै बजार निर्माणमा ध्यान दिन समेत आग्रह गरे । यद्यपि उनले बैंकहरुलाई अल्पकालिन लगानी प्रवृत्ति त्याग्न र धितोमा आधारित कर्जाभन्दा योजना र नगद प्रवाहमा आधारित कर्जा प्रवाह गर्न आग्रह भने गरे । ‘बैंकहरु आफैंमा सुरक्षित बन्नुपर्छ, हामीले योजनाको सम्भावना र दीगोपन हेर्नुपर्छ, धितो होइन, ग्राहकहरुको अपेक्षा पूरा गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्न समेत भूमिका खेल्नुस्’ उनले भने । अर्थमन्त्री खतिवडाले बैंकहरुलाई प्रविधिमा सम्झौता नगर्न र भर्चुअल बैंकिङमा जान समेत आग्रह गरे । नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने कानूनको अभावकै कारण योजनामा आधारित लगानी सम्भव नभएको भन्दै पहिले कानून सुधार गर्न आग्रह गरे । उनले बैंकिङ क्षेत्र ९० प्रतिशत जनतामा पुग्दा पनि बैंकमा पुग्ने जनता ४० प्रतिशतमात्रै रहेको भन्दै वित्तीय पहुँच र साक्षरता बढाउनु चुनौती रहेको बताए । उनले राष्ट्र बैंकले स्प्रेडदर घटाएर वास्तविक स्प्रेडदर ३.२ प्रतिशत बनाएको र त्यसमध्ये २ प्रतिशत सञ्चालन लागत नै भएको भन्दै १.२ प्रतिशत मार्जिनमा बसेर लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिने, लोनले प्रोभिजन कायम गर्ने, प्रविधि र सुरक्षा कायम गर्ने जस्ता कामहरु गर्न निकै कठिन भएको बताए । हाल बैंकिङ क्षेत्रमा तरलताको निकै उतारचढाव देखिनु अहिलेको बैंकिङ क्षेत्रको मुख्य समस्या रहेको भन्दै यसलाई समाधान गर्नेतर्फ अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

एनसीसी बैंकद्वारा टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग

काठमाडौं । एनसीसी बैंकले  काठमाण्डौ जिल्लाको टिच फर नेपाललाई यहि भदौ २९ गते रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेकी  हुन् । सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीता वृद्धि गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  टिच फर नेपाललाई उक्त रकम उपलब्ध गराईएको हो ।

तनहुँ जलविद्युत् आयोजनाः ४४ प्रतिशत वित्तीय प्रगति

दमौली । कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले एक वर्षको अवधिमा ४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाका लागि आर्थिक वर्ष ०७५/७६ मा विनियोजित रु पाँच अर्बमध्ये रु दुई अर्ब २२ करोड ९२ लाख ८२ हजार मात्रै खर्च भएको छ । आयोजनाको पूँजीगततर्फ विनियोजित रकममध्ये रु दुई अर्ब ७७ करोड ७ लाख १८ हजार खर्च हुन नसकेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक रमेशमान श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार भौतिक तर्फ आयोजनाले ७९.६८ प्रतिशत प्रगति हासिल गरेको छ । आयोजनाले गतवर्ष कार्यालय भवन तथा आवास निर्माण गरेको थियो । उक्त भवन गत वर्षको फागुनमा निर्माण सम्पन्न भएको हो । रु ३७ करोडको लागतमा ऋषिङ गाउँपालिका–१ झापुटारमा दुई कार्यालय भवनसहित ३३ आवासगृह निर्माण गरिएको छ । आवास क्षेत्रमा आयोजनाका विभिन्न तहका कर्मचारीलाई छुट्टाछुट्टै भवन निर्माण गरिएको छ । आयोजनाका लागि ९१ कर्मचारी स्वीकृत भएपनि हाल ८१ कर्मचारी कार्यरत छन् । आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युत्गृहको पहुँचमार्ग निर्माणका लागि १५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको छ । बाँधस्थलको पहुँचमार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रका लागि १ हजार २३० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको हो । बाँधस्थलको पहुँचमार्गका लागि थप १० र जलाशय क्षेत्रका लागि थप ५ प्रतिशत जग्गा अधिग्रहण गर्न बाँकी छ । आयोजनाले २०७४ मङ्सिरमा चापाघाटदेखि पक्की पुल र क्याम्प एवं विद्युत् गृहसम्म पहुँच मार्ग, २०७४ पुषमा कन्स्ट्रक्सन पावर सवस्टेशन र २०७२ असारमा सेतीनदीमा पक्की पुल निर्माण सम्पन्न गरिसकेको छ । आयोजनाको पहिलो प्याकेज अन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि अहिले बोलपत्र मूल्याङ्कन गर्ने काम भइरहेको आयोजनाले जनाएको छ । प्रबन्धक श्रेष्ठका अनुसार बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चार कम्पनीले बोलपत्र पेश गरेका छन् । श्रेष्ठका अनुसार चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इञ्जिनयिरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम/कालिका कन्ट्रक्सन/नेपाल जेभीले पेश गरेको बोलपत्रको मूल्याङ्न गर्ने काम भइरहेको छ । श्रेष्ठका अनुसार कम्पनीले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङ्कन गरी सारभूत रुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिनेछ । “प्राविधिक बोलपत्रको मूल्याङ्कन सम्पन्न गरी सहमतिका लागि एडिबीमा पठाउने अन्तिम तयारी गरेका छौं,” उनले भने, “एडिबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौं ।” कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यववसायी कम्पनी परिचालन गर्ने तयारी थालिएको छ । पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत वैशाख १२ गते पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नेछ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैँक (एडिबी) र युरोपेली लगानी बैक (इआइबी)को सहुलियतपूर्ण ऋण परिचालन हुनेछ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका लागि सिनो हाइड्रोकर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिएका छन् । सिनो हाइड्रोले आयोजनाको पहुँचमार्गसम्म पुग्न एक हजार एक सय मिटर ट्र्याक खोलिसकेको छ भने चार सय मिटर ट्र्याक खोल्न बाँकी रहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्युत्गृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाइन, ग्रामीण विद्युतिकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एडिबीले रु १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले रु १८ करोड ४० लाख, इआईबीले रु ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले रु आठ करोड ७० लाख अमेरिकी डलर ब्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको विद्यृतगृह निर्माणका लागि २८८ मिलियन डलर, प्रशारणलाइन तथा सवस्टेशन निर्माणका लागि १५ मिलियन डलर, ग्रामीण विद्युतीकरणका लागि ८ मिलियन डलर, जग्गा प्राप्ति तथा पुनःस्थापनाका लागि ३० मिलियन डलर, वातावरण व्यवस्थापनका लागि २१ मिलियन डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि ४६ मिलियन डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि २५ मिलियन डलर खर्च हुने अनुमान छ । यसको लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार ,प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको छ । रासस

नेपालमा उत्तर कोरियाको २४ करोड लगानी, ९ कम्पनी मध्ये अधिकांश काठमाडौंमा

काठमाडौं । नेपालमा पर्यटन, सूचना प्रविधि र सेवामूलक क्षेत्रमा ९ वटा उत्तर कोरियाली कम्पनीहरु सञ्चालनमा रहेका छन् । २३ करोड ८८ लाख १९ हजार चुक्ता पूँजी भएका उद्योग प्रतिष्ठान रहेको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । उत्तरी कोरियाली लगानी रहेका ९ वटा कम्पनीहरुमा ३४६ जनालाई रोजगारी दिइएको छ । उत्तर कोरियाले राजधानी काठमाडौंमा नै धेरै लगानी गरेको छ । ९ वटा कम्पनी मध्ये ७ वटा काठमाडौंमा तथा ललितपुर र तनहुँमा एक–एक वटा सेवामूलक कम्पनी सञ्चालन गरिरहेको छ । उत्तर कोरियाले सबैभन्दा धेरै सफ्टवेर डेभलमेण्टको क्षेत्रमा लगानी गरेको छ । काठमाडौंमा नै २ वटा सफ्टवेर डेभलमेण्ट कम्पनीमा ११ करोड ५० लाख लगानी गरेको छ । ६ वटा होटल तथा रेष्टुरेण्टमा ७ करोड ९० लाख लगानी गरेको छ । तनहुँमा ने कोरिया हस्पिटल प्रालि ४ करोड ४८ लाख १९ हजार चुक्ता पुँजीमा सञ्चालन भएको छ । यता, उद्योग विभागले सोमबार समेत गरी उत्तर कोरियाली लगानीकर्ताहरुलाई उद्योग तथा व्यापार बन्द गर्न ३ पटक पत्र काटिसकेको छ । सोमबार विभागले ४५ दिन भित्र उद्योग र व्यापार बन्द गरी फिर्ता जान पत्र काटेको हो । उत्तर कोरियाको उद्योग तथा व्यापारलाई ४५ दिन भित्र बन्द गरी लगानी फिर्ता लान उद्योग विभाग पत्र काटे पनि कानून अनुसार कम्पनी बन्द गर्न ४ देखि ५ महिना लाग्ने कम्पनी रजिष्ट्रार कार्यलयका सूचना अधिकारी सन्तोष दहालले बताए । कम्पनी खारेजी गर्न ३५ दिने सूचना नै निकाल्नु पर्ने भएकोले ४५ दिनमा नै कम्पनी खारेजी गर्न नसकिने जानकारी दिए । उद्योग विभागको कानून शाखाका निर्देशक टंकबहादुर महतले ४५ दिन भित्र उत्तर कोरियाको लगानी फिर्ता हुन नसक्ने बताए । उनले भने–‘कानूनी प्रकिया पूरा गर्न ४ देखि ५ महिना लाग्छ । उद्योग खारेजी भन्दा पनि कम्पनी खारेजीको प्रक्रिया लामो भएको बताए । हामीले ४५ दिन भित्रमा उत्तर कोरियाको उद्योग व्यापार बन्द गराउने छौँ । उत्तर कोरियाले उद्योगको खारेजीभन्दा पनि अन्य विदेशी वा नेपालीलाई बिक्री गरे सजिलो हुने उनी बताउँछन् । उद्योग विभागका विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले उत्तर कोरियाको लगानी प्रतिवन्ध र नेपालमा गरेको लगानी फिर्ताले प्रत्यक्ष असर नगरे पनि अप्रत्यक्ष रुपमा भने असर गर्ने सक्ने बताए । नेपालमा उत्तर कोरियाको लगानी माथि प्रतिबन्ध, उद्योग विभागले काट्यो पत्र  

अर्थमन्त्री खतिवडाले भने-‘५८ वर्षमै संस्था बुढो हुँदैन, सेयर बजारमा आउनुस्’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चय कोषलाई सेयर बजारमा प्रवेश गर्न आग्रह गरेका छन् । मंगलबार कोषको ५८ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले लगानीकर्तालाई सेयर बजारमा आकर्षित गर्नको लागि कर्मचारी सञ्चय कोष जस्ता सरकारी तथा सार्वजनिक संस्थाहरुले सेयर बजारमा प्रवेश गर्नु पर्ने बताएका हुन् । ‘५८ वर्ष उमेर त्यति धेरै होइन’ उनले भने–‘५८ वर्षमा मान्छेमा धेरै काम गर्न सक्ने उर्जा रहिरहन्छ, त्यसैले तपाईँहरु बुढो हुनु भएको छैन, द्रव्य कोष जोडेर ८४-८५ उमेरको भएँ भन्न पाउनु हुन्न, तपाईँहरुले अझै धेरै सिक्नु छ ।’ यो समय पूँजी बजारलाई गति दिने र लगानीकर्ताको मनोबल बढाउने भएको बताउँदै अर्थमन्त्री खतिवडाले सेयर बजारमा खुलेर आउन र क्रियाशील भएर लाग्न आग्रह गरे । कर्मचारी सञ्चय कोष लगायत सार्वजनिक संस्थाहरुको भूमिका देशको पूर्वाधार विकासमा हुने बताउँदै उनले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष लगायतका संस्थाहरुले सेयर बजारमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । दोस्रो बजारमा लगानीकर्ताको आकर्षण र मनोबल बढाउने यो उपर्युक्त समय भएको बताउँदै उनले मुलुकको आर्थिक बृद्धिदर बढाउनका लागि लगानी गर्न आग्रह गरे । व्यक्तिको बालापनदेखि बुढेसकालसम्मको उमेरलाई सामाजिक कोषले समेटेको बताउँदै उनले नागरिकको सुरक्षाका लागि दह्रो र शुसाशित भएर काम गर्न आग्रह गरे । सरकारी तथा निजी क्षेत्रबाट संञ्चालित सम्पूर्ण कोषको जोड्दा कुल ग्राहर्स्थ उत्पादनको २० प्रतिशत हुन आउने बताउँदै खतिवडाले भने– ‘यस्ता कोषको ठूलो रकम पूँजी बजारमा खर्च हुन्छ भने केही रकम मुद्रा बजारमा पनि हुन्छ।‘ उनले मुद्रा बजारमा केही समस्या आएपछि अनुशासनमा रहन निर्देशन दिएको समेत बताए ।