काठमाडौं महानगरका १ सय ७ विद्यालय सम्पर्कविहीन
काठमाडौं । काठमाडौं महानगरमा १ सय ७ वटा विद्यालय सञ्चालनमा नआएको पाइएको छ । काठमाडौं महानगरबाट सञ्चालनका लागि अनुमति लिइसकेका तर सञ्चालनमा नआएको महानगरले जनाएको छ । महानगरको शिक्षा विभागले एक सूचना जारी विद्यालय सञ्चालकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका नगर शिक्षा समितिको मिति २०८२ साउन २८ गतेको निर्णय बमोजिम विगतमा अनुमति पाई सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीका लागि शिक्षा विभागले स्थलगत रूपमा अनुगमन, रुजु, यकिन गरी अनुमति खारेजीका सम्बन्धमा आवश्यक निर्णय हुन कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ ।’ महानगरले यी १ सय ७ विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक ,सञ्चालक, व्यवस्थापक र गुठीयारले १५ दिनभित्र काठमाडौं महानगरपालिका शिक्षा विभाग, कमलादीमा सम्पर्क गर्न भनेको छ । भनेको मितिमा अटेर गरी सम्पर्कमा नआउने विद्यालयलाई महानगरपालिका शिक्षा ऐन, २०७५ दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने चेतावनीसमेत महानगरले दिएको छ ।
जर्मनीदेखि स्पेनसम्म ईभीको प्रभाव, युरोपमा कार बिक्री ५ महिना लगातार बढ्यो
काठमाडौं । युरोपमा नयाँ कार बिक्री नोभेम्बरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा लगातार पाँचौं महिना बढेको छ । जर्मनी, इटाली र स्पेनसहितका बजारमा विद्युतीय सवारीसाधन (ईभी) को दर्ता बढेकाले बिक्रीमा सहयोग पुगेको युरोपेली अटो उद्योगको छाता संगठन एसीईए (एसीईए) ले मंगलबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । ब्याट्री–विद्युतीय सवारी (बीईभी) को दर्ता जसलाई बिक्रीको सूचक मानिन्छ । जुन युरोपेली संघ (ईयू) मा २१ प्रतिशत, बेलायतमा २६ प्रतिशत र नर्वेमा ९८ प्रतिशत बजार हिस्सामा पुगेको छ । ईयूले गत साता क्षेत्रीय अटो उद्योगको दबाबपछि आन्तरिक दहन इन्जिन (डिजेल पेट्रोलबाट चल्ने) कारमाथि सन् २०३५ देखि लागु हुने प्रभावकारी प्रतिबन्धबाट पछि हट्ने योजना सार्वजनिक गरेको थियो । यो पछिल्ला वर्षहरूमा ब्लकको हरित नीतिबाट भएको सबैभन्दा ठूलो कदम फिर्ता मानिएको छ। तर विश्लेषकहरूका अनुसार दीर्घकालमा ईभी नै भविष्य हो । एसीईएका अनुसार नोभेम्बरमा युरोपेली संघ, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) मा कार बिक्री २.४ प्रतिशतले बढेर ११ लाख पुगेको छ । फक्सवागन र रेनोमा दर्ता क्रमशः ४.१ प्रतिशत र ३ प्रतिशतले वार्षिक आधारमा बढ्यो । स्टेलान्टिसमा भने तीन महिना लगातार वृद्धि भएपछि २.७ प्रतिशतले गिरावट आयो । टेस्लाको दर्ता ११.८ प्रतिशतले घट्यो । नर्वेमा कीर्तिमानी बिक्रीले अन्य बजारका घाटा केही हदसम्म पूर्ति गरेको थियो । यसको चिनियाँ प्रतिस्पर्धी बीवाईडीमा भने दर्ता २२१.८ प्रतिशतले उक्लिएको छ । उक्त महिनामा टेस्लाको बजार हिस्सा २.१ प्रतिशत र बीवाईडीको २ प्रतिशत रहेको छ । ईयूमा कुल कार बिक्री २.१ प्रतिशत बढेर करिब ९ लाख पुगेको छ । ब्याट्री–विद्युतीय, हाइब्रिड–विद्युतीय र प्लग–इन हाइब्रिड कारको दर्ता क्रमशः ४४.१ प्रतिशत, ३८.४ प्रतिशत र ४.२ प्रतिशतले बढेर ब्लकको कुल दर्तामा संयुक्त रूपमा ६५.६ प्रतिशत हिस्सा ओगटेको छ । यो हिस्सा अगस्ट २०२४ मा ५६ प्रतिशत थियो ।
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् रु ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने रु तीन खर्ब छ अर्ब एक करोड मूल्यबराबरका सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय वृद्धि भएको बताए । चालु आवको पाँच महिनामा रु ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ भित्रिएको छ । त्यसैगरी, रु ३१ अर्ब ६५ करोडको फलाम तथा फलामबाट बनेका सामान भित्रिएका छन् । रु २४ अर्ब ६० करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने रु २२ अर्ब ८५ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।
लुम्बिनी विकास बैंकले सेयरधनीलाई लाभांश नदिने
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गर्दै सोहीअनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ । बैंकका अनुसार राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा प्रस्तुत गरिनेछ ।
मेरो माइक्रोफाइनान्स लघुवित्तले ५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्ने निर्णय गरेको हो । घोषित लाभांशअनुसार लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर तथा लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
अपी पावरको लाभांश घोषणा, पुस २९ गते साधारणसभा हुने
काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत कर प्रयोजनार्थ छुट्याइएको छ । कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशतका दरले १९१ करोड ३९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय पनि गरेको छ। यी दुवै निर्णय पारित गर्न कम्पनीले पुस २९ गते आफ्नो २२औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ। सभाले बोनस सेयर तथा हकप्रद सेयर जारी गर्न नियमनकारी निकायबाट आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, हालसम्म भएको स्वपुँजी लगानी अनुमोदन तथा थप स्वपुँजी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १७ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।
एनएलजी इन्स्योरेन्सको ७.३६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४ सय ३२ रुपैयाँ चुक्ता पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशअन्तर्गत कम्पनीले ४ प्रतिशत बोनस सेयर वितरण गर्नेछ, जसको मूल्य १० करोड २६ लाख ८ हजार ९ सय ७८ रुपैयाँ रहेको छ । साथै ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ, जसको मूल्य ७ करोड ६९ लाख ५६ हजार ७ सय ३३ रुपैयाँ रहेको छ । दुवै प्रकारका लाभांशका लागि कर प्रयोजनार्थ कम्पनीले ०.३६८४ प्रतिशत, अर्थात् ९४ लाख ५० हजार ८ सय २७ रुपैयाँ छुट्याएको जनाएको छ । कम्पनीका अनुसार उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नतिमा ७१ प्रतिशत काम सम्पन्न
म्याग्दी । म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँका अनुसार दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते निर्माण कम्पनीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको योजनाको ताकम खण्डमा करिब नौ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएकाले ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ । छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नतिको कामले गति लिएपछि स्थानीयवासी उत्साहित भएका धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए । आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए । गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा-काठमाडौं जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको जुग्जालीले बताए । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघि नै सडक निर्माण भइसकेको छ । रासस