विकासन्युज

इन्फिनिटी लघुवित्तको ९औं साधारण सभा सम्पन्न, सञ्चालक समिति निर्विरोध निर्वाचित

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा बुधबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटस्थित सहमति संस्थान, विजय चोकमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा सञ्चालन गर्दै उपस्थित सञ्चालक, अतिथि तथा सेयरधनीहरूलाई स्वागत गरेका थिए । सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्विजिसनसम्बन्धी प्रस्तावहरू पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ। यसैगरी, निर्वाचन अधिकृत कृष्ण प्रसाद खनालका अनुसार आगामी कार्यकालका लागि विष्णु कुमार घिमिरे, रामकृष्ण डंगोल, रमेश कर्मचार्य तथा शशी तिमल्सिनालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरिएको छ। सभाको अन्त्यमा उपस्थित सम्पूर्ण सञ्चालक, अतिथि तथा सेयरधनीहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी संस्थाले दिएको छ।

कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौं : शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू र अर्का महामन्त्री गगन थापा विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका छन् ।  पार्टी सभापति शेबहादुर देउवा पक्षले कारबाही गरेपछि आफूहरू विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो प्रतिक्रिया केवल यत्ति छ( कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौं ।’ ‘विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ,’  उनले थपे। साथै शर्माले ‘सहमतिका लागि प्रस्तावित ८ बुँदामा कुन कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ ?’ भन्दै प्रश्नसमेत गरेका छन् । कांग्रेसले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मूल्लाह मंसूरलाई कारबाही गरेको छ ।  कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तीन नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकले उनीहरूलाई पाँच वर्षका लागि कारबाही गरेको हो । पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।  

कांग्रेस फुट्यो, आधिकारिकता खोज्न दुवै पक्ष आयोग र अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेस विभाजन भएको छ । नेतृत्व परिवर्तन गर्न भन्दै महामन्त्रीद्वय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व चयनको अन्तिम तयारी गरेपछि संस्थापन पक्षले उनीहरूलाई पाँच वर्षसम्मका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेपछि पार्टी विभाजन भएको हो ।  संस्थापन पक्षले सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई समेत कारवाही गरेको छ । उनीहरूले देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशनको आयोजना गरेका थिए । तर, देउवा पक्ष भने विशेष महाधिवेशनमा सहभागी भएन ।  विशेष महाधिवेशन पक्ष भने अहिले नेतृत्व चयन गर्दैछ । सभापतिमा गगन कुमार थापाको मात्रै उम्मेदवारी परेको छ भने महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । यो समूहले सबै पदमा निर्विरोध गर्ने तयारी गरेको छ ।  गगन-विश्व पक्षले विशेष महाधिवेशन नै गरेर नेतृत्व चयनको प्रक्रियामा अगाडि बढ्दा देउवा पक्षले भने उनीहरूलाई कारवाही गरेपछि यो विषयले अर्को नयाँ बहस जन्माएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि गाली नगर्न बताएका हुन् । 'तपाईंहरू गाउँठाउँमा जाँदा, सामाजिक सञ्जालमा लेख्दा, कृपया कसैको बारेमा पनि गालीगलौज नगरिदिनूहोला। कसैको बारेमा टिप्पणी नगरिदिनूहोला। ती साथीभाइलाई पनि सँगै लिएर जानुपर्नेछ। केही दिनपछि जब कांग्रेसको महाधिवेशन सकिन्छ। नयाँ निर्णय सुनाउँछौं । दुई दिन पछाडि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन त जानु छँदैछ,’ उनले भने ।  अब दुवै पक्षले आधिकारिकताका लागि संघर्ष गर्नु पर्नेछ । त्यसका लागि दुवै पक्षले निर्वाचन आयोग र अदालत पनि धाउनेछन् । कांग्रेसका एक नेताले अब यो विषय आयोग र अदालतमा पनि प्रवेश गर्ने जानकारी दिए ।   

विशेष महाधिवेशनले नयाँ समिति चयन गर्छ, देउवा नेतृत्वको टिम भंग भइसक्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवा नेतृत्वकाे कार्यसमिति भंग भइसकेकाे बताएका छन् । विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै थापाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका हुन् । अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने उनको भनाइ छ । कांग्रेसले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मूल्लाह मंसूरलाई कारबाही गरेको छ ।  कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तीन नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकले उनीहरूलाई पाँच वर्षका लागि कारबाही गरेको हो । पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।

प्रभु बैंकको साधारण सभा सम्पन्न, वित्तीय विवरण सर्वसम्मत पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बुधबार बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बसेको सभाले विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू पारित गरेको छ । साथै, बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको सोही आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि पारित गरिएको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत रूपमा अनुमोदन भएका हुन् । प्रभु बैंकले हाल देशभर ३१२ शाखा, ६८ एक्सटेन्सन काउन्टर र २६९ एटीएममार्फत ३७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । साधारण सभाको अवसरमा बैंकले प्रगतिका लागि शुभकामना व्यक्त गर्ने सेयरधनी, सञ्चारकर्मी तथा सरोकारवाला सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

कामना सेवा विकास बैंकद्वारा लम्की मानव सेवा आश्रमलाई न्यानो सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय लम्कीमार्फत कैलालीस्थित लम्की मानव सेवा आश्रममा आश्रित असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्ध–वृद्धा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ । बैंकका लम्की शाखा प्रमुख भिमराज जैसीले आश्रमका सञ्चालक विनोद थापालाई ब्लाङ्केट, म्याट्रेस, सिरक तथा चिसो मौसममा आवश्यक अन्य न्यानो सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै शाखा प्रमुख जैसीले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले लम्की मानव सेवा आश्रमलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस अवसरमा आश्रमका सञ्चालक थापाले जाडोयाममा प्राप्त न्यानो सामग्रीले आश्रममा बसोबास गर्दै आएका बेसाहारा वृद्ध तथा बालबालिकाको जीवनमा न्यानोपन, सुरक्षा र आत्मबल थपिने उल्लेख गर्दै बैंकको मानवीय पहलप्रति आभार व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, मानव सेवा आश्रमका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

नेशनल लघुवित्तको १२औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा बुधबार बनेपा स्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट कर प्रयोजनसहित सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरण पनि पारित गरेको छ । २०७१ सालमा स्थापना भएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति तथा समिट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर भई बनेको हो । संस्थाले बाह्रौं वर्षमा सफल प्रवेश गर्दै २०८२ असोजसम्म सातै प्रदेशका ७४ जिल्लामा १८५ शाखा कार्यालयमार्फत २ लाख ५३ हजार विपन्न परिवारमध्ये १ लाख २२ हजार ऋणीलाई करिब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह र करिब ६ अर्ब ५० करोड रुपैयाँ बचत परिचालन गर्न सफल भएको जनाएको छ । सभाले सम्बन्धित निकायबाट स्वीकृति लिई ८ लाख ७४ हजार ४४३ कित्ता साधारण सेयर प्रिमियममा सार्वजनिक निष्कासन गर्ने तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमध्ये संस्थापक समूहको १० प्रतिशत सेयर नियामक निकायको स्वीकृति पश्चात सर्वसाधारणमा रूपान्तरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले ग्राहकको हक–हित संरक्षण र प्रवर्द्धन गर्दै उद्यमशीलता विकास, वित्तीय साक्षरता अभिवृद्धि तथा प्रविधिको उच्चतम प्रयोगमार्फत संस्था थप सुदृढ बनाउँदै लैजाने योजना रहेको जानकारी दिए ।  

वाणिज्य बैंक र चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच सम्झौता, तलबी खाता र पेशाकर्मी कर्जा सुविधा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । बुधबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कर्मचारीहरूका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा र अन्य बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउनेछ । सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका निर्देशकद्वय विनोद प्रसाद न्यौपाने र सिए किरण कुमार खत्री, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, उप–कार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल र रामकुमार थापा, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौडेललगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रहरूमा ३१२ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटीएम र ९९ शाखारहित बैंकिङ एकाइमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।