विकासन्युज

विश्वप्रकाश उपसभापति, पौडेल महामन्त्री, विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति घोषणा

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । काठमाडौंमा आइतबारदेखि जारी विशेष महाधिवेशनबाट आज पार्टी सभापतिमा गगन कुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।  पार्टीको सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) निर्वाचित भएका छन् । यस्तै, खुला ३५ केन्द्रीय सदस्यतर्फ गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी र देवप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।  यस्तै, जयबाबु सिवाकोटी र प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईँ, डा केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजङ्ग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह खुला केन्द्रीय सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । महिला खुल्ला ९ सदस्यीय केन्द्रीय सदस्यमा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउँद ऐर र दिलकुमारी राई निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य कोशी प्रदेशतर्फ शारदादेवी कोइराला, हिमालय कर्माचार्य र अग्नि पौडेल, मधेसतर्फ मधु शाही, रामानन्द यादव र बजरङ्ग नेपाली, बागमतीतर्फ उमा दाहाल, जितनारायण श्रेष्ठ र रमेश धमला निर्विरोध चयन भएका छन् । गण्डकीतर्फ विष्णुदेवी पाण्डे, रेशम बानियाँ र कृष्ण केसी, लुम्बिनीतर्फ पवित्राकुमारी अर्याल, केशव आचार्य र रामबहादुर कार्की, कर्णालीतर्फ रमादेवी खड्का, दिक्पाल शाही र नारायण भट्टराई तथा सुदूरपश्चिमतर्फ निपा चोख्याल, हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् । केन्द्रीय सदस्य (अपाङ्गता) तर्फ प्रकाश पन्त, (अल्पसङ्ख्यक) तर्फ शिवनारायण सिं गनगाई, केन्द्रीय सदस्य दलिततर्फ मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य विक र दिनेश सुनार निर्वाचित भएका छन् ।  केन्द्रीय सदस्य आदिवासी जनजाति (महिला)तर्फ सपना राजभण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लीलादेवी बोखिम लिम्बू, डा अमिता प्रधान र छोन्दुल्होम शेर्पा, आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अष्टकुमार कवे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दिपेन श्रेष्ठ चयन भएका छन् । केन्द्रीय सदस्य (खसआर्य महिलातर्फ) उमा सिवाकोटी, बाला अधिकारी, मुना भुसाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री, खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुसाल निर्वाचित भएका छन् । केन्द्रीय सदस्य (मधेसी महिलातर्फ) अञ्जु झा, चन्द्रकलाकुमारी यादव, गोमा अन्सारी र र निलम साह, (मधेसी खुला) मा रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव र रामरुप प्रसाद निर्विरोध भएका छन् । केन्द्रीय सदस्य (मुस्लिम महिला) पदमा सनम वेगम, मुस्लिम खुल्ला पदमा अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार, थारू महिलामा नवोदिता चौधरी र सुनिता राना, थारू खुल्लातर्फ सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित तथा पिछडिएको क्षेत्रतर्फ खुल्ला केन्द्रीय सदस्यमा दीपकजङ्ग शाह निर्वाचित भएका छन् ।  घोषित समितिका सभापति थापाले आजै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केसीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेको छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने आजै दिउँसो शपथ ग्रहणको कार्यक्रम राखिएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसको सभापतिमा थापा निर्वाचित, भने- कसैको शिर निहुरिन दिने छैन

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए । ‘सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु,’ निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भने ।  थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरे । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे । ‘जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईँहरु कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली कांग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरुले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु । नागरिकलाई अप्ठयारो अवस्थामा कांग्रेस छ भन्ने काम पार्टीले गर्नेछ,’ नवनिर्वाचित सभापति थापाले भने ।  उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्रै नभई आधुनिक नेपालको इतिहासमा भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको उल्लेख गरे ।  सभापति थापाले भने, ‘भुइँ तहका कार्यकर्ता भनेको जनताको प्रतिनिधि हो, नागरिक हो । नागरिकले दलभित्र गरेको हस्तक्षेप हो ।’ नेपाली कांग्रेस कुनै हालतमा नफुटेको जनाउँदै उनले वैधानिक रुपमा विशेष महाधिवेशन गर्दा पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने बताए । 

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, दिनभन्दा रात छोटा हुँदै जाने

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।  यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।  उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नास हुने आयुर्वेद चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमा समेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायु मण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शय्यामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको बताइन्छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ । माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।  यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ । माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।

रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भई विचाराधीन रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिएको छ । महान्यायाधिवक्ता कार्यालयको निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा चलिरहेका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अभियोग फिर्ता गरिने भएको हो । महान्यायाधिवक्ता कार्यालयका अनुसार रविमाथिको सहकारी ठगीको मुद्दा भने यथावत् नै छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिने गरी मात्र आरोप पत्र संशोधन गर्न स्वीकृति दिएको जनाएको छ ।  बुधबार चारवटा जिल्ला अदालतमा दर्ता भएका अभियोग पत्र संशोधन गर्न स्वीकृति दिने निर्णय गरिएको हो । 

गिरिजादेखि देउवासम्म : महामन्त्री गगन थापामाथि दोहोरिएको कारबाही

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि पार्टी नेतृत्वको कारवाही नयाँ विषय होइन । करिब दुई दशकअघि विद्यार्थी राजनीतिमा सक्रिय रहँदा पनि उनी तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको कारवाहीमा परेका थिए । अहिले भने सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले उनलाई पार्टी सदस्यताबाटै निष्कासन गरेको छ । २०६० सालमा थापा नेपाल विद्यार्थी संघका महामन्त्री थिए । उक्त समयमा नेविसंघको कार्यकाल करिब छ महिना बाँकी रहँदै संगठनभित्र तीव्र विवाद र असन्तुष्टि देखिएको थियो । विद्यार्थी आन्दोलन, राजतन्त्रविरुद्धको उग्र अडान र संगठन सञ्चालन शैलीलाई लिएर कांग्रेस नेतृत्व असन्तुष्ट बनेको थियो । त्यतिबेला कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेविसंघको केन्द्रीय कार्यसमिति नै भंग गर्ने निर्णय गरेका थिए । उक्त कार्यसमितिका सभापति गुरु घिमिरे थिए भने गगन थापा महामन्त्रीको भूमिकामा थिए । कोइरालाले व्यक्तिगत रूपमा गगन थापालाई मात्र कारवाही नगरी संगठनकै नेतृत्व संरचना भत्काउने कठोर कदम चालेका थिए । यसलाई विद्यार्थी संगठनमाथि पार्टीको प्रत्यक्ष हस्तक्षेपको रूपमा समेत हेरिएको थियो । राजनीतिक विश्लेषकहरूका अनुसार त्यो निर्णयले नेविसंघभित्रको नेतृत्व संकटलाई त तत्काल अन्त्य गरे पनि थापालाई राष्ट्रिय राजनीतिमा चिनिन थप मद्दत भयो । विद्यार्थी राजनीतिबाट बाहिरिएपछि थापा संविधानसभा सदस्य हुँदै क्रमशः कांग्रेसको केन्द्रीय नेतृत्वसम्म पुगे । १४औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर महामन्त्री निर्वाचित हुनु उनको राजनीतिक उचाइको प्रमाण मानिन्छ। तर इतिहास फेरि दोहोरिएको छ । यसपटक सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिले गगन थापालाई पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा पार्टी सदस्यताबाटै निष्कासन गर्ने निर्णय गरेको छ ।  उहिले २०६० मा पार्टी नीतिविरुद्ध गतिविधि गरेकोमा थापा कार्यरत समिति नै भंग गरिएको यियो । त्यतिवेला थापा नेविसंघको महामन्त्री थिए । अहिले थापा पार्टीको महामन्त्री छन् । थापाले आफ्नो नेतृत्वमा विशेष महाधिवेशन आयोजना गर्दै पार्टीलाई चुनौती दिएका छन् । संयोग कस्तो भने थापा पार्टीमा दुई पटक कारवाहीमा परेका छन् र दुवैपटक उनी महामन्त्री रहेका थिए ।

रिलायन्स फाइनान्सको १६औं साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव सर्वसम्मत रूपमा पारित

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८१०८२ को सोह्रौं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफलसहित पारित भयो । साथै बाह्य लेखापरीक्षकको नियुक्ति तथा विशेष प्रस्तावतर्फ वित्तीय संस्थाहरूबीच मर्जरसम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । सभामा प्रस्तुत विवरणअनुसार विगत वर्षहरूमा व्यवसाय तथा वित्तीय सूचकमा उतारचढाव भए तापनि चालु आर्थिक वर्षमा संस्थाको कार्यसम्पादन उल्लेखनीय रूपमा सुधारिएको छ ।  गत आर्थिक वर्षको तुलनामा संस्थाको निक्षेप १.०३ प्रतिशतले वृद्धि भई ८ अर्ब ६४ करोड पुगेको छ भने कर्जा ८.७० प्रतिशतले वृद्धि भई ७ अर्ब ९ करोड पुगेको छ । त्यस्तै, संस्थाको मुनाफा ६१ प्रतिशतले वृद्धि भई ६ करोड ८६ लाख पुगेको छ ।  सभामा सेयरधनीहरू डा. बालकृष्ण चापागाईं र दीपक आचार्यले वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संस्थाको प्रगति र भविष्यका योजनाप्रति शुभकामना व्यक्त गरे । साथै अन्य विभिन्न सेयरधनीहरूले लिखित सुझावसमेत प्रस्तुत गरेका थिए । सभाको अवसरमा संस्थामा १० वर्षभन्दा बढी समय सञ्चालकका रूपमा योगदान पुर्‍याएका पूर्व सञ्चालक विष्णुमान जोशीलाई सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो । त्यस्तै, १० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै कार्यसम्पादनका आधारमा उत्कृष्ट कार्य गर्ने तीनवटा शाखा कार्यालयलाई ‘बेस्ट ब्रान्च अवार्ड’ प्रदान गरिएको छ ।

नेपाल बैंकको ६६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६६औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्मालेको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त तथा सुविधा पारित गर्दै महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ । सभाले बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।  उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलका सुझाव प्राप्त भएमा सोही अनुरूप आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

‘दीपल ई-०७’ नेपाली बजारमा सार्वजनिक : एक बटनमै एसयूभीदेखि पिकअपमा परिवर्तन, मूल्य कति ?

काठमाडौं । नेपालको अग्रणी अटो वितरक एमएडब्लु वृद्धि ग्रुपले विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ एसयूभी ‘दीपल ई-०७’ सार्वजनिक गरेको छ । बुधबार कम्पनीले आफ्नो प्रिमियम इलेक्ट्रिक गाडीको लाइनअप विस्तार गर्दै अल न्यू ‘ई-०७ ट्रान्सफर्मर एक्स’ सार्वजनिक गरेको हो । लक्जरी र एड्भेन्चरको अनुपम मिश्रण मानिएको यो गाडीले नेपाली ग्राहकलाई आरामदायी यात्रासँगै अफरोड अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यो गाडीको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । गाडी एसयुभी मात्र नभई, एक बटनको भरमा आफ्नो स्वरूप र क्षमता परिवर्तन गर्न सक्ने ट्रान्सफर्मर भएको कम्पनीले दाबी गरेको छ ।  कम्पनीका अनुसार ‘ई-०७ ट्रान्सफर्मर एक्स’ ले परम्परागत एसयुभीको परिभाषालाई नै चुनौती दिएको छ । एक बटन थिच्नासाथ यसको पछाडिको भाग खुलेर यसलाई एउटा पिकअप ट्रकमा परिणत गर्न सकिन्छ । यसमा १६०० लिटरको कार्गो स्पेस र ५३१ केजीको पेलोड क्षमता छ । यसैगरी गाडीमा अत्याधुनिक एयर सस्पेन्सन प्रणाली जडान गरिएको छ, जसले ग्राउन्ड क्लियरेन्सलाई २०० एमएमबाट बढाएर २३१ एमएमसम्म पुर्‍याउन सक्छ ।  यसले चालकलाई मात्र नभई सबै यात्रुको आरामलाई प्राथमिकता दिएको छ । यसका चारवटै सिटमा मसाज, हिटिङ र भेन्टिलेसनको सुविधा छ ।  सिटहरूमा विश्वका केही महंगा गाडीमा मात्र प्रयोग हुने प्रिमियम नाप्पा लेदर प्रयोग गरिएको छ । गाडीको अगाडिको सिटमा १४-वे एडजस्टमेन्ट र ‘जिरो ग्राभिटी मोड’ छ । पछाडिका यात्रुका लागि छुट्टै सुपर टच स्क्रिन दिइएको छ । जसबाट एसी, सनसेड, सिट फोल्ड/रिक्लाइन र अन्य सुविधाहरू नियन्त्रण गर्न सकिन्छ। यसमा चीनको समकालीन एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेडद्वारा निर्मित नेपालकै सबैभन्दा उन्नत गोल्डेन शिल्ड ब्याट्री २.० प्रयोग गरिएको छ । जसको क्षमता ८९.९८ किलोवाटआवर छ । यो ब्याट्रीले ५ हजारभन्दा बढी साइकल लाइफ दिने दाबी गरिएको छ । एक पटकको फुल चार्जमा यसले ५६६ किलोमिटरको रेन्ज प्रदान गर्छ ।  यसले २४० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसबाट केवल १२ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । गाडीमा १९० किलोवाटको मोटर पावर, रियर ह्विल ड्राइभ र ६०० एमएमको वाटर वेडिङ क्षमता छ । एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालको बजारमा ५४ वटा ईभी ब्रान्ड हुँदा पनि दीपलले आफूलाई नम्बर एक लक्जरी ईभी ब्रान्डको रूपमा स्थापित गर्न सफल भएकोमा बताए । उनले चिनियाँ केन्द्रीय सरकारले लगानी गरेका १०० कम्पनीमध्ये चाङ्गन पनि एक भएकोले यसको विश्वसनीयतामा प्रश्न नरहेको र एमएडब्लू वृद्धिको ६० वर्षे विरासतले ग्राहक सेवामा उत्कृष्टताको ग्यारेन्टी गर्ने प्रतिवद्धता व्यक्त गरे ।  अग्रवालले दीपल ई-०७ एक गाडी मात्र नभएर एक फरक जीवनशैलीको प्रतीक भएको बताए । उनले भने, ‘हामीले एस-०५ र एस-०७ को सफलतापछि यो नयाँ मोडल ल्याएका हौं । यसले बजारमा हाम्रो विश्वासलाई अझ बलियो बनाएको छ । ’ उनका अनुसार यो गाडी विशेषगरी ती ग्राहकहरूका लागि डिजाइन गरिएको हो जो आरामदायी र न्यानो क्याबिनमा बसेर बाहिरको कठिन भू-भाग र प्राकृतिक सौन्दर्यको आनन्द लिन चाहन्छन् ।  ‘कल्पना गर्नुहोस्, तपाईं गाडीको न्यानो र आरामदायी सिटमा बसेर बाहिर हिउँ परिरहेको दृश्य हेर्दै हुनुहुन्छ,’ उनले विकासन्युजसँग भने, ‘यो गाडीले त्यही अनुभव दिन्छ । भित्र पूर्ण लक्जरी छ भने बाहिर जस्तोसुकै कठिन बाटोमा पनि जानसक्ने क्षमता छ । ’ उनले नेपालमा ईभीको बढ्दो लहरलाई दूरदर्शी कदमको रूपमा व्याख्या गरे । उनका अनुसार नेपालमा उत्पादन भएको अतिरिक्त बिजुली खपत गर्न, जलवायु परिवर्तनको असर कम गर्न र प्रदूषणरहित सफा पर्यटकीय छवि निर्माण गर्न ईभीको भूमिका महत्त्वपूर्ण छ ।  ‘पहाड र हिमनदी भएको हाम्रो देश जलवायु परिवर्तनप्रति संवेदनशील छ । ईभीको प्रयोगले वातावरण संरक्षणमा ठूलो सहयोग पुग्छ,’ उनले थपे ।  त्यस्तै, प्रबन्ध निर्देशक विवेक शिकरियाले दीपलले टच द फ्युचर  भन्ने नारालाई सार्थक बनाउँदै भविष्यमुखी गाडीहरू मात्र बजारमा ल्याएको बताए । उनले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै छिट्टै बालुवाटारमा एक समर्पित ईभी वर्कशप खोल्ने घोषणा पनि गरे ।  कम्पनीका सीईओ ज्ञानेन्द्र शाहले एमएडब्लुको सन् १९६४ देखिको यात्रा र आज २१ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डको प्रतिनिधित्व गर्दै देशकै सबैभन्दा ठूलो अटोमोबाइल समूह बनेको दाबी गरे । उनले ‘दीपल ई-०७’ लाई नेपाली अटो बजारमा एउटा नयाँ बेन्चमार्कको रूपमा प्रस्तुत गरे ।  एमएडब्लुले ग्राहक सन्तुष्टिलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको जनाएको छ । उत्कृष्ट सर्भिस, समयमै स्पेयर पाट्र्सको उपलब्धता र ग्राहकको आवश्यकताअनुसारका गाडीहरू ल्याएर बजारमा विश्वास जित्ने कम्पनीको लक्ष्य छ । कम्पनीका अनुसार चिनियाँ अटोमोबाइल निर्माता च्याङ्गन विश्वकै तीन ठूला कम्पनीमध्ये एक हो । यसमा चीन सरकारको समेत लगानी छ । च्याङ्गनले भविष्यमा ल्याउने गाडीहरूको लामो सूची रहेको र एमएडब्लुले यसै वर्षभित्र अर्को नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको समेत खुलासा गरिएको छ ।  एमएडब्लु वृद्धि ग्रुपले हालसम्म ४ हजारभन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ भने दीपल ब्रान्डका मात्रै १ हजार २०० गाडी बिक्री भइसकेका छन् । नयाँ ‘दीपल ई-०७’ को आगमनले नेपाली ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।