सर्वोच्चको अन्तरिम आदेश अवज्ञा भएको आरोप: अन्तरप्रादेशिक रुट विवादमा ट्रक व्यवसायी आन्दोलित
काठमाडौं । सर्वोच्च अदालतले स्पष्ट रूपमा अन्तरिम आदेश जारी गर्दा पनि सरकारी निकायहरूले त्यसको अवज्ञा गरेको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले गम्भीर आपत्ति जनाएको छ । संघीय र प्रदेश सरकारबीचको अधिकार क्षेत्रको विवादमा आफूहरू पिसिएको भन्दै व्यवसायीहरूले अदालतको आदेश तत्काल पूर्ण कार्यान्वयनको माग गरेका छन् । विशेष गरी अन्तरप्रादेशिक रुट इजाजतपत्रको विषयलाई लिएर यो विवाद चर्किएको हो । महासंघका अनुसार यातायात व्यवस्था विभागले २०८० जेठ ७ गते जारी गरेको एक पत्रका आधारमा देशभरका विभिन्न ट्राफिक प्रहरी कार्यालयहरूले वैध अनुमतिपत्र भएका ट्रकहरूलाई समेत कारबाही गरिरहेका छन् । के हो विवाद र अदालतको आदेश ? अनुमति लिएका र म्याद बाँकी रहेका सवारी साधनलाई समेत कारबाही गर्न थालिएपछि महासंघले यसलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासले २०८० भदौ ७ गते व्यवसायीको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशमा यातायात व्यवस्था विभागको जेठ ७ को पत्र तत्काल कार्यान्वयन नगर्न र अनुमति अवधि बाँकी रहेका सवारी साधनलाई निर्बाध चल्न दिन स्पष्ट निर्देशन दिइएको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बानियाका अनुसार अदालतको आदेश बोकेर हिँड्दा पनि ट्राफिक प्रहरीले जरिवाना काट्ने क्रम रोकेको छैन । ‘हाम्रो लडाइँ अनुमति नलिएका गाडीका लागि होइन, जसले राज्यलाई कर तिरेर विधिवत अनुमति लिएका छन् र जसको म्याद बहाल छ । उनीहरूलाई किन दुःख दिइँदैछ ?’ बानियाले प्रश्न गर्दै भने । प्रहरीको यस्तो रवैयाले व्यवसायीहरूमाथि अनावश्यक आर्थिक भार थपिनुका साथै मानसिक प्रताडना समेत सिर्जना भएको महासंघको भनाइ छ ।
४५ वर्षपछि इतिहास पल्टियो : पाँच गुणा महँगो तेल पछाडि, चाँदीले बनायो कीर्तिमान
काठमाडौं । चाँदीको मूल्य हाल तीव्र रूपमा बढेको छ । हालै पहिलोपटक चाँदीको मूल्य प्रतिकिलो ३.२ लाख रुपैयाँ नाघेको छ भने अन्तर्राष्ट्रिय बजारमा यो करिब ६५ डलर प्रति औंस पुगेको छ । अर्कोतर्फ डब्ल्यूटीआई क्रूड ५५.९३ डलर प्रति ब्यारेल र ब्रेन्ट क्रूड ५९.७१ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ । सन् १९८० पछि यो पहिलो पटक हो, जब चाँदीको मूल्य कच्चा तेलभन्दा माथि पुगेको छ । सन् २०२२ को मध्यतिर डब्ल्यूटीआई क्रूडको मूल्य चाँदीभन्दा करिब ५.५ गुणा बढी थियो । त्यसयता चाँदीको मूल्यमा २०६ प्रतिशतको उछाल आएको छ भने कच्चा तेलको मूल्यमा ४४ प्रतिशत गिरावट आएको छ । डब्ल्यूटीआई क्रूडका लागि यो वर्ष महामारीपछिको सबैभन्दा खराब वर्ष बन्ने देखिएको छ भने चाँदीका लागि सन् १९७९ पछिको सबैभन्दा राम्रो वर्ष हो । यस वर्ष मात्रै चाँदीको मूल्यमा ११५ प्रतिशत वृद्धि भएको छ । यसको मूल्याङ्कन माइक्रोसफ्टभन्दा पनि माथि पुगेको छ र यो विश्वको पाँचौं सबैभन्दा मूल्यवान् एसेट बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेको छ । महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । किन बढ्यो चाँदीको मूल्य ? अन्तर्राष्ट्रिय बजारदेखि स्वदेशी कारोबारसम्म चाँदीले नयाँ–नयाँ कीर्तिमान बनाइरहेका बेला जानकारहरूले यसको मुख्य कारण औद्योगिक मागको तीव्र वृद्धि रहेको बताएका छन् । ऊर्जा रूपान्तरण, सोलार प्यानल, इलेक्ट्रिक गाडी, सेमिकन्डक्टर तथा आधुनिक इलेक्ट्रोनिक्समा चाँदीको प्रयोग बढ्दै जाँदा विश्वव्यापी रूपमा यसको माग उल्लेख्य रूपमा बढेको हो । विशेषगरी हरित ऊर्जातर्फ विश्वको ध्यान केन्द्रित भएपछि सोलार उद्योगबाट चाँदीको खपत ऐतिहासिक स्तरमा पुगेको विश्लेषकहरूको भनाइ छ । अर्कोतर्फ आपूर्तिमा भने दबाब देखिएको छ । नयाँ चाँदी खानी थपिन नसक्नु, उत्पादन लागत बढ्नु तथा चाँदी प्रायः अन्य धातुसँगै सह–उत्पादनका रूपमा निकालिनुका कारण आपूर्ति सीमित बनेको छ । जसले बजारमा मूल्य बढाउने दबाब सिर्जना गरेको छ । विश्व अर्थतन्त्रमा अनिश्चितता, भूराजनीतिक तनाव र महँगीको जोखिम बढ्दै जाँदा लगानीकर्ताहरू सुरक्षित लगानी खोज्दै चाँदीतर्फ आकर्षित भएका छन् । सुनसँगै चाँदीलाई पनि सुरक्षित एसेटका रूपमा हेर्न थालिएपछि यसको माग अझै बढेको देखिन्छ । यस्तै, अमेरिकी डलर कमजोर हुनु र भविष्यमा ब्याजदर घट्न सक्ने अनुमानले पनि चाँदीजस्ता कमोडिटीमा लगानी बढाएको छ । चाँदीमा आधारित ईटीएफ र फ्युचर बजारमा कारोबार बढ्नुले पनि मूल्यमा थप उछाल आएको छ । बजार विश्लेषकहरूका अनुसार लामो समयसम्म सुनको तुलनामा सस्तो मानिएको चाँदीमा अहिले यसको रिरेटिङ भइरहेको छ। औद्योगिक माग, सीमित आपूर्ति र लगानीकर्ताको बढ्दो आकर्षणका कारण चाँदीको मूल्य केही समयसम्म उच्च स्तरमै रहन सक्ने अनुमान गरिएको छ ।
जीवन विकास लघुवित्तको १४.७३ प्रतिशत लाभांश घोषणा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । मंसिर २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जससमध्ये सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपश्चात वितरण गरिने संस्थाले जनाएको छ।