
काठमाडौं । अर्बपति एलन मस्कले सोमबार आफू र राष्ट्रपति डाेनाल्ड ट्रम्प मिली अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने प्रक्रियामा रहेको बताएका छन् ।
‘सरकारी दक्षता विभाग’का प्रमुख मस्कले आफ्नो सामाजिक सञ्जाल एक्स (पूरानाे ट्वीटर)मा यूएसएआईडी बन्द गर्ने घोषणा गरेका हुन् ।
‘हामी यसलाई बन्द गर्दैछौं,’ उनले भने । ‘हामी यूएसएआईडी बन्द गर्ने प्रक्रियामा छौं,’ उनले थपे ।
मस्कले कंग्रेसको स्वीकृति बिना संघीय एजेन्सी बन्द गर्न ह्वाइट हाउसको केकस्तो कानुनी अधिकार छ भन्नेबारे केही भनेनन् ।
उनले यस विचारमा ‘राष्ट्रपतिको पूर्ण समर्थन’ रहेको पनि उल्लेख गरे ।
‘यूएसएआईडीको कुराको सन्दर्भमा मैले उनी (राष्ट्रपति) सँग विस्तृत रूपमा छलफल गरें । उनले यसलाई बन्द गर्नुपर्छ भन्ने कुरामा सहमति जनाए । मैले उनलाई केही पटक जाँच गरें र भनें, ‘के तपाईं निश्चित हुनुहुन्छ? उनले हो भनेर जवाफ दिए ‘, ट्रम्पले भने ।
ट्रम्पले आइतबार मस्कले ‘राम्रो काम गरिरहेको’ र यूएसएआईडीलाई ‘एक झुण्ड कट्टर पागलहरूद्वारा चलाइएको’ भनी आलोचना गरे । यद्यपि ट्रम्पले कंग्रेसको सहमति भए वा नभए पनि एजेन्सी बन्द गर्ने योजना बनाएको भन्ने कुराचाहिं खोलेका छैनन् ।
एनबीसी न्यूजले रिपोर्ट गरेअनुसार, ट्रम्प प्रशासनका अधिकारीहरूले यूएसएआईडीलाई विदेश विभागको अधिकारअन्तर्गत राख्ने बारे छलफल गरेका छन् ।
यस कदम जसलाई डेमोक्रेटिक सांसदहरू र कानुनी विशेषज्ञहरूले एजेन्सी स्थापना गर्ने कंग्रेसद्वारा अपनाइएको कानुनको उल्लंघन हुने तर्क गरेका छन् ।
ट्रम्पले ९० दिनको समीक्षापश्चात लगभग सबै अमेरिकी विदेशी सहायता रोक्ने पनि बताइसकेका छन् ।
कंग्रेसले खासगरी विदेशी सहायता र अन्तर्राष्ट्रिय केन्द्रित धार्मिक संस्थाहरूका लागि वार्षिक रूपमा यूएसएआईडीलाई खर्च गर्न पैसा विनियोजन गर्छ । कंग्रेसनल रिसर्च सर्भिसको गत महिनाको रिपोर्टअनुसार आर्थिक वर्ष २०२३ को लागि यसको बजेट लगभग ४० अरब डलर थियो ।
राष्ट्रपति जोन एफ केनेडीले कंग्रेसले विदेशी सहायताको पुनर्गठन पारित गरेपछि १९६१ मा कार्यकारी आदेशद्वारा यूएसएआईडी स्थापना गरेका थिए ।
स्रोतका अनुसार मस्कको घोषणा शनिबारको एक असामान्य घटनापछि आएको हो । शनिबार यूएसएआईडीका कर्मचारीहरूले मस्कको सरकारी दक्षता विभागका कर्मचारीहरूलाई सुरक्षित यूएसएआईडी प्रणालीहरूमा पहुँच गर्नबाट रोक्ने प्रयास गरेका थिए । यद्यपि यूएसएआईडीका सुरक्षा निर्देशक र उनका उपनिर्देशकलाई प्रशासनिक बिदामा राखिएको थियो ।
स्रोतका अनुसार दक्षता विभागका कर्मचारीहरूले यूएस मार्शल्सलाई बोलाउने धम्की दिएका थिए । अन्तत: कर्मचारीहरू सुरक्षित प्रणालीहरूमा पहुँच प्राप्त गर्न सक्षम भए । तर उनीहरूले कुन जानकारी प्राप्त गर्न सके भन्नेबारेमा स्पष्ट छैन ।
गत हप्ता नै ट्रम्प प्रशासन र मस्कका कर्मचारीहरूले यूएसएआईडीको आमूल परिवर्तन गर्ने योजना बनाएकाे स्पष्ट भइसकेको थियाे ।
यूएसएआईडीमा ५० भन्दा बढी करियर सिभिल सर्भेन्टहरूलाई गत सोमबार प्रशासनिक बिदामा राखिएको थियो ।
यूएसएआईडीको विगतमा मस्कको कम्पनीहरूमध्ये एक स्पेसएक्ससँग साझेदारी थियो । एजेन्सीले २०२२ मा रसियाको आक्रमणपछि युक्रेनको सरकारलाई ५ हजार स्टारलिंक स्याटेलाइट इन्टरनेट टर्मिनलहरू प्रदान गर्न स्पेसएक्ससँग साझेदारी गरेको घाेषणा गरेकाे थियाे ।
तर सोमबार मस्कले यूएसएआईडीलाई ‘आशाहीन’ को उपमा दिए । यतिमात्र हाेइन उनले यसलाई ‘किरा भएको स्याउ होइन, तर वास्तवमै किराहरूको बल मात्र’ रहेको पनि बताए ।
१९७४ को संघीय कानुन जसलाई ‘इम्पाउन्डमेन्ट कन्ट्रोल एक्ट’ भनिन्छ, यसका अनुसार राष्ट्रपतिले सामान्यतया कंग्रेसले स्वीकृत गरेको कोष रोक्न सक्दैन । केही ट्रम्प सहयोगीहरूले कानुन असंवैधानिक छ भन्ने तर्क गर्छन् । यसले अदालतमा सम्भावित लडाइँकाे संकेत गर्छ ।
ट्रम्पको आदेशले नेपालका ३०० बढी संस्था अलमलमा, डेढ खर्ब बढी अनुदान प्रभावित
ट्रम्पको भन्सार महसुल : प्रतिशोधमा क्यानडा र मेक्सिको, वार्ताको तयारीमा चीन