इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो- २०२५ मा ईभीको प्रभुत्व, भिनफास्ट र बीवाईडीमा धेरै आकर्षण

  २०८१ माघ १० गते ११:१७     विकासन्युज

काठमाडौं । दिल्लीमा हालै सम्पन्न भएको इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा विद्युतीय सवारीसाधन (ईभी) को प्रभुत्व देखिएको छ । धेरै कम्पनीहरूले नयाँ मोडेलहरू सार्वजनिक गरेका छन् ।

भारतको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीमा लगभग २ सय नयाँ उत्पादनहरू प्रस्तुत गरिएको थियो । १७ देखि २२ जनवरीसम्म चलेको यस कार्यक्रममा १ हजार ५०० भन्दा बढी कम्पनीहरूले भाग लिएका थिए  । यसैगरी, ८ लाखभन्दा बढी मानिसहरूले यस प्रदर्शनीमा सहभागी भएका थिए ।

प्रदर्शनीको सफलता देखेर सरकारले अब यसलाई हरेक वर्ष आयोजना गर्ने विचार गरिरहेको छ। अहिलेसम्म यो हरेक दुई वर्षमा हुने गर्थ्यो ।

भियतनामी कम्पनी भिनफास्टले पहिलो पटक भारतमा आफ्नाे कारहरू प्रस्तुत गर्‍यो । यसैबीच, चिनियाँ ईभी कम्पनी बीवाईडीले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी पनि अनावरण गरेको छ ।

जेएसडब्ल्यू एमजी मोटर इन्डियाले आफ्नो नयाँ शक्तिशाली एसयूभी मगेस्टर प्रस्तुत गरेको छ । वेभ मोबिलिटीले सौर्य ऊर्जाबाट चल्ने मिनी कार लन्च गरेको छ । जेबीएमले विद्युतीय बसहरू ल्याएको छ । यसैगरी, हुन्डाई र टीभीएसले नयाँ यातायात समाधानहरूमा सँगै काम गरिरहेका छन् र उनीहरूले यसको झलक पनि दिए ।

भिन्फास्टका नयाँ विद्युतीय सवारीसाधन

भियतनामी कम्पनी भिनफास्टले दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ सेभेन र भीएफ सिक्स लन्च गरेको छ । कम्पनीले यी गाडीहरू यस वर्षको अन्त्यसम्ममा भारतमा बिक्रीको लागि उपलब्ध हुने बताएको छ । यी भारतमा भिनफास्टका पहिलो गाडीहरू हुनेछन् । कम्पनीले भारतमा बनेका विद्युतीय सवारीसाधनहरू पश्चिम एसिया र अफ्रिकामा बेच्न चाहन्छ ।

बीवाईडी सीलायन सेभेनको बुकिङ खुल्ला

चीनको लोकप्रिय ईभी कम्पनी बीवाईडीले इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो सीलायन सेभेन एसयूभी अनावरण गर्नुका साथै यसको बुकिङ पनि सुरु गरेको छ । कम्पनीले सेलेरोन सिक्स, बीवाईडी सुपर प्लग-इन हाइब्रिड ईभी र याङवाङ यू एट पनि प्रदर्शन गरेको थियो ।

मारुतिको पहिलो ईभी सार्वजनिक

भारतको सबैभन्दा ठूलो कार निर्माता मारुतिले आफ्नो पहिलो इलेक्ट्रिक सवारी ई- भिटारा एसयूभी प्रदर्शन गर्‍यो, जुन यस वर्षको अन्त्यतिर लन्च हुने जनाइएको छ ।  यो कार मारुतिको मूल कम्पनी सुजुकी मोटर र टोयोटाले संयुक्त रूपमा विकास गरेका हुन् ।
केही कार निर्माताहरूले इलेक्ट्रिक सवारीका साथै प्लग-इन हाइब्रिड कार, फ्लेक्स-फ्युल मोडल, हाइड्रोजन फ्युल सेल सवारी र ग्यासमा आधारित कारहरू पनि प्रदर्शन गर्ने योजना बनाएका छन् ।

टाटा मोटर्सको पवेलियन

टाटा मोटर्सको पवेलियनमा विभिन्न सेग्मेन्टका १८ नयाँ मोडेलहरू प्रस्तुत गरिएको थियो । यसमा नयाँ टाटा सिएरा र ह्यारियर ईभी पनि समावेश छन् ।

हुन्डाईको क्रेटा ईभी

हुन्डाई मोटर इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय एसयूभी क्रेटाको इलेक्ट्रिक संस्करण, क्रेटा ईभी अटो एक्स्पो २०२५ मा लन्च गर्‍यो, जसको सुरुवाती मूल्य १७.९९ लाख भारु रहेको छ । कम्पनीले आगामी वर्षहरूमा भारतभरि ६०० वटा द्रुत चार्जिङ स्टेशनहरू स्थापना गर्ने जनाएकाे छ ।

किया इभी सिक्स फेसलिफ्ट

किआ इन्डियाले इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो अल्ट्रा-स्पेशल इलेक्ट्रिक कार ईभी सिक्सको २०२५ फेसलिफ्ट मोडेल प्रस्तुत गर्‍यो, जसले केही कस्मेटिक परिवर्तनहरूसँगै सुधारिएका सुविधाहरू र दायरा प्रदान गर्दछ ।

इलेक्ट्रिक मर्सिडिज बेन्ज

यस वर्षको अटो एक्स्पोमा लक्जरी कार कम्पनीहरूले पनि आफ्ना नयाँ इलेक्ट्रिक मोडेलहरू प्रस्तुत गरे । मर्सिडिज-बेन्जले आफ्नो इलेक्ट्रिक एसयूभी ईक्यूएस मेबच लन्च गरेको छ, जसको मूल्य २.६३ करोड भारु छ ।

जेबीएमका नयाँ विद्युतीय बस

जेबीएमले अटो एक्स्पो २०२५ मा ४ वटा नयाँ विद्युतीय बसहरू प्रस्तुत गर्‍यो । यसमा लक्जरी कोच ग्यालेक्सी, इन्टरसिटी बस एक्सप्रेस, लो फ्लोर इलेक्ट्रिक मेडिकल मोबाइल युनिट ई-मेडिलाइफ र ई-स्काइलाइफ समावेश छन् ।

हुन्डाई र टिभीएसले नयाँ उत्पादनहरू ल्याउँदै

हुन्डाई मोटर कम्पनीले भारतको लागि नयाँ यातायात समाधानहरू सिर्जना गर्न टीभीएस मोटर कम्पनीसँग साझेदारीको घोषणा गरेको छ । यद्यपि, अहिलेसम्म कुनै आधिकारिक सहमति भएको छैन । हुन्डाईले एउटा कन्सेप्ट मोडेल पनि प्रदर्शन गर्‍यो।

एका र वेबबाट उत्पादन

एका मोबिलिटीले एउटा इलेक्ट्रिक ट्रक र ६ सिट भएको सार्वजनिक यातायात सवारी साधन प्रदर्शन गरेको थियो । सोही समयमा वेभ मोबिलिटीले सौर्य ऊर्जाबाट चल्ने मिनी कार इभा लन्च गर्‍यो । यो तीन सिट भएको कार तीन फरक मोडेलमा उपलब्ध छ ।

नयाँ इलेक्ट्रिक स्कुटरहरू

बेंगलुरुमा आधारित न्यूमेरोस मोटर्सले १.०९ लाख भारुमा आफ्नो ई-स्कुटर डिप्लो म्याक्स लन्च गरेको छ । गोदावरी इलेक्ट्रिक मोटर्सले दुई नयाँ इलेक्ट्रिक स्कुटरहरू बजारमा ल्याएको छ ।

एसएमएल इसुजुको इलेक्ट्रिक डी-म्याक्स प्रदर्शनमा

व्यावसायिक सवारीसाधन निर्माता एसएमएल इसुजुले व्यावसायिक बसहरूको लागि हिरोई.ईभी प्लेटफर्म सुरु गरेको छ । यो अप्रिल-जुनमा सुरु हुने अपेक्षा गरिएको छ । इसुजु मोटर्स इन्डियाले आफ्नो डी-म्याक्स बीईभीको अवधारणा मोडेल पनि प्रदर्शन गर्‍यो । यो पिकअप ट्रकले व्यावसायिक र यात्रु दुवै आवश्यकताहरू पूरा गर्नेछ ।