
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कर नीतिमा कठोर देखिएका छन् । राष्ट्रपतिको रूपमा शपथ लिएपछि उनले सार्वजनिक धारणा राख्दै कर नीतिमा कडाइ गर्ने बताएका हुन् ।
ट्रम्पले विभिन्न देशबाट आयात हुने वस्तुमा दोब्बर कर लगाउने घोषणा गरेका छन् । विशेषगरी उनी चीनप्रति बढी अनुदार देखिएका छन् । उनले फेब्रुअरी १ देखि नै चीनबाट आयात हुने वस्तुमा १० प्रतिशत शुल्क लगाउने बताएका छन् । यस विषयमा आफूले आन्तरिक छलफल गरिरहेको जानकारी दिएका छन् ।
चुनावी प्रचारप्रसारका बेला ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने घोषणा गरेका थिए ।
चीनपछि उनले मेक्सिको, क्यानडा र युरोपेली संघ (ईयू)माथि पनि २५ प्रतिशत बढी आयातमा कर लगाउने बताएका छन् । यी देशहरूले अमेरिकाप्रति पृथक किसिमको व्यवहार गरिरहेको बताउँदै उनीहरूलाई कर लगाउन आवश्यक रहेको उनको धारणा थियो ।
राष्ट्रपति ट्रम्पले विभिन्न देशहरुमाथि कर लगाउने घोषणा गरिरहँदा ती देशहरूले भने जवाफी कर लगाउने बताइरहेका छन् । अमेरिकासँग जुध्नका लागि जवाफी कर लगाउने अभिव्यक्ति ती देशहरूले दिइरहेका छन् ।
क्यानडा, चीन र मेक्सिको अमेरिकाका शीर्ष व्यापार साझेदार हुन् ।
राष्ट्रपति ट्रम्पको विदेशी उत्पादनहरूमा भन्सार शुल्क लगाएर ठूलो परिमाणमा राजस्व संकलन गर्ने रणनीति छ । उनले त्यो राजस्व संकलन गर्नका लागि एउटा छुट्टै निकाय ‘एक्स्टर्नल रेवेन्यू सर्भिस’ स्थापना गर्ने पनि बताएका छन् ।
‘अमेरिकी नागरिकहरूलाई कर लगाएर अन्य देशलाई धनी बनाउनुभन्दा हामी विदेशी देशहरूलाई कर लगाएर हाम्रा नागरिकहरूलाई धनी बनाउनेछौं,’ ट्रम्पले भनेका छन्, ‘यसले देशको राजस्वमा पनि ठूलो योगदान गर्नेछ । यसले देशको राजस्वमा पनि ठूलो योगदान गर्नेछ ।’
यस्तै, राष्ट्रपति ट्रम्पले १५ प्रतिशतको न्यूनतम कम्पनी मुनाफा कर लगाउने वैश्विक सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका छन् । यो सम्झौतामा १४० देशहरूले सहमति जनाएका थिए, जुन अर्गनाइजेसन फर इकोनमिक कोअपरेसन एण्ड डेभलपमेन्टको पहलमा भएको थियो । उनले अमेरिकी बहुराष्ट्रिय कम्पनीमाथि कर नलगाउन पनि विभिन्न देशलाई अपील गरेका छन् ।
विशेषज्ञकाे चेतावनी
विज्ञहरूले अमेरिकी प्रशासनलाई ट्रम्पले विभिन्न कर लगाउने चेतावनी दिइसकेका छन् । उनीहरूले ट्रम्पले कर लगाउने घोषणा गर्नासाथ चेतावनी दिएका हुन् । यस्तो आयात करले आर्थिक वृद्धिमा मात्रै नभई मुद्रास्फीति पनि बढाउने विज्ञहरूको भनाइ छ ।
विज्ञहरूका अनुसार भन्सार बढाएर अमेरिकामा यी वस्तुहरू महँगो मूल्यमा बिक्री हुने भएकाले त्यसको असर आम मानिसलाई पनि पर्नेछ । (एजेन्सीको सहयोगमा)
ट्रम्पले क्यानडामाथि ट्यारिफ लगाए इन्धनको मूल्य बढ्ने आशंका
ट्रम्पको नीतिले अमेरिकी व्यवसायी चिन्तित, व्यापारिक रणनीति बदल्दै चीन