२०८१ भदौ २७ गते ७:१४ विकासन्युज
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा रहेको बताएका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले बुधबार धरानमा आयोजना गरेको ‘भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उनले दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकारले मुलुकमा विद्यमान समस्या समाधान गरी नागरिकमैत्री सेवा प्रवाहमा जोड दिएको बताए ।
मन्त्री खड्काले संसद्का दुई ठूला दल मिलेर बनेको वर्तमान गठबन्धनले जनतामा आशा जगाउने काम गरेको भन्दै स्थिर सरकारका माध्यमबाट विकास, निर्माणमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राखे । मन्त्री खड्काले संविधानलाई समयसापेक्ष परिवर्तन गर्दै लैजान सकिने बताए ।
‘विगतमा छिटोछिटो सरकार परिवर्तन हुँदा विकास निर्माणले गति लिन सकेको थिएन, अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म जान्छ, हरेक व्यक्तिले आफ्नो दायित्व निर्वाह गररे देश विकासमा सहयोग पु¥याउनु आवश्यक छ,’ उनले भने, ‘देश विकास, स्वदेशमा रोजगारी सिर्जना, स्वास्थ्य सेवालगायत जनतालाई कसरी सहज सेवा प्रवाह गर्न सकिन्छ त्यसतर्फ सरकार लागिरहेको छ ।’
सीमित स्रोतसाधनका बीच सरकारले विकास निर्माणलाई अगाडि बढाएको उनको भनाइ छ । ऊर्जामन्त्री खड्काले पूरा हुन नसकेका जलविद्युत् आयोजनालाई अगाडि बढाउन सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताए ।
‘कर्णाली चिसापानी, अपर अरुण, पञ्चेश्वर, बुढीगण्डकी, तमोरजस्ता आयोजनालाई अगाडि बढाउन सकिए ऊर्जा र सिँचाइमार्फत देश समृद्ध बनाउन सकिन्छ, त्यसमा सरकारले योजनाबद्ध काम गरिरहेको,’ उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
One comment on "सरकारले नागरिकमैत्री सेवा प्रवाह दिन्छ : ऊर्जामन्त्री खड्का"