२०८१ असार २ गते १६:३० विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्ष नियुक्तिको विषय थप पेचिलो र विवादित बनेको हो ।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई आइतबार कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । दिउँसो १२:४५ भित्र उपस्थित हुनुपर्नेमा २ जना मात्रै उपस्थिति भएको बुझिएको छ ।
सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् । उनीहरूले सल्लाह गरेर नै अनुपस्थित भएको बुझिएको छ ।
स्रोतका अनुसार अर्कै उम्मेदवारलाई अध्यक्ष बनाउने राजनीतिक सहमति भएपछि तीन जनाले अन्तर्वार्ता बहिस्कार गरेको बुझिएको हो । उनीहरू तीनै जना माओवादी निकट उम्मेदवारका रुपमा धेरैले बुझेका छन् ।
बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अब अध्यक्षको नियुक्ति प्रक्रिया नै रद्द हुन सक्ने अनुमान धेरैले गरेका छन् ।
सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि उपस्थित भएको बुझिएको छ । स्रोतका अनुसार श्रेष्ठलाई नै अध्यक्ष बनाउने आन्तरिक सहमति नेताहरुबीच भएको छ । तर, त्यो बदमासीलाई रोक्न अन्य तीन जना उम्मेदवार सहमतिमै सहभागी नभएका हुन् ।
सेबोन विगत ५ महिनादेखि नेतृत्वविहीन छ । राजनीतिक दलका नेतृत्वबीच नै आफ्नो मान्छेलाई बोर्डको अध्यक्ष बनाउने संघर्ष चलिरहेको छ ।
पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो ।
राजनीतिक शीर्ष नेतृत्व नै बोर्ड अध्यक्ष नियुक्तिमा खुलेर अघि आएपछि पाँच महिनादेखि अध्यक्ष नियुक्त हुन सकेको छैन ।
ओलीसँग ठोक्कियो विवाद
अहिले धितोपत्र बोर्डको अध्यक्ष कसलाई बनाउने भन्ने विषयलाई लिउर राजनीतिक दलका शीर्ष नेताहरूबीच नै प्रतिस्पर्धा चलिरहेको छ । अहिले विभिन्न व्यावसायिक घराना नै आफ्नो मान्छे बनाउनु पर्ने लविङ गर्दै नेताको दैलो चाहारिरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मान्छे अध्यक्ष बनाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई आग्रह नै गरेको स्रोतको दाबी छ । तर, अर्थमन्त्री पुनले उनको आग्रहलाई नमानेपछि ओलीले बजेटको नै विरोध गर्न सुरु गरेको बुझिएको हो । उनले आफ्नो मान्छे अध्यक्ष नभएमा वर्तमान गठबन्धनमा नै समस्या हुन सक्ने अभिव्यक्ति प्रधानमन्त्री र अर्थमन्त्री समक्ष राखेको बुझिएको छ ।
उसो त अध्यक्ष ओलीले नै शनिबार एक कार्यक्रममा आफूलाई ५ अर्ब रुपैयाँ खाएर बोर्डको अध्यक्ष राख्न लागेको भनेर हल्ला भइरहेको विषय सार्वजनिक गरेका छन् । हल्ला फैलाउने काम विरोधीहरुको भएको अध्यक्ष ओलीको भनाइ थियो । ओलीले सन्तोष नारायण श्रेष्ठलाई अध्यक्षमा चाहेको विषय बाहिर आएको छ ।
बोर्डको अध्यक्ष नियुक्तिको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि मुद्दा परेको छ । सो मुद्दामा पनि ५ अर्बको चलखेल हुन थालेको आरोप लागेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.