लघुवित्तका अध्यक्षसँग राष्ट्र बैंककाे हार, ईगो साँध्न गरिएको कारवाही आफ्नै लागि भारी

  २०८१ जेठ २३ गते १९:४४     सीआर भण्डारी

काठमाडौं । साविक मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेकबहादुर बोहराले न्याय पाएका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंक विरूद्धको मुद्दामा बोहराले न्याय पाएका हुन् ।

राष्ट्र बैंकले लघुवित्त संस्थाको सञ्चालक समेत बन्न नपाउने गरी बोहरालाई कारवाही गरेको थियो । राष्ट्र बैंकको सो कदम विरूद्ध बोहराले वि.सं २०८० भदौ २१ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए ।

बुधबार उच्च अदालतका न्यायाधिश अन्जु उप्रेती ढकाल र प्रकाश खरेलको संयुक्त इजालशले राष्ट्र बैंकको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाे हो ।

राष्ट्र बैंकले वि.सं २०८० असार ४ गते साविक मिर्मिरे लघुवित्तका अध्यक्ष हुँदा बोहरालाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम तपाईंलाई ५ लाख रुपैयाँ जरिवाना र ५ वर्षका लागि सञ्चालक बन्न नपाउने गरी कारबाही गरेको भन्दै पत्र काटेकाे थियाे । त्यसपछि उनी पदमुक्त भएका थिए ।

राष्ट्र बैंकको सो कदमप्रति असन्तुष्टि जनाउँदै उनी अदालत पुगेका थिए । अदालतको निर्णयपछि बोहराले नेपाल राष्ट्र बैंकको अपरिपक्क निर्णय भएको र ढिलै भएपनि न्याय पाएको प्रतिक्रिया दिए ।

‘नेपाल राष्ट्र बैंकको अपरिपक्क निर्णयलाई उच्च अदालत पाटनको आदेशबाट बदर भई ढिलै भएपनि न्याय पाएकोमा न्यायलयप्रति उच्च सम्मान छ,’ उनले भने, ‘अब क्षतिपूर्तिका लागि लड्नेछु ।’

राष्ट्र बैंकले यसअघि लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रहेका कार्यकारी निर्देशक रेवति प्रसाद नेपाललाई इन्टर्नल अडिट डिपार्टमेन्टमा सरुवा गरिसकेको छ भने कार्यकारी निर्देशक बिमल राज खनाललाइ लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेजारी दिएको छ ।

सम्बन्धित सामग्री : राष्ट्र बैंकको ईडी र सीईओको साँठगाँठले अध्यक्ष पद खोसियो !