अरुण चौधरी पक्राउ, मुछिएका छन् विनोद चौधरी पनि

<p>काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो । सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सिजी होल्डिङ्सका अध्यक्ष चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा सीआईबीले अनुसन्धान [&hellip;]</p>

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सिजी होल्डिङ्सका अध्यक्ष चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा सीआईबीले अनुसन्धान गर्दा सिजी ग्रुप मुछिएकोले अरुण पक्राउ परेका हुन् ।

यस्तै, सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापालाई पनि पक्राउ गरेको छ । उनलाई सीआईबीले काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

मुछिएका छन् विनोद चौधरी 

सरकारी जग्गा हिनामिना प्रकरणमा उद्योगी तथा सांसद विनोद चौधरी पनि मुझिएका छन् । सिजी ग्रुपका अध्यक्ष विनोद र सिजी होल्डिङ्सका अध्यक्ष अरुण दाजुभाई हुन् । उनीहरूको मिलेमतोमा सो जग्गा हडपेको अनुसन्धानबाट खुलेको छ ।

सिआईवीले दुवै दाजुभाइलाई सँगै पक्राउ गर्ने योजना बनाए पनि सुरुमा अरुण पक्राउ परेका हुन् । सीआईबी स्रोतका अनुसार विनोद चौधरी पनि अहिले सिआईवीको निगरानीमा छन् । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य र संघीय संसदकाे सदस्य पनि हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसै साता मात्र भ्रष्टाचारको मुद्दामा ठूला माछा समाउन लागेको बताएका थिए ।

‘अरुणसँगै विनोद चौधरीकै नाममा पनि सरकारी जग्गा भेटिएको छ, सरकारी जग्गा हिनामिना गर्ने सबैलाई अनुसन्धानको दायरामा ल्याउँछौं, सोही अनुरूप हामीले विभिन्न व्यक्तिमाथि निगरानी गर्ने क्रममा विनोद र अरुण चौधरी पनि रहेका छन्, दुवै जनाको निगरानीमा हामी थियौं, सोही अनुरुप अरुण पक्राउ परेका हुन्, अन्यको पनि खोजी कार्य भइरहेको छ,’ सीआईवी स्रोतले भन्यो ।

सिजी ग्रुपले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी गरिरहेको छ । निकै सस्तोमा सरकारी जग्गा सिजी ग्रुपले आफ्नो नाममा ल्याएको बुझिएको छ ।

के हो प्रकरण ?

सरकारले सञ्चालन गरिरहेको बाँसबारी छाला तथा जुत्ता कारखाना लगातार घाटामा गएपछि कारखानाको ८३ रोपनी जग्गामध्ये १० रोपनी जग्गा बिक्री गर्ने निर्णय गर्‍यो । त्यतिबेला सो १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेड नामको कम्पनीले खरिद गर्‍यो।

बाँसबारी छाला तथा जुत्ता कारखानाको तत्कालीन सञ्चालक समितिको बैठकले प्रतिरोपनी २ लाख ५० हजारका दरले कूल २५ लाख रुपैयाँमा जग्गा बिक्री गर्यो । तर, कारखानाले पैसाभन्दा पनि च्याम्पियन फुटवेयर लिमिटेडको प्रतिसेयर १ हजार रुपैयाँका दरले २५ सय कित्ता सेयर पायो । अब बाँसबारीको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा आयो ।

त्यो च्याम्पियन फुटवेर थियो तिनै उद्योगी विनोद चौधरीको । उनले २५ लाखमा १० रोपनी जग्गा पाएका थिए । उनले राजनीतिक तथा प्रशासनिक निकायलाई प्रभावमा पारेर सो जग्गा आफ्नो हातमा पार्न सफल भएको अनुसन्धानले देखाएको छ । सुरुमा सो च्याम्पियन फुटवेर कम्पनीको सेयरधनीमा विनोद कुमार चौधरी, अरूण चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए । तर, अहिले भने सो कम्पनी अरुण चौधरी र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा छ ।

थापा नेतृत्वको तत्कालीन सञ्चालक समिति नै चौधरी ग्रुपलाई १० रोपनी जग्गा दिन लागिपरको अनुसन्धानबाट खुलेको छ । तत्कालीन दरबारका साथसाथै उच्चपदस्थ अधिकारीलाई मिलाएर उक्त जग्गा कब्जा गरेको देखिएको सीआईबीको भनाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको बुझिएको छ ।

Share News