विद्युत् खरिदबिक्री तत्काल खुला गर्न इप्पानकाे माग

  २०८० जेठ २२ गते १४:२२     विकासन्युज

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले विद्युत् खरिद बिक्री तत्काल खुलाउन माग गरेको छ । इप्पानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विगत केही वर्षदेखि रोकिएकाे विद्युत् किनबेच खुलाउन माग गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि उर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएर लगानीको वातावरण बनेको भन्दै इप्पानले प्रधानमन्त्री मार्फत् उर्जामन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विशेष निर्देशन दिनको लागि माग गरेको हो । भारतले १० वर्षमा १० हजार मेगावट जलविद्युत किन्ने सहमति गरिसकेकाे अवस्थामा नयाँ उत्पादनलाई प्राेत्साहित गर्न नयाँ पीपीए खुला गर्नु पर्ने माग गरेकाे हाे ।

त्यस्तै, इप्पानले प्रधानमन्त्रीको जेठ २० गतेसम्म भएको भारत भ्रमणको क्रममा उर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरुकाे स्वागत गरेकाे छ ।  भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबाट नेपाल-भारत विद्युत् व्यापारको लागि महत्वपूर्ण बुटवल-गोरखपुर ४०० केभी प्रसारणलाइनको सिलान्यास, फुकोट कर्णाली ४८० मेगावाट जलविद्युत् परियोजना विकास सम्बन्धी समझदारी पत्र, तल्लोअरुण ६६९ मेगावाटको जलविद्युत् परियोजना विकास सम्झौता भएको छ ।

यसैगरी, नेपालभित्र विद्युत् प्रसारण लाइन निर्माणको लागि एक्जिम बैंक ईण्डीयाबाट सहुलियतपूर्ण प्राप्त कर्जाको उपयोग, नेपालमा निर्माणाधीन जलविद्युत् सडक जस्ता ठूला पूर्वाधार आयोजनामा मब आवस्यक विष्फोटक पदार्थको सहज र सरल आपूर्ती मज्नेश्वर बहुउदेश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिबदन (डिपिआर) लाई ३ महिना भित्र अन्तिमरुप दिने र वित्तीय प्रबन्ध सहित दुबै सरकारले डीपीआर स्वीकृत गरेपछि एक वर्ष भित्रमा कार्यान्वयनमा जाने जस्ता उजां क्षेत्रमा भएका महत्वपूर्ण सम्झौताहरु भएका छन् ।

साथै, विभिन्न जलविद्युत् आयोजनाहरुमा भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि प्रसारणलाईन लगायतका संरचनाहरुको निर्माण गर्ने, भारततर्फ उर्जाको दीर्घकालीन व्यपारको लागि वैधानीक आधार सुनिश्चित गर्ने, भारतीय भूमि हुँदै बंगलादेशसम्म नेपालबाट विद्युत् नियतको शुरुवात गर्न सैद्धान्तिक सहमती भई त्रिपक्षिय सम्झौताको लागि प्रकृया अगाडि बढाउने सहमति भएको छ । त्यस्तै, भारतका प्रधानमन्त्रीले नेपालबाट १० वर्षमा १० हजार मेगाबाट बिजुली खरिद गर्ने लक्ष्य रहेको बताएका छन् ।

त्यस्तै, इप्पानले आगामी जेठ ३२ गते बिहान ९ बजे आफ्नो २१औं वार्षिक साधारणसभा हायात रिजेन्सी होटलमा बोलाएको छ । उक्त सभाको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका छन् ।

साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्ने भएकोले निर्वाचन प्रकृयामा भाग लिनको लागि यहि २५ गते भित्र सदस्यता नविकरण र नयाँ सदस्यता लिन समेत इप्पानले सबै उर्जा उद्यमीलाई अनुरोध गरेको छ । हालसम्म करिब १६५ आयोजनाहरुले नयाँ सदस्यता लिएका छन् भने करिब १५० पुराना सदस्यहरु नविकरण भएका छन् । सदस्यता लिने क्रमलाई सहज बनाउन कार्यसमितिको जेठ २१ गतेको बैठकबाट आयोजनाहरुले सदस्यता आवेदनसँगै सदस्यता शुल्क जम्मा गर्नसक्ने निर्णय गरेको इप्पानले जानकारी गराएको छ ।

सम्बन्धित समाचार

इप्पानको अध्यक्षमा गणेश कार्कीको उम्मेदवारी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.