नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोकियो

  २०८० वैशाख २९ गते ८:१७     विकासन्युज

काठमाडौं । मन्त्रीपरिषदको निर्देशन पछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोकेको छ । गत बुधबार बसेको मन्त्रीपरिषदको बैंठकले निर्देशन दिएसँगै तत्काल नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोकिएको हो ।

सेबोनले नयाँ स्टकको लाइसेन्स वितरणका लागि आवेदनहरु अध्ययन गर्न समीति नै बनाइसकेको छ । सो समितिले आवेदनहरु अध्ययन थालनि गरिसकेको छ । नयाँ स्टकका लागि हिमालयन, नेशनल र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका छन् ।

तर, मन्त्रीपरिषदको निर्देशनले तत्काल प्रक्रिया रोकिएको बोर्ड स्रोतले बताएको छ । मन्त्रीपरिषदको बैठकले बुधबार निर्णय गरेको भएपनि जानकारी भने बिहीबार मात्रै गराएको बोर्ड स्रोतले बतायो । बिहीबार मौखिक जानकारी आएपनि शुक्रबार पत्र नै पठाइनेछ ।

सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनीको लाइसेन्स वितरण गर्न बोर्डलाई बाटो खुलेको थियो । धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो ।

बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर, उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन खुला गरेको थियो ।

धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बोर्डले बताउँदै आएको छ । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.