बैंकले बचतकर्ताको रकम फिर्ता गर्नै नसके राष्ट्र बैंकले सुविधा दिने, यी ७ अवस्थामा पाइन्छ सहुलियत

  २०७९ फागुन २८ गते २०:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा सम्बन्धि विनियमावली जारी गरेको छ । राष्ट्र बैंकले अन्तर बैंकिङ बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र तत्कालको दायित्व पुरा गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरुलाई लक्षित गर्दै यो विनियमावली जारी गरेको हो ।

राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा प्रदान गर्नका लागि विभिन्न सीमाहरु तोकेको छ । बचतकर्ताको निक्षेपको दायित्व तिर्न नसक्ने, कर्जा दिन नसक्ने  र संस्थामा परेको समस्या समग्र अर्थव्यवस्थामा पर्न गएमालगायतका अवस्थामा राष्ट्र बैंकले सो सुविधा दिने गरी विनियमावली ल्याएको छ ।

अन्तिम ऋणदाता सुविधाको रूपमा प्रदान गरिने ऋणको ब्याजदर प्रचलित बैंक दरमा २ प्रतिशत बिन्दुले पेनाल दर थप हुने गरी प्रदान गरिने उल्लेख छ । अन्तिम ऋणदाता सुविधा उपयोग गर्ने इजाजतपत्रप्राप्त संस्थालाई तोकिएका शर्तहरूको अनुपालना भए/नभए सम्बन्धमा नियमित अनुगमन गरिने बताइएको छ ।

यी ७ अवस्थामा पाइन्छ सुविधा

– इजाजतपत्रप्राप्त संस्थाले अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था भएमा ।

– इजाजतपत्रप्राप्त संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पूरा गर्न नसकने अवस्था भएमा ।
ठूलो परिमाणको निक्षेप भुक्तान भई वा भुक्तान गर्नुपर्ने अवस्था आई इजाजतपत्रप्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व पूरा गर्न सक्षम नभएमा ।

– इजाजतपत्रप्राप्त संस्थाले प्रतिवद्धता जनाईसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थव्यवस्थामा पर्ने भएमा ।

– कुनै एक इजाजतपत्रप्राप्त संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्था धरासायी हुने गरी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आएमा ।
इजाजतपत्रप्राप्त संस्था आफ्नो वित्तीय दायित्व पूरा गर्न असमर्थ भएको कारण बैंकिंग प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने भएमा ।

-प्राकृतिक प्रकोपको कारण इजाजतपत्रप्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व भुक्तान गर्न नसक्ने नभएमा ।

– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण सिर्जित असहज अवस्थाबाट इजाजतपत्रप्राप्त संस्था आफ्नो तत्कालको दायित्व पूरा गर्न असमर्थ भएमा ।

– इजाजतपत्रप्राप्त संस्थाले आफ्नो दायित्व पूरा गर्न समर्थ नभएमा र त्यस्तो संस्था खारेजीमा लैजाँदा अर्थव्यवस्था तथा वित्तीय प्रणालीमा चुनौती सृजना हुन सक्ने भएमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.