उद्योगी व्यवसायीलाई बैंकहरु नचाहिएको हो ? निजी क्षेत्र किन मौन ?

  २०७९ फागुन २३ गते १०:४३     सन्तोष रोकाया

काठमाडौं । केही साताअघि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को वार्षिक साधारणसभा कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकहरु व्यवसायीलाई नचाहिने तर्क राखे । उनले कार्यक्रममा सार्वजिनक रुपमै भने, ‘बैंकहरुले नाफा मात्रै हेरे, व्यवसायीहरुलाई समस्या परेको बेला झन चर्को ब्याज लिए, अब व्यवसायीहरुले आफै कोष खडा गरेर त्यही कोषबाट लगानी गरौं, बैंकबाट ऋण लिएर व्यवसाय विस्तार गर्न छोडौं ।’

उनको यो अभिव्यक्तिले उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाप्रति कति आक्रोशित छन् भन्ने जनाउँछ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका एनआइसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघाई पनि बैंकविरुद्द नै सडकमा उत्रिए । उनले उद्योगी व्यवसायीहरुले कर्जामा लिने ब्याजदर उच्च भएको भन्दै बैंकहरुको विरोध गर्दै सडकमा कालो झण्डा लिएर उभिए ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका नेतृत्वले सार्वजनिक रुपमै बैंकको उच्च ब्याजदरको विषयमा विरोध जनाउँदै आएको विषय नौलो होइन । उनीहरुले बैककको उच्च ब्याजदरको विषयमा विरोध गर्दै आएका थिए र छन् पनि । उनीहरुले शिर्ष राजनीतिक नेतृत्वलाई समेत भेटेर बैंकको व्याजको कारण आफुहरुले भोग्नु परेको समस्याको विषय पनि राजनीतिक नेतृत्व र पार्टीसमक्ष राखे ।

तर, अहिले ती घटनाक्रम र अभिव्यक्तिहरुले अर्कै रुप लिन थालेको छ । कतै ‘नो डिपोजिट’ का अभियान त कतै कालोमोसो दल्ने चर्चा छ । अराजक व्यवसायी दुर्गा प्रसाईको प्रशय र उनको अभिव्यक्तिहरुको लहैलहैमा लागेर देशमा विभिन्न ठाउँमा विभिन्न किसिमका घटनाहरु हुन थालेका छन् । जसले बैंकिङ क्षेत्रलाई त्रासपूर्ण वातावरण सिर्जना गरेको छ । बैंकरहरुलाई जहाँ भट्यो त्यही कालोमोसो दल्ने दुर्गा प्रसाईंहरुको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्र त्रासमा छ ।

प्रसाईंले एउटा अभियान नै चलाएर बैंकको सावाँ ब्याज नतिर्न सबैलाई आव्हान गरिरहेका छन् । उनले सार्वजनिक कार्यक्रममै बैंकरलाई ‘जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्नु’ भन्दै समाज भड्काउने गलत अभिव्यक्ति दिइरहेका छन् । उनको अभिव्यक्तिको प्रशय पाउँदै बुधबार जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि अज्ञात समूहद्वारा कालोमासो पनि दलियो ।

पूर्वदेखि पश्चिमसम्म बैंकविरोधी अभिव्यक्ति दिइरहेका प्रसाईंले एउटा संयन्त्र नै खडा गरेर लागिरहेका छन् । उनले झापामा मात्रै २ सय जनालाई परिचालन गरेको बताउँदै आएका छन् । प्रसाईंको बोलीको प्रशय पाउँदै कैलालीमा पनि बैंक तथा वित्तीय संस्थाविरुद्ध ‘नो डिपोजिट’ अभियान सुरु भयो ।

बैंक तथा वित्तीय संस्थाको विरोध गर्दै कैलालीका उद्योगी व्यवसायीहरुले बैंकका शाखा कार्यालयमा धर्ना दिनुका साथै ‘नो डिपोजिट’ अभियान सुरु गरेका छन् । कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले बैंक तथा वित्तीय संस्थाको चर्काे ब्याजदर र राष्ट्र बैंकको अव्यवहारिक नीतिका विरुद्ध नो डिपोजिट अभियान चलाएको बताए ।

‘बैंकको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिविरुद्ध उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश, विभिन्न वस्तुगत संघहरु लगायत व्यवसायीहरुको आव्हानमा सांकेतिक बिरोध स्वरूप ‘नो डिपोजिट’को कार्यक्रम आयोजना गरिएको छ, यो अभियान अझै चर्किन सक्छ,’ उनले भनेका छन् ।

बैंकर र उद्योगी व्यवसायी एक अर्काका परिपरिपुरक हुन् । तर, अहिले व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको अस्तित्वमै प्रश्न उठ्ने खालका गतिविधिहरु गरेर बैंकरलाई नङ्ग्याउने खेल खेलिरहेका छन् । त्यसको त्रासमा बैंकर्सले संयुक्त विज्ञप्ति नै जारी गरेर बैंकविरुद्दका अराजक गतिविधि गर्नेलाई कारवाही गर्नु पर्ने माग राखेका छन् ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरेर बैंक तथा वित्तीय संस्था र लघुवित्तबाट ऋण लिएर कर्जा तिर्दैन भन्नु अराजक गतिविधि भएको भन्दै यस्ता अराजक गतिविधि गर्नेलाई कारवाही हुनु पर्ने माग राखेका हुन् । गृह मन्त्रालयले पनि यस्ता अराजक काम गर्नेलाई तत्काल कारवाही गर्न सबै जिल्ला प्रशासनहरुलाई परिपत्र जारी गरिसकेको छ ।

निजी क्षेत्र किन मौन ?

देशव्यापी रुपमा उश्रृंखल र अराजक गतिविधि बढ्दा पनि निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स लगायत संस्था भने मौन छन् । बैंकमा नो डिपोजिट अभियान सञ्चालन गर्ने कैलाली उद्योग वाणिज्य संघ महासंघको सदस्य हो । तर, महासंघले यस्तो अराजक गतिविधि नगर्न आफ्नो सदस्यलाई कुनै आग्रह गरेको छैन भने बैंकरलाई कालोमोसो दल्नु पर्ने अभिव्यक्ति दिनेहरुमाथि पनि यी छाता संस्थाहरुले कुनै एक्सन लिन सकेका छैनन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले भने पटक–पटक यस्ता गतिविधि नगर्न आफ्ना सदस्यहरुलाई मौखित तथा लिखित रुपमा जानकारी गराएको बताए । उनले बैंकको ऋण तिर्दिन भन्नु, बैंकरलाई कालोमोसो दल्छु भन्नु र बैंकविरुद्दका अभियान सञ्चालन गर्नु अराजकता भएको बताउँदै यस्तो कार्य नगर्न पनि आफ्ना सदस्यहरुलाई आग्रह गरेको बताए ।

‘परिसंघ यस्ता विषयमा सजग छ, हामीले विभिन्न समयमा यस्ता गतिविधि गर्नु हुँदैन भनेर विज्ञप्ति पनि जारी गरेका छौं, कर्जा अर्थतन्त्रको फाउन्डेशन हो, ऋण तिर्दिन भन्न मिल्दैन, बैंकिङ क्षेत्र र उद्योग व्यवसाय क्षेत्र एकअर्काका परिपुरक हुन्,’ उनले भने । यस्तै, यस्ता खालका गतिविधिमा कसैले पनि प्रशय दिन नहुने उनको भनाइ छ ।

केही साताअघि बैंकले उद्योगी व्यवसायीलाई समस्या पारेकोले बैंकबाट ऋण लिनै नहुने बताउने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले पनि उद्योगी व्यवसायीले अराजकता प्रदर्शन गर्न नहुने. बताएका छन् । बैंकिङ क्षेत्रबिना अर्थतन्त्र चलायमान नहुने बताउँदै उनले बैंकको अस्तित्वमाथि नै प्रश्न उठ्ने खालका गतिविधि नगर्न आग्रह गरे ।

‘हामी सबैले ऐन नियमभित्र बस्नु पर्छ, समस्या परेको बेला एकअर्कालाई सहयोग गर्दै अगाडि बढ्नु पर्छ, बैंकको ऋण तिर्दिन भन्नु गलत हो, तिर्नु पर्छ, तर बैंकहरुले पनि बढी ब्याज लिनु भएन, माटो सुहाउँदो ब्याजदर कायम गर्नु पर्छ,’ उनले विकासन्युजसँग भने । उनले पनि बैंकविरुद्द भइरेको अराजक गतिविधिमा आफुहरुले बढावा नदिने बताए ।

महासंघले अहिलेको बैंक तथा वित्तीय संस्था विरुद्द भइरहेको विषयमा मौन बस्दा बैंकरहरुले पनि छाता संस्थाहरुप्रति नै एक किसिमको संशय पैदा गरेका छन् । सदस्य संस्था तथा व्यक्तिले खुलेआम रुपमा बैंक तथा वित्तीय संस्थाको ऋण तिर्दिन, बैंकरलाई कालोमासो दल्छु भन्ने लगायतका गलत अभिव्यक्ति दिँदा उद्योगी व्यवसायीका छाता संस्था यस्तो अवस्थामा पनि मौन बस्दा बैंकहरुले यस विषयमा शंका गर्नु स्वभाविक हो ।

तर, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा भने यस्ता गतिविधिको महासंघ विरोध गर्ने बताउँछन् । ‘अहिले हामी जटिल अवस्थामा छौं, त्यसमाथि पनि बैंकको ऋण तिर्दिन भन्न मिल्दैन, यस्तो गतिविधिको महासंघले विरोध गर्छ, संस्थागत रुपमा यस्तो गर्ने भनेर निर्णय भएको छैन,’ उनले भने ।

अहिले देखिएका समस्या समाधानका लागि भने बैंकहरुले पनि केही खुकुलो बन्नु पर्ने अवस्था रहेको उनको भनाइ छ । ‘अहिलेको मख्य समस्या भनको उच्च ब्याजदर र तरलताको समस्या हो, खराबकर्जा बढ्दै गइरहेको छ, यही रेसियोमा खराब कर्जा बढ्यो भने चालू आर्थिक वर्षको अन्त्यसम्म विषम् परिस्थिति बन्न सक्छ, त्यसले अर्कै किसिमको दुर्घटना निम्त्याउन सक्छ, यस्ता खालका समस्या आउन नदिन अहिले नै समस्याको समाधान गर्न लाग्नु पर्छ,’ उनले भने ।

कार्यदल पनि गठन

राष्ट्र बैंकले समेत बैंकको ऋण तिर्दिन भन्न नमिल्ने धारणा राखिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा पनि सर्वसाधारणकै पैसा हुने भएकोले ऋणाीले ऋण तिर्दिन भन्न नमिल्ने राष्ट्र बैंकको भनाइ छ ।

पछिल्लो समय देखिएका विभिन्न समस्याको पहिचान तथा समाधानका लागि राष्ट्र बैंकले कार्यदल पनि गठन गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको विद्यमान अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको हो ।

राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ । सो समितिको सदस्यमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष, २ जना स्वतन्त्र विज्ञ र ४ जना राष्ट्र बैंकका उच्च अधिकारीहरु छन् । उक्त समितिले ६ महिनाभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । लघुवित्त क्षेत्रमा देखिएका विद्यमान समस्या, नीतिगत व्यवस्थामा रहेका समस्या र मध्यम तथा दीर्घकालीन समस्या समाधानका विषयमा अध्ययन गरेर राष्ट्र बैंकलाई बुझाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.