नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न प्राधिकरणको निर्देशन

  २०७९ फागुन १५ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न निर्देशन दिएको छ । प्राधिकरणले सोमबार एक पत्र काट्दै इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्मा र सञ्चालक विष्णु खेतान अग्रवालको कार्यकाल नथप्न सञ्चालक समितिलाई निर्देशन दिएको हो ।

इन्स्योरेन्स सञ्चालक समितिले गत जेठ ३० गते दुबै सञ्चालकको कार्यकाल थप्ने निर्णय गरेको थियो । यता बीमा प्राधिकरणले पनि मर्जरमा जाने सहमति अनुसार उनीहरुको नियुक्तिलाई स्वीकृति दिएको थियो । तर अब कम्पनी मर्जरमा नजाने भएसँगै प्राधिकरणले उक्त नियुक्तिलाई पुनर्विचार गर्न सञ्चालक समितिलाई पत्राचार गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘मर्जरमा जानको लागि सुविधा दिएका थियौं, अब मर्जरमा नजाने भएसँगै सञ्चालक समितिलाई नै निर्णय गर्न पत्र काटेका हौं,’ कार्यकारी निर्देशक पौडेलले भने ।

यसअघि नेपाल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने तयारीमा थिए । तर नेपाल इन्स्योरेन्स भने उक्त निर्णयबाट पछि हट्यो भने आईएमई लाइफ इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्जरमा जान प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

बीमा ऐन २०७९ अनुसार कम्पनीका अध्यक्ष तथा सञ्चालकको कार्यकाल ४ वर्षको हुने र आवश्यक परेमा थप एक कार्यकालको लागि पुनः नियुक्त गर्न सकिने व्यवस्था छ । इन्स्योरेन्सका अध्यक्ष शर्मा २०७३ साल साउन १४ गते कम्पनीको अध्यक्ष पदमा नियुक्त भएका थिए । त्यस्तै, सञ्चालक अग्रवाल २०७४ साल कार्त्तिक ६ गते इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.