युनाइटेड इन्स्योरेन्सबाट बाहिरिइन् सीईओ पौडेल, हिमालयन रिको डेपुटी सीईओ बन्दै

  २०७९ कार्तिक २७ गते १७:५५     विकासन्युज

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट उपासना पौडेल बाहिरिएकी छिन् । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेसँगै पौडेल कम्पनीबाट बाहिरिएकी हुन् ।

कम्पनी सञ्चालक समितिको बैठकले कार्त्तिक २८ गतेदेखि लागू हुने गरी पौडेलको राजिनामा स्वीकृत गरेको हो । साथै, सोही मितिदेखि लागू हुने गरी कम्पनीको निमित्त कार्यकारी अधिकृतमा नबिन सुबेदीलाई नियुक्त गरिएको छ । सुबेदी कम्पनीको महाप्रबन्धक समेत हुन् ।

२०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै बाहिरिएकी हुन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई एक कार्यकालको लागि भन्दै २०७८ बैशाख १६ गते सीईओ पदमा नियुक्त गरेको थियो । तर उनले करिब डेढ वर्ष अघि नै राजिनामा दिएकी छिन् ।

हिमालयन रिइन्स्योरेन्समा राम्रो अफर पाएसँगै पौडेलले युनाईटेड इन्स्योरेन्सबाट राजिनामा दिएकी श्रोतले जनाएको छ । यससँगै उनी नेपालको दोश्रो पुनर्बीमा कम्पनी अर्थात हिमालयन रिमा डेपुटी सीईओको रुपमा जाँदै छिन् ।

पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । युनाईटेडको सीईओ बन्नुअघि उनले सोही कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।

भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.