काठमाडौं । धेरै विद्यार्थीहरुको अध्ययनमा प्राथमिक रोजाईको विषयमा बन्दै आएको इन्जिनियरिङ शिक्षामा पछिल्लो समय विद्यार्थीको अभाव हुन थालेको छ । पछिल्लो वर्षमा इन्जिनियरिङ अध्यापन गराउने कलेजहरुमा ५० प्रतिशत सम्म विद्यार्थी कमि भएको कलेज सञ्चालकहरुले बताएका छन् । विद्यार्थीहरुको आकर्षण विदेशतर्फ बढी भएकाले इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्यामा कमी भएको कलेज सञ्चालकहरुको भनाइ छ ।
पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन लिएर विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको काठमाडौं सितापाइलामा रहेको एक्मी इन्जिनियरिङ कलेजको बिई सिभिल तर्फको क्षमता १४४ जनाको हो । तर, पछिल्लो वर्षमा जम्मा ६२ जना विद्यार्थी मात्रै भर्ना भएर अध्ययन गरिरहेको कलेजका प्रिन्सिपल प्रदिपकुमार पौड्यालले विकासन्युजलाई बताए ।
प्रिन्सिपल पौड्यालका अनुसार पछिल्लो समयमा त्रिभुवन विश्वविद्यालयका १/२ कलेजमा बाहेक अन्य कलेजमा इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्या झण्डै ५० प्रतिशतले घटेको छ ।
काठमाडौं पुतलीसडकमा रहेको हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा पछिल्लो वर्ष बिइ सिभिल अध्ययन गर्नको लागि भर्ना भएका ९६ जना विद्यार्थी मध्ये १६ जना विद्यार्थीले पढाईलाई बीचमा नै छाड्ने काम गरे । कलेजका प्रिन्सिपल तोयानारायण पौडेलका अनुसार पढाइ छाडेका ती विद्यार्थीहरु सबै अस्ट्रेलिया गए ।
त्यस्तै, काठमाडौं नयाँ बानेश्वरमा रहेको हिस्ट इन्जिनियरिङ कलेजका प्रिन्सिपल बिनोद श्रेष्ठले पछिल्लो समयमा कलेजमा इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्या ५० प्रतिशतले घटेको बताए । प्रिन्सिपल श्रेष्ठका अनुसार इन्जिनियरिङ पढाई हुने धेरै कलेजमा विद्यार्थीको अभाव हुँदै गएको छ । विद्यार्थी अभावको कारण कतिपय कलेज बन्द हुने अवस्थामा पुग्न सक्ने उनको भनाइ छ ।
सगरमाथा इन्जिनियरिङ कलेजका सहायक प्रिन्सिपल अरुण पराजुलीले आफ्नो कलेजमा विद्यार्थीको संख्यात्मक प्रभाव नदेखिएको बताए । तर, इलेक्ट्रोनिक इन्जिनियर विषयमा भने पछिल्लो समयमा विद्यार्थीको आकर्षण घटेको उनको भनाइ छ । साथै उनले पछिल्लो समयमा विद्यार्थीले कम मेहनत गरेर पढ्न खोज्ने समस्या देखिएको बताए ।
किन कमी भयो विद्यार्थीको संख्या ?
एक्मी इन्जिनियरिङ कलेजका प्रिन्सिपल पौड्यालले पछिल्लो वर्षमा ठुलो संख्यामा विद्यार्थी अस्ट्रेलिया गएका कारणले नेपालका कलेजहरुमा इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्यामा कमि देखिएको हुनसक्ने अनुमान रहेको बताए । साथै उनले मुलुकमा इन्जिनियरिङ पढेका विद्यार्थीले समेत रोजगार पाउने अवस्था नभएकाले पछिल्लो समयमा इन्जिनियरिङ पढाईमा पनि विद्यार्थीको आकर्षण नरहेको बताए । यो वर्ष ठूलो संख्यामा विद्यार्थीहरु अस्ट्रेलिया गएकाले पनि इन्जिनियरिङ पढ्ने विद्यार्थीको संख्यामा प्रभाव परेको उनले बताए ।
हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तोयानारायण पौडेलका अनुसार भने नेपालको राजनीतिक अस्थिरता र विश्वविद्यालयको शैक्षिक क्यालेण्डरका कारणले विद्यार्थीहरुले नेपालमा आफ्नो नदेख्ने अवस्था सिर्जना भएको छ । जसकारणले विद्यार्थीहरुको पहिलो रोजाइ विदेश बन्न पुगेको उनको भनाइ छ ।
हिस्ट इन्जिनियरिङ कलेजका प्रिन्सिपल बिनोद श्रेष्ठले विश्वविद्यालयहरुले इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्नको लागि निर्धारित गरेको जिपिए स्कोरको मान्यताको कारणले धेरै विद्यार्थीहरुले नेपाली विश्वविद्यालयमा पढ्न नपाएको बताए । त्यस्तै विश्वविद्यालयहरुले जथाभावी रुपमा कलेजहरुलाई सम्बन्धन दिएकाले पनि प्राविधिक विषय पढाउँदै आएका कलेजमा विद्यार्थीको अभाव देखिन लागेको उनको भनाइ छ ।
जिपिए ग्रेडिङको कारणले नेपालमा इन्जिनियरिङ पढ्न नपाएका विद्यार्थीहरु ठूलो संख्यामा भारतका विभिन्न विश्वविद्यालयमा गएर पढ्ने गरेको प्रिन्सिपल श्रेष्ठले बताए ।
समस्याको समाधान के ?
पछिल्लो समयमा विश्वविद्यालयहरुले कलेजमा प्राविधिक विषय पढाउनको लागि आवश्यक पूर्वाधार जनशक्ति बिना नै सम्बन्धन बाँड्ने कुरालाई रोक्नुपर्ने हिस्ट इन्जिनियरिङ कलेजका प्रिन्सिपल बिनोद श्रेष्ठको भनाइ छ । जथाभावी सम्बन्धन बाँड्ने कुराले अध्ययनको गुणस्तरमा कमी आउने भन्दै उनले कतिपय सरकारी कलेजमा सम्बन्धन लिएर पढ्ने विद्यार्थीको संख्यामा कमी भएपछि पढ्नको लागि मात्रै आफ्नो कलेजमा आएको बताए ।
हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तोयानारायण पौडेल शैक्षिक क्षेत्रमा देखिएको गलत राजनीति नै शिक्षा क्षेत्रको मुख्य समस्या भएको बताउँछन् । शैक्षिक क्षेत्रमा देखिएको गलत प्रवृत्तिको राजनीति बन्द गर्नुपर्ने उनको भनाइ छ । साथै विश्वलाई चाहिने प्रकारको समसामयिक शैक्षिक पाठ्यक्रमको नियमित रुपमा विकास गर्ने कुरामा नेपालका विश्वविद्यालयहरु चुकेको भन्दै त्यसमा सुधार हुनुपर्ने पौडेलले बताए ।
सगरमाथा इन्जिनियरिङ कलेजका सहायक प्रिन्सिपल अरुण पराजुलीले पनि लामो समयदेखि विश्वविद्यालयहरुले पाठ्यक्रमको अपग्रेड नगर्ने समस्या रहेकोले त्यसलाई सच्याउनुपर्ने बताए । विश्वविद्यालयहरुले समयमा नै परिक्षा लिने र नतिजा प्रकाशनको व्यवस्था गरिदिएमा पनि बाँकी व्यवस्थापन आँफुहरुले गर्न सक्ने एक्मी इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्रदिपकुमार पौडेलको भनाइ छ ।