काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै आंगिक क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ । त्रिवि शिक्षाध्यक्ष कार्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै आंगिक क्याम्पस प्रमुखलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।
निर्देशनालयका उपप्रशिक्षक सन्देश कुमार रेग्मीद्वारा जारी पत्रमा शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रमा दलीय हस्तक्षेपका कारण विद्यार्थीको वास्तविक आवाज कमजोर बनेको तथा शैक्षिक गुणस्तरमा समेत असर परेको निष्कर्ष निकाल्दै ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने र ९० दिनभित्र ’स्टुडेन्ट काउन्सिल’ वा ’भ्वाइस अफ स्टुडेन्ट’ प्रणाली विकास गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको उल्लेख छ ।
सोही निर्देशन कार्यान्वयनका लागि त्रिविले आफ्ना सबै आंगिक क्याम्पसलाई आवश्यक प्रक्रिया अघि बढाई यथाशीघ्र जानकारी विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन अनुरोध गरेको छ ।
शिक्षा मन्त्रालयले सार्वजनिक शिक्षामा राजनीतिक हस्तक्षेप न्यूनीकरण गर्दै विद्यार्थीको स्वतन्त्र प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ यस्तो व्यवस्था अघि बढाएको हो ।
त्रिविको पछिल्लो निर्देशनसँगै अब आंगिक क्याम्पसहरूमा दलीय विद्यार्थी संगठनका कार्यालय तथा संरचना हटाउने प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ ।
