बीमाशुल्कमा नेको, सिद्धार्थ र एनएलजीबीच टक्कर, शिखर र सगरमाथाको अग्रता कायमै

<p>काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका ५ वटा इन्स्योरेन्स कम्पनीले कूल १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । शिखर, सगरमाथा, नेको, सिद्धार्थ र एनएलजी इन्स्योरेन्स गत आर्थिक वर्ष २०७८/७९ मा सो मात्राको बीमाशुल्क संकलन गरेका हुन् । जुन अघिल्लो वर्षको तुलनामा १९.४८ प्रतिशतले बढी हो । यी कम्पनीले अघिल्लो आर्थिक [&hellip;]</p>

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका ५ वटा इन्स्योरेन्स कम्पनीले कूल १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । शिखर, सगरमाथा, नेको, सिद्धार्थ र एनएलजी इन्स्योरेन्स गत आर्थिक वर्ष २०७८/७९ मा सो मात्राको बीमाशुल्क संकलन गरेका हुन् ।

जुन अघिल्लो वर्षको तुलनामा १९.४८ प्रतिशतले बढी हो । यी कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कुल १३ अर्ब ३५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।

हाल निर्जीवन बीमा क्षेत्रमा कुल २० वटा कम्पनीले व्यवसाय गर्दै आएका छन् । जसमध्ये शीर्ष ५ स्थानमा क्रमशः शिखर, सगरमाथा, नेको, सिद्धार्थ र एनएलजी रहेका छन् । यी कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ देखि २७ प्रतिशतसम्म बीमाशुल्क वृद्धि गरेका छन् ।

जसमध्ये बढी बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्सको अग्रता कायमै छ । इन्स्योरेन्सले निर्जीवन बीमा क्षेत्रमा हालसम्मकै सर्वाधिक प्रिमियम संकलन गरेको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा ५ अर्ब १ करोड रुपैयाँ बढी बीमाशुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो वर्ष ३ अर्बको क्लबमा रहेको शिखर इन्स्योरेन्स एकाएक ५ अर्बको क्लबमा प्रवेश भएको छ ।

उक्त संकलित बीमाशुल्क अघिल्लो वर्षको तुलनामा करिब २८ प्रतिशतले बढी हो । शिखरले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । ५ अर्बको क्लबमा प्रवेश गरेसँगै शिखरले केक काटेर आफ्ना सहकर्मीसँग खुशीयाली पनि साटिसकेको छ ।

त्यसैगरी, सगरमाथा इन्स्योरेन्स पनि २ अर्ब क्लबबाट ३ अर्बको क्लबमा प्रवेश गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब १० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १८.७७ प्रतिशतले बढी हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो ।

बीमाशुल्क २ अर्बबाट ३ अर्ब पुगेको खुशीयालीमा सगरमाथाले पनि केक काटेर खुशीयाली बाढेको छ । कम्पनीले असार २८ मंगलबार आफ्ना कर्मचारीमाझ केक काटी खुशी साटासाट गरेको थियो ।

नेको इन्स्योरेन्सले गत वर्ष अघिल्लो वर्षको तुलनामा बीमाशुल्क संकलनमा सुधार गरेको छ । एक वर्षको अवधिमा नेकोले १८.२६ प्रतिशत बढी बीमाशुल्क वृद्धि गरेको छ । अघिल्लो वर्ष २ अर्ब ४१ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको इन्स्योरेन्सले यो वर्ष २ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेको कम्पनीका सीईओ अशोक कुमार खड्काले बताए । जुन, कम्पनीको टार्गेटभन्दा केही कम रहे पनि कम्पनी निर्जीवन बीमा कम्पनीहरुको सूचीमा तेश्रो शीर्ष स्थानमा नै रहेको छ ।

कुनको कति ?
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले एक वर्षको अवधिमा १२.०२ प्रतिशतले बीमाशुल्क बढाएको छ । सिद्धार्थले गत वर्षमा २ अर्ब ६१ करोड रुपैयाँ संकलन गर्न सफल भएको कम्पनीका सीईओ बिरेन्द्र बैद्यवारले विकासन्युजलाई बताए । अघिल्लो वर्ष भने इन्स्योरेन्सले २ अर्ब ३३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो ।

त्यसैगरी, निर्जीवन बीमा कम्पनीमध्ये पाचौं स्थानमा रहेको एनएलजी इन्स्योरेन्सको पनि बीमाशुल्क आर्जनमा सुधार देखिएको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा १४.४२ प्रतिशत बढी प्रिमियम संकलन गरेको छ । कम्पनीले गत आवमा २ अर्ब ३८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको इन्स्योरेन्सका प्रवक्ता नौमिनाथ अधिकारीले विकासन्युजसँग भने । यससँगै कम्पनीले टार्गेट मीट गर्न सफल भएको समेत उनले जानकारी गराए । अघिल्लो वर्षमा एनएलजीले २ अर्ब ८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो ।

Share News