काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब बीमा कम्पनीहरुको पोलिसीमा कपी पेस्टको अन्त्य हुने बताएका छन् । आइतबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।
पछिल्लो समय कम्पनीहरुले ल्याउने बीमा पोलिसीको नाम मात्रै फरक तर विशेषता एउटै रहेकोमा मर्जर पछि त्यसको अन्त्य हुनेमा अध्यक्ष सिलवाल विश्वस्त रहेका छन् ।
‘मर्जरपछि कम्पनीहरुले पोलिसीमा प्रतिस्पर्धा गर्नुपर्छ, सबैको एउटै खालको काम छैन, कपी पेस्ट गरेर बिजनेश हुँदैन, प्रविधिमैत्रीमा बढी जोड गर्नै पर्छ,’ उनले बताए ।
साथै, उनले मोबाइलबाटै गर्न मिल्ने खालको पोलिसी आवश्यक रहेको बताए ।
बीमा समितिको नीति भएपनि कम्पनीको पहल तथा कार्यान्वयन पक्षले मर्जर सम्भव भएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । उनले यो सफलताको श्रेय कम्पनीको मर्जर कमिटीलाई दिँदै कम्पनी प्रशंशाको पात्र रहेको समेत जिकिर गरे ।
पछिल्लो समय बीमा मर्जरपछि बीमा कम्पनीको संख्या घट्दो क्रममा रहेको छ । यो अवस्थामा नेपालमा कतिवटा बीमा कम्पनीको चाहिन्छ भन्ने विषयमा बीमा समितिले बल्ल अध्ययन गर्ने अध्यक्ष सिलवालले बताए ।
‘नेपालमा कति संख्यामा बीमा कम्पनी चाहिन्छ, अध्ययन गरेका छैनौं, यो वर्षभित्र गर्छौं,’ कार्यक्रममा बोल्दै उनले भने ।
बीमा समितिले हालसम्म कम्पनीहरुलाई मर्जरमा जान फोर्स नगरेको र गर्नै परे चैतदेखि गर्ने अध्यक्ष सिलवालले बताए । मर्जरपछि बीमा क्षेत्र तथा कम्पनीहरुमा थप विश्वसनीयता बढ्ने र बढेको पुँजीको उपयोग गर्न कम्पनीहरुलाई आग्रह गरेका छन् ।
अहिले बीमा कम्पनीहरुले स्थानीय सरकारसँग सहकार्य गरेर बीमाको पहुँच बढाउन कम्पनीहरुलाई आग्रह गरेका छन् । ‘पैसा स्थानीय तहसँग छ, तिनीहरुलाई समात्नुस्,’ अध्यक्ष सिलवालले भने ।