काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु भयो । जुन नेपाली बीमा क्षेत्रमा पहिलो बीमा मर्जर हो । बैशाख २२ गते मर्जर सम्झौता भएको दुई कम्पनीबीच आइतबार एकीकृत कारोबार शुरु हुँदा कम्पनीका कर्मचारी र सेयरधनीमात्र होइन, कार्यक्रममा उपस्थित अतिथिको मुहारमा पनि बेग्लै किसिमको चमक देखिन्थ्यो ।
कार्यक्रमको शुरुमा एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटाले सबैलाई स्वागत गर्दै भने ‘आज नयाँ आर्थिक वर्षको पहिलो दिन बीमा क्षेत्रको लागि ऐतिहासिक दिन, हिमालयन जनरल र एभरेष्टको मर्जरले सबैमा उमंग छाएको छ, आगामी दिनमा बीमा कम्पनीबीच मर्जरको विशाल दिशानिर्देश यसले गरेको छ ।’
उनले स्वागत मन्तव्य दिए लगत्तै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पानसमा दीपप्रज्जवलन गर्दा सभाहलभरी तालीको गडगडाहट बज्यो ।
कार्यक्रममा मर्जर समितिका संयोजक अजय रत्न स्थापितले मर्जर प्रकृयामा भोग्नुपरेका चुनौति र गरेका कम कारवाहीको विषयमा कार्यक्रममा स-विस्तार पारे । उनले मर्जर सफल पार्नमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए ।
मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ बनेका बिजयबहादुर शाहले कम्पनीको आगामी रणनीति र योजनाको विषयमा प्रकाश पारे ।
‘हामीले आगामी वर्षमा व्यवसायलाई थप बढाउने योजना बनाएका छौं, शहर केन्द्रीत बीमा व्यवसायलाई प्रविधिमार्फत गाउँघर लगायत बढीबढी मानिसमा पुर्याउने हाम्रो लक्ष्य छ, बीमा कँही फालाफाल, कँही पहुँच नै नपुग्ने अवस्था छ, त्यसको अन्त्य गर्नुपर्छ, त्यसको लागि कम्पनीले डिजिटाइजेशनमा ठूलो लगानी गर्नेछ, बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको र बीमा क्षेत्रलाई पहिलो रोजाईको क्षेत्र बनाउनको लागि मानवीय श्रोत साधनको बढाउने कम्पनीको योजना छ, साथै, जोखिम बहन क्षमतालाई वृद्धि गर्दै लैजाने हाम्रो लक्ष्य छ,’ उनले भने ।
कार्यक्रममा आधा दर्जन बढीले कम्पनीलाई शभेच्छा प्रकट गर्दै नामजस्तै सफलताको उचाईमा रहिरहन शुभकामना दिए । शुभकामना दिने सबैले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमा नयाँ ट्रेण्डसेट स्थापना गरेको धारणा समेत राखे ।
नेपाल इन्स्योरेन्स सर्भेयर एशोसिएशनका अध्यक्ष मोहन पुरुश ढकालले मर्जरपछि कम्पनीको व्यापारसँगै छवि, साथ, प्रसनालिटी बढ्ने बताए ।
त्यसैगरी, जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले उचाईंबाट आएको ‘हिमालयन एभरेष्ट’ नामले सफलता पनि त्यहि लेभलमा हासिल गर्न कम्पनीलाई शुभकामना दिए ।
यस्तै, कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजीबजारमा मर्जर आवश्यक रहेको बताउँदै हिमालयन जनरल र एभरेष्टको मर्जरले बीमा क्षेत्रमा मर्जरको बाटो देखाएको धारणा राखे ।
नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले हिमालयन एभरेष्ट नामलाई नामजस्तै गराउन पुनर्बीमा कम्पनीले सेवा सुविधामा सक्दो सहजीकरण गर्ने प्रतिवद्धता गरे ।
निर्जीवन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि बीमा क्षेत्रमा मर्जरको विषय सजिलो नहुँदा नहुँदै पनि कम्पनीको शुरुवातलाई स्वागतयोग्य रहेको बताए ।
जनरल इन्स्योरेन्स एसोसिएसन अफ नेपालका अध्यक्ष रोजेन्द्र मल्लले बीमा समितिको पुँजी थप्ने निर्देशन समयमै आएको बताउँदै अब कम्पनीहरुले पुँजीलाई कसरी उपलब्धी क्षेत्रमा लगाउने भन्ने विषयमा ध्यान दिन आवश्यक रहने बताए ।
त्यस्तै, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानका अध्यक्ष युद्धराज ओलीले हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई शुभकामना दिँदै सक्दो सहयोग गर्न तयार रहेको बताए ।
अतिथिहरुको शुभकामना मन्तव्य पछि प्रफुलित मञ्चमा उक्लिए बीमा समितिका अध्यक्ष सिलवाल । कार्यक्रमको शुरुवातदेखि नै मुहारमा चमकपन देखिएका सिलवाल कार्यक्रममा ठट्यौलीपन पनि प्रस्तुत गरे ।
‘आज म गर्वका साथ यो स्टेजमा बोलिरहेको छु, लामो समयदेखि हुन नसकेको बीमा मर्जर सम्झौता हिमालयन जनरल र एभरेष्टले छोटो समयमै सफल पारेका छन्, नीति बीमा समितिको भएपनि कम्पनीको पहल तथा कार्यान्वयन पक्षले मर्जर सम्भव भएकोमा मर्जर कमिटी प्रशंशाको पात्र बन्न सफल भएको छ, त्यस्तै, अन्य कम्पनीहरुले पनि मर्जर सम्झौता गरेका छन्, आशा छ तिनीहरुले पनि चाँडै एकीकृत कारोबार शुरु गर्ने छन्,’ उनले भने ।
बीमा समितिले हालसम्म कम्पनीहरुलाई मर्जरमा जान फोर्स नगरेको र गर्नै परे चैतदेखि गर्ने अध्यक्ष सिलवालले बताए । मर्जरपछि बीमा क्षेत्र तथा कम्पनीहरुमा थप विश्वसनीयता बढ्ने र बढेको पुँजीको उपयोग गर्न कम्पनीहरुलाई आग्रह गरे ।
यो पनि पढ्नुहोस्