प्रोभिजन रोक्न सेयर बजारलाई काँध

  २०७९ असार २० गते ९:२०     विकासन्युज

काठमाडौं । असार १० गते नेप्से परिसूचक १८४० थियो । असार १९ गते २०८६ अंकमा पुग्यो ।

सेयर बजार घट्दै गर्दा दैनिक कारोबार एक अर्ब रुपैयाँ भन्दा कमको हुने गरेको थियो । आइतबार २ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

९ दिनको अवधिमा नेप्से परिसूचक २४६ अंकले वृद्धि भएको छ । कारोबार रकम दोब्बरभन्दा बढी भएको छ ।

सेयर बजारमा हरियाली छाउँदा लाखौं लगानीकर्तामा खुशी छाएको छ । अब सेयर बजारमा सुधार आउने आश धेरैमा पलाएको पनि छ ।

तर सेयर बजारमा देखिएको वृद्धि टिकाउ हो कि क्षणिक भन्ने प्रश्न पनि लगानीकर्तामा देखिएको छ । सेयर बजार धेरै तल झरिसकेको अहिलेको सुधार क्रमशः माथि नै जाने बताउँछन् लगानीकर्ता राम पाण्डे ।

वाणिज्य बैंकले जारी गरेको १०.७५ प्रतिशतको ऋणपत्र बिक्न नसकेको अवस्थामा सेयर बजार धेरैमाथि जाने अपेक्षा गर्न कठिन भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई बताउँछन् ।

यता सेयर ब्रोकरका कार्यकारी प्रमुख पनि ठूला लगानीकर्ताले सेयर किन्न नथाली बजारको सुधार टिकाउ नहुने बताउँछन् । तरलता वृद्धि नभएसम्म र कर्जाको व्याजदर घट्न शुरु नभई सेयर बजारमा ठूलो माग सिर्जना हुन नसक्ने उनको तर्क छ । उनले पछिल्लो समयको वृद्धिलाई प्रोभिजन रोक्न संस्थागत लगानीकर्ताले काँध थाम्ने कार्यको रुपमा विश्लेषण गरे ।

‘सेयरमा ठूलो लगानी भएका बैंक र बीमा कम्पनीहरुले सेयर बजारमा काँध हाल्ने प्रयास गरेका छन्, साउन लागेपछि उनीहरुले काँध झिक्नेछन्’ उनको विश्लेषण छ ।

आर्थिक वर्षको अन्त्यमा सेयरमा गरिएको लगानीमा घाटा भएको अवस्थामा १०० प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ । बजार घट्दा प्रोभिजन बढ्ने र बजार बढाउँदा यस्तो प्रोभिजन गर्नु नपर्ने वा कम गरे हुन्छ । प्रोभिजन जति बढी भयो नाफा त्यति नै कम हुन्छ ।

आर्थिक वर्षको अन्त्यमा प्रोभिजन गर्नु परेमा खुद नाफा कम हुन्छ । लगानीकर्तालाई वितरण गर्ने लाभांश पनि कम हुन्छ । यसले कम्पनीको छवि कमजोर बनाउँछ ।

यसबाट बच्नको लागि मर्चेन्ट बैंक तथा म्युचुअल फण्डहरुले सेयर माग बढाएका छन् । मर्चेन्ट बैंकर्स तथा म्यूचल फण्डहरु अधिकांश बैंक तथा बीमा कम्पनीद्धारा प्रवद्धित भएकोले पनि उनीहरुले मातृ कम्पनीलाई सहयोग पुग्ने गरी कारोबार गरेको उनले सुनाए ।

म्युचुअल फण्डहरुले पनि आफ्ना स्कीमको अंकित मूल्यभन्दा कम भएमा सो बराबर प्रोभिजन गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरुले म्युचुअल फण्डको मूल्य पनि अंकितभन्दा माथि लैजान सामूहिक कसरत गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.