गभर्नरलाई अर्थमन्त्रीको प्रश्न : काम गर्न छोडेर भ्रम छर्दै हिड्यो भने देश बन्छ ?

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय गलत अभिव्यक्ति दिनेहरु हावी भएको बताएका छन् । शुक्रबार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रमा समस्या आइरहेको बेला काम गर्नुको सट्टा गलत अभिव्यक्ती दिएर भ्रम फैलाउने काम भइरहेको बताए । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय गलत अभिव्यक्ति दिनेहरु हावी भएको बताएका छन् । शुक्रबार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रमा समस्या आइरहेको बेला काम गर्नुको सट्टा गलत अभिव्यक्ती दिएर भ्रम फैलाउने काम भइरहेको बताए ।

उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई इंकित गर्दै आर्थिक सुशासन, जवाफदेहिता र पारदर्शितालाई स्वार्थ अनकुल व्याख्या, परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको बताए ।

मन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा कस्तो लाभ हुन्छ भन्ने आधारमा मूल्याङ्कन गर्नुको सट्टा व्यक्ति, समूह र गुटगत स्वार्थको आधारमा मूल्याङ्कन गरेर भ्रम सिर्जना गर्ने काम भइरहेको गुनासो गरे ।

मन्त्री शर्माले भने, ‘आर्थिक सुशासन र जवाफदेहिता कसरी निर्वाह गर्ने विषय नै अहिलेको मुख्य प्रश्न र राष्ट्रिय चुनौती हो, त्यस कारणले जवाफदेहिता र पारदर्शितालाई आफ्ना स्वार्थ, व्याख्या,परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको छ, यो देशको हितको लागि छ की छैन ? त्यसले मुलुकको अर्थतन्त्रमा के गर्छ ? त्यस्तो खालको व्यवहारले देश चल्छ वा चल्दैन ? भन्ने कुराहरुको आधारमा हामीले मूल्याङ्कन गर्नुको सट्टा त्यतातिर मूल्याङ्कन नगरेर व्यक्तिगत, समूहगत,गुटगत स्वार्थको आधारमा मूल्याङ्कन,विश्लेषण गरेर भ्रम सिर्जना गर्ने कामहरु र अभिव्यक्तिहरु आइरहेका छन् ।’

बुधबार मात्रै राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले देश यही अवस्थामा अगाडि बढे श्रीलंकाको जस्तो हालत हुने धारणा राखेका थिए भने उनले बैंकको ब्याजदर बढ्ने अभिव्यक्ती पनि दिएका थिए ।

यस्तै, कार्यक्रममा अर्थमन्त्री शर्मालेपछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताएका छन् ।

‘अर्थतन्त्रमा समस्याहरु धेरै छन्, अहिले नयाँ नयाँ डिजिटल प्रविधिहरुबाट कारोबारहरु भइरहेका छन्, ती कारोबारको बारेमा अध्ययन गर्ने कसले हो, यहाँहरु नै विज्ञ हुनुहुन्छ, यहाँहरुले नै अध्ययन गर्नुपर्छ होला, अहिले युग नै डिजिटलमा जाँदैछ, क्रिप्टो लगायतका तमाम केके थुप्रै कारोबारहरु भइरहेका छन, यी सबै कारोबारहरुको अध्ययन कसरी गर्ने,नेपालको अर्थतन्त्रमा कहाँ समस्या छ कसले अध्ययन गर्ने त ? परीक्षकहरुले नै यो संस्थालाई कमजोर छ भन्दै हिँड्ने हो भने कसरी यसको सवलिकरण हुन्छ, लेखा परीक्षकहरुले त्यतातिर ध्यान दिनुपर्छ,’ उनले भने ।्

उनले अडिटरहरु नै डिजिटल कारोबारको विज्ञ भएको पनि बताए । मन्त्री शर्माले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सी लगायत अन्य धेरै कारोबार भइरहेको बताए ।

उनले डिजिटल रुपमा कारोबार हुने सबै कारोबारको अध्ययन गर्न आवश्यक रहेको पनि स्पष्ट पारे । मन्त्री शर्माले लेखा परीक्षणमा नै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको बताए । उनले लेखा परीक्षणमा समस्या हुँदा एकपछि अर्को बेरुजु थुप्रिँदै गएको दाबी गरे ।

यस्तै, महालेखापरीक्षक टंकमणि शर्मा दंगालले अनलाइन प्रविधिबाट अडिटमा समस्या रहेको बताए । उनले यो वर्षदेखि सरकारका सबै अडिटहरु अनलाइन प्रणालीबाट नै गरिएकाले कर्मचारीमा नयाँ प्रविधिको ज्ञान अभावको कारण समस्या देखिएको बताए । उनले अनलाइन प्रणालीबाट लेखा परीक्षणको काम गर्दा सजिलो र छिटो हुने तर कर्मचारीहरु सबैमा प्रविधिको जानकारी नहुँदा ठूलो समस्या हुने बताए ।

महालेखापरीक्षक शर्माले लेखा परीक्षण गर्ने अडिटरको सुझाव मान्य हुन छोडेको बताए । उनले डाक्टर, इन्जिनियर, पाइलट र वकिलको सुझाव वा काम सबैले मान्ने गरेपनि अडिटरको सुझाव मान्न छाडेको अवस्था देखिएको बताए ।

शर्माले अडिटरहरुले विश्लेषण गरेर आउनुपर्ने निचोड भन्दा फरक निचोड आउने गरेकाले मान्य हुन छोडेको धारणा राखे । उनले चार्टर्ड एकाउण्टेन्ट्स संघले लेखा परीक्षणको सीप र ज्ञानको विषयमा स्थानीय तहका जनतालाई पुग्नेगरी प्रचारप्रसार गर्न आग्रह गरे ।

Share News