काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) सँग मर्जको हल्ला चलेपछि मेगा बैंकको सेयर मूल्य एकाएक बढेको छ । बिहीबारको बजारमा बैंकको सेयर मूल्य मात्रै नभई कारोबार रकम, संख्या, कित्ता सबै एकाएक उचालिएको छ ।
सेयर बजारका एक लगानीकर्ताका अनुसार बैंकको एनआईबीएलसँगको मर्जमा जाने हाल्लाले मेगाको सेयर मूल्य बढेको हो ।
‘एनआईबीएलसँग मर्जमा जाने हल्ला भएको छ, त्यसैले बढेको होला, १००ः९० दिने भनेर हल्ला भइरहेको छ, अब हो होइन, थाहा छैन,’ ती लगानीकर्ताले विकासन्युजसँग भने ।
ती लगानीकर्ताका अनुसार एनआईबीएलले मेगालाई १०० बराबर ९० को स्वाप रेसियोमा मर्ज गर्दै छ ।
मेगा बैंकमा झुम्मिए लगानीकर्ता, सर्वाधिक कारोबारसँगै १० प्रतिशतले बढ्यो सेयर मूल्य
बुधबारको बजारमा स्थिर रहेको बैंकको सेयर मूल्य बिहीबार १० प्रतिशतले बढेर प्रतिकित्ता २४७.५० रुपैयाँसम्ममा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २२.५० रुपैयाँले बढी हो ।
त्यस्तै, कारोबार रकम पनि अन्य कम्पनीको तुलनामा सर्वाधिक भएको छ । बैंकको एकैदिन ५ करोड ४२ लाख रुपैयाँ छ । जसको दिनभर ८९७ पटकको कारोबारमा कूल २ लाख २५ हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जुन अन्य कम्पनीको तुलनामा सर्वाधिक हो ।