गभर्नर निलम्बित हुँदा विज्ञ समूह चिन्तित; सेयर, सवारी र घरजग्गा कारोबारी उत्साहित

  २०७८ चैत २६ गते ११:४९     विकासन्युज

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट निलम्बन गर्ने सरकारको निर्णयको विज्ञ समूहले विरोध गरेका छन् भने सेयर, सवारी र घरजग्गा काराेबारीले खुशी व्यक्त गरेका छन् ।

पूर्व मुख्यसचिव डा विमल कोइराला, पूर्व अर्थसचिव रामेश्वर खनाललगायत अर्थतन्त्र र बैकिङ प्रणालीबारे जानकारी राख्नेहरुले सरकारी निर्णय गलत भएको प्रतिकृया दिएका छन् । ‘गभर्नर महाप्रसाद अधिकारीले बिग्रदो अर्थतन्त्र मर्मत गर्न रामै सुझाव दिनु भएको थियो, सरकारले पचाएन, उहाँलाई निलम्बन गर्नु ठिक भएन’ पूर्वमूख्य सचिव, अर्थसचिव तथा नेपाल राष्ट्र बैंकको सञ्चालकसमेतको भूमिका निर्वाह गरेका डा. कोइरालाले सामाजिक सञ्चालमा लेखेका छन् ।

पूर्व अर्थसचिव एव अर्थविद् रामेश्वर खनालले पनि सरकारले गलत निर्णय लिएको टिप्पणी गरेका छन् । ‘सडकमा फोहोर थुप्रिएको छ, आपूर्ति प्रणाली र वित्तिय क्षेत्रमा समस्या बढ्दै गएको छ, तर सार्वजनिक संस्थाहरु क्रमशःबनाइदैछ’ उनले गर्भनर निलम्बन गर्ने सरकारी निर्णयलाई लक्षित गर्दै भनेका छन् – ‘यसैगरी निर्वाचन आयोगमाथि पनि आक्रमण भए आश्चर्य नहुने भयो ।’

पूर्वअर्थसचिव शान्तराज सुवेदीले पनि सरकारको निर्णयलाई दुर्भाग्यपूर्ण भनेका छन् । ‘गभर्नर महाप्रसाद अधिकारीको निलम्बन अत्यन्तै दुर्भाग्यपूर्ण, सरकारले गर्नै नहुने काम गर्यो ।’

बैंकर्सहरुले पनि गभर्नर अधिकारीको निलम्बनलाई गलत भन्ने धारणा व्यक्त गरेका छन् । बहालवाला बैंकर्सहरुले पदीय सीमाका कारण खुलेर विरोध गरेका छैनन् । तर गभर्नर निलम्बन गलत भएको बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेलले पुरानो नजिर सम्झाउदै डा. तिलक रावल भर्सेस महेश आचार्यको पुनारावृति भएको टिप्पणी गरेका छन् । ‘नतिजा के भयो, नजिर हेरम् । हामी केही जाने सुनेका मान्छे हजूर (गभर्नर महाप्रसाद)को पक्षमा छौं ।’

पूर्व बैंकर्स अजय मिश्रले गलत समयमा गभर्नरको निलम्बन भएको भन्दै सरकारले अपरिपक्वता देखाएको बताएका छन् । त्यस्तै पूर्व बैंकर्स परशुराम कुँवर क्षेत्रीले सरकारी निर्णयलाई केटाकेटीले निर्णयसँग तुलना गरेका छन् ।

त्यस्तै, पत्रकार तुला अधिकारीले ‘अर्थमन्त्री हुत्तिनु पर्ने, गभर्नर पो हुत्याइछन् त’ भनेर आश्चर्य व्यक्त गरेका छन् । पत्रकार रामप्रसाद दाहालले भने गभर्नर निलम्बलनलाई स्वभाविक भन्दै अब अर्थमन्त्री निलम्बनमा परुन् भावना प्रकट गरेका छन् ।

‘अर्थतन्त्र नबुझेका अर्थमन्त्री जनार्दन र चाहिने भन्दा बढी बुझेका गभर्नर महाप्रसादको जुँगाको लडाईमा अर्थमन्त्रीले गभर्नरलाई आज पेनाल्टी सुटआउट गरेछन् । वा… कति रमाइलो’ केदार खड्काले ब्यङ्ग गरेका छन् ।

‘अर्थमन्त्री शर्माले तानसेन आक्रमण शैलीमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आक्रमण गरे । जसरी गरे पनि आक्रमण गर्ने बानी चाँही बिर्सेका छैनन्’ फेसबुकमा देविड भण्डारीले लेखेका छन् ।

यता सेयर, घरजग्गा र अटोमोवाइल क्षेत्रका कारोबारीहरुले भने गभर्नर निलम्बन गर्ने सरकारी निर्णयको तारिफ गरेका छन् । सेयर बजारका विभिन्न लगानीकर्ता संगठनका प्रतिनिधिहरुले ‘जे भयो ठिकै भयो’ भन्ने आशयमा सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरेका छन् ।

त्यस्तै, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका कार्यकारिणी सदस्य अनुप बरालले गभर्नर अधिकारी लिम्बित समाचार सामाजिक सञ्चालमा सेयर गर्दै ‘डिसिजन अफ द एयर’ अर्थात सरकारले वर्षको उत्कृष्ट निर्णय गरेको भन्ने सरकारलाई प्रणाम गरेका छन् । राष्ट्र बैंकका निर्णयहरुको विरोध गर्दै आएका नाडाका प्रतिनिधि मण्डलले गभर्नर निलम्बित भएको खबर सार्वजनिक भएको दिन बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.