प्रविधिमैत्री बन्दै स्वास्थ्य बीमा बोर्ड, सार्वजनिक गर्यो अनलाइन नवीकरण र मोबाइल एप सेवा

  २०७८ चैत २४ गते १५:२२     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अनलाईन नवीकरणसँगै एचआईभी प्रोफाईल मोबाइल एप सेवा शुरु गर्ने भएको छ । बोर्डले छैठौं स्वास्थ्य बीमा दिवसको अवसरमा विभिन्न दुई वटा सेवा शुरु गर्न लागेको हो ।

सरकारको प्राथमिकता पाएको यो कार्यक्रमले पाँचौं वर्ष पुरा गरेको अवसरमा ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मूल नाराका साथ उक्त सेवाको शुभारम्भ गर्न लागेको हो । जसको शुभारम्भ स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चैत २५ गते शुक्रबार गर्दै छन् ।

बीमितलाई उनीहरुले लिएको सेवाको बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले मोबाइल एप शुरु गरिएको र उनीहरु आफैले घरबाटै बीमाको नवीकरण गर्न सकुन् भन्ने उद्देश्यले अनलाईन नवीकरणको सेवा ल्याइएको बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए ।

बोर्डले २०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट औपचारिक रुपमा स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ गरेको हो । सेवा शुरु गरेको ५ वर्षको अवधिमा कूल ७७ जिल्ला तथा ७४४ स्थानीय तहमा यो कार्यक्रम विस्तार भएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०७६/०७९ मा बाँकी रहेका सबै स्थानीय तहमा कार्यक्रम बिस्तार गर्ने कार्य भैरहेको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम मार्फत गरिब, विपन्न एवं सुगम क्षेत्रमा समेत सेवाको पहुँच पुगिरहेको बोर्डको दावी छ । तर बढ्दो सेवाग्राहीको चापका कारण केही सेवा प्रदायक संस्थामा व्यवस्थापन समस्या देखिएको र उक्त समस्याको समाधान गर्ने काम भइरहेको छ ।

हाल स्वास्थ्य बीमा कार्यक्रममा २०.३ प्रतिशत अर्थात ५३ लाख ४ हजार २७० जना कूल बीमित सदस्य छन् । जसमध्ये २० लाख ८९ हजारले मात्रै बीमा सेवा लिइरहेका छन् । त्यस्तै, बीमित परिवारको संख्या १५ लाख ८ हजार रहेको छ ।

बीमा बोर्डले हाल ७७ जिल्ला र ७४५ स्थानीय तहमा सेवा विस्तार गरिरहेको छ । सरकारी र निजी गरी ४४१ वटा संस्थाबाट सेवा लिएका कूल बीमितहरुमध्ये हाल ७० प्रतिशतले मात्रै नविकरण गरेका बोर्डले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.