नेपाली बजारमा पर्न थाल्यो रुस–युक्रेन युद्धको प्रभाव, आयातकर्ताले बढाए तेलको मूल्य

<p>काठमाडौं । रुस–युक्रेन युद्धको असर नेपाली बजारमा पनि देखिन थालेको छ । रुस–युक्रेन युद्ध सुरु भएसँगै युक्रेनबाट आयात हुने अधिकाशं वस्तुको मूल्य बढ्न थालेको खुद्रा व्यवसायीहरुले बताएका छन् । युक्रेनमा युद्ध सुरु भएसँगै नेपालका तेल उद्योगीले मूल्य बढाउन थालिसकेको उनीहरुको भनाई छ । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर पछिल्लो एक सातामा नै खाने [&hellip;]</p>

काठमाडौं । रुस–युक्रेन युद्धको असर नेपाली बजारमा पनि देखिन थालेको छ । रुस–युक्रेन युद्ध सुरु भएसँगै युक्रेनबाट आयात हुने अधिकाशं वस्तुको मूल्य बढ्न थालेको खुद्रा व्यवसायीहरुले बताएका छन् ।

युक्रेनमा युद्ध सुरु भएसँगै नेपालका तेल उद्योगीले मूल्य बढाउन थालिसकेको उनीहरुको भनाई छ । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर पछिल्लो एक सातामा नै खाने तेलको मूल्य प्रतिप्याकेट २५ देखि ३० रुपैयाँसम्म वृद्धि भएको बताउँछन् ।

उनका अनुसार युक्रेनको युद्धलाई देखाउँदै तेल आयातकर्ताले तेलको मूल्य बढाउन थालेका हुन । अहिले बजारमा कम्पनी अनुसार खाने तेलको मूल्य प्रतिलिटर १० देखि २० रुपैयाँसम्म बृद्धि भएको छ ।

उनले नेपालका उद्योगी तथा ठूला व्यवसायीलाई वस्तुको मूल्य बढाउन कुनै आधार नचाहिने बताए ।

‘ठूला उद्योगी तथा व्यवसायीको बजारमा हस्तक्षेप छ, उहाँहरुले आप्नो मुड अनुसार वस्तुको मूल्य बढाउने गर्नुभएको छ’, उनले भने, ‘उद्योगीले मूल्य बढाउँछन् तर हामीलाई बिलविजक दिँदैनन्, बजार अनुगमनको जिम्मा पाएको सरकारी निकायले अनुगमनको नाममा हामी खुद्रा व्यवसायीलाई कारवाही गर्ने गरेको छ ।’

उनले सरकारी निकायका अधिकारीहरु समेत उद्योगीसँग मिलेर खुद्रा व्यवसायीलाई मात्र दुःख दिने गरेको आरोप छ । ‘उहाँहरु नमिल्नु भएको भए मूल्य बढाउँने ठाउँमा किन अनुगमन गर्नजान सक्नु भएन, उनले प्रश्न गर्दै भने, हामीले मूल्य बढेर आएका कारण बढाएका हौँ भन्दा पनि अनावश्यक दुख दिने र नगद जरिवाना गर्ने काम निरन्तर भैरहेको छ ।

सरकारी निकायका अधिकारीहरुले ठूला उद्योगीसँग बार्गाेनिङ गरी काम देखाउन खुद्रा व्यवसायीलाई जरिवाना गर्ने गरेको उनले आरोप लगाए । उनले केही दिन यता बजारमा खाने तेलसँगै चामल, चिनी लगायतका अधिकाशं दैनिक उपभोग्य वस्तुकोे मूल्य बढेको दावी गरे ।

यस्तै, खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले ठूला उद्योगी र व्यवसायीको मिलोमोतोमा अधिकाशं वस्तुको मूल्य बढाइएको बताए । उनले पछिल्लो समय उद्योगीहरु बस्तुको मूल्य बढाउनभन्दा पनि साइज घटाएर पुरानै मूूल्य राख्न सक्रिय रहेको बताए ।

खुद्रा व्यवसायी संघको तथ्यांक अनुसार केही समय अघिमात्र खाने तेलको मूल्य लिटरमा ४० रुपैयाँसम्म बढेको थियो । लिटरमा ४० रुपैयाँ बढाएका तेल उद्योगीहरुले युक्रेनमा युद्धको असर देखिएको भन्दै पुनः मूल्य बढाउन थालेका हुन ।

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरु भने पछिल्लो समय तेलको मूल्य बढेको विषयमा जानकार नभएको जनाएका छन् ।

विभागका निर्देशक हरी पंगेनी केही समय अघि बढेको तेलको मुल्यको विषयमा विभागले अध्ययन गरिरहेको भन्दै पछिल्लो समय बढेको मूल्यको विषयमा जानकार नभएका बताउँछन् ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामा महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ बराबरको ५ करोड ७३ लाख ६४ हजार किलो सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको छ । युक्रेनबाट मात्रै नेपालमा सनफ्लावर तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयात ९५ प्रतिशतभन्दा बढी हुने गरेको छ ।

सनफ्लावर तेलपछि चालुु आवको ७ महिनामा ३ अर्ब ९५ करोड ३७ लाख रुपैयाँको ४ करोड ४५ हजार किलो तोरी, ७९ करोड ४७ लाख रुपैयाँको ४८ लाख ४३ हजार किलो भटमास र ३ करोड ७५ लाख रुपैयाँको १ लाख ८९ हजार किलो सनफ्लावरको दाना आयात भएको छ ।

माघमसान्तसम्म कुल ११ खर्ब बढीको विदेशी वस्तुको आयातहुँदा नेपालले युक्रेनबाट मात्रै १७ अर्ब बढीको वस्तु आयात गरेको छ । नेपालले युक्रेनबाट तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थ, सुन तथा पेट्रोलिय पदार्थको आयात गर्दै आएको छ ।

Share News