राष्ट्र बैंकको निर्देशनले ३४५ प्रकारका वस्तु आयातमा कडाई, करिब १५० अर्बको टीआर कर्जा रोकिने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको निर्देशनले ३ सय ४५ प्रकारका सामान आयातमा कडाई भएको छ । राष्ट्र बैंकले विलासी तथा कम आवश्यक वस्तुको आयातमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्था गरेकोले यस्ता सामानको आयात करिब ठप्प हुने भएको छ । राष्ट्र बैंकले १९ प्रकारको हार्माेनिक कोड भएका वस्तुको आयात गर्दा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्था [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको निर्देशनले ३ सय ४५ प्रकारका सामान आयातमा कडाई भएको छ । राष्ट्र बैंकले विलासी तथा कम आवश्यक वस्तुको आयातमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्था गरेकोले यस्ता सामानको आयात करिब ठप्प हुने भएको छ ।

राष्ट्र बैंकले १९ प्रकारको हार्माेनिक कोड भएका वस्तुको आयात गर्दा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्था गरेको छ भने एउटा हार्माेनिक कोड भएका वस्तुको आयातमा ५० प्रतिशत रकम राखेर आयात गर्न पाइने भनेको छ । ५० प्रतिशत रकम राखेर आयात गर्न पाइने वस्तु भनेको हार्माेनिक कोड ८७०३ हो । यो भनेको ४ पांग्रे सवारी साधन हुन् ।

राष्ट्र बैंकले हार्माेनिक कोड ०९०७ भएका वस्तुको आयातमा शतप्रतिशत रकम राखेर मात्रै आयात गर्न पाइने भनेको छ । यो भने ल्वाङ हो । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्ममा २ करोड ७ लाख ४ हजार रुपैयाँ बराबरको ल्वाङ आयात भएको छ ।

यस्तै, हार्माेनिक कोडको सुरु अंक १७ वस्तुको आयातमा पनि शतप्रतिशत रकम राख्नुपर्ने भनेको छ । यो कोड भएका वस्तुहरु २२ प्रकारका छन् । हार्माेनिक कोड १७ बाट सुरु हुने वस्तुहरु चिनीजन्य पदार्थ हुन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्ममा यस्ता वस्तु ३ अर्ब ७८ करोड ५६ लाख २३ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

सुरु हार्माेनिक कोड २२ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राखेर मात्रै आयात गर्न पाइने भएको छ । सुरु कोड २२ भएका वस्तुहरु ४२ प्रकारका छन् भने यी वस्तु मदिराजन्य वस्तुहरु हुन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्ममा १ अर्ब ८३ करोड ९३ लाख ३ हजारको आयात भएको छ ।

सुरुको हार्माेनिक कोड २४ भएका वस्तुहरुको आयात गर्नको लागि पनि शतप्रतिशत रकम राख्नुपर्ने भएको छ । सो कोड भएका वस्तुहरु १० प्रकारका छन् भने यी वस्तुहरु सुर्तीजन्य वस्तुहरु हुन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा यस्ता वस्तु ८५ करोड ४५ लाख ४७ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

यस्तै, सुरुको हार्माेनिक कोड ३३०३ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राख्नुपर्छ । यो भनेको परफ्युम र ट्वाइलेट वाटर हो । गत कात्तिक मसान्तसम्ममा १२ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको फरफ्यूम र ट्वाइलेट वाटर आयात भएको भन्सार विभागले जनाएको छ ।

सुरुको हार्माेनिक कोड ३३०४ वस्तुको आयातमा पनि शतप्रतिशत रकम राख्नुपर्ने भएको छ । सो कोडमा ११ प्रकारका वस्तुको आयात हुन्छ । यो भनेको सौन्दर्य सम्बन्धी सामग्री हो । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्ममा १ अर्ब ८९ करोड २२ लाख ८२ हजार रुपैयाँ बराबरका सुरु हार्माेनिक कोड ३३०४ भएका वस्तुको आयात भएको छ ।

यस्तै, सुरुको हार्माेनिक कोड ३३०५ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राख्नुपर्ने भएको छ । यो कोडमा ८ प्रकारका वस्तुहरु आयात हुने गरेको छ । यो भनेको स्याम्पुजन्य वस्तुहरु हुन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको गत कात्तिक मसान्तसम्ममा १ अर्ब ३७ करोड ९१ लाख ८८ हजार रुपैयाँ बराबरको ३३०५ हार्माेनिक कोड भएका वस्तुको आयात भएको छ ।

सुरुको हार्माेनिक कोड ४४ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राख्नुपर्ने भएको छ । सो कोडमा ६७ प्रकारका वस्तुहरु आयात हुने गरेको छ । यो भनेको काठ तथा काठबाट बनेका सामाग्री हुन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको गत कात्तिक मसान्तसम्ममा २ अर्ब ७९ करोड ७५ लाख २१ हजार बराबरका यस्ता वस्तुको आयात भएको छ ।

राष्ट्र बैंकले सुरुको हार्माेनिक कोड ६४ भएका वस्तुको आयातको पनि शतप्रतिशत रकम राख्नुपर्ने भएको छ । यो कोडमा २७ प्रकारका वस्तु आयात हुने गरेको छ । यो भनेको जुत्ता तथा चप्पल हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको गत कात्तिक मसान्तसम्ममा २ अर्ब ८० करोड ३८ लाख ६६ हजार रुपैयाँ बराबरका सुरु हार्माेनिक कोड ६४ भएका वस्तु आयात भएका छन् ।

सुरुको हार्माेनिक कोड ६५ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राखेर मात्रै अबदेखि आयात गर्न पाइन्छ । यो कोडमा १२ प्रकारका वस्तु आयात हुने गरेको छ भने सो कोडमा आयात हुने वस्तु भनेको ह्याटलगायतका सामान हुन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ६२ करोड १९ लाख ८१ हजार रुपैयाँ बराकार यस्ता वस्तुको आयात भएको छ ।

यस्तै, सुरुको हार्माेनिक कोड ६६ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राखेर मात्रै आयात गर्न पाइने भएको छ । यो कोडमा ६ प्रकारका वस्तु आयात हुने गरेको छ । यो भनेका छाता लगायतका वस्तुहरु हुन् । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्ममा ३ करोड ५४ लाख ५३ हजार रुपैयाँ बराबरका सुरुको हार्माेनिक कोड ६६ भएका वस्तुको आयात भएको छ ।

राष्ट्र बैंकले सुरुको हार्माेनिक कोड ६७ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राख्नुपर्ने भनेको छ । यो कोडमा ९ प्रकारका वस्तु आयात हुने गरेको छ । सो हार्माेनिक कोडमा आयात हुने भनेको प्वाँख, नक्कली कपाल, नक्कली फूललगायत वस्तुहरु हुन् । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्ममा ९ करोड १० लाख ६ हजार रुपैयाँ बराबरका यस्ता वस्तुको आयात भएको छ ।

सुरुको हार्माेनिक कोड ६८ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राखेर मात्रै आयात गर्न पाइने भएको छ । यो कोडमा ४४ प्रकारका वस्तुहरु आयात हुने गरेको छ । सो कोडमा आयात हुने भनेको चिप्स मार्बल लगायतका वस्तुहरु हुन् । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्ममा २ अर्ब ८८ करोड ५७ लाख ७५ हजार रुपैयाँ बराबरका सुरु हार्माेनिक कोड ६८ भएका वस्तुहरु आयात भएको छ ।

यस्तै, सुरुको हार्माेनिक कोड ६९ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राख्नुपर्ने भएको छ । यो कोठमा २९प्रकारका वस्तु आयात हुने गरेको छ । सो कोडमा आयात हुने वस्तुहरु सेरामिकका सामान लगायत हुन् । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्ममा ५ अर्ब ७६ करोड ९४ लाख ९ हजार रुपैयाँ बराबरका यस्ता वस्तु नेपालमा आयात भएका थिए ।

राष्ट्र बैंकले सुरुको हार्माेनिक कोड ७०१० भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राख्नुपर्ने निर्देशन जारी गरेको छ । यो कोडमा ३ प्रकारका वस्तुहरु आयात हुने गरेको छ । यो भनेको सिरिन्ज लगायत सिसाका सामान हुन् । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्ममा सो कोड भएका १ अर्ब २३ करोड ९१ लाख ९५ हजार बराबरका वस्तुको आयात भएको छ ।

यस्तै, सुरुको हार्माेनिक कोड ७१०६ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राख्नुपर्ने भएको छ । यो कोठमा चाँदीका ३ प्रकारका वस्तुहरुको आयात हुने गरेको छ । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्ममा यस्ता वस्तु १४ अर्ब २८ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको आयात भएको छ ।

राष्ट्र बैंकले सुरुको हार्माेनिक कोडा ८७०३ भएका वस्तुको आयातमा ५० प्रतिशत रकम राख्नुपर्ने भनेको छ । यो कोडमा आयात हुने १९ प्रकारका वस्तु हुन् भने सो कोडले सवारी साधान भन्ने जनाउँछ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ११ अर्ब ६ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको सुरुको हार्माेनिक कोड ८७०३ भएका वस्तुको आयात भएको छ । तर, विद्युतीय सवारी साधानको हकमा भने यस्तो व्यवस्था लागू नहुने राष्ट्र बैंकको स्पष्टीकरण छ ।

सुरुको हार्माेनिक कोड ८७११ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राखेर मात्रै आयात गर्न पाइने भनिएको छ । यो कोडमा २ पांग्रे सवारी साधन आयात हुन्छन् । र, त्यस्ता वस्तु १३ प्रकारका छन् । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्ममा १२ अर्ब ३४ करोड ५० लाख ९५ हजार रुपैयाँ बराबरका यस्ता वस्तुको आयात भएको छ । विद्युतीय सवारी साधानको हकमा भने नयाँ व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सुरुको हार्माेनिक कोड ९४०३ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राख्नुपर्ने भनेको छ । यो कोडमा १३ प्रकार वस्तुहरु आयात हुने गरेको छ । सो कोडमा आउने वस्तुहरु भनेको फर्निचरका सामान हुन् । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्ममा कुल ९४ करोड ५३ लाख ५६ हजार रुपैयाँ बराबरका यस्ता सामानको आयात भएको छ ।

यस्तै, सुरुको हार्माेनिक कोड ९५०४ भएका वस्तुको आयातमा पनि शतप्रतिशत रकम राख्नुपर्छ । यो कोडमा तास, मनोन्जन स्थलमा खेलाइने सामाग्री लगायतका ५ प्रकारका वस्तुहरु पर्छन् । भन्सार विभागका अनुसार गत कात्तिक मसान्तसम्ममा १७ करोड ७३ लाख ७० हजार रुपैयाँ बराबरका यस्ता वस्तु आयात भएका थिए ।

करिब १५० अर्बको टीआर कर्जा रोकिने

बैंकिङ क्षेत्रमा तरलता अभाव भएको र देशको भुक्तानी सन्तुलनको अवस्था विग्रिएर शोधनान्तर स्थिति (बीओपी) लगातार घाटामा गएपछि राष्ट्र बैंकले अति आवश्यक नपर्ने र विलासी वस्तुको आयातमा कडाई गरेको हो । बैंकहरुले निक्षेप कम थपिए पनि कर्जा प्रवाहमा प्रतिस्पर्धा गरेर बृद्धि गरेपछि अहिले तरलता अभावको समस्या आएको र आयात बढी भएर बीओपी घाटामा गएको राष्ट्र बैंकदेखि अर्थमन्त्रालयका अधिकारीहरुको विश्लेषण छ ।

राष्ट्र बैंकले हिजो जारी गरेको निर्देशनले चालु आर्थिक वर्षमा अब करिब १५० अर्ब टीआर कर्जा रोकिने देखिन्छ । किनभने कुनै वस्तु आयातकर्ताले वस्तु आयात गर्नुअघि बढीमा १० प्रतिशतसम्म रकम राखेर (प्रतितपत्र) एलसी खोल्न पाउँछन् । त्यसरी एलसी खोलेपछि तोकिए अनुसारका वस्तु आयात गर्दा एलसी खोलेको बैंकले नेपालको लागि वस्तु विक्री गर्ने विक्रीकर्तालाई रकम भुक्तानी दिन्छन् ।

बैंकले रकम भुक्तानी गरेपछि एलसी खोल्ने व्यापारी नाममा कर्जा हुन्छ । त्यसरी आयात भएको वस्तुको भुक्तानी आयातकर्ताले तिर्न सकेन भने सो बैंकले एलसी वापत तिरेको कर्जालाई टीआर कर्जाको नाममा सम्बन्धित व्यापारीको नाममा देखाउँछ । यस्तो कर्जा बढीमा ९० दिनको लागि दिन सकिने व्यवस्था छ ।

राष्ट्र बैंकले कडाई गरेका वस्तुहरु चालु आर्थिक वर्षको चार महिना (साउनदेखि कात्तिकसम्म) ६४ अर्ब २१ करोड ९ लाख २१ हजार रुपैयाँ बराबरका आयात भएका छन् । यसरी आयात भएको वस्तुको लागि बैंकहरुले बढीमा १० प्रतिशत कटाएर बाँकी रकम ९० दिनको लागि टीआर (ट्रष्ट रिसिप्ट) कर्जा दिएका छन् ।

चार महिनामा ६४ अर्ब २१ करोड रुपैयाँको आयात भएकोलाई आधार मान्दा वर्षभरीमा १ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ बराबरको आयात हुन सक्छ । यसमा पहिलो ४ महिनाको आयात भइसकेकोले अबको ८ महिनामा यसको दोब्बर अर्थात करिब १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको टीआर कर्जा रोकिन सक्ने देखिएको छ ।

Share News