करदाता सम्मानमा मनोमानी, स्वार्थ मिलेपछि विधा परिवर्तन

  २०७८ मंसिर १२ गते १४:४३     शिव सत्याल

काठमाडौं । सरकारले २०६९ साल मंसिर १ गतेदेखि राष्ट्रिय कर दिवस मनाउन सुरु गर्यो । करदातालाई सम्मान गर्ने र कर सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने कर दिवसको मुल उद्देश्य थियो ।

यो बीचमा सरकारले १० वटा कर दिवस मनाइसकेको छ । फरक के देखिएको छ भने प्रायः कर दिवसमा अघिल्लो वर्षका विधामा सम्मान गरिदैन । केही वर्ष नयाँ विधा थपिएका छन् भने केही वर्ष अघिल्लो वर्षका विधा हटाइएका छन् ।

कर दिवस मनाउन सुरु गर्ने समयमा अर्थ सचिवको जिम्मेवारीमा अर्थसचिव डा. शान्तराज सुवेदी थिए ।  कर दिवस मनाउनुको खास लक्ष्य र कारण के थियो भनेर हामीले तत्कालिन सचिव अर्थसचिव डा. शान्तराज सुवेदीलाई सोधेका थियौं ।

तत्कालिन अर्थसचिव डा. सुवेदी कर दिवस मनाउन आवश्यक देखिएकोले आफूहरुले पहल गरेको स्मरण गर्छन् ।

‘म लगायतका साथीहरूले कर दिवसको सान्दर्भिकता र आवश्यकता पहिलेदेखि उठाइरहेका थियौं, म २०६९ कार्तिक २ गते अर्थ सचिव भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक (डीजी) टङ्कमणि शर्मा र अन्य केही साथीहरूसँग छलफल गरी मैले मन्त्रिपरिषदमा प्रस्ताव लगेर कर दिवस मनाउने निर्णय भएको हो, भन्सार दिवस मनाउने चलन पहिलेदेखि रहेको र त्यसक्षेत्रका कर्मचारी, व्यवसायी साथीहरूको सम्मान हुँदा करतर्फ पनि यो खड्केर मूल्य अभिवृद्धि कर लागू भएको दिन मंसिर १ गतेलाई कर दिवसको रुपमा मनाउन थालिएको हो,’ तत्कालिन अर्थसचिव डा. सुवेदीले भने ।

 

कर दिवस मनाउन सुरु गरेको समय २०६९ मंसिर १ गते आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्मा थिए । उनी अहिले सरकारको आम्दानी र खर्चको लेखापरीक्षण गर्ने सबैधानिक निकाय महालेखा परीक्षकको कार्यालयमा महालेखा नियन्त्रकको जिम्मेवारीमा छन् । हामीले तत्कालिन महानिर्देशक शर्मालाई पनि कर दिवस मनाउने सोच कसरी आएको थियो भनेर सोधेका थियौं ।

‘म आन्तरिक राजस्व विभागको महानिर्देशक हुनुअघि सहकारी विभागको रजिष्टार भएको थिएँ, भन्सार विभागको महानिर्देशक पनि भएको थिएँ, सहकारी दिवस मनाउने गरिन्थ्यो, भन्सार दिवस पनि हुन्थ्यो तर, कर दिवस थिएन, त्यसैले कर दिवस पनि मनाएर करदातालाई सम्मान गर्ने, करका विषयमा छलफल गर्ने, जनचेतना अभिबृद्धि गर्ने जस्ता कार्य गर्न पाए राम्रो हुन्थ्यो भन्ने मलाई लागिरहेको थियो, मैले कर दिवस मनाउनु राम्रो हुन्छ भनेर तत्कालिन अर्थमन्त्री (वर्षमान पुन) सँग प्रस्ताव गरें, उहाँले प्रधानमन्त्री (डा. बाबुराम भट्टराई) सँग कुरा गर्नु भएछ, प्रधानमन्त्री र अर्थमन्त्री सहमत हुनुभयो, अनि मूल्य अभिबृद्धि कर (भ्याट) कार्यान्वयनमा आएको दिन मंसिर १ गते पारेर कर दिवस मनाउन थालिएको थियो,’ तत्कालिन महानिर्देशक शर्माले भने ।

कर दिवस मनाउन थालिएको पहिलो वर्ष कर सम्बन्धी देशव्यापी कार्यक्रमहरु संचालन भएका थिए । तत्कालिन महानिर्देशक शर्माका अनुसार सो वर्ष देशभर कर सम्बन्धी ११ सयभन्दा बढी कार्यक्रमहरु भएका थिए । करदातालाई सम्मान गरिएको थियो । कर सम्बन्धी र्यालीहरु आयोजना गरिएको थियो । कर प्रशासनसँग सम्बन्धित सरकारी कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । गोष्ठी, सेमिना र छलफल कार्यक्रमरु आयोजना भएका थिए । राष्ट्रिय कर दिवसको उपलक्ष्यमा करदातालाई सम्मान गर्न कर दिवस मुल समारोह काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा आयोजना भएको थियो । प्रज्ञा भवनको कार्यक्रममा १ हजारभन्दा बढी सहभागी भएका थिए ।

पहिलो कर दिवस

पहिलो कर दिसवमा खासै धेरै विधा राखिएको थिएन । तर, आन्तरिक राजस्व विभागमा पहिलो कर दिवसमा कसकसलाई कुन कुन विधामा सम्मान गरिएको थियो भन्ने यकिन विवरण सुरक्षित रहेनछ । विभागका सुचना अधिकारी राजुप्रसाद प्याकुरेल दोस्रो कर दिवसदेखिको विवरण प्राप्त भएपनि पहिलो कर दिवसमा कुन कुन विधामा कसकसलाई सम्मान गरिएको थियो भन्ने जानकारी प्राप्त हुन नसकेको बताए ।

तर, हामीले २०६९ साल मंसिर २ गते प्रकाशित गोरखापत्र र कान्तिपुर दैनिकमा पहिलो कर दिवस सम्बन्धी केही जानकारी प्राप्त गर्यौं । ती दुई दैनिक पत्रिकामा प्रकाशित समाचार अनुसार विभागले पहिलो कर दिवसमा ३ वटा विधामा मात्रै करदातालाई सम्मान गरेको थियो ।

पहिलो कर दिवसमा सबैभन्दा बढी कर दाखिला संस्थागत करदाता (जुन विधामा ७ वटा करदाता थिए), व्यक्तिगत रुपमा सबैभन्दा बढी कर दाखिला गर्ने करदाता (नेपाल इन्भेष्टमेन्ट बैंकका कार्यकारी अध्यक्ष पृथ्बीबहादुर पाँडे) र राजस्व बृद्धि र कर प्रणालीको सुधारमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउने संघ संस्थाहरुलाई सम्मान गरिएको मंसिर २, २०६९ सालको गोरखापत्र र कान्तिपुर दैनिकको समाचारमा उल्लेख गरिएको छ ।(सूचिमा हेर्नुहाेस)

दोस्रो कर दिवस

पहिलो कर दिवसले करदाता र कर प्रशासनदेखि आम सर्वसाधारणसम्ममा व्यापाक चर्चा र चासो बढाएको थियो । प्रत्येक वर्षको मंसिर १ गते कर दिवस मनाउन थालिसकिएको थियो । दोस्रो कर दिवससम्म आउँदा नै करदातालाई सम्मान गर्ने विधा केही थप भएका थिए । दोस्रो कर दिसवमा १० विधामा सम्मान र पुरस्कार दिइएको थियो । कर प्रशासनका कर्मचारीहरुलाई भने पहिलो कर दिवसदेखि नै पुरस्कार र सम्मान प्रदान गर्न थालिएको थियो ।

पहिलो कर दिवसको विधा नै स्पष्ट रुपमा प्राप्त हुन नसकेकोले पहिलोको तुलनामा के कति विधा थपघट भए भनेर यकिन गर्न सकिने अवस्था देखिएन । तर, सम्मान र पुरस्कार पाउनेको संख्या भने बढेको देखिन्छ । दोस्रो कर दिवसमा सम्माननित हुने आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशकहरुमा दीप बस्न्यात पनि परेका थिए । बस्न्यात सरकारी सेवाबाट अवकाश पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त भएका व्यक्ति हुन् । उनलाई पछि भ्रष्टाचारको आरोप पनि लाग्यो । यद्यपि, विभागले बस्न्यातलाई विभागका पूर्व महानिर्देशकको हैसियतमा मात्रै सम्मान गरेको थियो ।

दोस्रो कर दिवसमा बढी आयकर बुझाउने, बढी अन्तःशुल्क बुझाउने, सार्वजनिक संस्थानबाट बढी आयकर बुझाउने, उद्योग क्षेत्रबाट बढी आयकर बुझाउने, बैंक तथा वित्तीय क्षेत्रबाट बढी आयकर बुझाउने, व्यक्तिगत आयबाट बढी आयकर बुझाउने, मु.अ.करमा अविछिन्न सहभागिता जनाउने, आयकरमा अविछिन्न सहभागिता जनाउने र कर जागरण अभियानमा सहयोग गर्ने संघ संस्था विधामा सम्मान प्रदान गरिएको थियो ।

तेस्रो कर दिवस

तेस्रो कर दिवससम्म आईपुग्दा सरकारले सम्मान गर्ने विधा व्यापक रुपमा बढाइयो । सो समय विभागको महानिर्देशक चुडामणि शर्मा थिए । शर्मामाथि कर फछ्र्योट आयोग बनाएर कर छुट दिदा राज्यलाई हानी नोक्सानी पुर्याएको अभियोग लागेको छ । तेस्रो कर दिवसमा विभिन्न २२ विधामा करदातालाई सम्मान गरिएकोमा २० विधा थप गरिएको थियो । दोस्रो कर दिवसमा सम्मान गर्न तयार पारिएका केही विधाहरु तेस्रो कर दिवसमा हटाइएको थियो । तत्कालिन महानिर्देशक दीप बस्न्यात झै चुणामणि शर्मा पनि भ्रष्टाचार र अकूत सम्पत्तिकाे मुद्दा झेलिरहेका छन् ।

चौथो कर दिवस

सरकारले चौथो कर दिवस मनाउने समयमा पनि आन्तरिक राजस्व विभागको महानिर्देशक चुडामणि शर्मा नै थिए । तेस्रो कर दिवसमा २२ विधामा सम्मान प्रदान गरिएकोमा चौथोमा केही घटाएर १९ विधा कायम गरियो । र, अर्काे रमाइलो पक्ष के देखिन्छ भने चौथो कर दिसवमा सम्मान गर्नको लागि पनि ७ वटा विधा थप गरियो । दोस्रो कर दिवसको लागि रहेको ‘उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने’ विधा तेस्रो कर दिवसमा हटेपनि चौथो पुनः प्रवेश पायो । विधा थपघट गर्दा त्यसको मापदण्ड र आधार बनाएको सार्वजनिक गरिएको छैन ।

पाँचौं कर दिवस

पाँचौ कर दिवसमा पनि सम्मान गर्ने विधा घटाउने कार्यले निरन्तरता पाएको देखिन्छ । चौथो कर दिवसको लागि १९ विधा रहेकोमा पाँचौंमा यो संख्या घटेर १५ वटा विधामा सीमित भए । तर, ३ वटा विधा भने थपिए । पाँचौं कर दिवसमा नेपाल दूरसंचार कम्पनी (नेपाल टेकिलम) लाई नै सम्मान प्रदान गर्ने उदेश्यले एउटा विधा थप गरिए जस्तो पनि देखिएको छ ।

छैठौं कर दिवस

छैठौं कर दिवसमा करदातालाई सम्मान गर्न १५ विधा नै राखिएको थियो । तर, पाँचौं कर दिवसमा राखिएको ‘लघुवित्त वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने’ विधालाई छैठौंमा बैंक वित्तीय संस्था विधामै गाभियो र नयाँ विधा सिर्जना गरियो । छैठौं कर दिवसमा करदातालाई सम्मान गर्न तयार पारिएको नयाँ विधा थियो– सूचना प्रविधि सेवामध्ये सबैभन्दा बढी आयकर तिर्ने’ यो विधामा सम्मान पाउने पहिलो भाग्यमानी करदाता वल्र्डलिंक कम्युनिकेसन थियो ।

सातौं कर दिवस

सातौं कर दिवसमा पनि १५ विधा नै थिए । तर, सो दिवसमा पनि अघिल्लो दिवसहरुमा समावेश नभएका ३ वटा विधा थप गरियो भने सहकारी र लघुवित्त वित्तीय संस्थालाई एउटै विधामा राखियो र रेमिटान्स कारोबार गर्ने करदातालाई पनि बैंक वित्तीय संस्था विधामा गाभियो ।

आठौं, नवौं र १०औं कर दिवस

आठौं कर दिवसमा भने करदातालाई सम्मान गर्ने विधा कटौति भएको देखिन्छ । सातौं कर दिवसमा १५ विधा रहेकोमा आठौं कर दिवसमा ११ विधामा मात्रै सम्मान गरिएको थियो । नवौं कर दिवसमा भने १५ विधामा नै करदातालाई सम्मान गरिएको थियो भने १०औं कर दिवसमा पनि १५ विधा नै थिए ।

किन परिवर्तन हुन्छन् विधाहरु ?

कर प्रशासनका अधिकारीहरु करदाताको दायरा फराकिलो र समयसापेक्ष बनाउन विधाहरु थपघट हुने दाबी गरिरहेका छन् । तर, कुनै विधा एउटा कर दिवसमा समावेश हुन्छ र लगत्तैको दिवसमा सो विधा पर्दैन । र, त्यसपछिको अर्काे दिवसमा समावेश हुन्छ । यस्तो किन ?

यो प्रश्नको जवाफका लागि केही सम्मानित करदातासँग हामीले प्रश्न गरेका थियौं । खासगरी अघिल्लो वर्ष परेका, त्यसलगत्तैको कर दिवसमा नपरेका र अर्काे कर दिवसमा फेरि परेका करदातालाई ‘परारको कर दिवसमा यो विधा थियो, पोहोर परेन, यसपाली फेरि परेछ, किन यस्तो हुन्छ’ भनेर सोधेका थियौं ।

‘पोहोर हामीले पनि ध्यान दिन भुलेछौं, सरकारले यो विधा नै हटाएछ, यसपाली ध्यान दिन विर्सिएनौं, त्यसैले पर्यो,’ एक करदाताले हाम्रो प्रश्नमा भने ।

के हो त ध्यान दिने भनेको ? ध्यान दिन भुलेको भनेको के भुलेको हो ? कर दिवसमा सम्मानको लागि तय हुने विधामा यो विधा पनि समावेश गर्नुपर्छ भनेर अर्थमन्त्रीदेखि कर प्रशासनका व्यक्तिहरुलाई सम्झाउने हो ? कि ‘अन्य’ कार्यहरु पनि गर्नुपर्छ ?

‘एउटा कुरा त नयाँ विधा राख्नुपर्ने भयो भने यो विधा पनि थपौं, यसको योगदान यस्तो र यति छ भनेर हामीले कर प्रशासनलाई ‘कन्भिन्स’ गर्ने हो, विगत केही वर्षयताको विधा हेर्नुभयो भने १५ को हाराहारीमा छ, त्यसैले केही गरी सम्मान लिनै पर्ने भयो जस्तो महसुस भयो भने भएकै एउटा विधा हटाएर आफू पर्न सक्ने विधा थप्ने हो, यस्तो बेलामा विधा थप्ने वा हटाउने अधिकार भएको व्यक्तिलाई खुसी पार्ने हो, सरकारी अधिकारीलाई कसरी खुसी पार्न सकिन्छ भन्ने कुरा त प्रष्टै छ नि,’ अर्का एक करदाताले भने ।

कसले तय गर्छ विधा ?

आन्तरिक राजस्व विभागका अधिकारीहरु यो प्रश्नको औपचारिक रुपमा जवाफ दिन तयार देखिदैनन् ।

‘राष्ट्रिय कर दिवस भनेको सरकारले नै मनाउने दिवस हो, त्यसैकारण यसको निर्णय अधिकारी अर्थमन्त्रालय नै हो, हामी अर्थमन्त्रालय अन्तरगतकै विभाग भएकोले केही सिफारिस गर्ने गरेका हुन्छौं तर, मन्त्री र सचिवज्यूहरुले नै अन्तिम टुंगो लगाउनु हुन्छ,’ आन्तरिक राजस्व विभागका एक अधिकारीले भने ।

तर, कर दिवस मनाउन सुरु भएको समयमा विभागको महानिर्देशक रहेका टंकमणि शर्मा भने आन्तरिक राजस्व विभाग नै अन्तिम निर्णय अधिकारी भएको बताउँछन् ।

‘पहिलो र दोस्रो कर दिवस मनाउने बेलामा म विभागको महानिर्देशक थिएँ, त्यो बेलामा हामीले नै विधा तय गर्यौं, यो विधामा यो करदातालाई सम्मान गर्नुपर्छ भन्ने तय उसको ट्रयाक रेकर्डका आधारमा गरियो, मन्त्रिपरिषदले नै निर्णय गरेर कर दिवस मनाउन थालिएकोले अर्थमन्त्री, सचिवहरु मात्रै होइन, प्रधानमन्त्री पनि प्रक्रियागत हिसावले संलग्न हुनुहुन्छ,’ तत्कालिन महानिर्देशक शर्माले भने ।

कर सम्मानका लागि छनोट भएका र परिवर्तन भएका विधाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X