खानेतेलमा बद्मासीः कच्चा पदार्थको मूल्य बढ्दा बढाइयो, घट्दा घटाइएन

  २०७८ असोज १० गते ११:११     विकासन्युज

काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको कारण देखाएर नेपालमा खाने तेलको मूल्य बढाएका उद्योगी व्यवसायीले अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घटेको बेलामा भने नेपालमा मूल्य नघटाएको पाइएको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको कारण नेपालमा पनि खाने तेलको मूल्य बढाउनु परेको व्यवसायीको तर्क थियो । तर, उद्योगीहरुले सार्वजनिक गरेको तथ्यांकलाई नै आधार मान्ने हो भने पनि अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घटेको फाइदा नेपाली उपभोक्ताले लिन पाएका छैनन् ।

पछिल्लो समय बजारमा खाने तेलको मूल्यमा बृद्धि भएको गुनासोपछि भदौ ३० गते नेपाल वनस्पती घ्यू तेल उत्पादक संघले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय रुपमा तेलका लागि आवश्यक पर्ने कच्चापदार्थको मूल्यमा बृद्धि हुँदा नेपालमा मूल्य बढेको जनाएको थियो ।

संघमा आवद्ध २० तेल उद्योगले आयात गर्ने कच्चा पदार्थको मूल्य कोरोना महामारीपछि दोब्बर रुपमा बढ्दा नेपालमा तेलको मूल्य बढेको जनाएको थियो ।

संघले सार्वजनिक गरेको तथ्यांक अनुसार कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा प्रशोधित तेलको मूल्य बढे पनि घट्दा मूल्य घटेको पाइएको छैन ।

संघको तथ्यांक अनुसार २०७६ को चैतमा न्यून रहेको कच्चा पदार्थको मूल्य २०७८ को वैशाखमा अस्वभाविक रुपमा बृद्धि भएको छ ।

संघका अनुसार सन् २०२० को अप्रिलमा प्रतिमेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जेन्टिनाको क्रुड सोयाविनको तेल २०२१ को मे महिनामा प्रतिमेट्रिक टन १३६३ डलर पुगेको छ ।

यस्तैगरी, प्रतिमेट्रिक टन ७०४ डलर युक्रेन क्रुड सनफ्लावरको तेलको मुल्य २०२१ को मे महिनामा १४९५ डलर पुगेको छ । १ बर्षमा असामान्य रुपमा कच्चा पदार्थको मूल्यमा वृद्धि भएको संघको तथ्यांकले देखाउँछ ।

यस्तै, संघले गत जुलाईमा कच्चा पदार्थको मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ । जुलाई महिनामा सोयाविन तेलको कच्चा पदार्थको मूल्य घटेर प्रतिटन १०९५ अमेरिकी डलर भयो भने सनफ्लावर तेलको कच्चा पदार्थको मूल्य प्रतिटन ११६० डलर भयो ।

तर नेपाल खुद्रा व्यवसायी संघको तथ्यांक अनुसार गत असार महिनामा नेपालमा तेलको मूल्य घटेको छैन । उद्योगीहरुको संस्थाले मूल्य घटेको जनाए पनि गत वैशाखकै मूल्यमा असारका बिक्री भएको छ ।

सो समयमा सोयाविन तेलको मूल्य प्रति लिटर २२० रुपैयाँ रहेको छ । संघको तथ्यांक अनुसार गत बैशाखकै मूल्यमा असार महिनामा सोयाबिन र सनफ्लावर तेलको मूल्य एउटै रहेको छ ।

तेल उद्योगीले कच्चा पदार्थको मूल्य बढ्दा बढाएको तेलको मूल्य कच्चा पदार्थको मूल्य घट्दा भने घटाएका छैनन् । खुद्रा व्यवसासी संघको तथ्यांक अनुसार गत असारमा सोयाविन तेलको मूल्य प्रतिलिटर २२० रुपैयाँ र सनफ्लावर तेलको मूल्य २४० रुपैयाँ रहेको छ ।

संघले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा मूल्य भने समायोजन भएको पाइएको छैन । कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा मूल्य दोब्बर भएपनि घट्दा घटेको पाइएको छैन ।

सम्बन्धित समाचार

खाने तेल उत्पादकको प्रष्टोक्तिः कच्चा पदार्थको मूल्य बढ्यो, ढुवानी भाडा धेरै लाग्न थाल्यो

दुई वर्षमै दोब्बर भयो खाने तेलको मूल्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.