दुई वर्षमै दोब्बर भयो खाने तेलको मूल्य

  २०७८ भदौ २४ गते १६:४०     समुन्द्र घिमिरे

काठमाडौं । नेपालमा कोभिड महामारी सुरु भएयता खाने तेलको मूल्य आकाशिएको छ । सरकारले कोभिड–१९ को संक्रमण नेपालमा फैलिएको भन्दै लागू गरेको लकडाउनपछि खाने तेलको मूल्यमा उच्च बृद्धि भएको हो ।

सरकारले कोभिड संक्रमण फैलन नदिनेभन्दै २०७६ को चैत ११ गतेदेखि देशभर बन्दाबन्दी जारी गरेको थियो । नेपाल खुद्रा व्यवसायी महासंघको तथ्यांक अनुसार बन्दाबन्दी (लकडाउन) पछि काँचो तोरीको तेल प्रतिलिटर १ सय रुपैयाँ, भुटेको तोरीको तेल प्रतिलिटर १४० रुपैयाँ र सनफ्लावर तेल प्रतिलिटर १०५ रुपैयाँले बढिसकेको छ । यो तथ्यांक २०७६ जेठ ३१ देखि गत भदौ १० गतेसम्मको हो ।

२०७६ फागुनदेखि २०७८ को भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बर भएको छ ।

२०७७ को जेठ ३१ मा प्रतिलिटर १६० रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य गत भदौ १० गते बढेर प्रतिलिटर २६० रुपैयाँ भएको छ । यो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर एक सय रुपैयाँले बढेको छ ।

यस्तै, २०७६ जेठ ३१ गते प्रतिलिटर २२० रुपैयाँ रहेको भुटेको तोरीको तेल गत भदौ १० गते प्रतिलिटर ३६० रुपैयाँ पुगेको छ । यो अवधिमा सबै भन्दा बढी मूल्य बढेको भुटेको तोरीको तेल प्रतिलिटर १४० रुपैयाँले बढेको हो ।

नेपाल खुद्रा व्यवसायी महासंघका अनुसार २०७६ जेठ २ गते भटमासको तेल प्रतिलिटर १३५ रुपैयाँ थियो । गत भदौ १० गते सो तेलको खुद्रा मूल्य प्रतिलिटर २४० रुपैयाँ भएको छ । यो अवधिमा भटमासको तेल प्रतिलिटर १०५ रुपैयाँले बढेको छ ।

  • काँचो तोरीको तेल रु. १६० बाट २६० (१०० रुपैयाँले बढ्यो)
  • भुटेको तोरीको तेल रु. २२० बाट ३६० (१४० रुपैयाँले बढ्यो)
  • भटमासको तेल रु. १३५ बाट २४० (१०५ रुपैयाँले बढ्यो)
  • सनफ्लावर तेल रु १४५ बाट २५० (१०५ रुपैयाँले बढ्यो)

यस्तै, २०७६ जेठ १० गते प्रतिलिटर १३५ रुपैयाँ रहेको सनफ्लावर तेल गत भदौ १० गते बढेर प्रतिलिटर २४० रुपैयाँ भएको छ । यो अवधिमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १०५ रुपैयाँले बढेको छ ।

कोभिड संक्रमणको जोखिम भएको भन्दै सरकारले गरेको बन्दाबन्दी हटेर बजार सामान्य अवस्थामा आएको समयमा तेलको मूल्य उच्च भएको हो ।

विभागको कारवाहीपछि बढ्यो मूल्य

कोभिड महामारीपछि तेल उद्योगीले मूल्य बढाएको गुनासोपछि बजार अनुगमनको नियामक निकायको रुपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले तेल उद्योगको अनुगमन गरेको थियो ।

२०७७ को माघ पहिलो साता विभागले उद्योगमा नै गएर अनुगमन गरेको थियो । अनुुगमनपश्चात बारामा रहेका २ तेल उद्योगले बढी मूल्य लिएको भन्दै विभागले कारवाही स्वरुप ३ लाख नगद जरिवाना गर्दै मूल्य घटाउन निर्देशन समेत दिएको थियो ।

विभागका प्रवक्ता शिवराज सेढाई बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही स्वरुप तीन/तीन लाख रुपैयाँ जरिवाना गरिएको बताउँछन् ।

अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यबृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनको पालना नगरे कानून अनुसार थप कारवाही हुने चेतावनी विभागले दिएको थियो । विभागले मूल्य घटाएर नयाँ मूल्यसूची समेत पठाउन निर्देशन दिएपनि ती २ उद्योगले मूल्य घटाएका थिएनन् । विभागले २ पटकसम्म ताकेता गर्दा समेत कुनै जानकारी नदिएपछि विभागबाट कुनै फलोअप समेत भएको छैन ।

विभागले हाल सञ्चालनमा रहेका २० वटा तेल उद्योगको अनुगमन गरेपछि उद्योगीले ठूलो मात्रामा मूल्य बढाएको पाइएको छ । खुद्रा व्यवसायी महासंघको तथ्यांक अनुसार २०७७ को मंसिरको तुलनामा चैत महिनामा तेलको मूल्य उच्च रुपमा बढेको हो ।

खुद्रा व्यवसायीहरु विभागले बजार अनुगमन गरेपछि व्यवसायीले मूल्य बढाएको बताउँछन् ।

विभागको फितलो बजार अनुगमनका कारण तेल उद्योगीहरुले आफूखुशी तेलको मूल्य बढाउने गरेको खुद्रा व्यवसायी महासंघका पूर्वअध्यक्ष प्रवित्रकुमार बज्रचार्य बताउँछन् । उनले विभागले अनुगमन गरेर मूल्य घटाउन निर्देशन दिएपनि उद्योगीले पत्रमा मात्र घटाएको जनाउँदै झन मूल्य बढाएको बताउँछन् ।

उद्योगीको पुरानै जवाफ

पछिल्लो समय खाने तेलको मूल्य फेरि बढ्न थालेपछि विभागले केही दिनअघि तेल उद्योगीसँग छलफल गरेको थियो । १९ तेल उद्योगका प्रतिनिधिसँग विभागले गरेको छलफलमा उद्योगीले कच्चा पदार्थको मूल्य बढ्दा प्रशोधित तेलको मूल्य बढेको बताएका थिए ।

विभागका प्रवक्ता सेढाईका अनुसार सो छलफलमा उद्योगीले पुरानै कुरा (अन्तर्राष्ट्रिय रुपमा कच्चापदार्थका मूल्य बढ्दा बढ्यो) गरेका थिए ।

उद्योगीले छलफलमा बनावटी कुरा गरेको भन्दै विभागले तेलको कच्चा पदार्थ आयातको विवरण लिएको र त्यसमा उद्योगीले तोकेको मूल्य माग गरेको थियो । सो विवरण हेरेर थप अनुसन्धान अघि बढाउने तयारी गरिएको विभागले जानकारी दिएको छ ।

अहिले तोरीको तेल उत्पादन गर्ने उद्योग करिब ८ वटा छन् भने वनस्पति घ्यू तेल (भटमास तथा सनफ्लावर तेल लगायत) उत्पादन गर्ने उद्योग करिब २० वटा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.