सामाजिक संजाल हेरेर सेयर किन्नेहरुका नाममा

  २०७८ असोज ५ गते ११:०९     प्रभातजी

११२९ विन्दुमा रहेको नेप्से परिसुचक बढेर ३१९८ विन्दुमा पुग्यो । बजार बढ्दा सबै खुसी थिए । किनभने आज ४ सय रुपैयाँमा किनेको सेयर भोलि ४४० हुन्थ्यो । पर्सि ४८४ रुपैयाँ हुन्थ्यो । केही लगानीकर्ताको त दिनै १० प्रतिशतका दरले पोर्टफोलियो बढ्यो पनि होला ।

सेयर बजार बढ्दा सबैभन्दा बढी खुसी सेयर ब्रोकर भए । ब्रोकरले दैनिक १ करोडभन्दा बढी पनि कमाए । दैनिक २० अर्ब रुपैयाँको हाराहारीमा कारोबार भइरहेको बेलामा एक ब्रोकर भन्दै थिए– जिन्दगीमा यति पैसा कमाइएला भनेर कहिल्यै सोचिएको पनि थिएन, नसोचेको पैसा कमाइएको छ ।

ब्रोकर मात्रै होइन, नेप्से, सेवोन र सीडीएससीले पनि राम्रै दाम कमाए । करको रुपमा सरकारले पनि टन्नै कमायो । त्यसैले बजार बढेको बेलामा लगानीकर्ता खुसी, सरकार झनै खुसी । ब्रोकर त सरकारभन्दा पनि खुसी । पैसा कमाउन पाउँदा खुसी नहुने को होलान् र !

तर, बढेर ३१९८ विन्दुमा पुगेको बजार अहिले घटेर २६९८ विन्दुमा आएको छ । नेप्से परिसुचक १५.६३ प्रतिशतले घटेको छ ।

बजार घटेपनि ब्रोकर कमिसन घटेको छैन । सरकारले कर पाइरहेको छ । नेप्से, सेवोन र सीडीएससी कमिसन खाइरहेकै छन् । बजार बढ्छ भन्ने मात्रै ज्ञान प्राप्त गरेर बजारमा छिरेका दया गर्न योग्य लगानीकर्तालाई अहिले तत्व ज्ञान भएको हुन सक्छ– सरकार, ब्रोकर, सेवोन र सीडीएससी नाफाका भागिदार मात्र होइनन्, घाटाको कारोबारमा पनि आफ्नो भाग खाइरहने परजीवी हुन् भनेर ।

हाम्रो बजारमा सरकार, ब्रोकर, सेवोन र सीडीएससी जुवातास खेलाउने खाले जस्तै हुन्, जो जसले जिते पनि मतलब राख्दैन, प्रत्येकचोटीको खेलमा सय पचास उठाइरहन्छ । त्यसरी खेलेको जुवातासमा के हुन्छ थाहा छ ? खेल्ने सबैले हारिसकेका हुन्छन्, पैसाजति खालेको तन्दामुनि थुप्रिएको हुन्छ । मैले ४ सयमा किनेको सेयरको मूल्य १२ सय पुग्यो भनेर केही अघि फुई लगाउने लगानीकर्तालाई अहिले यस्तै महसुस भएको होला ।

हाम्रो बजारमा अधिकांश लगानीकर्ता सामाजिक संजाल हेरेर सेयर किन्छन् । महाराज भनेर चिनिने दीपेन्द्र अग्रवालले कुन स्क्रिप्ट उठाउँदै छन्, सेयर बजारको डन भनेर चिनिने अम्बिका पौडेलले कुन कम्पनी ताक्दैछन् भन्ने कुरा सामाजिक संजालबाट थाहा पाउने र त्यसैको आधारमा कम्पनी छनोट गरेर सेयर किन्नेहरुको संख्या ठूलो छ ।

तर, सामाजिक संजाल हेरेर सेयर किन्नेहरुलाई थाहा छैन कि दीपेन्द्र अग्रवाल पैसा भएको मान्छेहरुको टीम बनाउँछन्, त्यस्ता मानिसको पैसा जम्मा पारेर लगानी गरिदिन्छन् र त्यस्तो लगानी मेरो नै हो भनेर सामाजिक संजालमा फुइ लगाउछन् भन्ने । विश्वास लाग्दैन भने दीपेन्द्र अग्रवाललाई सोध्नुस् न– मकवानपुरे काँग्रेसी नेता इन्द्र बानियाँको २० अर्ब रुपैयाँ सेयर बजारमा म्यानेज गरिदिने व्यक्ति को हो भनेर ।

अर्काको धनमा खेल्नेहरुलाई र आफ्नै धनमा बजारमा खेल्नेहरुलाई के कस्तो फरक महसुस हुन्छ, आफै विचार गर्नुस् ।

सेयर बजारका डन भनेर चिनिने अम्बिका पौडेलका खास मान्छे प्रकाश तिवारी अहिले काँग्रेसी नेता बन्न स्याङ्जातिर व्यस्त छन् । तिवारीलाई काँग्रेसको अधिवेशन लागेको छ । उनी अहिले गाउँतिर भन्दैछन् रे– ११ सयको नेप्सेमा छिरेर ३२ सय पुगेपछि बजारबाट निस्किएँ, अब बढ्यो भने पनि बढीमा ३५ सय पुग्ने न हो, ३२ सयबाट बढेर ३५ सय पुग्दा मलाई कति नै फाइदा हुन्छ र, अब क्यास लगेर बैंकमा राख्ने हो, वियरिस बजार आएपछि सेयर किन्ने हो, अर्काे बुलमा फेरि ३ गुणाले नाफा गरेर वाहिरिने हो ।

अम्बिका पौडेलले बजार बढ्ने देखियो भन्ने तर्क सार्वजनिक गरे भने बुझे हुन्छ– अब उनी सेयर बेच्ने सोचमा रहेछन् । सार्वजनिक रुपमा बजार घट्ने कुरा पौडेलले गरे भने अब उनी सेयर किन्ने सुरमा रहेछन् भनेर बुझ्नु पर्छ । सामाजिक संजाल हेरेर सेयर किन्ने विचरा लगानीकर्ताहरु पौडेलले जे भनिरहेका हुन्छन्, त्यसलाई ठ्याक्कै सुल्टै बुझिदिदा रहेछन् ।

अहिले फेसबुक, ट्वीटर, ह्वाट्सएप र भाइबर ग्रुपहरुमा यो कम्पनीमा फलानो पस्यो, यसले यो स्क्रिप्टलाई यति पुर्याउदैछ भन्ने हल्ला व्यापक छ । लगानीकर्ताहरु कस्तो भ्रममा हुने गरेका देखिन्छन भने अरुलाई धनी बनाइदिन अम्बिकाजी र दीपेन्द्रजीहरुलाई भगवानले नै पठाउनु भएको ।

अहिले फेरि क्लबहाउस आतंकले रात आतंकित छ । क्लबहाउसमा दीपेन्द्रजी आफ्नो बेग्लै झुण्डसहित उपस्थित हुन्छन् । उनको समुह हान्नुपर्छ, फाँड्नुपर्छ, ठोक्नुपर्छ, बजार बढ्नु पर्छ, बढेन भने सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने आशयसहित रात रंग्याइरहेका हुन्छन् ।

क्लबहाउसमा मुक्ति अर्याल आतंक पनि रातमै सुरु हुन्छ । मुक्ति अर्याललाई चिन्नुहुन्छ नि ! उनी युरोप, अमेरिकादेखि विश्व बजार खर्लप्पै बुझेका पुँजी बजारका अति जान्ने सुन्ने (अजासु) व्यक्तित्व हुन् । प्रत्येक रात उनी ठसठस कन्दै बजार घट्दैन, बढ्छ, लगानी गर्नुपर्छ, जसरी हुन्छ अहिले झरेको बजार थेग्नुपर्छ भन्ने प्रवचन दिन्छन् ।

मुक्तिजीको क्लबहाउस रुममा सधै भेटिने व्यक्ति हुन् ग्लोबल आईएमई बैंकबाट जागिर गएपछि सेयर बजारका ज्ञाता बनेका बैंकर पर्शुराम कुँवर । कुँवरसँगै लोली मिलाउन आइपुग्ने गरेका छन्, मिस्टर अलनोन जस्तै गरी प्रस्तुत हुने बैंकर मनोज ज्ञवाली । त्यही भेटिन्छन् विष्णु बस्याल । केशव श्रेष्ठ हुँदैनन् त भन्नै भएन । अम्बिका पौडेल र प्रकाश तिवारी पनि बेलाबेला झुल्किने गरेका छन् ।

दीपेन्द्रजीको क्लबहाउस रुमको असलियत बजार बढ्नु पर्छ भन्ने कुरा गरेर बजारमा वाहुबल प्रवेश गराउने प्रकृतिको छ । उनी सेयर बजारको केन्द्रविन्दु आफू मात्रै हो भन्ने सन्देश प्रवाह होस भन्ने चाहन्छन् । दीपेन्द्र अग्रवालले जे बोल्यो बजार त्यही नै हो, त्यस्तै नै हुनुपर्छ भन्ने भ्रम यो ग्रुपको छ ।

मुक्तिजीको क्लबहाउस रुमको असलियत लगानीकर्तालाई बुलट्रयापमा पार्ने खालको छ । उनीहरु बजार बढ्छ, बढ्नुपर्छ, अहिले घटेको भएपनि जसरी पनि थेग्नुपर्छ भनेर लगानीकर्तालाई सेयर किनाउन चाहन्छन् । यो भनेको बुलट्रयाप हो । तर, यो ग्रुपले बुलट्रयापको अभ्यास गरेपनि बजारमा बियरिसट्रयाप सुरु भए जस्तो पनि देखिन्छ ।

सेयर बजारमा लगानी गर्न आउनेले सोझा लगानीकर्ता भनेर छुट पाउँदैनन् । साना लगानीकर्ता भनेर आरक्षण पनि हुँदैन । कम जानकारी भएका लगानीकर्ता भनेर बेग्लै कुनै व्यवस्था नै हुँदैन । कम्पनी कस्तो हो ? कम्पनीको बोर्ड र व्यवस्थापन कस्ता व्यक्तिले संचालन र नेतृत्व गरेका छन् ? कम्पनीको आगामी योजना के कस्तो छ ? कम्पनीको अहिलेको वित्तीय अवस्था कस्तो छ ? राम्रो प्रतिफल दिएको छ भने कसरी दिएको छ ? भविष्यमा कम्पनी कस्तो हुन सक्छ ? ट्रेडिङ प्रयोजनको लागि सेयर किन्दा के के कुराहरु हेर्ने ? लगानी प्रयोजनको लागि सेयर किन्दा के के कुरामा ध्यान दिने ? कम्पनीको फण्डामेन्टल र प्राविधिक विश्लेषणले के देखाउँछ ? वित्तीय विवरणहरु के कस्ता छन् भन्ने जस्ता विषय हेर्नु छैन, विश्लेषण गर्नु छैन । कसैको फेसबुक स्ट्याटस हेरेर पैसा खन्याएको छ, कसैले क्लबहाउसमा के भने भनेर दौडादौड गरेको छ । यस्ता हावादारी लगानीकर्ता फसेनन् भने सेयर बजारले राम्रोसँग काम गरेको छैन भनेर बुझ्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.